कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

शव कुर्दै आफन्त

धनगढी, कञ्चनपुर, सल्यान,धनुषा र सुनसरी — राति गाउँले दाजुभाइ हुन्छन्, दिउँसो आफन्तहरू सान्त्वना दिन घरमै पुग्छन् । घरमा पुगेकाहरूसँग हरिकृष्ण न्यौपाने हरक्षण भक्कानिरहन्छन् । कैलालीको घोडाघोडी नगरपालिका–४ जनकपुरका नारायणप्रसाद न्यौपानेको परिवारका आँखा साता दिनदेखि ओभाएका छैनन् । ६ कक्षा पढ्ने कान्छो छोरा पनि भक्कानिँदै हरिकृष्णलाई अँगालो मार्दा मन थाम्न नसकेर वरिपरिका सबैका आँखा रसाउँछन् ।

शव कुर्दै आफन्त

टीकापुर बहुमुखी क्याम्पसमा कृषि विज्ञान स्नातक तह अन्तिम वर्षमा पढिरहेको माइलो छोरा नारायणको इजरायलमा हमास समूहको आक्रमणमा परेर मृत्यु भएपछि न्यौपाने परिवार विक्षिप्त छ । शुक्रबार न्यौपाने परिवारलाई भेट्न पुगेका सुदूरपश्चिम प्रदेशका मन्त्री रमेश धामीले सान्त्वना दिने प्रयास गर्दा हरिकृष्णले केही बोल्न सकेनन् । ‘मानिस देख्दा भक्कानिन्छन्, एकोहोरो रोइरहन्छन्,’ नजिकै रहेका आफन्तले भने, ‘सास त पाएनौं पाएनौं, लास ल्याइदिनुपर्‍यो ।’

हरिकृष्णका माइला छोरा नारायणले बाल्यकालमै जन्म दिने आमा गुमाएका थिए । कान्छी आमाले हुर्काइन् । नारायणका दाजु धर्मराज भारतको बैंग्लोर बस्छन् । भाइको घटना सुनेपछि उनी तीन दिनअघि घर आएका छन् । शोकमा डुबेका धर्मराज पनि केही बोल्दैनन् ।

हरिकृष्णका भतिजा मोतीलालले शव ल्याउन जति ढिला गर्‍यो, पीडा त्यति धेरै लम्बिने बताए । ‘जेठा बुबा बेलाबेला नारायण छँदै छ होला, उसलाई केही भएको छैन होला भन्दै रुनु हुन्छ,’ मोतीलालले भने ।

‘उहाँ राम्ररी ननिदाएको र नखाएको पनि सात दिन हुन थाल्यो,’ उनले थपे । दुई दिनअघि इजरायलबाट उद्धार गरी ल्याएका नेपालीहरूसँगै शव पनि आउने आस गरेको परिवारजनले बताए । ‘अब त हाडछाला पाइएला भन्ने विश्वास पनि नलाग्ने भइसक्यो,’ मोतीलालले भने ।

कैलालीकै जोशीपुर–५ मैनपोखरीका ७० वर्षीय कन्हैयालाल चौधरीको पीडा पनि उस्तै छ । श्रीमती उहिल्यै बितिन्, एक्लो छोरा सुरज ०५४ सालदेखि पक्षघात भएर अपांग छन् । कान्छी छोरीको छोरा आशिष चौधरी बालकदेखि आफूसँगै बस्ने बुढेसकालको एक्लो सहारा थिए । आशिषलाई बाल्यावस्थादेखि नै कन्हैयालालले आफैंसँग राखेर हुर्काए, पढाए । ‘त्यही एक्लो सहारा पनि दैवले चुँडिहाल्यो,’ उनले भने, ‘जिउँदो मुख त देख्न पाइएन पाइएन, अब सरकारले चाँडै लास ल्याइदिए हुन्थ्यो ।’

बझाङको जयपृथ्वी नगरपालिका–११ का धनलाल नेपालीको परिवार पनि शोकमा छ । छोरा गणेशको इजरायल घटनामा मृत्यु भएको हो । ‘छोरा छँदै छ भन्ने सोच्छु । छैन भनेर कसरी पत्याऊँ,’ बोल्दाबोल्दै भक्कानिने धनलालले भने, ‘ज्युँदो मुख देख्न नपाए नि लास त चाँडै ल्याइदिए हुन्थ्यो ।’

सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवनस्थित पटवारी टोलका २६ वर्षीय राजेश स्वर्णकारको परिवारमा वृद्ध आमा कैलाशदेवी र बुबा राजकुमार रातदिन रोइरहेका छन् । सरकारले शव ल्याउन ढिलाइ गर्दा स्वर्णकार परिवारमा शोक र आक्रोश एकसाथ बढेको छ । ‘सरकारले शव ल्याउने पहल गर्दै छौं भनेर आश्वासनमात्र दियो । एक साता बितिसक्दा पनि नल्याइदिएपछि परिवारमा पीडा थपिएको छ,’ राजेशका दाजु मुकेशले भने, ‘हामी वैष्णवमार्गी परिवार भएकाले अन्तिम संस्कार गर्नमा अलमल भइरहेको छ ।’ विश्वविद्यालयले इन्टर्नसिपमा इजरायल पठाउँदा अभिभावकलाई कुनै जानकारीसमेत नदिएको उनीहरूको आरोप छ । ‘विश्वविद्यालयले इन्टर्नमा पठायो । अचानक मारिएपछि खबर फैलियो । अहिलेसम्म हामी अभिभावकलाई विस्तृत जानकारी दिन सकेको छैन,’ राजकुमारले भने ।

...

धनुषाको सपहीमा प्रहरीको गाडी आएको थाहा पाए सोमन साह र शिवकली दम्पती छोराको शव आएको हो कि भनेर सोधीखोजी गर्छन् । इजरायलमा मृत्यु भएका २५ वर्षीय आनन्दको शव पर्खंदै उनीहरू दाहसंस्कार गर्ने पर्खाइमा बसिरहेका छन् । स्नातक अध्ययनरत आनन्दकी दुई बहिनी सरस्वती र आरतीको शरीर पनि कमजोर बनेको छ ।

घटनाको भोलिपल्ट घरमा आएका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले शव ल्याउन पहल भइरहेको बताएका थिए । ‘चाँडै लास ल्याइदिएको भए परम्पराअनुसार दाहसंस्कार गर्थ्यौं,’ सोमनले भने, ‘सहारा, आशा, भरोसा त गुम्यो नै अब एकमात्र चाहना आनन्दको मुख हेरेर दाहसंस्कार गर्नुछ ।’ ८ कामा लगाएको धान फल्ने बेला पानी लगाउनसमेत नसकेको उनले बताए । ‘वर्षौंसम्म मलेसिया र कतारमा पसिना बगाएर छोराको उज्यालो भविष्यको सपना देखें । अहिले यो अवस्था व्यहोर्नुपर्‍यो,’ उनी भन्छन् ।

आनन्दलाई सम्झेर परिवारका सदस्यहरू छिनछिनमै मूर्च्छित हुँदा छिमेकीले सम्हाल्ने गरेको स्थानीय ६८ वर्षीय रामनारायण साहले बताए । आक्रमण हुनुअघि अन्तिम पटक अघिल्लो शुक्रबार राति ८ बजेतिर आनन्दले भिडियो कलमा आमा शुभकली र बहिनीसँग लामो कुराकानी गरेका थिए । इजरायलमा मारिएका १० विद्यार्थीको शव एकैसाथ ल्याउने प्रक्रियामा परराष्ट्र मन्त्रालय रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

...

आमा पार्वती अचेतजस्तै भएर एउटा कोठामा टोलाइरहेकी छन् । छिमेकीले सम्हालिरहे पनि उनी बोल्न सक्दिनन् । अर्को कोठामा ७१ वर्षीया हजुरआमा ईश्वरी पल्टिइरहन्छिन् । उनको अवस्था पनि पार्वतीको जस्तै छ । एक साताअघि इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दीपेशराज विष्टको शव नआउँदा परिवारमा पीडा झन् बढ्दै गएको छ । ‘सरकारले लास ल्याउँछ कि ल्याउँदैन केही जानकारी छैन, हामीलाई कसैले केही सोधेका पनि छैनन्, बताएका पनि छैनन्,’ दीपेशका हजुरबुबा ७४ वर्षीय घनश्यामले भने, ‘लास नआउँदा काजकिरियाको पनि समस्या भयो, अन्तिम संस्कार नगरी कसरी किरिया गर्नु ?’

