के खान्छ डिजिटल काठमाडौं ?

व्यस्त जीवनशैलीका उपत्यकावासीको स्वाद फेर्ने रहरलाई अनलाइन डेलिभरी सेवाले पूरा गर्दै 
२४ सै घण्टा अर्डर लिने व्यवस्था, करिब डेढ सय परिकार उपलब्ध
सजना बराल

काठमाडौँ — अनलाइनबाट खाना अर्डर गरेर खाने चलन अब हाम्रा लागि नौलो कुरा रहेन । तर हामीमध्ये धेरैले के मगाइरहेका छौं वा हाम्रो स्वाद कसरी फेरिँदै गएको छ भन्नेचाहिँ कौतूहलको विषय हुन सक्छ । अधिकांश नेपालीको प्रिय खाजामध्येका मःम, चाउमिनबारे अनेक थरी चुट्किला र मीम बनेका छन् । रेस्टुरेन्टमा एक घण्टा लगाएर मेनु हेरेपछि नेपालीले अन्तिममा मःम, चाउमिन नै अर्डर गर्छन् भन्ने ठट्यौली त जोकोहीले सुनेकै होला । 

के खान्छ डिजिटल काठमाडौं ?

अनलाइन फुड डेलिभरी सेवा प्रदान गर्ने विभिन्न कम्पनीको तथ्यांकले पनि मःम, चाउमिनको माग मनग्गे रहेको देखाउँछ । तर पछिल्लो समय यीसँगै बिरयानी, फ्राइड चिकेन, पिज्जा, बर्गर, समोसाजस्ता परिकार पनि धेरै अर्डर हुनेमध्येमा पर्न थालेका छन् । हामीले काठमाडौं उपत्यका र अन्य सहरमा पनि फुड डेलिभरीको काम गर्दै आएका प्रमुख पाँच कम्पनीमा आउने खानाको अर्डरको सूची मागेर सहरी क्षेत्रमा खपत भइरहेका परिकारबारे लेखाजोखा गरेका छौं । कम्पनीहरूले पछिल्ला केही महिनामा आफूले डेलिभरी गरेका खानाको लामो सूची उपलब्ध गराउनुका साथै सर्वाधिक माग हुने १० परिकारको विवरण दिएका छन् । सोही सूचीबाट औसत निकालेर काठमाडौंवासीका प्रिय १० परिकार यहाँ उल्लेख गरिएको छ ।

प्राप्त खानाको विवरण केलाउँदा काठमाडौंवासीले सबैभन्दा धेरै अर्डर गर्नेमा पहिलो नम्बरमा बिरयानी, दोस्रोमा मःम छ भने त्यसपछि क्रमशः बर्गर, पिज्जा, फ्राइड चिकेन, रोल, समोसा, नान, चाउमिन र नुडल्स देखियो । यीमध्ये कुखुराका अनेक परिकार काठमाडौंवासीको जिब्रोमै झुन्डिएको पाइएको छ । चिकेन बिरयानी, चिकेन मःम, चिकेन बर्गर, फ्राइड चिकेनजस्ता परिकारको माग हरेक अनलाइन फुड एपमा अग्रस्थानमा छन् । बफ मःम पनि धेरैको रोजाइमा पर्ने रहेछ । शाकाहारी भोजनमा भने समोसाको माग बढी देखियो, केहीले मुख मिठ्याउन गुलाब जामुन ल्याइमाग्दा रहेछन् । यीबाहेक नेवारी खाजा, चिकेन चिल्ली, चिकेन फ्राइड राइस, डोसा, चिकेन नगेटस्, केकजस्ता परिकार अनलाइनबाट मनग्गे अर्डर गरिनेको सूचीमा देखिएका छन् ।

