२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालतमा सुनुवाइ ‘सरेको सर्‍यै’

‘अबको पेशी दसैंपछि कात्तिक १६ मा’
देवेन्द्र भट्टराई

ललितपुर — नक्कली भुटानी शरणार्थी प्रकरणमा ६ महिनादेखि थुनामा रहेका आरोपीहरुको मुद्दाको सुनुवाई उच्च अदालतमा सरेको सर्‍यै छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ५ वर्षयता जारी रहेको ठगी तथा संगठित अपराधको यो गिरोहका मुख्य नाइकेहरु केशव दुलाल, सानु भण्डारी र टंक गुरुङलाई गत वर्ष चैत १२ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालतमा सुनुवाइ ‘सरेको सर्‍यै’

त्यसपछि काठमाडौं जिल्ला अदालतको गत असार १ गतेको थुनछेक आदेशपछि विगतमा पक्राउ परेकामध्ये टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा रिहा भएका थिए ।

यो प्रकरणमा संलग्न रहेको प्रमाण पाइएपछि तत्कालिन गृहमन्त्री बालकृष्ण खाण (वैशाख २७), सांसद एवं तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी (वैशाख ३१), तत्कालीन गृह सचिव एवं बहालवाला उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे (वैशाख २०) र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा.इन्द्रजीत राई(वैशाख १९)मा पक्राउ परेका थिए । त्यस्तै, पूर्व सांसद आङटावा शेर्पा, गृहमन्त्री खाणका निजी सहयोगी नरेन्द्र केसी, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, सागर थुलुङ राई, शमशेर मियाँ, आशिष बुढाथोकी, सन्दीप रायमाझी, रामशरण केसी र टेकनाथ रिजालसमेत पक्राउ परेर पहिलो चरणमा पूर्पक्ष थुनामा बसेका थिए ।

असार १ मा काठमाडौं जिल्ला अदालतले गरेको आदेश विपरितको भएको भन्दै थुनामा रहेका पूर्व विशिष्ट पदाधिकारी खाण, रायमाझीसहितले पाटन उच्च अदालतमा साउन १२ गते निवेदन दर्ता गराएर आफुले थुनामुक्त भएर मुद्धा लड्न पाउनुपर्ने जिकिर गरेका थिए । उनीहरुको निवेदन साउन यता ५ पटक पेशीमा चढेपनि सुनुवाइ हुन सकेको छैन ।

‘सुरुमा सबै आरोपीको कैफियत प्रतिवेदन जिल्लाबाट आउनुपर्ने ताकेता गर्दै पेशी हटाइयो, अर्को पेशीमा आरोपी केशव दूलालका कानून व्यवसायीले दिएको निवेदनका कारण सुनुवाइ स्थगित भएको थियो,’उच्च अदालतका अधिकारीले भने–‘पछिका पेशीहरु हेर्न नभ्याइने तथा हेर्दाहेर्दैमा परेका थिए । अर्का आरोपी केशव तुलाधरले बुझाउनुपर्ने धरौटी रकमका बारे बुझबुझारथ गर्ने भनेर पेशी सरेको थियो भने असोज २५ (बिहिबार)को पाँचौं पेशी पनि उनै तुलाधरको कैफियत प्रतिवेदन जिल्लाबाट ढिलोगरी आएकाले पेशी सारिएको हो । बिहिबारको पेशी भने उच्च अदालतका न्यायधिशद्धय गोकर्ण डाँगी र नारायणप्रसाद रेग्मीको संयुक्त इजलासमा परेको थियो ।

ठगी, किर्ते, राज्यबिरुद्धको र संगठित अपराधका ४ अभियोगमा थुनामा रहेकामध्ये कांग्रेस र एमालेका बरिष्ठ नेता समेत रहेका पुर्व मन्त्रीहरु खाँड र रायमाझीलाई भद्रगोल जेलमा राखिएको छ । यीमध्ये कांग्रेसका केन्द्रिय सदस्य रहेका खाँड अझै पार्टीगत कारबाहीमा परेका छैनन्, उनलाई भेट्न केन्द्रीय नेताहरु भद्रगोल जेल दिनहुँजसो गईरहेका छन् । एमाले सांसद एवं केन्द्रीय सचिव रायमाझीलाई भने एमाले दलले निलम्बन गरिसकेको छ ।

यस्तै, पूर्व गृहसचिव पाण्डे, सुरक्षा सल्लाहकार डा.राई, भुटानी नेता टेकनाथ रिजाल, सन्देश शर्मालगायत भने केन्द्रीय जेलमा छन् । यस्तै, यो गिरोहका प्रमुख नाइकेहरु केशव दुलाल र सानु भण्डारी भने नख्खु कारागारमा रहेका छन् । उच्च अदालतमा पालोक्रममा हरेक बिहीबार पेशी चढ्ने भएकाले आसन्न दशैं पर्वपछि कात्तिक १६ मा शरणार्थी मुद्दाको पेशी चढ्नेछ ।

यो अभियोगमा जोडिएर पक्राउ पुर्जी जारी भएका पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक, सुरक्षा सल्लाहकार इन्द्रजीत राईका छोरा निरजसहितका १४ आरोपित गत वैशाखदेखि फरार सूचीमा रहेका छन् । यही प्रकरणमा थप १८ जना पीडितले उपत्यका अपराध अनुसन्धान कार्यालयमा गत साउन ३० मा उजुरी दिएपछि यसमा जोडिएको राजनीतिक संलग्नता र आरोपीको थप खुलासा हुने देखेर यो अनुसन्धानमा जुटेका सम्बद्ध प्रहरी अधिकृतहरुलाई गृह मन्त्रालयले सरुवा गरिसकेको छ । नक्कली शरणार्थी प्रकरणमा जोडिएका बरिष्ठ राजनीतिक नेतासहित आरोपितलाई पूर्पक्ष थुनामा पठाउने काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेलाई पनि असोज पहिलो सातामा रुकुमकोट जिल्ला अदालतमा सरुवा गरिएको थियो ।

पहिलो चरणको अनुसन्धान र अदालती प्रक्रिया अघि बढेपनि उपत्यका अपराध अनुसन्धान कार्यालयले अहिले दोस्रो चरणमा कुनै प्रकारको अनुसन्धान अघि बढाउन सकेको छैन । फरार सूचीमा रहेकालाई पक्राउ गर्ने आँट पनि देखाएको छैन ।

सम्बन्धित समाचार

अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

अमेरिका उडाउने भन्दै ८७५ नेपालीलाई भुटानी बनाउने गिरोहमा ‘राजनीतिक संलग्नता’

प्रकाशित : आश्विन २६, २०८० १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?