भुटानी जेलमा रहेका राजबन्दीबारे ह्युमन राइट वाचको चासो

‘गैरन्यायिक कारणले थुनामा राखिएका राजबन्दी रिहा गरिनुपर्छ’

काठमाडौँ — ३० वर्ष लामो कारागार सजाय बेहोरेर एक महिनाअघि झापा, बेलडाँगीस्थित शरणार्थी शिविर फर्केका भुटानी नागरिक मधुकर मगरले भुटानको चेम्गाङस्थित कारागारमा कायमैं रहेको अमानवीय व्यवहार, यातनासहित कैदीबन्दीको दुरूह अवस्थाबारेमा विस्तृतमा जानकारी गराएका छन् ।

भुटानी जेलमा रहेका राजबन्दीबारे ह्युमन राइट वाचको चासो

अमेरिकाको न्युयोर्कस्थित ह्युमन राइट वाचले जारी गरेको विज्ञप्तिनुसार, राजबन्दी हैसियतमा चेम्गाङ थुनामा १ महिलासहित ३६ जना बन्दी रहेको र तिनलाई भुटान सरकारले आधारभूत खानपिन, औषधी–उपचार तथा बसोबासको प्रबन्धसमेत गर्न नचाहेर मानव अधिकारको गम्भीर उल्लंघन भैरहेको स्थिति छ । चेम्गाङसहितका कारागारको अवलोकन भ्रमणमा अन्तर्राष्ट्रिय रेडक्रस(आईसीआरसी) सहितका निकायले एक दशकयता अनुमति नपाएकोबारे ह्युमन राइट वाचले ध्यानाकर्षण गराएको छ ।

‘बाहिरी जगतमा ग्रस नेसनल ह्यापिनेस(सुखीखुसी राष्ट्र)को छवि फैलाएर यथार्थमा भने राजबन्दीलाई गरिँदै आएको फरक व्यवहार आफ्नै छवि निकै धुमिल बनाउने माध्यम बनेको छ,’,ह्युमन राइट वाचमा एसिया मामला हेर्ने उपनिर्देशक मिनाक्षी गांगुलीले विज्ञप्तिमा भनेकी छिन्, ‘राजा जिग्मे केशर नाम्ग्याल वाङचुकले गैरन्यायिक कारणबाट थुनामा रहेका राजबन्दीलाई बिनासर्त रिहा गर्नुपर्छ ।’

राजबन्दी हैसियतमा रहेका अधिकांश बन्दी दक्षिणी भुटानका नेपालीभाषी ल्होत्साम्पा रहेको र उनीहरूलाई १९९० देखि २००८ बीचको राजनीतिक गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ । थुनामा रहेकामध्ये अधिकांशले आफ्ना घरपरिवारसँग सम्पर्क गर्नसमेत नपाएको र बाहिरी संघसंस्थासमेत सम्पर्क पहुँचबाहिर रहेको वाचले जनाएको छ । भुटानले केही अघिसम्म आफ्ना कारागारमा कोही पनि थुनामा नरहेको दाबी गर्दै आए पनि यसबारे विस्तृत खुलासा भएपछि भुटान सरकार मौन रहँदै आएको छ ।

चेम्गाङ जेलबाट रिहा भएर दमक, बेल्डाँगीस्थित शरणार्थी शिविरमा आइपुगेका मगरले हालै कान्तिपुरसँगको कुराकानीमा जेलभित्र दण्ड र सजायको व्यवस्था निकै कडा रहेका जानकारी दिएका थिए । ‘मुख्य जेलभित्र पसेपछि पनि भित्रभित्रै बन्दीगृह जस्ता स–साना कोठाहरू बनाइएका छन्, कोही कैदीबन्दीलाई थप सजाय दिनुपरेमा ती बन्द कोठाभित्र राख्ने गरिन्छ । उज्यालोसम्म पनि देख्न पाइन्न,’मधुकरले भने, ‘थोरै अन्नपानीका भरमा कति दिन वा हप्ता त्यो कोठरीमा बस्नुपर्ने हो, थाहै हुन्न ।’

२६ वर्षको उमेरमा जेल परेका मधुकरले चेम्गाङ जेलभित्रको पछिल्लो प्रशासनिक गतिविधि अमानवीय रहेको बताउँदै विगतमा दिइँदै आएको मासिक २० किलो चामल अहिले १२ किलोमा सीमित गरिएको र साढे ६ केजी गहुँ पिठोलाई डेढ केजीमा झारिएको बताएका छन् । यस्तै, दाल पनि ३ केजीबाट २ केजीमा र सागसब्जी, मासुका लागि एकदमै नगन्य साप्ताहिक रकम दिने गरिएको जानकारी उनले दिएका छन् । मधुकरका अनुसार, चेम्गाङमा रहेमध्ये ४ जना कैदीबन्दीमा गम्भीर स्वास्थ्य समस्या रहेको र अरु ३ जना नियमित अस्पताल उपचारमा जानुपर्ने (क्रोनिक) स्थितिमा छन् ।

भुटानी जेलबाट ३० वर्षमा रिहा भएका मधुकर मगर ।

मधुकरले ह्युमन राइट वाचलाई दिएको थप जानकारीमा, कोभिड–१९ पछि जेल प्रशासनले नयाँ लगाउने कपडा वा ओढ्ने–ओछ्याउने कपडाको प्रबन्ध पनि गरिदिएको छैन । भुटानको कानुनी व्यवस्थामा आजीवन कारावास भनेर सजाय दिइएका कैदीबन्दीले भुटानका राजाको निगाहमा मात्रै रिहा हुने अवसर पाउँदै आएका छन् । सन् १९९९ मा तत्कालीन राजा जिग्मे सिंगे वाङचुकले आजीवन कारावास बेहोर्ने ४० जना राजनीतिक बन्दीलाई आममाफी दिएका थिए । त्यसपछि सन् २०२२ मा वर्तमान राजा जिग्मे केशर नाम्ग्यालले एकजना बन्दीलाई रिहा गरिदिएका थिए ।

भुटानी राजबन्दी रिहाइ अभियानका संयोजक राम कार्कीले नेदरल्यान्ड्सको हेगबाट दिएको सूचनामा, युरोपियन युनियनको दक्षिण एसिया हेर्ने कार्यदलले हालै भुटानी प्रधानमन्त्री लोटे छिरिङलाई भेटेर शरणार्थी समस्या समाधानमा कुराकानी गरेको जानकारी दिएका छन् । ‘भुटानी शरणार्थी समस्या समाधान र राजबन्दी रिहाबारे कुराकानी भएको जानकारी आएको छ,’कार्कीले भने, ‘नेपालका शिविरमा आफ्ना नागरिक भएमा ल्याइने बारेमा नेपालसँग सैद्धान्तिक छलफल भैरहेको भनेर प्रधानमन्त्री छिरिङले आश्वस्त बनाएका रहेछन् ।’

सम्बन्धित समाचार

प्रकाशित : भाद्र २९, २०८० १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?