एक नवसेवा प्रदायकले गरेको पछिल्लो आन्तरिक अध्ययनअनुसार काठमाडौंका चल्तीका ८/१० वटा फुड डेलिभरी सेवा प्रदायकको एप तथा वेबसाइटमार्फत दिनमा करिब २३ सय अर्डर आउने गरेका छन् । तीमध्ये पठाओ फुड्स, फुडमान्डु, भोजडिल्स, फुडगन्ज, खानपिन, भोक लाग्यो एपमा क्रमैसँग बढी माग आउने गरेका छन् । पठाओले भने दिनमा ६ हजार अर्डर आउने गरेको दाबी गरेको छ । फुड डेलिभरी सेवा प्रदायकले काठमाडौंसहित अन्य सहरी क्षेत्रमा पनि सेवा विस्तार गर्दै लगेका छन् । नेपालमा डेलिभरी सेवाको क्षेत्रमा मनग्ने स्कोप रहेको यसमा आबद्धहरूको भनाइ छ ।

दिनको औसतमा १५० वटा डेलिभरी गर्दै आएको फुडगन्जमा ७० प्रतिशतभन्दा बढी अर्डर फास्ट फुडमा आउने गरेको कम्पनीका वर्तमान प्रमुख कार्यकारी अधिकृत भर्सल गुरुङले जानकारी दिए । ‘धेरैजस्तो अर्डर १८ देखि ३० वर्ष उमेर समूहकाले गर्नुहुन्छ,’ उनले भने, ‘फास्ट फुडहरूमा छुट सुविधाहरू पनि दिइने र खान सजिलो र मीठो हुने भएकाले यसमा बढी अर्डर आएको हुनुपर्छ ।’ गुरुङका अनुसार फुडगन्जमा सबैभन्दा धेरै अर्डर आउने परिकारमा बिरयानी, मःम, चाउमिन, पिज्जा, रोल, बर्गर, नुडल्स, डोसा आदि हुन् । ‘बिरयानीको अर्डर पहिला कम थियो,’ उनले भने, ‘अहिले यसमा धेरै आकर्षण बढेको छ । हामीकहाँ धेरै माग हुनेमध्येमा यो आइटम पर्छ ।’

१२ वर्षदेखि अनलाइन फुड डेलिभरीको क्षेत्रमा संलग्न मनोहर अधिकारी मःम, चाउमिन सदाबहार भए पनि पछिल्लो समय फ्राइड चिकेन, बर्गर, बिरयानी र पिज्जाको अर्डर धेरै आउने गरेको बताउँछन् । करिब १६ सयवटा रेस्टुरेन्ट आबद्ध रहेको फुडमान्डुका संस्थापक तथा सीईओ अधिकारी पहिले–पहिले फ्राइड चिकेनको माग उतिसाह्रो नहुने भए पनि हाल यो परिकारहरूको माग अत्यधिक बढेको अनुभव सुनाउँछन् । ‘पहिले रेस्टुरेन्टहरूमा परिकारको विकल्प नै थोरै हुन्थे भने अहिले खोजेजस्ता विकल्पहरू उपलब्ध छन्,’ उनी भन्छन्, ‘अहिलेको समयमा खानेकुरा अर्डर गर्ने र भुक्तानी गर्ने विभिन्न एप, वेबसाइट र अन्य डिजिटल माध्यमहरू सजिलै उपलब्ध हुने भएकाले पनि अर्डर गरेर मगाउने चलन बढेको हो ।’

पत्रकार रञ्जित तामाङले केही दिनअघि मात्रै हाम्रो मःम, चाउमिन मोहबारे व्यंग्यात्मक ट्वीट गरेका थिए । उनले लेखेका थिए, ‘नेपालीलाई स्वर्ग जान्छस् भनेर सोध्यो भने त्यहाँ मःम, चाउमिन खान पाइन्छ भन्छन् होला । गाउँ गयो त्यही मःम, चाउमिन । सहरमा हेर्‍यो, त्यही मःम, चाउमिन । यसरी त गधाले मकै पनि खाँदैन ।’

व्यस्त जीवनशैलीमा अनलाइन अर्डरको विकल्प उपलब्ध हुनु, स्वाद फेर्ने रहर, बढ्दो आम्दानी, फेसनलगायत कारण अनलाइन अर्डर गर्ने चलन बढेको यो क्षेत्रका जानकारहरूको बुझाइ छ । घरमा बनाइरहन नभ्याउनेहरूका लागि पनि यो सहज माध्यम बनेको छ । व्यस्तताकै कारण मोबाइलमा फुड एप इन्स्टल गर्नुपरेको बताउँछन् गायक प्रमोद खरेल । उनी अनलाइनबाट खाना अर्डर गरेर भोक मेटाउनेहरूमा पर्छन् ।

