सांसदको सहकारीमा बचतकर्ताको बिचल्ली

१ सय ५ जना सेयर सदस्यको ८२ लाख रूपैयाँ बचत रकम पोखराको साथी किसान कृषि सहकारीले फिर्ता दिएन

माघ १, २०७९

अनिश भट्टराई

गण्डकी — गोरखाका भोजबहादुर गुरुङले कास्की घारिपाटनमा चिया पसल चलाउँछन् । पसलबाट बचेखुचेको केही पैसा उनले पोखराको साथी किसान कृषि सहकारी संस्थामा जम्मा गरेका थिए । एक वर्षको योजनाअन्तर्गत उनले प्रतिदिन २ सय र निक्षेपमा १ लाख ८५ हजार रुपैयाँ जम्मा गरे । तर आफैंले जम्मा गरेको रकम झिक्न ३ महिनायता सहकारीमा पटक–पटक चेक दिए पनि साटिएको छैन । 

‘१५ पटक चेक पठाइसकें, २ हजार–५ हजारको चेक दिएँ । एउटै पास भएन,’ गुरुङले भने । उनको बचत रकम जम्मै सहकारीमै छ । सहकारीले पैसा नभएको भन्दै चेक साट्दैन । उनी सहकारीसँग आजित छन् । ‘भएको बेला जम्मा गराएँ । अहिले चाहिँदा आनै पैसा झिक्न दिँदैन, पसलका लागि सामान ल्याउने पसलेले पनि सामान दिन छाडिसके,’ गुरुङको दुखेसो छ । 

घारिपाटनकै गंगादेवी तुलाचनले पनि यही सहकारीमा ३ लाख रुपैयाँ जम्मा गरेकी छन् । बचतमा साढे १ लाख र चल्ती खातामा साढे १ लाख रुपैयाँ सहकारीमा छ । टोलमा ढुकुटी खेलेर जम्मा भएको रकम उनले सहकारीमा लगेर जम्मा गराएकी थिइन् । उनले समेत पैसा फिर्ता पाएकी छैनन् । ‘सहकारीले बिस्तारै दिन्छौं भन्छ । दोकानले हामीलाई उधारो दिँदैन, भएको रकम त्यति नै हो, कसरी चल्ने ?’ उनको प्रश्न छ । 

पोखरा–७ रत्नचोकस्थित साथी किसान कृषि सहकारीमा रकम जम्मा गराएका बचतकर्ता अहिले आजित छन् । उनीहरूले बिहीबार पोखरा महानगरपालिकामा रकम झिक्न नपाएको भन्दै निवेदन दिए । सहकारीका हालका अध्यक्ष डाक्टर शनि पाठकसमेत गएर महानगरमा निवेदन दिए । निवेदन पाएपछि महानगरले ३ महिनाभित्र बचतकर्ताको रकम फिर्ता गर्न सहकारीलाई निर्देशन दिइसकेको छ । 

सहकारीमा हाल १ सय ५ जना सेयर सदस्य छन् । बचत रकम ८२ लाख ७२ हजार रुपैयाँ छ । यही बचत रकम बचतकर्ताले फिर्ता मागिरहेको सन्दर्भमा घाटामा गएको सहकारीले फिर्ता दिन नसकेको हो । सहकारीले ९९ लाख रुपैयाँभन्दा बढी उठाउनुपर्ने हिसाब देखिए पनि कोसँग कति उठाउनु छ भन्ने स्पष्ट हिसाब छैन । बिहीबार महानगरपालिकामा निवेदन दिएपछि अघिल्लो कार्यसमितिका कारण सहकारी आर्थिक रूपमा कमजोर बनेको टिप्पणी अध्यक्ष पाठकले गरेका थिए । पाठक नेतृत्वको समिति आउनुअघि यस सहकारीको कार्यसमितिका अध्यक्ष थिए, डा. ढाकाकुमार श्रेष्ठ । श्रेष्ठ अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य छन् । श्रेष्ठ गत कात्तिक ९ सम्म सहकारीका अध्यक्ष थिए । कात्तिक ९ मा बसेको संस्थाको अधिवेशनबाट अध्यक्षमा शनि पाठक आएका थिए । पाठकलाई श्रेष्ठले मनोनीत गरेका हुन् । 

