कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

नवजात शिशु बिक्री प्रकरण : चिकित्सक कर्णसहित ३ जना पुर्पक्षका लागि थुनामा

विनोद भण्डारी

विराटनगर — नवजात शिशु निःसन्तान दम्पतीलाई मोटो रकममा बिक्री गरेको अभियोग लागेका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.तपेश्वरलाल कर्णसहित तीन जनालाई जिल्ला अदालत मोरङले बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । ६८ वर्षीय कर्ण कोशी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट हुन् ।

नवजात शिशु बिक्री प्रकरण : चिकित्सक कर्णसहित ३ जना पुर्पक्षका लागि थुनामा

न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले बुधबार डा. कर्णसहित शिशु खरिद गर्ने मोरङ कटहरी–२ आर्दशटोलका सूर्यनारायण राजवंशी र भोजपुर हतुवागढी–४ का गोविन्द राईलाई पुर्पक्षमा थुनामा राख्ने आदेश दिएको अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।

त्यसैगरी उक्त कसुरमा प्रहरी नियन्त्रणमा रहेका कटहरी–२ आदर्शटोलकी ३३ वर्षीया सुधा राजवंशी २ लाख, सिरहाको कल्याणपुर नगरपालिका–१२ की ३८ वर्षीया नर्स निर्मला यादव १ लाख र कटहरी २ की ४७ वर्षीया दिलमनी देवी राजवंशीलाई १० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने इजलासले आदेश दिएको सुवेदीले जानकारी दिए । सुधा शिशु बिक्री भएको ग्रिनक्रस अस्पतालकी सफाइ कर्मचारी, निर्मला डा. कर्णकी सहयोगी र दिलमनी शिशु किन्ने सूर्यनारायणकी आमा हुन् ।

मोरङ प्रहरीले ५५ दिन अगाडि डा.कर्णसहित ७ जनालाई नियन्त्रमा लिएर अनुसन्धान गरी गत शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा राय पेस गरेको थियो । सरकारी वकिल कार्यालयले गत आइतबार डा. कर्णसहित सबै अभियुक्तविरुद्ध संगठित अपराध, व्यक्ति बेपत्ता र मानव बेचबिखन अपराधमा जिल्ला अदालतमा अभियोग दर्ता गराएको थियो ।

डा. कर्ण एक दशकदेखि शिशु बेचबिखनमा संलग्‍न

डा.कर्णले पछिल्लो पटक भोजपुर हतुवागढी–४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी प्रेमिका २६ वर्षीयाको सम्बन्धबाट असार १४ मा ग्रिनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुलाई मोरङको कटहरी गाउँपालिका–२ आदर्शटोलका सूर्यनारायण राजवंशीको निसन्तान दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पाइएपछि प्रहरीले उनीसहित अपराधमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । कर्णले उक्त बच्चाको व्यवस्थापनका लागि अविवाहित बाबुसँग पनि ३५ हजार रुपैयाँ लिएको पुष्टि भएको छ ।

शिशु बेचबिखन प्रकरण : डा. कर्णविरुद्ध संगठित अपराधसहित तीन मुद्दा

ग्रिनक्रस अस्पतालनजिक रहेको आफनो क्लिनिकमा उपचारका लागि आएकी अविवाहित युवतीलाई ग्रिनक्रस अस्पतालमा सुत्केरी गराएर अस्पतालकी सफाइ कर्मचारी सुधा राजवंशी र नर्स निर्मला यादवमार्फत डा. कर्णले मोरङको कटहरी–२ की दिलमाया राजवंशी र उनका छोरा सूर्यनारायणलाई उक्त शिशु ५ लाख रुपैयाँमा बिक्री गरेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको थियो । त्यसअघि डा. कर्णले ती अविवाहित जोडीबाट शिशुको व्यवस्थापन गर्ने जिम्मा लिँदै ३५ हजार रुपैयाँ लिएको प्रहरीको अनुसन्धानले खुलेको प्रहरीको राय प्रतिवेदनमा उल्लेख छ । उनीहरूसँगै पक्राउ परेका ग्रिनक्रस अस्पतालका सञ्चालक कृष्ण खवासलाई सरकारी वकिलको कार्यालयले मुद्दा नचलाई उन्मुक्ति दिएको थियो ।

डा. कर्ण २०७० चैत १९ देखि २०७१ असोज १४ सम्म कोशी अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टसमेत थिए । डा. कर्ण पक्राउ गरेपछि उक्त कार्यमा विराटनगरका अन्य प्रसूति रोग विषेशज्ञ पनि संलग्न भएको प्रहरीले आशंका गरेको थियो । एमबीबीएस एमडीजीपी गरेका डा.कर्णले ग्रिनक्रस अस्पतालनजिक रहेको आफ्नो निजी दीपेश मेडिकल क्लिनिकबाट गर्भवती महिलालाई विभिन्न निजी अस्पताल रिफर गरेर नवजात शिशु बिक्री गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ ।

प्रकाशित : आश्विन २४, २०८० १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?