घटनाका दिन घनश्याम श्रीमती र बुहारीसँगै पुर्ख्यौली घर दार्चुलाको लेकम गाउँपालिका–५ रिठाचौपातामा थिए । पार्वती गाउँमा शिक्षक हुन् । बुहारी र सासूससुरा सँगै बस्छन् । कञ्चनपुरको भीमदत्त–१८ निम्बुखेडास्थित घरमा कान्छो छोराबुहारी र नातिनातिना बस्छन् । घटनाको दोस्रो दिन मात्रै उनीहरू महेन्द्रनगर आएका हुन् ।

घनश्यामले २० वर्षअघि छोरा (दीपेशका बुबा) गुमाए । दीपेशका भाइ वसन्त अहिले धरानमा एमबीबीएस अध्ययनरत छन् । आमा र हजुरबुबाले निकै मिहिनेत गरेर दुई भाइलाई हुर्काए । नातिहरू हेरेर छोरालाई बिर्सेका घनश्यामलाई इजरायल घटनाले फेरि ठूलो पीडा दियो । ‘पीडा बिर्सिंदै नातिहरू हेरेर अब ठिकठाक हुन्छ भन्ने थियो,’ उनले भने, ‘सुख दिने बेला जेठो नातिले पनि छाडेर गयो । विद्यार्थीसँगै लास पनि आउँछ भन्ने सोचेका थियौं, तर त्यसो भएन, अब त चाँडो गरिदिनुपर्‍यो ।’

...

पढाइका सिलसिलामा इजरायल पुगेका २४ वर्षीय छोरा प्रवेशको मृत्युको खबर सुनेयता सल्यानको शारदा नगरपालिका–३ सिरुवारका चक्रबहादुर भण्डारी र चन्द्रिका भण्डारी दिनभर पिँढीमा बसिरहन्छन् । एक्लो छोराको मृत्युको पीडाले सातादेखि मुखमा अन्न नहाल्दा चन्द्रिका कमजोर भएर बोल्न नसक्ने भएकी छन् । ‘घर फर्कनेलाई ल्याउन इजरायल गएको जहाजमा छोराको लास आउँछ कि भन्ने आशा थियो । अब त चाँडै आउला भन्ने लाग्दैन,’ चक्रबहादुरले भने, ‘दाहसंस्कार नगर्दासम्म न काजकिरिया गर्न सकिन्छ, न अरू काम ।’

सरकारले शव ल्याउने सक्रियता नदेखाएको र मृतकका परिवारलाई राहतस्वरूप १० लाख दिने निर्णय गरेर जिम्मेवारबाट पन्छिन खोजेको उनको गुनासो छ । छोरा इजरायल जाने तयारी गर्दा पटकपटक सम्पर्क गर्दै आएको क्याम्पसले घटनापछि सम्पर्क नगरेकामा धेरै दुःख लागेको उनले बताए ।

विपिनको अवस्था पत्ता लगाउन परिवारको माग

इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका भीमदत्त नगरपालिका–३ भाँसीका विपिन जोशीको परिवार अन्योलमा छ । एक सातादेखि सम्पर्कविहीन छोराको अवस्थाले पीडा बढेको आमा

पद्माले बताइन् । ‘आक्रमणकारीले अपहरण गरेको हाम्रो अनुमान छ, सञ्चारमाध्यममा पनि त्यही कुरा देखेका छौं, तर आधिकारिक कतैबाट पनि जानकारी पाएका छैनौं,’ उनले भनिन्, ‘यो अन्योल कहिलेसम्म ? हामीले छोराको अवस्था पनि थाहा पाउन नसक्ने भयौं ।’

उनका अनुसार बिहीबार राति इजरायलबाट आएका विपिनका साथीहरूले समेत अपहरण भएको जानकारी दिएका छन् । सञ्चारमाध्यममा आउने फरक–फरक सूचनाले झनै पीडा दिएको विपिनका बुबा महानन्द बताउँछन् । ‘कसैले अस्पतालमा उपचार भइरहेको भने, कसैले अपहरणमा परेको भने तर वास्तविकता कसैले भनेनन्,’ उनले भने, ‘आफन्तले फोन गरेर विपिनको बारेमा यस्तो आयो, उस्तो आयो भनेर सोध्छन् ।’

हमासले सुरुमा आक्रमण गर्दा विपिन १७ जना साथीसँग एउटै बंकरमा थिए । आक्रमणकारीले हानेको पहिलो ग्रिनेडलाई विपिनले समातेर उनीहरूतिरै फर्काएका थिए । त्यसपछि भने उनलाई अपहरण गरेर लगेको साथीहरूले जानकारी दिएको पद्माले बताइन् । ‘सरकारले चाँडोभन्दा चाँडो विपिनको अवस्था पत्ता लगाइदिनुपर्छ, हामीलाई यो अन्योलबाट मुक्त गर्नुपर्छ,’ उनले भनिन्, ‘अपहरणमा परेको कि कतै अस्पतालमा छ कि खोजी गर्ने काम त सरकारकै हो ।’ मानव अधिकारवादी अन्तर्राष्ट्रिय संघसंस्थालाई समेत छोराको खोजी गरिदिन उनले आग्रह गरेकी छन् ।

प्रकाशित : आश्विन २८, २०८० ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?