कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ९ र १० गते 

असोज ६ र ७ गतेलाई तोकिएको समय तालिका फेरबदल गरिएको हो 
सुदीप कैनी

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको समय तालिका फेरबदल गरेको छ । बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार असोज ९ र १० गते देशभर ग्रेडवृद्धि परीक्षा सञ्चालन हुनेछ । यसअघि असोज ६ र ७ गते परीक्षा सञ्चालन गर्ने समय तालिका तोकिएको थियो ।

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ९ र १० गते 

बोर्डले विशेष कारणवश परीक्षाको समय तालिका संशोधन गर्नुपरेको जनाएको छ । साउन ३० गते प्रकाशित कक्षा १२ को नतिजाअनुसार १ लाख २३ हजार ३ सय विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् ।

ग्रेडवृद्धि परीक्षा दिन भाद्र २२ गते सम्म र दोब्बर दस्तुर बुझाएर २९ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । त्यसका लागि विद्यार्थीले आफूले पढेको विद्यालयसँग समन्वय गर्न सक्नेछन् । यसवर्ष कक्षा १२ को परीक्षा दिएका कुल विद्यार्थीमध्ये ५१.९१ प्रतिशत मात्रैले स्नातक पढ्न पाउने भएका थिए । ४९ प्रतिशत उच्च शिक्षा पढ्न अस्वीकृत भएका छन् ।

गत वैशाख २६ देखि जेठ ५ सम्म देशभर सञ्चालित परीक्षामा नियमिततर्फ ३ लाख ७२ हजार ६ सय ३७ जना विद्यार्थी सहभागी थिए । तीमध्ये १ लाख ८९ हजार ७ सय ११ जनालाई उच्च शिक्षामा भर्ना हुने बाटो खुलेको थियो ।

१ लाख ८२ हजार ९ सय २६ जना अर्थात् ४९.०९ प्रतिशत नन्ग्रेडिङ (एनजी) मा परेर तत्काल उच्च शिक्षामा भर्ना हुन रोकिने भएका छन् । तर ननग्रेडिङमा परेकामध्ये पनि १ लाख २३ हजार ३ सय विद्यार्थीले भने ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने भएका थिए । ती विद्यार्थीले न्यूनतम ग्रेड प्राप्त गरे उच्च शिक्षामा भर्ना हुने बाटो उनीहरूलाई यसपालि नै खुल्नेछ । असोजमा ग्रेड वृद्धि दिन पाउनेमध्ये ७९ हजार जना एउटामात्रै विषयमा एनजीमा परेका छन् ।

लेटर ग्रेडिङ निर्देशिकाअनुसार प्रत्येक विषयको सैद्धान्तिक (लिखित) तर्फ कम्तीमा ३५ प्रतिशत प्राप्तांक प्राप्त गरे मात्र विद्यार्थी स्नातक तहमा भर्ना हुन योग्य मानिन्छन ।

३५ प्रतिशत प्राप्तांक ल्याउन नसकेर दुई विषयसम्म एनजीमा परेका विद्यार्थीले भने ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ । तीनभन्दा बढी विषयमा एनजीमा सूचीकृत विद्यार्थीले भने अर्को वर्ष सम्बन्धित विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था छ । पुनः अर्को वर्ष ग्रेड वृद्धि परीक्षा दिनुपर्ने गरी उच्च शिक्षामा भर्ना हुन बाटो अवरुद्ध भएका विद्यार्थीको संख्या ५९ हजार ६ सय २६ जना छ ।

प्रकाशित : भाद्र २०, २०८० १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?