कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्तरिक्षमा ‘मुनाल’ मिसन

भारतको बेंगलुरु लगेर गरिएको परीक्षण सफल, फ्लाइट मोडल बनेपछि दसैंअघि उडिसक्ने
मुनाल सूर्यको सापेक्षमा एउटा स्थिर स्थितिमा रहनेछ, यस्तो हुँदा सधैं एउटै स्थानमा घुम्ने गर्छ अर्थात् कुनै दिन काठमाडौंको आकाशमाथि देखियो भने सधैं एउटै समयमा त्यही स्थानमा देखिन्छ ।
गोविन्द पोखरेल

काठमाडौँ — नेपालमै बनाइएको स्याटेलाइट ‘मुनाल’ अन्तरिक्षमा पठाइने भएको छ । भारतको बेंगलुरुमा प्राविधिक परीक्षण गराइएको यो स्याटेलाइटको ‘फ्लाइट मोडल’ बनेपछि दसैंअघि अन्तरिक्षतर्फ प्रक्षेपण गरिने भएको हो । यसको आकार नेपाली स्याट–१ जस्तै १यू छ । यो भनेको १० घन सेन्टिमिटर हो । तौल एक केजी हाराहारी मात्रै छ । 

अन्तरिक्षमा ‘मुनाल’ मिसन

मुनाल स्याटेलाइट नेपाली स्याटभन्दा केही परिस्कृत छ । दुइटा क्यामेरा छन् । आरजीबी र इन्फ्रारेड इमेज दुवै मिलाइएको छ । नेपाली स्याट १ को ०.३ मेगापिक्सल थियो भने यसको १.३ मेगापिक्सल छ ।

काठमाडौं विश्वविद्यालय हाईस्कुल (केयूएचएस) परिसरमा स्थापना गरिएको स्पेस सिस्टम ल्याबोरेटरी (एसएसएल) मा मुनाल भू–उपग्रहको इन्जिनियरिङ मोडल तयार भएको छ । इन्जिनियरिङ मोडल प्रक्षेपणअघिको अवस्था हो । यो स्याटेलाइटलाई नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट), अन्तरिक्ष प्रतिष्ठान नेपाल र केयूएचएसलगायत अन्य सरकारी तथा गैरसरकारी संस्थाहरूको सहयोग छ ।

स्याटेलाइट निर्माणको चरणमा इन्जिनियरिङ मोडल जटिल मानिन्छ । यो मोडलमा विभिन्न परीक्षण गरिन्छ । कृत्रिम अन्तरिक्षको वातावरणमा गरिने परीक्षणको चरण ‘मुनाल’ ले पार गरिसकेको छ । अन्तरिक्षमा हुन सक्ने जोखिम र अवस्थाको जस्तै कृत्रिम वातावरण तयार गरेर काम गर्न सक्ने/नसक्ने सम्बन्धमा परीक्षण गरिएको अन्तरिक्ष प्रतिष्ठान नेपालका इन्जिनियर जनार्दन सिलवालले बताए । स्याटेलाइटको डिजाइन म्यानुफ्याक्चरिङ फ्लाइट मोड्युल तयार गर्ने काम भइरहेको छ ।

नेपाली भू–उपग्रह ‘मुनाल’निर्माणका क्रममा विद्यार्थी ।

भारतको बेंगलुरुस्थित अनन्त टेक्नोलोजमा केही साताअघि मात्रै मुनालले अन्तरिक्षको वातावरणमा काम गर्न सक्ने/नसक्नेसम्बन्धीको परीक्षण गरिएको थियो । परीक्षण गराउनका लागि सिलावसहित, प्रतिष्ठानकी इन्जिनियर एजिला सापकोटा, निर्माणकर्ताहरू सुशान्त ढकाल र श्रीया प्रधान भारत गएका थिए ।

