क्विन्टल सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका अधिकृतसहित ३ कर्मचारी र थप ३ एजेन्ट पक्राउ

मातृका दाहाल

काठमाडौँ — हङकङ हुँदै तस्करीबाट भित्रिएको एक क्विन्टल सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास हुनुअघि एक्स–रेका प्राविधिकले ‘शंकास्पद सामान’ भएको लिखित ‘कैफियत’ जनाए पनि भन्सार अधिकृतले नजाँची छाडिदिएको पाइएको छ ।

क्विन्टल सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका अधिकृतसहित ३ कर्मचारी र थप ३ एजेन्ट पक्राउ

भन्सारका अधिकृत, एक्स–रे प्राविधिक र जाँचकीले शंकास्पद वस्तु भन्ने थाहा पाएर पनि अनदेखा गर्दा तस्करीको सुन गिरोहले सहजै फुत्काएको हो । तस्करीको पूर्वसूचना पाएर राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले भन्सार परिसरबाहिरबाट सुन बरामद गरेपछि त्यसको रहस्य खुलेको हो ।

अन्तर्राष्ट्रिय गिरोहले असार २९ मा हङकङबाट रेडी ट्रेडका नाममा पठाएका ८ कार्टुन सामान मंगलबार विमानस्थल भन्सार कार्यालयले स्कुटरका ब्रेक सुका नाममा जाँचपास गरी छाडिदिएको थियो । ती सामान जाँच्ने क्रममा एक्स–रेमा गाढा कालो आकार देखिएपछि खरिदार सरोज श्रेष्ठ (प्राविधिक) ले चार कार्टुन सामानमा कैफियत जनाएर आरसी (रि–चेक) गर्नुपर्ने उल्लेख गरेका थिए । त्यस्तै गाढा कालो देखिएका अरू चार कार्टुनमा भने उनले केही उल्लेख गरेका थिएनन् ।

रेडी ट्रेडले ल्याएको थियो दुई महिनामा १९९७ किलो सामान

यसरी सामानमा प्राविधिकले कैफियत देखाएपछि भन्सार अधिकृत र जाँचकी दुवैले सामान खोलेर हेर्नुपर्ने र प्रयोगशालामा परीक्षणका लागि पठाउन सक्ने अधिकार दिएको छ । तर, एक्स–रेबाट पार भएर आएका सामान न भन्सार अधिकृत सन्तोष चन्दले परीक्षण जनाए, न जाँचकी कुमार ढकालले नै त्यसबारे केही उल्लेख गरे ।

भन्सारको एक्स–रेमा आरसी अर्थात् ‘पुनः परीक्षण’ भनेर कैफियत लेखिएका सामानमार्फत सुन तस्करी हुने गरेको एक अधिकारी बताउँछन् । ‘एक्स–रेका प्राविधिकले पुनः परीक्षण गर्नुपर्ने भनी कैफियत जनाएका सामानमा थप जाँच/पड्ताल नहुनु गम्भीर लापरबाही वा तस्करको सेटिङमा काम भएको हुन सक्छ,’ भन्सारबारे जानकार एक अधिकृतले कान्तिपुरसँग भने, ‘त्यस्तो शंकास्पद सामान भेटिएपछि बुझ्न आएका मानिसलाई त्यहीं निगरानी बढाएर नियन्त्रणमा लिन पहल गर्नुपर्नेमा उल्टै सामान नहेरी छोड्नुले गिरोहको पूर्वयोजनामा काम भएको आशंकालाई बल पुग्छ ।’

विभागले पछिल्लो केही महिनायताको विवरण नै अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । शंकास्पद वस्तु भन्दाभन्दै पुनः जाँच नगरी छोडिदिँदा सोझो फाइदा तस्करले उठाएको ती अधिकारी बताउँछन् । तर, यो विषयको पूर्वसूचना राजस्व अनुसन्धान विभागले पहिल्यै थाहा पाएका कारण तस्करको योजना सफल हुन सकेन । भन्सारबाट पार भएको तस्करीको सुन ट्याक्सीमा राखेर सिनामंगल सडकमा पुगेलगत्तै राजस्वको टोलीले भन्सार एजेन्ट राजेन्द्र राईलाई नियन्त्रणमा लिएको थियो । त्यही बेला ट्याक्सी चालक अशोक लामा पनि पक्राउ परे । यो प्रकरणमा तस्करसँग मिलेमतोको आशंकामा भन्सार अधिकृत चन्द, जाँचकी ढकाल र एक्स–रे प्राविधिक श्रेष्ठलाई विभागले आइतबार पक्राउ गरेको छ । तीनै जना यसअघि नै यही प्रकरणमा निलम्बनमा परेका थिए ।