गीत रेकर्डिङका लागि स्टुडियोमा छँदा उनले चिकेन आइटम, र्‍याप, रोल आदि मगाएर खाने गरेका छन् । ‘बाहिर निस्किएर रेस्टुरेन्टमा अर्डर दिइरहँदा ढिलो भइसक्छ,’ उनी भन्छन्, ‘कहिलेकाहीं परिवारै बाहिर भएका बेला अनलाइनमा खाना गरेर घर जाँदा खाना र मान्छे सँगै पुगिन्छ । यसले जीवनशैली सजिलो बनाइदिएको छ ।’

गएका केही दशकमा नेपालीहरूको रहनसहन शैलीमध्ये सबैभन्दा धेरै फेरिएका पक्षमध्ये एक खानपानको शैली पनि हो । केही दशकअघिसम्म भुटेको मकै–भटमास, च्युरा, मुरही, सातु, चना, रोटीसमेतका अनेकौं स्थानीय परिकारले दिउँसोको खाजा टार्ने गरिन्थ्यो । अहिले ती परिकार खाजाका रूपमा झन्डै–झन्डै मासिँदै गएका छन् । काठमाडौंलगायत सहरी क्षेत्रमा त माथि भनिएजस्तै मःम, चाउमिनसँगै पिज्जा, बर्गर, बिरयानी, फ्राइड चिकेनको सेवन व्यापक बनेको छ । परम्परागत खाजा घरहरूलाई बर्गर हाउस र चिकेन स्टेसनले विस्थापित गर्दै लगेका छन् भने जहाँतहीं भेटिने पुराना शैलीका चिया पसलहरूलाई क्याफे र कफी सपहरूले विस्थापित गरेका छन् ।

पछिल्लो दशक र विशेषगरी कोभिड–१९ महामारीपछि व्यापक बनेको काठमाडौंको एक पक्ष भनेको घरै बसेर डेलिभरीमा खाना अर्डर गर्ने बानी पनि हो । सहरी क्षेत्रमा बसोबास गर्नेहरूको यही बदलिएको शैलीले गर्दा खानाहरू अर्डर र डेलिभरी गर्न मिल्ने प्लाटफर्म, एपलगायतका व्यवसायहरूको संख्या र आम्दानी ह्वात्तै बढेको छ । चल्तीका अनलाइन फुड डेलिभरी कम्पनीहरूमा फुडमान्डु, पठाओ फुड, भोजडिल, फुडगन्ज, खानपिन, तातोमीठो, भोजमान्डु, भोजन नेपाल, मिल्स अन ह्वील्स, घरको खाजा, फुडडोल, फाल्चा फुडलगायत छन् । यीसँगै चलेका रेस्टुरेन्ट र होटलहरूले पनि डेलिभरी शुल्क लिएर आफूले तोकेको क्षेत्रभित्र परिकारहरूको डेलिभरी सुविधा उपलब्ध गराउने गरेका छन् ।

विशेषगरी राइड सेयरिङका लागि चिनिने पठाओले आजभोलि दिने छुट अफरहरू र प्रचार हेर्दा यसले राइड सेयरिङभन्दा पनि फुड डेलिभरीमा जोड दिएको अनुमान गर्न सकिन्छ । यसले काठमाडौं उपत्यकामा फुड डेलिभरी व्यवसायको बजार विस्तार हुँदै गएको संकेत दिन्छ । ‘हाम्रोमा हरेक दिन औसतमा ६ हजार अर्डर आउने गरेको छ,’ पठाओ फुडका फुड अपरेसन म्यानेजर सागर गुरुङ भन्छन्, ‘बुधबार केएफसीको परिकारमा ४५ प्रतिशत छुट हुने हुँदा त्यो दिन औसतमा ६ सय परिकार डेलिभर हुन्छ ।’ उनका अनुसार अहिलेको आर्थिक अवस्थाले गर्दा अर्डरको संख्या केही कम भएको छ । पठाओ फुडमा ५ सय ५० जना डेलिभरी स्टाफ छन् भने ७ सयभन्दा धेरै रेस्टुरेन्ट जोडिएका छन् । यहाँ सबैभन्दा धेरै अर्डर आउने परिकारमा चिकेन स्टिम मःम, चिकेन बिरयानी, चिकेन बर्गर, फ्राइड चिकेन आदि हुन् ।

