कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ललिता निवास जग्गा प्रकरणका आरोपितलाई सरकारी वकिलको कार्यालय लगियो

काठमाडौँ — ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका आरोपितहरूलाई अनुसन्धानका लागि म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं लगिएको छ ।

ललिता निवास जग्गा प्रकरणका आरोपितलाई सरकारी वकिलको कार्यालय लगियो

बुधबार नेपाल प्रहरीले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरूलाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं लगेको हो । व्यवसायी मिनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाहलगायतलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला सरकारी वकिल कार्यालयमा पुर्‍याएको हो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात किर्ते गरेको आरोपमा सीआईबीले मंगलबार सात जनालाई पक्राउ गरेको थियो । जसमध्ये तीन जनालाई भने बाहिरै राखेर अनुसन्धान गर्ने भन्दै रिहा गरिसकेको छ ।

सरकारी लिखित किर्तेको विषय भएकाले कानुनी प्रक्रिया अरु मुद्दा सरह नै चल्ने सरकारी वकिल कार्यालय, काठमाडौंका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले बताए । अनुसन्धानको क्रममा कसुरदार देखिएमा आरोपितहरूलाई हिरासतमै वा बाहिर राखेर थप अनुसन्धान अगाडि बढाइने बताइएको छ ।

‘सरकारी सम्पत्ति किर्तेको विषयमा अनुसन्धानको कुरा हो । कानुनी प्रक्रिया अरु मुद्दा सरह नै हुन्छ । अनुसन्धानको क्रममा कसुरदार वा शंकित देखिएमा हिरासतमा राख्ने, वा हिरासत बाहिर राखेर अनुसन्धान गर्ने हुन्छ,’ सहन्यायाधिवक्ता न्यौपानेले भने ।

भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाह, मालपोत कार्यालयका तत्कालीन कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतम हाल सिआईबीको नियन्त्रणमा छन् ।

प्रकाशित : असार १३, २०८० १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?