कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६
जातीय सफायाको लुकेको पाटो

तीन दशकदेखि भुटानी जेलमा राजबन्दी

सन् १९९० को सुरूवातदेखि थातथलोबाट लखेटिएका नेपालीभाषी भुटानी (ल्होत्साम्पा) मध्ये अधिकांश नेपालमा करिब दुई दशक शरणार्थी जीवन बिताएर विभिन्न मुलुकमा पुनर्बसोबासमा गए । तिनका कतिपय आफन्त भने भुटानका जेलमा अझै थुनिएका छन् । ३० जनाभन्दा बढी ‘राजबन्दी’ त चेम्गाङ जेलमा मात्रै छन् ।
देवेन्द्र भट्टराई

जयगाउँ, भारत — झापा, बेलडाँगीबाट झन्डै ५० किलोमिटर दूरीमा छ, नेपाल–भारतको पूर्वी सीमा, काँकडभिट्टा नाका । नेपाली सरहद पार गरेर झन्डै १८० किमि पार गरेपछि पुगिन्छ भारत र भुटानबीचको जयगाउँ फुन्चोलिङ नाका । फुन्चोलिङबाट झन्डै १५० किलोमिटर पर छ, भुटानको राजधानी थिम्पु । थिम्पु नाघेर पुगिन्छ चेम्गाङ जेल । त्यही जेलमा वर्षौंदेखि थुनिएका छोरा भेट्न बेलडाँगीको शरणार्थी शिविरबाट धाइरहेका छन्, बाआमा ।

तीन दशकदेखि भुटानी जेलमा राजबन्दी

फुन्चोलिङसम्म पुग्ने दुई दर्जनभन्दा बढी आफन्तको ताँतीमा उभिएकी छन्, ६० वर्षीया डम्बरकुमारी अधिकारी । उनी फुन्चोलिङ–जयगाउँ नाकाको यही बाटो भएर ३० वर्षअघि देशनिकालामा परेकी थिइन् । डम्बरकुमारी यही बिन्दुमा चेम्गाङ जेलमा १३ वर्षदेखि रहेको एक्लो छोरो ओमनाथसँग भेट गराइपाऊँ भन्दै ‘बिन्ती’ गर्न आएकी हुन् । यसरी बिन्ती गर्दा भुटानी प्रहरी–प्रशासनले कहिले सुनुवाइ गर्छ तर धेरैजसो सुनेको नसुन्यै । ‘फुन्चोलिङ ढोकामा मात्रै उभिन पाउँदा पनि छोराको नजिकै पुगे जस्तो हुन्छ,’ डम्बरकुमारीले भनिन् ।

भुटानको केन्द्रीय तहको चेम्गाङ जेल थिम्पुबाट ७ किमि टाढा छ । सेनाका थुना केन्द्रहरूसहित अन्य डेढ दर्जन जेलको वस्तुस्थितिबारे त अन्तर्राष्ट्रिय रेडक्रस पनि बेखबर छ । दुईपक्षीय सहमतिमा रेडक्रसले चेम्गाङ जेलको भ्रमण गर्न पाएको थियो तर त्यसमा पनि एक दशकदेखि बन्देज लगाइएको छ ।

गुगल नक्सामा(रातो घेरामा) थिम्पुनजिकै रहेको राजबन्दी राखिने भुटानको केन्द्रीय जेल ।

भुटानका जेलमा कति नेपालीभाषी थुनिएका छन् भन्ने आधिकारिक तथ्यांक कतै छैन । चेम्गाङमा ३० जनाभन्दा बढी ‘राजबन्दी’ छन् । तीमध्ये अधिकांशलाई आजीवन कैद तोकिएको छ । सन् १९९० को दशकमा भुटान सरकारले दक्षिणी भेगमा रहेका नेपालीभाषी (ल्होत्साम्पा) माथि सुरु गरेको ‘जातीय सफाया’ का क्रममा कैयौं पक्राउ परेका थिए । त्यसयता सन् २०१४ सम्मै नेपालीभाषीलाई पक्राउ गरेर जेलमा राखिएको सूचना छ । यसबीचमा कतिपय कैद सजाय पूरा गरेर नेपालका शरणार्थी शिविर आइपुगेका छन् भने ब्रह्मलाल अधिकारी, विश्वनाथ क्षत्री, देवदत्त शर्मा काफ्ले, भक्ति भण्डारी, रतन गजमेर, आरके घले, आईबी क्षत्री, जोगेन गजमेर र सुशील पोखरेललगायत भने पुनर्बसोबासमा विभिन्न मुलुकमै पुगिसकेका छन् ।

सन् ९० को दशकबाट एक लाखभन्दा बढी भुटानी नागरिक शरणार्थी बनेरै नेपाल आइपुगेको वृत्तान्त ‘इतिहास’ बनिसकेको छ । नेपाल आएकामध्ये करिब ७ हजारबाहेक सबैजसो बाहिरी विश्वमा पुनर्वासमा गइसकेका छन् । शरणार्थीलाई खाद्यान्न, शिक्षा, स्वास्थ्यको भरथेग र उनीहरूको भाग्य तथा पहिचान निर्धारण गर्न भनेर आएका राष्ट्रसंघीय शरणार्थी आयोग, विश्व खाद्य कार्यक्रम, अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) जस्ता निकाय शरणार्थी शिविरबाट बाटो लागिसकेका छन् ।

अमेरिकाको विदेश मन्त्रालयले निकाल्ने वार्षिक मानवअधिकार प्रतिवेदनमा ‘भुटानभित्रको मानवअधिकार र न्यायिक प्रवर्द्धन सन्तोषजनक रहेको’ भन्दै स्याबासी आउन थालिसकेको छ । भुटानभित्र राजनीतिक उथलपुथल ल्याउनमा ‘कारक’ बनाएर निर्दोष आमनागरिकलाई भने कैदमै राखिएको छ, जसबारे न शरणार्थीको ‘आश्रयदाता मुलुक’ नेपालले केही बोल्ने गरेको छ, न बाहिरी विश्वका मञ्चहरूमा कहींकतै कसैको आवाज सुनिन्छ ।

***

दुई वर्षअघि ‘चेम्गाङ’ बाट छुटेर आएका एक कैदीले भुटानी अधिकारवादी नेता टेकनाथ रिजालका हातमा केही थान तस्बिर थमाए, जसमध्ये एउटामा थियो, भित्तामा कुँदिएको गीतामन्त्र । ती कैदीले जेलभित्र रहेका साथीभाइको सन्चो–बिसन्चो त सुनाए नै, चेम्गाङको ती कोठा, भित्ता र वरपरको सजीव दृश्य देखाएर जेल जीवनको आफ्नै इतिहासमा नेता रिजाललाई समेत छिराइदिए । सन् १९८९ देखि एक दशक भुटानी जेलमा कैदी जीवन बिताएका रिजालले नै चेम्गाङ जेलको भित्तामा गीतामन्त्र कोरेका थिए । ‘जेलमा छँदा नेपालका शरणार्थी शिविरमा रहेका आफन्त बितेको खबर ढिलो गरी पाइन्थ्यो, भुटानभित्रै पनि कतै कुटिएका र मारिएका नेपालीभाषीबारे थाहा हुन्थ्यो,’ रिजालले सुनाए ।