६ वर्षदेखि सञ्चालनमा रहेको भोजडिल्समा पनि केएफसीका परिकारको माग धेरै भएको व्यवस्थापक सन्तोष खड्काको अनुभव छ । यसका साथै कोरियन, चाइनिज, जापानिजसँगै थकाली सेट मगाउनेहरू पनि बढिरहेको उनले बताए । ‘मःम, पिज्जा, बर्गर, रोल, बिरयानी, क्रन्ची फ्राइड चिकेन, समोसा, स्याडविच, केक र तन्दुरी आइटम सबैभन्दा धेरै माग हुनेमा पर्छन्,’ उनले भने, ‘छुट सुविधा भएका परिकारहरू पनि धेरै अर्डर हुन्छन् ।’ भोजमा पनि एक हजारभन्दा धेरै रेस्टुरेन्टहरू जोडिएका छन् भने डेलिभरीका लागि काठमाडौंमा १ सय ५० जना कर्मचारी राखिएको छ । बढ्दो व्यवसायलाई ध्यानमा राखेर कम्पनीले काठमाडौं बाहिरका विभिन्न सहरहरूमा पनि सेवा विस्तार जारी राखेको छ ।

आफ्नै रेस्टुरेन्टमा बनेका परिकार डेलिभर गर्ने भोजन नेपाल नामक रेस्टुरेन्ट तथा अनलाइन फुड डेलिभरी कम्पनीका सञ्चालक अर्जुन टमाटा आफूहरूले काठमाडौंका घर–घरमा बिरयानी पुर्‍याएको बताउँछन् । ‘हामीकहाँ मःम, चाउमिनभन्दा पनि हैदराबादी दम बिरयानी, सेकुवा, छोइला, पिज्जा, फ्राइड राइसजस्ता परिकारको अर्डर धेरै आउँछ,’ उनी भन्छन्, ‘कुल १ सय ४० वटा परिकारमध्ये ६० प्रतिशत अर्डर बिरयानी, पिज्जा, फ्राइड राइस, बर्गर, सेकुवाकै हुन्छ ।’ बिहान ४ बजेदेखि राति १ सम्म अर्डर लिने गरेकोमा रातको समयमा आफूहरूलाई धेरै नै भ्याइनभ्याइ हुने गरेको टमाटाको अनुभव छ । ‘दिनका दिन दालभातले वाक्क भएर बिरयानी अर्डर गरेका हुन सक्छन्,’ उनी ठट्टा गर्दै भन्छन्, ‘फेरि हाम्रो बिरयानी कति मीठो छ भने एक पटक चाखेपछि यसको चस्का पसिहाल्छ, हप्तैपिच्छे खाउँखाउँ लाग्छ ।’

***

भक्तपुर झौखेलका ४७ वर्षे सन्तोष ढकाल छोराछोरीको रहर पूरा गर्न पठाओ फुड, फुडमान्डुलगायत एपबाट खाजा अर्डर गर्ने गरेको बताउँछन् । ‘म आफूलाई त घरमै पाकेको खाना ठीक लाग्छ तर केटाकेटीले बर्गर, पिज्जा, केएफसी खोज्छन्,’ उनी भन्छन्, ‘१५ दिन, एक महिनामा यसो अर्डर गरेर मगाइदिन्छु । घरको खानाको स्वाद फेर्न र फेसनले पनि केटाकेटीले यस्ता तारेका, झानेका विदेशी खाना मन पराउँछन् ।’ बाहिरको खानाले बानी बिगारे पनि कहिलेकाहीं पकाउन झर्को लाग्दा सहज हुने गरेको दुई छोरीका बाबु ढकाल बताउँछन् ।