पाठकले सांसद श्रेष्ठ नेतृत्वको समितिले हिसाबकिताब नटुंग्याउँदा संकट आएको बताए । ‘पुरानो कमिटीले हिसाबकिताब टुंग्याएन । बुझबुझारथ दिनुभएको छैन । त्यो बुझाइदिनुस् भनेको आउनुभएन,’ उनले भने, ‘सहकारीको हिसाब स्पष्ट नै छैन । पुरानो कमिटी नराखेसम्म थाहा हुँदैन ।’ बिहीबार महानगरमा निवेदन दिँदै सांसद श्रेष्ठलाई दोष देखाएका अध्यक्ष पाठकले शुक्रबार भने बोली परिवर्तन गरे । पोखरा आएर पत्रकार सम्मेलनमा पाठकलाई आफूसँगै राखेर श्रेष्ठ बोलेपछि पाठकले बोली फेरे । बिहीबारसम्म श्रेष्ठका कारण आर्थिक हिसाब स्पष्ट नभएको बताएका पाठकले शुक्रबार संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्दै श्रेष्ठलाई चोख्याउने प्रयास गरेका छन् । ‘निवर्तमान अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठको नाम जोडिएर आएकाले सबै कुरा उहाँले नबिगारेको र निवर्तमान तथा वर्तमान कार्यसमितिमा सल्लाह नभएका कारण यस्तो अवस्था आएको हो,’ विज्ञप्तिमा भनिएको छ । श्रेष्ठले सहकारीका चल, अचल सम्पत्ति हिनामिना नगरेको पनि उनको दाबी छ । तर श्रेष्ठले भने हालकै कार्यसमितिले गल्ती गर्दा सहकारीको हिनामिनामा आनो नाम जोडिएको दाबी गरेका छन् । ‘मैले त माइन्युट गरेरै बरु समितिकै मान्छेले पैसा हालेर भए पनि बचतकर्तालाई तिरौं भनेको हुँ, उहाँहरूले त झन् सहकारी नै बन्द गरिदिनुभएछ । सहकारी बन्द गर्नु नै गल्ती भयो,’ श्रेष्ठले भने । 

आफूलाई नियोजित रूपमा फसाउन बचतकर्ता लगाएर उजुरी दिइएको उनको आरोप छ । राजनीतिक उचाइ लिन लागेका बेला नियोजित योजनामै आफूविरुद्ध अफवाह फैलाइएको उनको दाबी छ । ‘ढाकालाई हानौं भनेर बाहिर कुरा ल्याइयो । मलाई निरुत्साहित बनाउन लागियो, मानहानि गरियो,’ उनले भने । 

आफ्नै व्यवसायमा सहकारीको ४ लाख 

सांसद ढाकाकुमार श्रेष्ठले पोखरा लेकसाइडमा शुभ बिहानी मिनी मार्केटका लागि सहकारीबाट ४ लाख रुपैयाँ लगेको बताइन्छ । सहकारीका पूर्वव्यवस्थापक विशाल बस्ताकोटीका अनुसार पूर्वकार्यसमितिका व्यक्तिले सहकारीको ३० लाख रुपैयाँ अपचलन गरेका छन् । ‘ढाका सरले मिनी मार्केटमा ४ लाख लैजानुभएको हो । पहिलेको समितिका सदस्यले ३० लाखभन्दा बढी लगेका छन्, उनीहरूले पैसा फिर्ता गर्ने हो भने पनि सहकारी केही स्थिर हुन्छ,’ बस्ताकोटीले भने । 

सहकारीमा आफूले बचत गर्न लगाएका बचतकर्तालाई पनि रकम झिक्न सुझाएको उनी सम्झन्छन् । सहकारी डुब्ने देखेपछि उनले आफूले पनि जागिर छाडेर बचतकर्तालाई पनि पैसा झिक्न सुझाए । कार्यसमिति नै सहकारीप्रति बफादार नभएको उनको आरोप छ । ‘सहकारी चलाउने, लुट्ने अनि कुनै बैठकमै नआउने । सचिव नआएपछि घरमै खोज्न जानुपरेको थियो,’ बस्ताकोटीले भने । 

अध्यक्ष श्रेष्ठ, सचिव बालाहरि बराल र कोषाध्यक्ष सोमति गुरुङले हस्ताक्षर गरेर संयुक्त रूपमा मुद्दती बचतको पैसा चलाएको उनको आरोप छ । ‘फिक्स्ड डिपोजिटको पैसा चलाए । समय सकिएपछि माग्न आउँदा दिन सक्ने रकम नै भएन, सहकारी डुब्छ भन्ने मैले देखिसकेको थिएँ,’ उनले भने । श्रेष्ठ मात्रै दोषी नभएको र सहकारीको टिम नै दोषी भएको उनको आरोप छ ।

अनिश

Link copied successfully