उनले भने, ‘तिनै दिवंगत आत्माको शान्तिका लागि र आपत्विपत्मा धैर्य हुनलाई त्यही गीतामन्त्र लेखिएको भित्तो छेवैमा उभिएर हामी प्रार्थना गर्थ्यौं । आज पनि त्यस भित्तोमा मन्त्र यथावत् रहेको देखेर म विह्वल बनें, वर्षौंदेखि जेलभित्र रहेका कैदीको उन्मुक्तिको प्रार्थना गरें ।’

रिजालले आफू जेल छँदाका साथीभाइ सम्झिए— गंगाराम ढकाल, रामबहादुर राई, भक्तबहादुर राई, हर्कबहादुर गुरुङ, प्रकाश मगर, छेवाङ रिन्जिन आदि । यी सबै झन्डै ३० वर्षदेखि चेम्गाङमा राजनीतिक बन्दी भएरै थुनिएका छन्, जसका बारे बाहिरी संसार ‘बेखबर’ जत्तिकै छ ।

‘यातना चर्को थियो’

भुटान, साम्चीका मनबहादुर खालिङ राई २१ वर्ष ३ महिनासम्म चेम्गाङ जेलमा थुनिएर जब परिवार भेट्न दमकको शरणार्थी शिविर आइपुगे । शिविरमा न थिइन् श्रीमती, न छोराछोरी । उनका आमा, भाइबहिनी नेदरल्यान्ड्स पुगिसकेका थिए, तीन छोरा अमेरिका । ‘सन् २०१७ को सुरुवातमा म यता आउँदा शरणार्थी दर्ता गर्ने चलन हटिसकेको थियो । म न शरणार्थी सूचीमै दर्तामा परें, न विदेशै जान सकें,’ दमकको बेलडाँगी शिविर थ्रीको सेक्टर ए–वान, ४३ छाप्रोमा भेटिएका मनबहादुरले सुनाए, ‘मसँग अहिले आईसीआरसीले दिएको चेम्गाङ थुनासम्बन्धी प्रमाणमात्रै छ ।’

सन् १९९२ मा शरणार्थी शिविर आइपुगेका मनबहादुर तीन वर्षपछि जरुरी काम परेर आफन्त भेट्न भुटान गएका थिए । भुटान छिर्नासाथ ‘विगतमा राजनीतिक गतिविधिमा लागेको’ भन्दै पक्रेर उनलाई थुनामा हालिएको थियो । ५० वर्षे टेकबहादुर मगर बेलडाँगी–२ को डी ४५२७ छाप्रो छेवैमा टहलिरहेका भेटिए । उनी पनि २४ वर्षसम्म चेम्गाङ जेलमा थुनिएर सन् २०१६ को अन्त्यमा आफन्त खोज्दै बेलडाँगी शिविर आएका रहेछन् । ‘हाम्रो परिवार सन् १९९२ को सुरुवातमै शरणार्थी बनेर नेपाल आएको थियो, ६ महिनापछि फुपू भेट्न भुटान गएको थिएँ । एकाएक पक्राउमा परें, के किन भन्ने अवस्थै रहेन,’ उनले सुनाए ।

जेलमै छँदा एकपटक टेकबहादुरलाई भेट्न उनकी आमा चेम्गाङ पुगेकी थिइन्, अरू आफन्त कोही कहिल्यै भेटिएनन् । जेलबाट निस्केर आउँदा आमाबासहित सबै अमेरिका उडिसकेका थिए । ‘आज म एक्लो छु । जीवन जिउने आधार छैन,’ टेकबहादुरले भने ।

टेकबहादुरका अनुसार चेम्गाङ जेलमा अहिले पनि मधुकर, मणिराज, रामबहादुर, ओमनाथलगायत छन् । अरू पनि दुई दर्जनभन्दा बढी नेपालीभाषी वर्षौंदेखि थुनिएका छन् । सुरुमा थुनामा पर्दा पाँच केजीको फलामे रड खुट्टामा बाँधिदिई त्यसैमा उनेर जीउमा साङ्लो बाँधिएको ‘यातना’ टेकबहादुरले भुल्न सकेका छैनन् । सन् १९९४ मा अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) भुटान छिरेपछि मात्रै चेम्गाङ जेलमा कैदीले अलिक सहज जीवन जिउन पाए । ‘सुरुमा यातना चर्को थियो,’ उनले सुनाए, ‘दिउँसो भवन बनाउने, ढुंगा बोक्ने काम लगाउँथे । पाकेको र केलाएको चामल कहिल्यै खान पाइएन ।’

भुटानको साम्ची, गोलाबजारमा जन्मे–हुर्केका दिलकुमार राई ‘जातीय ज्यादती’ खप्न नसकेर सन् १९९५ मा नेपाल आइपुगेका थिए । बुबा जहरसिंह र आमा सरुमा राईको साथ लागेर नेपाल छिरेका उनी ‘शरणार्थी चिनारी’ मा बेलडाँगी शिविरमा भेटिए । यता आएको १ वर्षपछि आफन्त भेट्न भुटान गएका बेला उनी सिब्सुबाट पक्राउ परे । उनलाई प्रहरी–प्रशासनले अरूलाई झैं ‘उग्रवादी–आतंकवादी’ को अभियोग लगायो अनि २० वर्ष ११ महिना चेम्गाङ जेलमा थुन्यो । ‘२०१७ अक्टोबरमा म छुटेर बेलडाँगी आउँदा मेरो कोही थिएन,’ बेलडाँगी थ्री, १९८ छाप्रोमा भेटिएका ५७ वर्षे दिलकुमारले भने । उनका परिवारजन अमेरिका गइसकेका छन् । उनले थपे, ‘आज एक्लै छु । साथमा शरणार्थी परिचय पत्र छ तर जिउने आधार केही छैन ।’

सन् १९९६ नोभेम्बर २२ मा पक्राउ परेका उनी झन्डै एक वर्ष थिम्पुको जिल्ला जेल र त्यसपछि चेम्गाङ जेलमा थुनिएका थिए । ‘चेम्गाङ पुग्दैखेरि आईसीआरसी दर्तामा म २५३ नम्बरको कैदी बनेको थिएँ,’ उनले सुनाए, ‘म जेलबाट निस्कँदा झन्डै ३० जना राजबन्दी चेम्गाङमै थिए ।’

