कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सर्वोच्चमा सोमबारदेखि पेसी तारेख स्वचालित प्रणालीबाट हुन्छ : प्रधानन्यायाधीश 

‘न्यायाधीश नियुक्ति नगरी नहुने भएको छ, त्यो मैले महसुस गरेको छु । म त्यसमा लागि सकेको छु । छिट्टै त्यो नतिजामा आउँछ होला’

काठमाडौँ — प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सोमबार (भाद्र ११) बाट ‘पेसी तारेख स्वचालित प्रणाली (अटोमेशन सिस्टम)’ सुरु हुने भएको छ । न्यायालयभित्र हुने अनियमिततालाई कम गर्ने कदमस्वरुप पेसी तारेख स्वचालित प्रणालीबाट सुरु गर्न लागेको प्रधानन्यायाधीश श्रेष्ठले जानकारी दिए ।

सर्वोच्चमा सोमबारदेखि पेसी तारेख स्वचालित प्रणालीबाट हुन्छ : प्रधानन्यायाधीश 

सर्वोच्च अदालतस्थित कार्यकक्षमा आइतबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चसँगको कुराकानीमा प्रधानन्यायाधीश श्रेष्ठले अदालतभित्र हुने अनियमितता हुनै नदिन पनि प्रविधिको प्रयोगमा जोड दिन लागिएको बताए । तारेख तोक्ने काममा कर्मचारीहरूको हस्तक्षेप नहोस् भनेर उक्त प्रणाली जडान गर्न लागिएको हो ।

‘हामी एउटा प्रविधिबाटै जाऊँ प्रविधिमैत्री भयो भने काम कारबाहीहरूको गुनासो कम आउँछ कि भन्ने कुरा भएकोले भोलिबाटै पेसी तारेख अटोमेशन शुभारम्भ हुँदैछ । अब पेसी तारेख हुँदाखेरी कर्मचारीहरूले एउटा प्रविधिबाट मात्रै तोकिने, त्यसमा मानव हस्तक्षेप नहुने प्रविधि भोलिदेखि म शुभारम्भ गर्दैछु । यस्तै यस्तै माध्यमबाट हामी अनियमिततालाई छेक्ने, अनियमितता हुन नदिने आदि कुराहरू सानातिना व्यवस्थापकीय कार्यहरूबाट पनि गर्न सकिन्छ होला । प्रविधिमा म त धेरै भरोसा गर्दछु । मैले भने कि त्यो पूरा प्रविधिमैत्री छ । हरेक कुराहरू प्रविधिमै आबद्ध हुनुपर्ने, त्यो नभई हुँदै नहुने,' उनले भने, 'कर्मचारीहरूले त्यो प्रविधिमा आबद्ध भएनन् भने कामै अगाडि नबढ्ने । जान्नैपर्ने बाध्यता छ । गर्नैपर्ने बाध्यता छ । त्यसलाई सफल पार्न पाएदेखि सानातिना हामीमाथि लागेको जो होलान् पनि ती अनियमितताहरूलाई न्युनीकरण गर्न सकिन्छ ।'

न्यायपालिकाभित्र भएका अनियमितताको छुट्टै ढंगले जाँचबुझ र छानबिन हुने पनि प्रधानन्यायाधीश श्रेष्ठले बताएका छन् । न्याय परिषद्ले पनि त्यस्ता विषयमा छानबिन गर्ने उनको भनाइ थियो ।

प्रधानन्यायाधीश श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया आफूले सुरु गरिसकेको उल्लेख गर्दै त्यसको नतिजा छिट्टै आउने बताएका छन् । न्यायाधीश नियुक्ति नगरी नहुने भएकाले आफू त्यसमा लागि परेको उनको भनाइ छ ।

मुद्दाको बोझ धेरै भएको तर दरबन्दी अनुसारको न्यायाधीशसमेत नहुँदा अप्ठ्यारो भइरहेको उनले बताए । ‘न्यायाधीश नियुक्तिको विषय म तत्काल गरिहाल्छु । न्यायाधीश नियुक्ति नगरी नहुने भएको छ । त्यो मैले महसुस गरेको छु । म त्यसमा लागि सकेको छु । छिट्टै त्यो नतिजामा आउँछ होला,’ उनले भने ।

प्रकाशित : भाद्र १०, २०८० १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?