नौ वर्षमा तस्करीको साढे ६ सय केजी सुन बरामद, ७ सय ६ पक्राउ

मातृका दाहाल

काठमाडौँ — पछिल्लो नौ वर्षमा तस्करीबाट भित्रिएको साढे ६ सय केजीभन्दा बढी सुन बरामद भएको छ । आर्थिक वर्ष २०७१/७२ यता स्थल र हवाई मार्गबाट अवैध रुपमा भित्रिएको ६ सय ६५  केजीभन्दा बढी सुन सुरक्षा निकाय तथा भन्सार र राजस्व प्रशासनका विभिन्न निकायले बरामद गरेका हुन् ।

नौ वर्षमा तस्करीको साढे ६ सय केजी सुन बरामद, ७ सय ६ पक्राउ

मंगलबार र बुधबार मात्रै राजस्व अनुसन्धान विभागले चलाएको विशेष अपरेसनका क्रममा हङकङ हुँदै ल्याइएको करिब एक क्वन्टिल सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जाँचपास गरिएका सामानभित्र लुकाएर ल्याइएको अवस्थामा बरामद भएको छ । यसको अनुसन्धान जारी छ ।

यो सुन कारोबारको नेक्सस विगतमा तस्करीमा संलग्न गिरोहसँग समेत जोडिएको हुनसक्ने आशंकामा राखेर अनुसन्धान अघि बढाइएको छ ।

पछिल्लो नौ वर्षको अवधिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार र राजस्वसहितका विभिन्न युनिटले हङकङ, दुबई, चीनलगायत मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहितका नाका हुँदै ६ सय ६५ केजी ५ सय ग्रामभन्दा बढी सुन बरामद गरेका छन् ।

सुनको अवैध ओसारपसार तथा कारोबारमा संलग्न केही कारोबार र भरिया गरी ७ सय ६ जना पक्राउ परेका छन् । विमानस्थलबाट मंगलबार बरामद सुन तस्करबाट बरामद हालसम्मकै उच्च परिमाणको हो । यसरी भित्रिएको अबैध सुनको ठूलो हिस्सा नेपाललाई ट्रान्जिट बनाएर अरु नै मुलुक लैजान ल्याएको हुनसक्ने आशंका छ ।

यसअघि २०७४ भदौमा काठमाडौं प्रहरीले रसुवागढी नाका हुँदै ल्याइएको ८८ केजी सुनसहित एक भरियालाई पक्राउ गरेको थियो । सुन कारोबारमै संलग्न काठमाडौंका केही सुनचाँदी व्यापारी पनि पक्राउ परेका थिए । तर, विदेशबाट सुन पठाउने मुख्य गिरोह र त्यसलाई व्यवस्थापन जिम्मा पाएका नेपालमा सक्रिय एजेन्टसम्म प्रहरी पुग्न सकेको छैन ।

नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो नौ वर्षमा सबैभन्दा बढी आव २०७४/७५ मा सबैभन्दा बढी २ सय केजीभन्दा बढी बरामद भएको छ । आब २०७१/७२ मा पनि १ सय ७१ केजीभन्दा बढी तस्करीको सुन बरामद भएको देखिन्छ । यो त तस्करीबाट भित्रिएर बरामद भएको परिमाण मात्रै हो ।

विमानस्थल र अन्य भन्सार चेकप्वइन्टमा कडाइ नगर्दा तस्करी थप मौलाएको हुनसक्छ । विमानस्थल भन्सारको आगमन कक्षमा भन्सारका मात्रै कर्मचारी बस्छन् । अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने सुरक्षा निकायको उपस्थिति भन्सार प्वाइन्टमा रहँदैन । त्यसको सोझो लाभ आपराधिक गिरोहले लिइरहेको अनुसन्धानमा संलग्न एक अधिकारी बताउँछन् ।

प्रहरीका अनुसार आव २०७२/७३ मा ९८ लाई ७२ केजीसहित पक्राउ परेका थिए । आव २०७३/७४ मा ६४ केजीसहित ८५ जना, आव २०७५/७६ मा करिब ५२ केजीसहित १ सय १५ जना, आब २०७६/७७ मा ३० केजीभन्दा बढी परिमाणसहित ३० जना, आब २०७७/७८ मा साढे ३२ केजीसहित ५५ जना, आब २०७८/७९ मा करिब २४ केजीसहित ८८ जना र गएको आव २०७९/८० मा करिब ११ केजीसहित ९१ जना पक्राउ परेका थिए । मंगलबार विमानस्थल बाहिरबाट बरामद करिब सय केजी सुनसँग जोडिएका ६ जना पक्राउ परिसकेका छन् । यसको मुख्य कारोबार र सुन कहाँ लैजान लागिएको भन्ने तथ्य खुलिसकेको छैन । राजस्व अनुसन्धान विभाग र प्रहरीका अधिकारी यो अपराधमा संलग्न मुख्य अभियुक्तको पहिचान गरी कारबाहीको दायरामा ल्याउन अनुसन्धान भइरहेको जनाएका छन् ।

प्रकाशित : श्रावण ४, २०८० १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?