भुटानको जेलमा आईसीआरसीको भ्रमण सुरु भएपछि कैदीहरूको जीवनयापन केही सहज भए पनि ‘नदेखिने यातना’ आफूले समेत बेहोरेको उनले सुनाए । ‘सरकारले भनेको काम गर्नुपर्थ्यो । राति सुत्ने कोठामा बाहिरबाट ताल्चा लगाइने हुनाले एउटा प्लास्टिकको बकेटमा दिसापिसाब गर्थ्यौं, बिहान बाहिर फाल्थ्यौं,’ उनले सुनाए । आईसीआरसीका प्रतिनिधि जेलमा भेट्न आउँदा ‘जेलबाट छुटेर आउनुभयो भने परिवारसँग मिलन गराउछौं’ भनेर आश्वासन दिन्थे जुन कुरा दिलकुमार कहीं गएर उठाउन चाहन्छन् । तर यस्तो न्यायिक सरोकार सुनिदिने निकाय आज शिविरमा एउटै छैन, न गुनासो टिप्ने संयन्त्रै कतै छ ।

बेलडाँगी, सेक्टर डी वान, ८८ नम्बर छाप्रोमा बस्ने रुद्रबहादुर कार्की ६५ वर्ष लागे । सन् १९९० अन्त्यतिर भुटानको सर्वाङ, पिन्खुवामा बसोबास रहेकै बेला रुद्रबहादुर र उनका भाइ चन्द्रबहादुरलाई प्रहरी–प्रशासनले पक्राउ गरेको थियो । ‘हूलमूलमा लाग्न खोजेको, राजनीति गरेको’ जस्ता सनातनी अभियोग लगाएर झन्डै ११ महिना सर्वाङ जिल्ला जेलमा थुनेपछि रुद्रबहादुरलाई छुट्कारा दिइयो । त्यसपछि उनले बेलडाँगी शिविरमा आएर श्रीमती, छोराछोरी भेट्न पाए । चन्द्रबहादुर १८ महिना जेल बसेर नेपाल आउन सके । चन्द्रबहादुर सपरिवार अमेरिका पुनर्बासमा गइसकेका छन् । ‘मेरा एउटा छोरा, छोरी र श्रीमती अस्ट्रेलियामा छन्, एउटा छोरा अमेरिकामा छ,’ रुद्रबहादुरले भने, ‘बाहिर जाने प्रक्रिया चलेका बेला मेरी रोगी आमा मसँगै हुनुहुन्थ्यो, उहाँले आफ्नो अन्तिम दिन नेपालमै बिताउन चाहनुभयो । म आमाका लागि बसें । पछि म एक्लै यता रहें ।’

बुबा र तीन छोरा सँगै जेलमा

भुटानको दागाना मूलघर भएका ७४ वर्षीय मंगलध्वज सुब्बा सन् १९९० को मध्यतिर मिर्चुलाबाट पक्राउ परेका थिए, उनका तीन छोरा पनि सँगै समातिए । ‘तँ पार्टीमा लागेको रैछस् भनेरै प्रहरीले कुटपिट गर्न थाल्यो,’ ७४ वर्षीय मंगलध्वजले सुनाए, ‘ज्यान जोगाउन हो, म लागेकै थिएँ भन्नैपर्‍यो ।’

उनको जेठो छोरो धनराज १० महिनामै जेलमुक्त भए । मंगलध्वज ८ वर्ष जेल बसेर निस्किए । अरू दुई धनबहादुर र रणबहादुरले साढे ८ वर्ष चेम्गाङमै थुना काटेपछि ‘क्षमादान’ पाए । ‘जेलबाट निस्केर शरणार्थी बनेर नेपाल आयौं । पछि परिवारका सबै विदेश गए । म त बरु आफ्नै देश (भुटान) खुल्यो भने दागाना नै जान चाहन्छु,’ उनले भने ।

दागानाकै शान्तिराम आचार्य चेम्गाङ जेलमा ७ वर्ष थुनिएर २०१४ जुनमा नेपाल आइपुगे । सन् १९९२ मार्चमा झापाको माईधार हुँदै बेलडाँगी आएर बस्न थालेको आचार्य परिवारका केही आफन्त भुटानमै छुटेका थिए । ‘म २००७ जनवरीमा मामा भेट्न भुटान गएका बेला अनाहकको राजनीतिक अभियोगमा समातिएँ,’ शान्तिरामले सुनाए, ‘जेलमुक्त भएर बेलडाँगी आइपुग्दा आफन्त कोही थिएनन् ।’ अर्थात् आफन्त तेस्रो देश गइसकेका थिए ।

आईसीआरसीलगायतसँग शान्तिरामको पनि सरोकार छ— ‘जेलबाट निस्कनासाथ परिवारसँग मिलन गराइनेछ भनेर किन आश्वासन दिइयो ? परिवारलाई किन ललाइफकाई विदेश लगियो ? हामीलाई किन अलपत्र छाडियो ?’

छोरो आउने आस

बेलडाँगी शिविरको बाङ्गे चौतारोनजिकै ‘शरणार्थी आमा’ को घर छ । काठमाडौंको आईसीआरसी होस् वा शरणार्थी आयोग, शरणार्थी मामलामा कतै केही सोधपुछ गर्नुपर्‍यो भने ‘शरणार्थी आमा’ लाई सम्झिहाल्छन् ‘फोकल पर्सन’ का रूपमा ।

भुटानको दागानामा जन्मे–हुर्केकी डम्बरकुमारी अधिकारी सन् १९९२ अप्रिलमा ससाना छोराछोरी लिएर शरणार्थी हूलमा मिसिएकी थिइन् । ‘लौ, आन्दोलन उठ्यो अरे’ भन्दै गाउँका बाठाटाठाले गाउँ छाड्न थालेपछि डम्बरकुमारी निस्किएकी थिइन् । उनका श्रीमान् भुटानमै बितेका थिए ।

सन् २००८ मार्चमा आफ्नो थातथलो हेर्न हिँडेका उनका छोरा ओमनाथसहित ११ जना शरणार्थी युवा भुटानको साम्जोङ्खर बोर्डरमा पक्राउ परे । पक्राउ परेका अन्यमा बिर्खबहादुर क्षेत्री, हस्तबहादुर राई, सन्मान गुरुङ, चतुरमान तामाङ, नन्दलाल बस्नेत, गोविन्द निरौला, आइतराज राई, खगेन्द्र खनाल, सुकमान मगर र कुमार गौतम थिए । ‘देशद्रोही, आतंककारी र राजनीतिक उपद्रवकारी’ को अभियोग लगाइएका उनीहरू चेम्गाङ जेलमा आजीवन कारावासको सजाय कटाउँदै छन् ।

