२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

त्रिभुवन विश्वविद्यालय भन्छ : विश्व वरीयतामा स्तर खस्किए पनि एसियामा भने पहिलेजस्तै छ

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले विश्व वरीयतामा आफ्नो स्तर खस्किए पनि एसियामा भने नखस्किएको बताएको छ । मंगलबार त्रिभुवन विश्वविद्यालय, जनसम्पर्क महाशाखाले प्रेस विज्ञप्ति जारी गर्दै एसियाका विश्वविद्यालयहरूबीच भने त्रिविको स्तर पहिलेको जस्तै कायमै रहेको जनाएको हो ।

त्रिभुवन विश्वविद्यालय भन्छ : विश्व वरीयतामा स्तर खस्किए पनि एसियामा भने पहिलेजस्तै छ

विश्व वरीयतामा पाँच वर्षदेखि आठ सयदेखि एक हजारभित्रको सूचीमा पर्दै आएको त्रिवि पछिल्लो सर्वेक्षणमा भने १२ सयदेखि १५ सयको सूचीमा खस्किएको हो । टाइम्स हायर एजुकेसनले सन् २०२४ का लागि गरेको सर्वेक्षण प्रतिवेदनले विगतमा भन्दा त्रिविको वरीयता कमजोर बनेको देखाएको हो ।

'सन् २०२३ को टाइम्स हाइएर एजुकेसन स्तर मापन अनुसार त्रिवि विश्वस्तरमा ८०१ देखि १००० को बीचमा रहेको थियो भने एसियाका विश्वविद्यालयहरूबीच २५१ देखि ३०० स्तरमा थियो । आउँदो वर्ष २०२४ को लागि यस संस्थाले त्रिवि स्तर मापनमा १२०१ देखि १५०० बीचमा देखाएको छ । एशियाका विश्वविद्यालयहरूमा भने त्रिवि मापन स्तर गतवर्ष जस्तै २५१ देखि ३०० बीचमा नै रहेको छ,' विज्ञप्तिमा भनिएको छ ।

विश्व वरीयतामा खस्कियो त्रिभुवन विश्वविद्यालय

टाइम्स हाइएर एजुकेसनले विश्वविद्यालय स्तर मापनमा केही मापदण्ड परिवर्तन गरेकाले पनि त्रिभुवन विश्वविद्यालय पछि परेको विज्ञप्तिमा दाबी गरिएको छ । 'टाइम्स हाइएर एजुकेसनले विश्वविद्यालयको स्तर निर्धारणमा अनुसन्धान साइटेसनलाई ३०% (अर्थात् एक तिहाई ) अङ्कभार दिएर स्तर निर्धारण गर्ने परम्परालाई सन् २०२४ बाट १५% मात्र अंकभार दिने गरी मूल्याङ्कन पद्धतिमा परिवर्तन गरेका पाइन्छ जो त्रिविको सबैभन्दा राम्रो सूचक थियो त्यसलाई कम अंकभार बनाएको छ,' त्रिभुवन विश्वविद्यालयले भनेको छ ।

नयाँ मापदण्डले नेपाल मात्र नभई चीन भारतका विश्वविद्यालयमा समेत असर परेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । 'चीन, भारत र नेपाललगायत एसियामा अभिवृद्धि हुँदै गएको विश्वस्तरीय अनुसन्धान र प्रकाशन एवं सोको साइटेसनलाई कम अङ्कभार दिई गणना गर्दा विविध शङ्का, उपशङ्का उब्जिएको पाइन्छ,' विज्ञप्तिमा भनिएको छ । नेपाललगायत अन्य विकासशील देशहरुको सन्दर्भमा अव्यवहारिक तथा कानुनले निषेध गरेका नयाँ-नयाँ सूचकहरु पनि थपिएका विज्ञप्तिमा उल्लेख छ ।

'अन्तर्राष्ट्रिय प्राध्यापक संख्या अनुपात, अन्तर्राष्ट्रिय कर्मचारी संख्या अनुपात, अन्तर्राष्ट्रिय विद्यार्थी संख्या अनुपातलगायत कतिपय पश्चिमा विश्वविद्यालयहरूको अभ्यासलाई मात्र प्राथमिकता दिएकोले त्रिविको समग्र स्तरमा मेल नखाई केही कमी देखिए तापनि एसियाका विश्वविद्यालयहरूवीच भने त्रिविको स्तर पहिलेको जस्तै कायमै रहेको सरोकारवाला सबैमा सूचित गरिन्छ,' विज्ञप्तिमा अगाडि भनिएको छ ।


प्रकाशित : आश्विन १६, २०८० २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?