२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

राष्ट्रपति संसद्‍भन्दा माथि हुँदैन : एमाले

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले राष्ट्रपति संसद्‌भन्दा माथि नहुने बताएको छ । एमालेका सचिव तथा सांसद योगेश भट्टराईले प्रतिनिधिसभाको सोमबारको बैठकमा राष्ट्रपति संसद्को अंग भएको र संसद्‌भन्दा माथि नभएको बताएका हुन् । 

राष्ट्रपति संसद्‍भन्दा माथि हुँदैन : एमाले

राष्ट्रपतिले संसद्को मर्यादा ख्याल राख्नुपर्ने भट्टराईको भनाइ थियो । उनले राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को अधिकार हनन गरेको पनि बताए । मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई उक्साएर नागरिकता विधेयक प्रमाणीकरण गरेको भनेर प्रश्न उठाएका थिए ।

'संविधानको धारा ६१ र ६६ मा विधेयक प्रमाणीकरण गर्ने अधिकार कहाँ छ ? संविधानको धारा ११३ ले विधेयक प्रमाणीकरण गर्ने अधिकार दिएको छ । प्रधानमन्त्रीले राष्ट्रपतिलाई उक्साउने ? राष्ट्रपति संसद्‌भन्दा माथि हुँदैन । राष्ट्रपति संसद्को अंग हो,' उनले भने, 'राष्ट्रपतिले संसद्‌भन्दा पठाएको सभामुख अथवा राष्ट्रिय सभा अध्यक्षले पठाएको विधेयक प्रमाणीकरण गर्ने अधिकार राष्ट्रपति कार्यालयसँग छ । त्यो विधेयकमा कुन सभामुखको नाम छ ? तपाईंको नाम छ कि अग्निप्रसाद सापकोटाको ?'

सांसद भट्टराईले नागरिकताजस्तो संवेदनशील विषयमा खेलवाड नगर्न पनि आग्रह गरेका छन् । उनले प्रधानमन्त्रीले आफूसँग नभएको अधिकार प्रयोग गरेर राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्न सिफारिस गरेको भन्दै आपत्ति जनाए ।

'नागरिकता विधेयक प्रमाणीकरण गर्नका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने अधिकार कसले दियो ? त्यो अधिकार प्रयोग गरेर राष्ट्रपतिलाई गैरसंवैधानिक काम गर्न उक्साउने ? विशेष अधिकार हनन भयो भने संसद्को विशेष अधिकार हनन समिति गठन गरेर विशेष अधिकार हनन गर्नेलाई कारबाही गर्नुपर्छ,' उनले भने । ।

प्रकाशित : जेष्ठ २२, २०८० ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?