सन् १९९२ मा भुटानबाट लखेटिएपछि बेलडाँगी शिविरमै बस्दै आएकी ५७ वर्षीया कलावती मगर पनि चेम्गाङ जेलमा रहेको छोरो सुकमानलाई सम्झिरहेकी हुन्छिन् । उनी डम्बरकुमारीसँगै छोरो भेट्न थुप्रैचोटि चेम्गाङ पुगेकी छन् । ‘कहिलेसम्म जेलमा राख्छ, थाहा छैन,’ कलावतीले भनिन् ।

श्रीमान् नरबहादुर र कान्छो छोरो सञ्जीवसँग शिविरमै बसिरहेकी कलावती अरू चिनेजानेकाहरू तेस्रो देश जान थालेपछि विचलित बनेकी थिइन् । ‘त्यही छोरो आउला र विदेश जाऔंला भन्ने हो, तर पार लाग्ने देखिँदैन,’ उनले भनिन् । सुकमानका श्रीमती र छोरीहरू भने अमेरिका गइसकेका छन् ।

सन् १९९३, अक्टोबर २ मा भुटानी सरकारको मुखपत्र ‘क्युनसेल’ ले प्रथम पृष्ठमा शरणार्थीबारे नेपालसँग वार्ता गर्न भुटानी गृहमन्त्री आशावादी रहेको समाचार छापेको थियो । तर त्यही अंकको अन्तिम पृष्ठ एक शरणार्थी भक्तबहादुर राई पक्राउबारे भने ‘पुलिसले वाञ्छित आतंककारी पक्रियो’ भनेर समाचार छापेको थियो ।

भुटानको गेलेफुबाट नेपाल आउँदा दलवीर राईका साथमा दुई छोरा र श्रीमती पनि थिए । जेठो छोरा भक्तबहादुर भुटानको जेलमा थुनिएको २८ वर्ष भइसकेको छ । ‘नानी फर्केर आउला अनि सँगै विदेश जाउँला भनेर पर्खिबसेका छौं,’ दाहिने आँखाको क्यान्सर भएका ८२ वर्षीय दलवीरले भने । बाबुलाई रुँघेर र दाजु जेलबाट फर्की आउला भन्ने आशामा बसिरहेका इन्द्रबहादुर राई तीन पटक चेम्गाङ पुगेका छन् ।

२८ वर्षदेखि चेम्गाङ जेलमा थुनिएका भक्तबहादुर राईका बुवा दलवीर(दायाँ) र भाइ इन्द्रबहादुर (बायाँ) बेलडाँगी शरणार्थी शिविरमा ।

सन् १९९३, अक्टोबर २ मा भुटानी सरकारको मुखपत्र ‘क्युनसेल’ ले अन्तिम पृष्ठमा भक्तबहादुरको तस्बिरसहित समाचार छापेको छ, जसको शीर्षक छ– ‘पुलिसले वाञ्छित आतंककारी पक्रियो’ । समाचारमा उनलाई चोरी गरेको, व्यक्तिहत्या गरेको, बलात्कारमा संलग्न रहेको जस्ता विभिन्न आरोप लगाइएको छ ।

संयोग के छ भने, त्यही अंकको प्रथम पृष्ठमा ‘नेपाल वार्ताका विषयमा गृहमन्त्री आशावादी’ शीर्षकमा समाचार छ । समाचारमा उल्लेख छ— ‘भुटानी गृहमन्त्री ल्होन्पो दागो छिरिङ नेपालको पूर्वी तराईमा रहेका क्याम्पहरूमा रहने व्यक्तिहरूको पहिचानका लागि गठित मन्त्रीस्तरीय बैठकमा तीन सदस्यीय भुटानी प्रतिनिधिमण्डलको नेतृत्व गरेर काठमाडौंतर्फ जाँदै हुनुहुन्छ ।’

सुपारी बेच्न जाँदा जेल

सर्वाङ, डाँडागाउँका नरबहादुर मगर आमाबाबु, दाइभाउजू, श्रीमती, छोराछोरीसहित सन् १९९१ मा नेपाल आइपुगे । बेलडाँगी, बी ३, छाप्रो नम्बर २५५ मा भेटिएका उनले सुनाए, ‘भुटानमा हाम्रो गुवा (सुपारी) बगान थियो, त्यही बेचबिखनमा दाजु मधुकर सन् १९९४ मा फेरि भुटान छिरेका थिए, उतै पक्राउ खाएर चेम्गाङ जेलमै छन् ।’ यसबीचमा परिवारको भरपोषणका लागि नरबहादुर स्याङ्जातिर सडकको काम गर्न गए । केही वर्षपछि फर्कंदा परिवारका अरू सबै अमेरिका उडिसकेका थिए । अहिले न उनलाई भुटान जेलमा रहेका दाजुकै पछिल्लो स्थिति थाहा छ, न अमेरिकामा रहेका घरपरिवारै सम्पर्कमा छन् ।

गंगालाल गुरुङको ९ जनाको परिवार सन् १९९२ मा नेपाल आइपुगेको थियो । सन् २००८ मा एसएलसी परीक्षा सकेपछि उनका भाइ सन्मान घुम्न निस्किएका थिए । अरू शरणार्थी युवासहित भुटानमा उनी पक्राउ परेको खबर आयो । ‘रेडक्रसको सहयोग लिएर मैले बाबुलाई पनि चेम्गाङ जेलमा छोरो भेटाउन लगें, म पनि गइरहेको हुन्छु,’ गंगालालले सुनाए । उनका बुबाआमा र अरू भाइ विदेश गइसकेका छन् । ‘भाइले मलाई पर्खेर लिएरै विदेश जानू भनेको छ,’ गंगालालले सुनाए ।

कैद सजाय ४३ वर्ष ?

लक्ष्मी पुलामीको परिवार सन् १९९१ मा सर्वाङबाट नेपाल आइपुग्यो । उनका बाबु बेलडाँगी शिविरमै बिते, आमाले पुनर्बासमा गएर अमेरिकामा अन्तिम सास फेरिन् । दुई दाजुभाइ भुटानभित्रै गरिखाँदै छन् । ‘मेरो दाजु डम्बरसिंह भने २१ वर्षयता चेम्गाङ जेलमा थुनिएका छन्,’ लक्ष्मीले सुनाइन्, ‘मसँग शरणार्थी परिचयपत्र नभएका कारण दाजु भेट्न पनि पाएकी छैन ।’

कुनै अदालती प्रक्रिया र पद्धतिबाट कारागार अवधि नतोकिने भुटानमा अधिकांश कैदीलाई ‘आजीवन कारावास’ भनिएको छ । कसैलाई भने चार पटकसम्मको आजीवन कारावाससमेत भनिएको छ । सामान्यतः एक पटकको आजीवन कारावास १५ वर्षको हुने भनिए पनि डम्बरसिंहका हकमा प्राप्त चार्ज सिटमा ‘४३ वर्ष कारागार’ तोकिएको छ । भुटान ह्युमन राइट वाच र भुटानमा थुनिएका राजबन्दीको रिहाइ अभियानले उपलब्ध गराएको सूचीमा मणिकुमार प्रधानलाई ४३ वर्ष थुना अवधि भनिएको छ ।

