२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

नेपाली नागरिकता लिएको आरोपमा तिब्बती शरणार्थी पक्राउ

काठमाडौँ — नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले एक तिब्बतीयन शरणार्थीलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट निमा ल्हामो गुरुङको नाममा जारी भएको नागरिकताको प्रमाणपत्रसहित तिब्बतमा जन्म भई शरणार्थीको रूपमा काठमाडौं बौद्ध टुसाल बस्ने २७ वर्षीया युवती पक्राउ परेकी हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गुरुङलाई बिहीबार बौद्धबाट पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले बताए । उनी तिब्बतबाट भारतको बिहार र दिल्ली हुँदै २ वर्षदेखि बौद्धको बुद्ध तुसाल क्याम्पमा बसोबास गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

उनले क्याम्पमा बसोबास गर्ने व्यक्तिमार्फत नेपाली नागरिक कृष्णबहादुर कटुवाललाई नागरिकता बनाउन सम्पर्क गरेको र कटुवालले नेपाली नागरिकता दिलाएबापत ५ लाख रुपैयाँ लिएको समेत खुलेको छ । गुरुङलाई नागरिकता ऐन तथा लिखतसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको एसपी रेग्मीले बताए ।

यसअघि प्रहरीले तिब्बतीयन शरणार्थीलाई नागरिकता बनाइदिने गिरोहका कटुवालसहित ५ जनालाई पक्राउ गरी कारबाही थालेको छ । गिरोहले सरकारी कार्यालयको कागजात, छाप तथा कर्मचारीको दस्तखत किर्ते गरी झूटा लिखत र नक्कली सिफारिस बनाएर नक्कली बुबासमेत खडा गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता बनाइदिने गरेको थियो ।

प्रकाशित : चैत्र २४, २०७९ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?