२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

प्रधानमन्त्री दाहाल अमेरिका आइपुगे

जगदीश्वर पाण्डे

न्यूयोर्क (अमेरिका) — राष्ट्रसंघको ७८ औं महासभामा नेपालबाट उच्च तहमै सहभागिता जनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्थानीय समयअनुसार आइतबार बिहान न्यूयोर्क आइपुगेका छन् । उनलाई विमानस्थलमा न्यूयोर्कस्थित यूएनका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायतले जेएफ केनेडी विमानस्थलमा स्वागत गरे ।

प्रधानमन्त्री दाहाल अमेरिका आइपुगे

यूएनमा नेपालबाट ११ सदस्यीय प्रतिनिधि मण्डल आएको हो भने अमेरिकामा रहेको स्थायी नियोग र दूतावासबाट गरी १४ जनाको सहभागिता रहने छ ।

७८ औं महासभा दुई साताअघि नै सुरु भए पनि यसको बहुचर्चाको रुपमा रहेको उच्चस्तरीय सम्बोधन र छलफलहरु मंगलबारदेखि सुरु हुँदैछ । नेपालको तर्फबाट प्रधानमन्त्री दाहालले यसपटक बिहीबार सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । दाहाल बिहीबार महासभालाई सम्बोधन गरेर शुक्रबार चीन भ्रमणलाई निस्कने छन् ।

न्यूयोर्कस्थित यूएनका लागि नेपालको स्थायी नियोगले पनि महासभाको गृहकार्यका लागि तयारी गरिरहेको जनाएको छ । महासभा र त्यसको अघि र पछि हुने कार्यक्रम तथा साइडलाइन भेटवार्ताको पनि तयारी नियोगले गरेको छ । प्रधानमन्त्री दाहालले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत भोजमा मंगलबार सहभागिता जनाउने कार्यक्रम छ ।

नेपालबाट दुई वर्षपछि महासभामा प्रधानमन्त्रीकै तहबाट सम्बोधन हुन लागेको हो । सन् २०१८ मा ७३ औं महासभामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागिता जनाएका थिए । सन् २०१९ मा ७४ औं महासभामा ओली सरकारका तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी भएका थिए भने सन् २०२० मा कोभिड–१९ को कारण भर्चुअलरूपमा भएको ७५ औं महासभामा तत्कालीन प्रधानमन्त्री ओलीले भिडियोमार्फत सम्बोधन गरेका थिए ।

सन् २०२१ मा भएको ७६ औं महासभामा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारका परराष्ट्रमन्त्री नारायण खड्का र सन् २०२२ को ७७ औं महासभामा परराष्ट्र सचिव भरतराज पौड्याललाई जिम्मेवारी दिएर सम्बोधन गर्न पठाएको थियो ।

नेपालले यूएनको महासभामा एक दर्जन मुख्य कार्यक्रममा सहभागिता जनाउने गरी गृहकार्य भएको छ । साथै, नेपालले दिगो विकास लक्ष्यहरू (एसडीजी) समिट, हाई लेभल डाइलग अन फाइनान्सिङ फर डेभलपमेन्ट, क्लाइमेट एम्बिसन समिट, हाई लेभल मिटिङ अन पेन्डामिक प्रिभेन्सन, प्रिपियरनेस एन्ड रेसस्पोन्स, प्रिपराटोरी मिनिस्टर्ल मिटिङ फर द समिट अफ द फ्युचर, हाई–लेभल मिटिङ अल युनिभर्सल हेल्थ कभरेल, हाई–लेभल मिटिङ अल द फाइट अगेन्स टुभर्कुलोसिस र अतिकम विकसित राष्ट्रहरू (एलडीसी) को अध्यक्षता गर्दै कार्यक्रम गर्ने गृहकार्य भएको छ ।

गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री भएपछि दाहालले जेठ १७ देखि २० सम्म भारतको औपचारिक भ्रमण गरेका थिए । त्यसपछि उनी इटाली प्रस्थान गरे । साउन ८–१० मा रोममा भएको ‘युनाइटेड नेसन्स फुड सिस्टम समिट–२०२३ स्टकटेकिङ मुभमेन्ट’ मा उनले नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

प्रकाशित : भाद्र ३१, २०८० १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?