५८ वर्षीय डम्बरकी श्रीमती सावित्रा, छोरा–बुहारी र छोरी तेस्रो देश पुनर्बासमा गइसकेका छन् । हाल अमेरिकाको पेन्सिलभिनिया राज्यमा रहेकी सावित्राले फोनमा भनिन्, ‘हामी झापाको टिमाईमा १९९२ तिर आइपुगेर बसेका थियौं । पछि छोराहरू बढ्दै गएपछि खर्चबर्चको जोहो गर्न सन् २००१ को अन्त्यतिर श्रीमान् भुटान जानुभएको थियो । उता हाम्रो सुपारी ठेक्काको काम थियो । दाजुहरूको पसल थियो । श्रीमान् एकैचोटि चेम्गाङ जेलमा पो थुनिएका छन् रे भन्ने सुन्यौं ।’

सावित्राले नेपाल छँदै रेडक्रसको सहयोगमा चेम्गाङ गएर श्रीमान् डम्बरलाई पाँच पटक भेटेकी थिइन् । ५५ वर्षीया उनले भनिन्, ‘छोराछोरीको भविष्यकै निम्ति अमेरिका आउने निधो गर्नुपर्‍यो । सन् २०११ मा हामी नेपालबाट यता आएपछि श्रीमान्बारे कुनै सूचना पाएकी छैन । कुनै दिन त भेट होला नि भनेर प्रार्थना गर्दै बसिरहेकी छु ।’

१३ वर्षदेखि चेम्गाङ जेलमा थुनिएका छोरा खगेन्द्र खनालका बुवाआमा नरपति र देउमाया ।

बेलडाँगी–२ कै २७२ नम्बर छाप्रोमा बस्ने ६८ वर्षीय नरपति र ६४ वर्षीया देउमाया खनालका माइलो छोरो खगेन्द्र पनि भक्तबहादुर सन्मानसँगै २००८ मा भुटानमा पक्राउ परेर चेम्गाङमा राखिएका छन् । ‘चेम्गाङको ब्लक–४ मा दाइ बस्छन्, बुबा छोरो भेट्न एकपटक जानुभो, म चार पटक गैसकें,’ खगेन्द्रकी बहिनी उमादेवीले भनिन्, ‘दाजुले हामीलाई मिलेसम्म तेस्रो देश जानू भन्नुहुन्छ । तर बाआमाले छोरो नआई कतै नजाने भनेर यतै बसिरहेका छौं ।’ खनाल दम्पतीको एक छोरो अस्ट्रेलिया र अर्को क्यानडा बसोबासमा पुगेका छन् ।

आफन्त भेट्न जाँदा जेलको पाहुना–घरमा चार रात, तीन दिन बस्न पाइन्छ । तर आफन्त कैदीले के खान्छन्, कसरी बस्छन् वा के गर्छन् भन्ने हेर्नै पाइँदैन । ‘हाम्रो मोबाइल, पैसा, ब्याग जेलकै गेटमा राखिएको हुन्छ । भित्र पकाएको खानेकुरा लैजान पाइन्न, कम्पनी प्याक भएको खानेकुरा मात्रै परीक्षणपछि लैजान पाइन्छ,’ उमादेवीले सुनाइन्, ‘हामीलाई राखिएकै पाहुनाघरमा दाजुहरूलाई ल्याइन्छ । केही दिन त्यहीं सँगै बस्छौं ।’

टेकनाथका साथी अझै जेलमा

भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल २४ वर्षअघि चेम्गाङ जेलमा छँदा उनका साथी थिए गंगाराम ढकाल । अझै जेलमै रहेका ढकाललाई भेट्न उनकी बहिनी तुलसा रिमाल बेलामौका चेम्गाङ पुग्छिन् । गंगारामको सजाय ‘लाइफ इम्प्रिजनमेन्ट’ (आजीवन कैद) भनिएको छ । ‘त्यहाँ १६ जनालाई जीवनभरको सजाय छ रे,’ बेलडाँगी टु, सेक्टर सी–वान, छाप्रो नम्बर १२७ मा भेटिएकी तुलसाले भनिन्, ‘२२ वर्षे उमेरमा थुना परेका दाजु ५२ वर्षका भइसके ।’

साम्दुक जोङ्खर जेल

तेन्जिङ गावा जाङ्पो २००९/आजीवन

मोंगर जेल

युगेन पेल्देन २००९/१४ वर्ष ।

(पूर्वी भुटानमा विद्रोही बनेका भिक्षुहरूलाई समेत मोंगर जेलमा राखिएको छ ।)

पारो ‘ओएपी’

डेचेन वाङ्मो २००९ अक्टोबर ९/१५ वर्ष

(फुन्चोलिङस्थित एक निजी स्कुलमा प्रिन्सिपल रहेकी डेचेन वाङ्मोलाई सन् २००९ यता पारोको ‘ओपन एयर प्रिजन’मा राखिएको छ । राष्ट्रसंघीय मानवअधिकार रिपोर्ट (२०११) मा समेत उल्लेख गरिएकी वाङ्मो ड्रूक नेशनल कंग्रेससँग सम्पर्कमा रहेको आधार देखाएर भुटानको गृह मन्त्रालयको निर्देशनमा ‘पक्राउ पुर्जीबिनै’ हिरासतमा लिइएको जनाइएको छ । राजनीतिक गतिविधिमा लागेको भन्दै उनलाई १५ वर्षको सजाय दिइएको छ ।)

राबुना (सैन्य) थुना

  • प्रेम राई
  • मधुलाल बुढाथोकी
  • लोकबहादुर घले
  • रामलाल राव
  • कुमार राई
  • विष्णु राई
  • शबहादुर गुरुङ
  • किन्ले ग्याल्टसेन
  • एमबी भुजेल
  • लोकनाथ आचार्य (२०१४)

९० को दशकमा दक्षिणी भुटानमा राजनीतिक उथलपुथल भएपछि टाठाबाठा नेपालीभाषीमाथि प्रहरी–प्रशासनले ‘निगरानी’ सुरु गरेको थियो । गेलेफु, चारबन्दीका गंगारामलाई पनि प्रहरीले पक्रन खोज्दै छ रे भन्ने हल्ला फैलियो ।

३० वर्षदेखि चेम्गाङ जेलमा थुनिएका दाजु गंगाराम ढकालको पर्खाइमा बहिनी तुलसा रिमाल र भित्तामा दाजु पक्राउ परेको तिथिमितिसहितको टिपोट । तस्बिर : विजय गजमेर/खोज पत्रकारिता केन्द्र

सन् १९९२ को बर्खा सकिएपछि एक रात ८ जनाको ढकाल परिवार गाउँ छाडेर हिँड्यो । ‘म त्यसबेला १४ वर्षकी थिएँ । हामी भुटानको बमजनडाँडा हुँदै असमको बोर्डर बाघमारा पुग्यौं,’ तुलसाले सुनाइन्, ‘बाघमारामा लुइँटेल थरका चिनारुकहाँ आश्रय लिएर झन्डै तीन साता बस्यौं । खर्चबर्चका लागि घरबाटै दुई माउ गाईसाथै ल्याएका थियौं । तिनै लुइँटेल परिवारले पैसा पछि दिऊँला भनेर गाई राखे, हामी त्यहाँबाट सिलिगुडी हुँदै नेपाल आइपुग्यौं ।’

गंगाराम गाई बेचेको खर्च उठाउन १९९२ को तिहारलगत्तै बाघमारा हिँडेका थिए । त्यहाँबाट उनी भुटानको सुरेतर्फ गएको र त्यहीं एक साथीको घरमा बास बसेका बेला भुटानी प्रहरीले पक्रेर लगेको खबर पछि परिवारमा आइपुग्यो । ‘सुरुका ६ महिना त दाजुलाई माटोमुनिको सुरुङ जस्तोमा राखेका थिए रे । अरूले खाएर रहेको खानेकुरा बाटामा हालेर दिन्थे रे,’ तुलसाले सुनाइन् । तुलसाका बुबाआमा बितिसके । उनका दाजुभाइ, दिदीबहिनी अमेरिका र अर्का क्यानडा छन् ।

हिजोका कुरा र चेम्गाङ जेलमा दाजु भेट्न गएका क्षण सम्झिँदा तुलसा भक्कानिइन् । छेवैमा रहेका साना दुई छोरीले ‘आमाले आँसु नझारिदिए हुन्थ्यो’ जस्तो विनयी अनुहार देखाइरहेका थिए । यो जीवन के हो त दिदी ? शिविरबाट बिदा हुने बेला तुलसालाई सोधेको थिएँ । ‘जीवन ? सम्झिसक्नु छैन नि ! सारा छिन्नभिन्न छ, परिवारजस्तै मनमुटु पनि ।’

यो जवाफभन्दा बढी हृदय हल्लाउने सुँक्कसुँक्क बढी सुनिन्थ्यो, परैसम्म ।

‘छोरो पर्खिरहेकी छु’

— डम्बरकुमारी अधिकारी, बेलडाँगी शिविर, झापा

सन् १९९२ को गर्मीयाममा आन्दोलन उठ्यो अरे भन्दै गाउँले टाठाबाठाले खुरुखुरु गाउँ छाड्न थाले । म पनि ६ वर्षको छोरो ओमनाथ र अढाई वर्षकी छोरी धनमाया च्यापेर दागानाबाट निस्किएकी थिएँ ।

१३ वर्षदेखि चेम्गाङ जेलमा रहेका ओमनाथ अधिकारी ।

शरणार्थी शिविरमा आफ्नै दुःख र हैरानी थियो । शरणार्थीका लागि तोकेको अन्न र नुनतेलका भरमा छोराछोरी हुर्काएँ, बढाएँ, सकेको पढाएँ । ओमनाथ २१ वर्षको थियो । गोल खेल्न गोलधाप जान्छु भनेर हिँडेको थियो । पर्सिपल्ट तिहारको टीका थियो, टीका थाप्न आइपुग्छु भनेको थियो । एकैचोटि फागुन (सन् २००८) मा पक्राउ पर्‍यो रे भन्ने खबर पाइयो, त्यो पनि रेडियोबाट ।

भुटानी जेलमा रहेका ओमनाथ अधिकारीको प्रतीक्षा गरिरहेकी आमा डम्बरकुमारी ।

पछि दमक बजारमा गएर रेडक्रसमा मेरो छोराको अवस्था बुझ्न चाहें । ‘तपाईंको छोराबारे केही थाहा छैन, भुटान जाने भए आफ्नै खर्चमा जानुहोस्’ भनेर हाकिमहरूले भने । अनि म आफैं खर्च जुटाएर फुन्चोलिङ–जयगाउ गएँ । त्यहाँ सीमाका पुलिसले ‘ओमनाथ नामको कोही पक्राउ भएकै छैन’ भने । एकपटक जेलसम्म गएर बुझ्छु भनेर बिन्ती बिसाएँ । तीन दिन त्यहाँ रोकिएपछि बल्ल माथिबाट ‘ओमनाथ पक्राउ परेको हो, जेलमै छ’ भनेर खबर गरे । अनि मात्रै जेलमा जान दिए ।

मैले मेरो छोरोसहित अरू नानीहरूलाई भेट्न पाएँ । राति चैं छोरासँग बस्न दिएन । दिउँसो भने बस्न दिन्थ्यो । दुई दिनसम्म पाहुना घरमा बसेर म फर्किएँ । दमक शिविरमा आएर ‘यी–यी छोराहरू जेलमा रहेछन्’ भनेर खबर सुनाएँ । अनि पालो क्रममा आफ्ना नानी भेट्न जान थाल्यौं । पछि आईसीआरसीलाई काठमाडौंमा भनेर वर्षमा चार पटक (तीन महिनाको पालोमा) भेट्न जान्थ्यौं, पछि आईसीआरसीले जाने–आउने खर्च दिन्थ्यो ।

म जेलमा पुगेपछि मौरीको रानोमा गोलो बसेझैं गर्छन् नानीहरू । मेरो छोरोको मात्रै कुरा भएन, सबैका लागि म आमा हुँ त्यहाँ । हामी सबै एउटै दहका माछा हौं । त्यहाँ गएर एउटाको अनुहार हेर्छु, अँध्यारो देख्छु । अर्काको पनि अँध्यारै देखिन्छ, खपिसक्नुहुन्न ।

हामीसँग भएको सूचीमा २० जना त यही बेलडाँगी क्याम्पबाटै गएका छन् । त्यसमा पनि तीन जना बेपत्ता छन् । मैले चिनेकामध्ये लोकनाथ आचार्य, कुलबहादुर बस्नेत, चेङगुम डुक्पाको अत्तोपत्तो छैन । जेलमा रहेको छोरो भेट्न पाए पनि यो मनमा शान्ति छैन । त्यो छोरालाई आखिरमा भुटानकै माटोले तानेको रैछ, मैले भुटान छाड्नु नै गल्ती रहेछ भन्ने लाग्छ ।

यसरी, छोरो आज आउँछ, भोलि आउँछ भन्दै १३ वर्ष बितेका छन् । चित्त बुझाउने बाटो भनेको अरूका छोराहरू २८–३० वर्ष जेलमै छन् भन्ने हुन्छ, म बाँचिरहेँ अथवा ऊ बाँचिरह्यो भने कुनै दिन भेट होला नि त भन्ने हुन्छ । यत्ति हो, तेरो छोराको गल्ती यो हो र, यति सजाय हुन्छ मात्रै भनिदिए पनि चित्त सन्तोष हुनेथियो । अहिले कोरोना, लकडाउनले गर्दा ऊ मर्‍यो कि बाँचेकै छ भन्न सकिएको छैन । यत्तिका वर्ष बितेर गए, छोरो पर्खेर बसेकी छु । ‘यसरी छोरो पर्खेर नहुने रहेछ’ भन्दै अस्ट्रेलियामा ज्वाईं रहेकाले उतै जाने विचार पलाएको थियो, तर लकडाउन भएपछि सबैकुरा रोकिएको छ । म यहाँ छोरी र नाति रुँगेर बसेकी छु ।

यो जीवन कर्कलाको पानी रहेछ, यता ढल्क्यो–पोखिन्छ । उता ढल्क्यो– फेरि पोखिन्छ । मेरा लागि एउटै आशा–भरोसा भनेको त्यही छोरो हो, कहिलेसम्म सकिन्छ– पर्खन्छु नै ।

‘जे लेखिएको छ, त्यही हुने रहेछ’

आफ्ना ९८ वर्षीय बुवा गंगाबहादुर कटुवालसँग छोरा तिलक । उनीहरू भुटानबाट लखेटिएपछि सन् १९९१ यता सीमावर्ती सहर जयगाउँमा बस्दै आएका छन् ।

तिलक कटुवाल भुटानको पाना बस्तीमा जन्मिए, हुर्किए । पढाइको मेट्रिकुलेसन तह पूरा गरेपछि सन् १९७५ मा भुटान गभर्मेन्ट पब्लिक ट्रान्सपोर्ट, फुन्चोलिङमा काम थाले । सेवा परिवर्तन गर्ने इच्छा र अवसर भएकाले उनी वन विभागमा गए । उनले भारतको् खर्साङमा गएर फरेस्ट्री अफिसरसम्मको ट्रेनिङको मौका समेत पाए ।

तिलकका अनुसार, त्यतिखेर भुटानमा राम्रो शान्ति थियो, उनको पनि सरकारसँग राम्रो थियो । ९० को दशकदेखि अप्ठ्यारा दिनहरू आए । भुटानले ‘बाहिरी देशका मान्छे आए’ भनेर रोक्नका लागि नीति बनायो । त्यो नीतिले नेपालीभाषी भुटानीलाई अप्ठ्यारो पर्ने अवस्था आयो । त्यसकै विरुद्ध शान्तिपूर्ण आन्दोलन भएको थियो । त्यतिबेला दक्षिणी भुटानबाट काउन्सिलर टेकनाथ रिजाल थिए । ‘नेपालीभाषीलाई अप्ठ्यारो पारिंदैछ’ भनेर रिजालले राजा जिग्मे सिंगेसँग बिन्ती गर्नासाथै रिजाल जेलमा थन्किहाले । ल्होत्साम्पाको बोली बन्द हुँदै गएपछि आक्रोश बढ्दै गयो, देशैभर आन्दोलन भयो, धरपकड बढ्यो । जनसाधारण जोकोही सांघातिक आक्रमणमा परे ।

त्यतिबेला तिलक भुटान सरकारले एकवर्षे तालिममा पठाएर युरोप (नर्वे) गएका थिए । उनी तालिम सकेर सन् १९८९ अन्त्यमा फर्केर भुटान आए । 'तर, म फर्किंदा मेरो जागिर थिएन, गाउँगाउँमा हाहाकार थियो, भागाभाग थियो । मेरो नाम पनि सरकारले भगौडामा राखेको रहेछु,' भुटानको सीमावर्ती भारतीय सानो बस्ती जयगाउँमा भेटिएका तिलकले सम्झिए, 'मैले सरकारसँग निकै अनुरोध गरें, मेरो केही गल्ती छैन भनेर । होइन–होइन, तिम्रा सबै मान्छे गए, तिमी पनि जाऊ भनेपछि सन् ९१ मा बाध्यतापूर्वक राजीनामा दिएँ । अनि यता जयगाउँ आएर बस्न थालें ।' तिलकको एक सन्तान थिम्पू र अरू दुई वटा फुन्चोलिङमा जन्मिएका हुन् । तैपनि उनी झैझगडामा उत्रिएनन् । जो निधारमा लेखिएको छ, त्यही हुने हो भन्दै आफ्नो जन्म–कर्मथलो छाडेर हिंडे । तिलक आफ्ना ९८ वर्षीय बुबा गंगाबहादुर कटुवालसहित अहिले जयगाउँमा बसोबास गर्छन् ।

तिलकले बुझेसम्म ‘भुटानमा नेपालीभाषी नागरिक (ल्होत्साम्पा)लाई सफाया गर्ने योजनै बनेको हो । भुटानी सरकारले चाहेको ‘जातीय सफाया’ नै हो, तर सफाया हुन नसकेपछि शरणार्थी समस्या शुरु भएको हो । त्यसपछि भूटानभित्र जो रहे रहे, बाहिरतिर जो गए गए । गएका फर्किन सकेनन्, भित्र रहेकाले सरकारी कानून मानेरै बसे ।

भुटान–भारत दशगजामा बसेर तिलकलाई के लाग्छ भने भुटानको पूरापूर सुरक्षा भारतले गर्दै आएको छ । जस्तो दोक्लाममा त्यत्रो मामला भयो, तर त्यहाँ भुटान गएर लड्नै परेन । भारतले लडेरै दोक्लाम ‘क्लियर’ गर्‍यो । जहाँजहाँ भुटानको चीनसँग बोर्डर छ, सबै इन्डियाले नै हेर्छ । फेरि इन्डियाले जे भन्छ, त्यो नै अन्तर्राष्ट्रिय जगतले सुन्छ ।

उनका बुझाइमा—ठीक यसैगरी, भारतको छत्रछायाँमा बसेको भुटानका मामलामा पनि भारतले जे भन्यो त्यही हुन्छ । भुटानी शरणार्थी मामलामा पनि त्यही हुन्छ । 'भूटानलाई नेपालले केही गर्न सक्ने होइन । नेपाल आफैं राजनीतिक रूपमा कमजोर छ । शरणार्थी मामला नेपालले अन्तर्राष्ट्रिय रूपमा पनि लैजानै सक्दैन,' तिलक भन्छन्, 'अब पूर्वी नेपालका शरणार्थी शिविरमा रहेका ६–७ हजार वृद्धवृद्धा–बालबच्चालाई के गर्ने र ? तिनलाई भूटान पठाउन म त असम्भव देख्छु । सकेको विदेश जान्छन्, नसक्ने नेपालै बस्लान् ।'

‘कति कुटेरै मारिए’

ब्रह्मलाल अधिकारी, अमेरिका

म शरणार्थी पुनर्बसोबास कार्यक्रममा परेर अमेरिकाको आइवोवा स्टेटमा बसोबास गरिरहेको छु । म भुटानको गेलेफु छँदा गाउँलेहरू गाईबस्तु पालनमा संलग्न थियौं । सन् ९० दशकको सुरुवातमै हामीलाई दोहोरो नागरिकता (भारत र भुटान) को रहेको भन्दै देशनिकाला गरियो । त्यसअघि ‘राजनीतिक गतिविधिमा लागेको भन्दै’ मलाई चार महिना गेलेफु जेलमा राखिएको थियो । त्यही बेलातिर गेलेफुको सैन्य थुनामा खडानन्द हुमागाईं र टीकाराम धिमाललाई र लोद्राइ जेलमा रत्न विश्वकर्मा र खड्गबहादुर मगरलाई झुन्ड्याएर मारिएको खबर सुनेको थिएँ । गेलेफु थुनामा प्रहरीको पिटाइ खाएका गंगाराम राईको जेलबाट छुट्नासाथै कुटपिट चोटकै कारण मृत्यु भयो । एचबी सापकोटालाई थिम्पू जेलमा कुटपिट गरेर मारेपछि ४ किलोमा लगेर फ्याँकिएको थियो । डम्फू, चिराङमा धर्मराज गुरुङलाई कुटेरै मारियो ।

जेलमा लगिने वा पक्राउ पर्ने, सजाय तोक्ने सबै मामलामा अदालतसम्मै एक जना मात्रै वादी वा प्रतिवादी वकिल थिए— छिरिङ ओङ्दा । गृहसचिवसमेत रहेका ओङ्दाले राजबन्दी वा अन्य कैदीका हकमा समेत आफैं पक्ष–प्रतिपक्ष वकिलको भूमिका निभाउँथे । आफैं जेल सजाय तोक्थे । हामी सन् १९९२ को सुरुवातमै पूर्वी नेपालको टिमाई पुग्यौं । पछि असमको मेचे बस्तीमा राखिएका गाईवस्तु बेचबिखन गरेर खर्च उठाउन जाँदा सन् १९९३ फेब्रुअरीमा मलाई भारतीय प्रहरीले असमको कोक्राझारमा पक्राउ गरेर भुटानलाई बुझायो । त्यसपछि म १६ वर्ष चेम्गाङ जेलमै थुनिएँ । म सन् २०१७ को मध्यमा अमेरिका आइपुगेको हो ।

‘हामी सूचना दिन सक्दैनौं’

– यान मिस्कोक, क्षेत्रीय उपप्रमुख, आईसीआरसी, दिल्ली

हामी खेद प्रकट गर्दै यो स्पष्ट पार्न चाहन्छौं कि आईसीआरसी भुटानका थुनामा सहजै निरीक्षण भ्रमण गर्न सक्ने अवस्थामा छैन । थुनाको अवस्था सुदृढ बनाउनु, पारिवारिक सम्पर्कलाई कायम राख्दै पुनःस्थापना गर्नु तथा सामान्यतः कानुनी सुरक्षालाई सम्मान कायम गर्नु आईसीआरसीको मुख्य उद्देश्य हो । हाल जारी महामारीमा आईसीआरसीले थुना रहेका स्थानमा कोभिड–१९ को सामान्य व्यवस्थापनलाई लिएर सम्बद्ध अधिकारीहरूसँग परामर्श गरेका थियौं ।

आईसीआरसीले संकलन गरेको बन्दीको सूचना सम्बन्धित थुना अधिकारीसँग मात्र बाँड्न सकिन्छ । उनीहरूको मञ्जुरीबिना सूचना बाँड्न मिल्दैन । आईसीआरसी तथ्यांक सुरक्षाको कडा नियममा बाँधिएको छ । सामान्यतः कुनै तेस्रो पार्टीलाई यी तथ्यांक उपलब्ध गराएर सम्बन्धित व्यक्ति वा उनका आफन्तजनलाई हानि नहोस् भन्ने प्रयास आईसीआरसीले गरिरहेको हुन्छ ।

हामीलाई जेल निरीक्षणको अनुमति छैन : आईसीआरसी

भुटान सरकारले आफ्ना नागरिकमाथि चलाएको ज्यादती र गैरन्यायिक थुना, बेपत्ता, हत्याको असहज स्थितिमाझ सन् १९९४ देखि भुटानमा अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) ले प्रवेश पाएको हो । भुटानको केन्द्रीय जेल चेम्गाङमा मात्रै आईसीआरसीको प्रतिनिधिमण्डलले भ्रमण गर्न पाउने र राजबन्दीको सहज गाास–बास–कपासको प्रबन्धमा दबाब दिन सक्ने स्थिति बन्यो । भुटानको राष्ट्रिय सुरक्षा ऐनअनुसार पक्राउ परेकालाई मात्रै हेर्ने (राजबन्दी) सर्तमा आईसीआरसीले भुटान प्रवेश अनुमति पाएको हो ।

आईसीआरसीको प्रवेशपछि कैदीमाथि गैरन्यायिक व्यवहार कम हुँदै गयो । आईसीआरसीकै पहलमा थुनामा रहेका राजबन्दीका आफन्तले वर्षमा चार पटकसम्म भेट्न पाउने प्रबन्ध भयो । जेलमा सरसफाइ, स्वास्थ्य सरोकार, आफन्त जाँदा बस्ने पाहुना घर निर्माण (कन्ज्युगर वार्ड) आदि पक्षमा पनि आईसीआरसीले समन्वय गर्दै आएको छ । सन् २०१२ पछि भने भुटान सरकारले आईसीआरसीलाई जेल भ्रमणको अनुमति दिन छाडेको छ । आईसीआरसीको नेपाल कार्यालयमा भुटान मामलाकी लियाजन अफिसर मीरा राना बस्नेतका अनुसार भुटान सरकारले कारागारभित्रको मापदण्ड, स्वास्थ्य, सुरक्षाजस्ता पक्षमा आवश्यक प्रबन्ध भइसकेकाले भन्दै आईसीआरसीलाई भ्रमण अनुमति बन्द गरेको हो ।

भुटान सरकारसँग १९९३ मा बनेको ‘समझदारी’ अनुसार झन्डै १० वर्ष आईसीआरसीले जेल भ्रमण गर्न पाएको थियो । हरेक वर्ष तय हुने ‘समझदारी’ २०१२ पछि ‘रिन्यु’ भएन । अहिले शरणार्थी शिविरमा रहेका आफन्तले काठमाडौंको आईसीआरसी अफिसलाई अनुरोध पठाएपछि काठमाडौंले दिल्ली कार्यालय र दिल्लीबाट थिम्पुसँग सम्पर्क गर्छ । त्यहाँबाट जेलमा कैदी तथा आफन्तका बारे छानबिन गरेर मात्रै आफन्त भ्रमणको अनुमति आउने गरेको छ ।

-(खोज पत्रकारिता केन्द्र)

प्रकाशित : कार्तिक १२, २०७८ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?