गत बुधबार र बिहीबार यही प्रकरणमा विभागले चलाएको विशेष अपरेसनका क्रममा भारतीय नागरिक थुप्तेन छिरिङ र चिनियाँ नागरिक जेक्युयाङ लीन पक्राउ परेका थिए । स्रोतका अनुसार दुवै विदेशी नागरिक भारतीय र चिनियाँ तस्करको एजेन्टका रूपमा सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । त्यसपछि ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्करराज भट्ट, रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, भरियाका रूपमा आशंका गरिएका हर्कराज राई, राजन श्रेष्ठ र कृष्ण श्रेष्ठ समातिए । हालसम्म यो प्रकरणमा १६ जना पक्राउ परिसकेका छन् ।

उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलका अनुसार विभागले १६ जनालाई पक्राउ गर्न अदालतबाट पक्राउ अनुमति लिएको थियो । पक्राउ परेकामध्ये आइतबार ६ जनालाई ६ दिनका लागि थुनामा राख्न अनुमति दिएको उनले जानकारी दिए । यसअघि पक्राउ परेकालाई १० दिन थुनामा राख्न विभागले अनुमति लिइसकेको छ । पक्राउ पर्नेहरू तस्करीसँग जोडिएका भरिया र सहयोगीको तह मात्रै रहेकाले सुनका खास मालिकसम्म पुग्न अनुसन्धान जारी रहेको विभाग स्रोतले जनाएको छ ।

विमानस्थल भन्सारका कर्मचारीलाई राजस्वले सोधपुछका लागि भन्दै आइतबार हरिहर भवनस्थित कार्यालयमा बोलाएको थियो । तीनै जनालाई त्यहींबाट नियन्त्रणमा लिइएको थियो । सुन तस्करीको नाइकेका रूपमा शंका गरिएका एक व्यापारीमाथि पनि प्रहरी र राजस्वको टोलीले सूक्ष्म अनुसन्धान गरिरहेको छ ।

रेडी ट्रेडका नाममा तस्करीको सुन भित्र्याउन ती व्यापारी भारत, दुबई र हङकङसम्म पुगेको र नेपाल आएपछि सुन बरामद भएकाले घटनामा उनी अनुसन्धानको घेरामा तानिएका हुन् । तस्करीको सुन भित्र्याउन ती व्यापारीले नै भारत र हङकङ/चीनमा सक्रिय गिरोहको योजनामा रेडी ट्रेड नामक फर्म खडा गरेको अनुसन्धान अधिकारीहरूको आशंका छ । हङकङमा रहेको गिरोहले एक्स–रे मेसिनले रिड गर्न नसक्ने गरी कारखानामै ब्रेक सुमा सुन राखेको पनि खुलेको छ ।

चीनको दोङगोन सुतु ट्रान्सपोर्टेसन कम्पनी, ताइवानको तालमड कम्पनी र चीनकै जियाङनेन फेङटोङ ट्रान्सपोर्टेसन कम्पनीले पठाएका सामान नेपालको रेडी ट्रेड कम्पनीका नाममा आएका थिए । पछिल्लो दुई महिनामा मात्रै रेडीले यी कम्पनीमार्फत १ हजार ९ सय ९७ केजी बराबरका सामान विभिन्न कार्टुनमा राखेर ल्याइएको थियो । रेडीकै नाममा असार २९ मा क्याथे प्यासिफिकको कार्गोमा आएको ३६ कार्टुनमध्ये ८ वटा भन्सार जाँच पास भएर बाहिरिएपछि गत साता मंगलबार राजस्व अनुसन्धान विभागले सिनामंगल–गैरीगाउँ सडकबाट बरामद गरेको थियो ।

प्रकाशित : श्रावण ७, २०८० १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?