अस्ट्रेलियाको आईटी कम्पनीमा काम गर्ने अंकित झाचाहिँ काम सकेर खाना बनाउनुको सट्टा अर्डर गर्नमा सहज र आर्थिक रूपले पनि किफायती हुने अनुभव सुनाउँछन् । ‘१२/१३ घण्टासम्म काम हुन्छ, खाना बनाइरहन भ्याइँदैन,’ उनी भन्छन्, ‘अर्डर गरेपछि आफ्नो छनोटअनुसार घरमै खाना आइपुग्छ । प्रायः मःम, ससेज, छोइला, खाजा सेट मगाउने गरेको छु । डेलिभरी सर्भिसहरूले अलि तातोतातै ल्याइदिए राम्रो हुन्थ्यो भन्ने लाग्छ ।’ घरमै बनाएर खाना धेरैथोक जुटाउनुपर्ने र त्यो सबै किन्नुभन्दा त अर्डर गर्नॅ नै सस्तो हुने उनको बुझाइ छ ।

***

नर्भिक अस्पतालकी डाइटिसयन प्रनीति सिंह हिजोआज फास्टफुड संस्कृति मौलाइरहेको र यसले स्वास्थ्यमा प्रभाव पारिरहेको बताउँछिन् । अनलाइन अर्डर गर्ने बानीले हिँडडुल युवापुस्ताको अझै कम गराएको उनको अनुभव छ । ‘बिरामीहरूसँगको कुराकानीले के थाहा हुन्छ भने आजभोलि पकाएर खाने खानाको सेवन कम हुँदै गएको छ,’ उनी भन्छिन्, ‘मान्छेहरूले दालभातसमेत पकाएर खान छोडेको त दालभात सर्भ गर्ने रेस्टुरेन्टहरूमा देखिने भीडभाडले नै प्रस्ट पार्छ । अझ अनलाइनमा अर्डर गर्ने ट्रेन्ड पनि बढिरहेको छ । यसले गर्दा हामीकहाँ मोटोपन, कोलेस्ट्रोल, हाइपर टेन्सनका बिरामीको संख्या बढेको छ ।’

सिंहका अनुसार पहिलेपहिले ५० वर्ष उमेर कटेपछि देखिने उच्च रक्तचापको समस्या आजभोलि ३०/३३ वर्षकाहरूमै देखिन थालेको छ । २५ वर्षको उमेरमै कोलेस्ट्रोलको समस्या आउने गरेको छ । ‘यी सबै हाम्रो खानपिनसँग जोडिएर आउने समस्या हुन्,’ उनले भनिन्, ‘प्रौढलाई हुने रोग युवालाई देखिन थालेको छ । बाहिरको खाना खाँदै नखान त सम्भव छैन । तर हप्ता वा महिनामा एक पटक मात्रै खाने, अरू बेला दही–चिउरा, सातु, फलफूल, मुरही, चना खान सकिन्छ ।’

खानाको व्यापार र विकल्प बढ्दै गए पनि यसको गुणस्तर मापन र नियमनमा पनि प्रश्न उठ्ने गरेका छन् । बेलाबेला वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गरेर पसलहरूलाई कारबाही गरेको सुन्न पाइए पनि फास्ट फुड र आयातित परिकारको गुणस्तरमा भने सुधार हुन नसकेको कतिपयको गुनासो छ ।

‘अनलाइन फुड डेलिभरीजस्ता ई–कमर्स व्यवसायलाई नियमन गर्न आवश्यक कानुन बनिसकेको छैन,’ विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुर भन्छन्, ‘हामीले उजुरीका आधारमा सम्बन्धित सेवा प्रदायक वा रेस्टुरेन्टलाई बोलाएर सोधीखोजी गर्दै आएका छौं । तर कानुन नै बाधक भएकाले नियमन गतिलो हुन नसकेको सत्य हो ।’

प्रकाशित : असार १६, २०८० ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?