गायनमा ‘भर्सटायल’ अस्मिता

‘तिम्रो मायाले बाँधेर राख’, ‘काले केटाले’, ‘लज्जावती झार जस्तै’, ‘टाढा भए पनि मेरो माया’, ‘यता परेली झिमझिम भो’ लगायतका चर्चित गीतमा स्वर भरेकी अस्मिता अधिकारी सबैखाले गीत गायनका लागि फिट छिन् । उनको यही खुबी नै सांगीतिक क्षेत्रमा लामो समय टिकिरहने बलियो आधार बनेको छ ।

वैशाख ३१, २०८१

सन्जु पौडेल

'Versatile' Asmita in singing

रुपन्देही — सानैदेखि गीत भनेपछि हुरुक्क हुन्थिन् उनी । गीत सुन्ने, गाउने र सुनाउने चाहनाले उनलाई कहिल्यै छोडेन पनि । हुर्किंदै जाँदा गायनमै केही गर्छु भन्ने इच्छासमेत बढ्दै गयो । हँसमुख र चञ्चले उनले घरमा आउने सबैलाई गीत गाएर सुनाउँथिन् । त्यसपछिको प्रशंसाले भने मन फुरुङ्ग हुन्थिन् । झापामा जन्मिएर कक्षा ७ सम्म पढाइ सकेपछि काठमाडौं पसेकी हुन् अस्मिता अधिकारी । 

थप अध्ययनका क्रममा उनले विद्यालयमा हुने सांगीतिक कार्यक्रममा भाग लिने गर्थिन । पछि भने भोकल क्लास नै लिन थालिन् । त्यही इच्छालाई निरन्तरता दिएकी २६ वर्षीया अस्मिताको नामअघि अहिले भने गायिका थपिएको छ । ‘तिम्रो मायाले बाँधेर राख’, ‘काले केटाले’, ‘लज्जावती झार जस्तै’, ‘टाढा भए पनि मेरो माया’, ‘यता परेली झिमझिम भो’, ‘काफल कमला’ लगायतका चर्चित गीतमा स्वर भरेकी अस्मिता खासमा सबै भाकाका लागि पर्फेक्ट छिन् । त्यही खुबी नै सांगीतिक दुनियाँमा जम्ने आफ्नो बलियो आधार भएको बताउँछिन् उनी । ‘मलाई सबै खालका गीतको ज्ञान हुँदै छ,’ उनी भन्छिन्, ‘गीत गाइरहन सकूँ, गीत गाएरै सबैको मनमा बस्न पाऊँ, चाहना यत्ति छ ।’

गीत गाउनका लागि अस्मिताले भने घरपरिवारबाट पूर्ण सहयोग पाइन् । त्यसको कारण परिवारमा उनी मात्रै यो क्षेत्रमा रुचि राख्ने भएकाले हो । उनलाई दाइ, बुवा र आमाले गीत गाउन, सुन्न र सिक्न छुट दिए । जसका कारण नर्सिङ अध्ययन गरेकी उनी अन्ततः गायनमा जमिन् । अस्मिताले पहिलेदेखि नै विभिन्न रियालिटी शोमा भाग लिने गर्थिन्, तर माथिल्ला राउन्डसम्म पुग्न सक्दिनथिन् । तर सन् २०१८ भने उनका लागि सुखद रह्यो । ‘मेरो प्यारो मान्छे तिमी’ गीत गाएर उनी नेपाल आइडलमा छनोट भइन् । फाइनलिस्टसम्म यात्रा तय गरेकी उनले करिब एक वर्षमा उक्त प्लाटफर्मबाट धेरै सिक्न पाएको बताउँछिन् । ‘फाइनल नजिते पनि निकै खुसी छु म,’ उनी भन्छिन्, ‘मलाई धेरै गीत गाउने अवसर प्राप्त भयो ।’ 

'Versatile' Asmita in singingकरिअरको सुरुसुरुमा कसैले गीत सुनिदिएर गाउन दिए पनि हुन्थ्यो भन्ने लाग्थ्यो अस्मितालाई । तर अहिले भने अवस्था फेरिएको छ । ‘आफू नै अब्बल हुँदै गएपछि सबैतिरबाट खोजी हुँदो रहेछ,’ उनले भनिन् । एउटा कार्यक्रमका लागि म्याग्दी गएका बेला एक महिला फ्यानले ‘अस्मिता जस्तै गायिका बन्न चाहेको’ सुनाएकी थिइन् । ‘उनको कुरा सुन्दा अस्मिता निकै भावुक बनिन्, आँखा रसाए,’ उनले भनिन् । पछिल्लो समय नेपालमा सांगीतिक क्षेत्रमा कस्तो भविष्य छ त ? अस्मिता भन्छिन्, ‘नेपालमा पनि सांगीतिक क्षेत्रबाटै आम्दानी र पहिचान बनाई बाँच्न सकिनेरहेछ भन्ने सन्देश जान थालेको छ । तर त्यसका उचित प्लाटफर्म र संगीत सिक्ने वातावरण भने हुनुपर्छ ।’ पछिल्लो समय देशमा सांगीतिक माहोल राम्ररी विकसित भइरहेको र देशबाहिर रहेका नागरिकले पनि नेपाली गीतसंगीतलाई धेरै माया गर्ने गरेकाले यो क्षेत्रमा आएकोमा निकै खुसी लाग्ने उनी बताउँछिन् । 

'Versatile' Asmita in singingअस्मिता डेढ वर्षकी हुँदा बुवा उमेश बिदेसिए । छोराछोरीको भविष्यका लागि काठमाडौं सरेका उमेशले २४ वर्ष विदेशमा बिताए । पछिल्लो समय भने उनले छोरीको स्वर सुनेर दुःख भुल्ने गर्थे । छोरीले गाएरै केही गर्छे भन्ने लागेपछि उनले छोरीलाई संगीत सिक्ने सुझाएका थिए । आमा मेनुकाले पनि अस्मितालाई गीत गाउन निकै प्रेरणा दिने गर्थिन् । ‘ममीलाई जति सुनाए पनि सुन्ने बानी, त्यसले पनि निकै हौसला मिल्यो ।’ पहिलो गीत रेकर्ड गरेर कमाएको पैसा आमाको हातमा राखिदिँदा निकै खुसी भएकी थिइन् अस्मिता । 

गायनसँगै नर्स बनेर सामाजिक सेवा गर्ने सोचेकी थिइन् अस्मिताले । केही समय उनले इन्टर्नका रूपमा अस्पतालमा काम गरिन् । पछि लाइसेन्स लिइन्, तर निरन्तर दिन भने सकेकी छैनन् । त्यसको एउटै कारण हो, गीतसंगीतको व्यस्तता । गीत गायनकै क्रममा उनी अस्ट्रेलिया, अमेरिका, बेलायत, थाइल्यान्ड, हङकङ, जापान, दक्षिण कोरिया, सिंगापुरलगायतका देश पुगिसकेकी छन् । विदेशी भूमिमा दर्शक/श्रोताले आफू सँगसँगै गीत गाइदिँदा भने भावुक हुने गरेको अस्मिता बताउँछिन् । ‘हरेक गीतको शब्द सम्झेर गाउनुहुन्छ,’ उनले भनिन्, ‘त्यो बेला निकै खुसी लाग्छ ।’ तर विदेश जाँदा भने केही निराशा आउने गरेको उनी बताउँछिन् । ‘अधिकांश साथीहरू विदेशमा छन् । उनीहरूको आफ्नै जीवनशैली छ, व्यस्त हुन्छन्,’ उनी भन्छिन् ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully