कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

रास्वपा सांसद श्रेष्ठ संलग्न सहकारी ४ महिनादेखि बन्द, बचतकर्ता रनभुल्ल

कात्तिक ९ मा भएको अधिवेशनमा सांसद ढाकाकुमार श्रेष्ठले शनि पाठकलाई सहकारीको नेतृत्व सुम्पिएका थिए । तर श्रेष्ठले हिसाबकिताबको बुझबुझारथ नगरेपछि नयाँ नेतृत्वले काम गर्न सकेन ।
सांसद श्रेष्ठले खोलेको पोखरा महानगरपालिका-७ रत्नचोकस्थित साथी किसान कृषि सहकारीका बचतकर्ताले पैसा उठाइदिन महानगरलाई गुहारेका छन्
अनिश भट्टराई

पोखरा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सर्वजनिक भएसँगै थप विवादमा तानिएका छन् । पैसासँग जोडिएको उनको अर्को विवाद गृह जिल्ला पोखरामा पनि छ । उनी सञ्चालक रहेको साथी किसान कृषि सहकारी संस्था लिमिटेडले केही महिनायता बचतकर्ताहरूको पैसा फिर्ता गरिरहेको छैन ।

रास्वपा सांसद श्रेष्ठ संलग्न सहकारी ४ महिनादेखि बन्द, बचतकर्ता रनभुल्ल

सांसद श्रेष्ठले खोलेको पोखरा महानगरपालिका-७, रत्नचोकस्थित सहकारीका बचतकर्ता आफ्नो पैसा उठाउनका लागि प्रशासन धाउन थालेका छन् । आफैंले बचत गरेको रकम फिर्ता नपाउँदा उनीहरूले महानगरलाई समेत गुहारेका थिए । पुसको अन्तिम साता बचतकर्ताहरु महानगर गएर उजुरी दिएपछि महानगरले ३ महिनाभित्र रकम तिर्न सहकारीलाई निर्देशन पनि दिएको थियो ।

सहकारीले पनि वैशाखसम्म बचतकर्ताको रकम फिर्ता गर्ने बताए पनि अहिले सहकारी बन्द छ । ऋणीसँग पैसा लिएर बचतकर्तालाई दिने भनिए पनि कोसँग कति रुपैयाँ लिनु छ भन्ने हिसाब पनि सहकारीसँग थिएन ।

सांसद श्रेष्ठ राजनीतिमा लाग्ने भन्दै गत कात्तिकबाट सहकारीको नेतृत्व शनि पाठकलाई दिँदै बाहिरिएका थिए । कात्तिक ९ मा बसेको संस्थाको अधिवेशनमा श्रेष्ठले पाठकलाई सहकारीको नेतृत्व सुम्पिएका थिए । तर हिसाबकिताबको बुझबुझारथ नगरेपछि नयाँ नेतृत्वले काम गर्न सकेन ।

सहकारीमा श्रेष्ठ अध्यक्ष रहँदा बचतकर्ताको रकम आफ्नै व्यवसायमा लगेर फसाएको आरोप पनि छ । श्रेष्ठले पोखरा लेकसाइडमा एक मिनी मार्केटका लागि सहकारीबाट ४ लाख रुपैयाँ लगेको बताइन्छ । सहकारीका पूर्वव्यवस्थापक विशाल बस्ताकोटीका अनुसार पूर्वकार्यसमितिका व्यक्तिले सहकारीको ३० लाख रुपैयाँ अपचलन गरेका छन् ।

‘ढाका सरले मिनी मार्केटमा ४ लाख लैजानुभएको हो । पहिलेको समितिका सदस्यले ३० लाखभन्दा बढी लगेका छन् । उनीहरूले पैसा फिर्ता गर्ने हो भने पनि सहकारी केही स्थिर हुन्छ,’ बस्ताकोटीले भने ।

अध्यक्ष श्रेष्ठ, त्यसबेलाका सचिव बालाहरि बराल र कोषाध्यक्ष सोमति गुरुङले हस्ताक्षर गरेर संयुक्त रूपमा मुद्दती बचतको पैसा चलाएको उनको आरोप छ । ‘फिक्स्ड डिपोजिटको पैसा चलाए । समय सकिएपछि माग्न आउँदा दिन सक्ने रकम नै भएन, सहकारी डुब्छ भन्ने मैले देखिसकेको थिएँ,’ उनले भने ।

सहकारीमा हाल १ सय ५ जना सेयर सदस्य छन् । बचत रकम ८२ लाख ७२ हजार रुपैयाँ छ । सहकारीले ९९ लाख रुपैयाँभन्दा बढी उठाउनुपर्ने हिसाब देखिए पनि कोसँग कति उठाउनु छ भन्ने स्पष्ट हिसाब छैन । सहकारीका उपाध्यक्ष चेतबहादुर हमालका अनुसार सहकारी अहिले बन्द छ । सहकारीमा ४ महिनायता कुनै पनि कारोबार भएको छैन । बचतकर्ताहरु महानगरले निर्देशन गरेबमोजिम वैशाखमा रकम फिर्ता पाउनेमा आशावादी छन् तर ढुक्क हुन भने सकेका छैनन् ।

प्रकाशित : चैत्र २६, २०७९ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?