आफ्नै रेकर्ड तोड्दै कामीरिता, २७औं पटक सगरमाथा चुचुरोमा

कान्तिपुर संवाददाता

काठमाडौँ — कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २७औं पटक सगरमाथा आरोहण गरेका छन् । कामीरिताले बुधबार बिहान साढे ८ बजे सगरमाथाको २७औं पटक सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ । 

विक्रम संवत् २०२६ सालमा सोलुखुम्बुको थामेमा जन्मिएका कामीरिताले यसअघि २०७९ वैशाख २४ गते सगरमाथाको २६औं पटक आरोहण गरेका थिए । २ दशकभन्दा लामो सयमा विश्वका अग्ला हिमशिखर चढेका उनको आरोहण यात्रा भने सन् १९९२ बाट सुरु भएको थियो । कामीमरिताले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र मकालुलगायतका हिमाल आरोहण गरेका छन् ।

कामीरिता सन् २००९, २०१०, २०१३ र २०१९ मा एकै याममा दुईपटक सगरमाथा आरोहण गरेका थिए । कामीरितापछि विश्वमै सर्वाधिक सगरमाथा आरोहण गर्ने दोस्रो स्थानमा उनकै जिल्लावासी पादावा शेर्पा छन् । पासाङ दावा पनि भनिने उनी २६ पटक सगरमाथाको चुचुरोमा पुगिसकेका छन् । उनले केही दिनअघि मात्र कामीरिताको कीर्तिमानीसँग बराबरी गरेका थिए ।

प्रकाशित : जेष्ठ ३, २०८० १०:४०
प्रतिक्रिया
पठाउनुहोस्

अस्ट्रेलियाली सहायक विदेशमन्त्रीद्वारा प्रधानमन्त्री दाहालसँग भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल भ्रमणमा रहेका अस्ट्रेलियाली सहायक विदेशमन्त्री टिम वाट्सले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो । 

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनले नेपालको विकास र समृद्धिमा अस्ट्रेलियाली सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूको अवस्था र समस्याबारे चासो व्यक्त गरे । सो अवसरमा प्रधानमन्त्री दाहालले अस्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका थिए ।

भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरूको विकास र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोगबारे छलफल भएको थियो ।

मन्त्री वाट्सले अस्ट्रेलियामा नेपालीहरूले राम्रो प्रभाव पारेको भन्दै उनीहरूको योगदानको प्रशंसा गरेका थिए । उनले नेपालको विकास र समृद्धिको अभियानमा अस्ट्रेलियाली सरकार र जनताको सहयोग निरन्तर रहने विश्वास दिलाए ।

प्रकाशित : जेष्ठ ३, २०८० १०:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×