हाईस्कुल कन्सोर्टियम स्याटेलाइट प्रोजेक्टअन्तर्गत काभ्रे जिल्लाका बानेपा, धुलिखेल र पनौतीमा रहेका विद्यालयका विद्यार्थीले केयूएचएसको स्पेस सिस्टम ल्याबोरेटरीमा स्याटेलाइट बनाइरहेका हुन् । ‘निर्माणको ४ चरणमध्ये ३ वटा पार गरिसकेको अवस्था हो,’ सिलवालले भने । स्याटेलाइटको मिसन डेभलपमेन्ट चरण, ब्रिड बोर्ड मोड्यल र इन्जिनियरिङ मोडल फेज सम्पन्न भइसकेको जानकारी प्रतिष्ठानकी इन्जिनियर अनुजा श्रेष्ठले दिइन ।

विद्यालय तहकै विद्यार्थीबाट पहिलो पटक क्युब स्याटेलाइट बनाउन सिकाउने र नेपालको पहिलो क्युब स्याट नेपाली–स्याट–१ का दुईवटा मिसनलाई निरन्तरता दिनु यो परियोजनाको प्राथमिक उद्देश्य रहेको निर्माणकर्ताले जनाएका छन् । यो परियोजनामा स्टोर एन्ड फरवार्ड (एस एन्ड एफ) र इमेजिङ मिसन छ । मुनालले भू–सतहको हरियाली नक्सांकन र घनत्वको पनि अध्ययन गर्दै छ । यसमा प्रयोग भएको आर्टिफिसियल इन्टेलिजेन्सको मद्दतबाट तस्बिर खिच्न थप मद्दत पुग्ने निर्माणकर्ताले बताएका छन् । ‘यसमा भएको एआईको मद्दतबाट चाहिने फोटो मात्रै स्याटेलाइटले खिच्छ । जथाभावी खिच्दैन,’ श्रेष्ठले कान्तिपुरसित भनिन् ।

मुनालको इन्जिनियरिङ मोडल । तस्बिरहरू : गोविन्द पोखरेल/कान्तिपुर

मुनालमा दुइटा क्यामेरा जडान गरिएका छन् । जसले आरजीबी र एन–आईआर ब्यान्डका तस्बिरहरू लिनेछन् । एआईले उपयुक्त स्थानमा तस्बिर खिच्न मद्दत गर्नेछ । स्याटेलाइटको ‘एसओसी पेलोड डेमोन्स्ट्रेसन मिसन’ र आर्ट मिसन पनि छ । यसमा नेपाली कला, संस्कृति र इतिहासलाई झल्काउने किसिमले एउटा छुट्टै बोर्ड राखिएको अन्तरिक्ष प्रतिष्ठानकी इन्जिनियर अनुजा श्रेष्ठले जानकारी दिइन् ।

स्टोर एन्ड फरवार्ड मिसनअन्तर्गत स्याटेलाइटबाट तथ्यांक लिने र त्यसलाई नास्टमा भएको ग्राउन्ड स्टेसनलाई पठाइनेछ । यो मिसनका लागि ग्राउन्ड सेन्सर टर्मिनल (जीएसटी) जडान गरिएको छ । जसले जलवायुजन्य तथ्यांकहरू संकलन गर्ने निर्माणकर्ताहरूले बताएका छन् । यो मिसनले धेरै ऊर्जा पनि खपत नगर्ने सिलवालले बताए ।

नेपाली स्याट–१ मा ओबीसी (मुख्य कम्प्युटर), ईपीएस (ऊर्जा प्रणाली) र सीओम (सञ्चारप्रणाली) सिस्टमहरू छरिएर रहेका थिए भने मुनालमा सबैलाई एउटै बोर्डमा राखिएको छ । यस्तै यसमा दुइटा माइक्रो कन्ट्रोलर राखिएका छन् भने स्याटेलाइटको अवस्थाको जानकारी मुख्य कन्ट्रोलर बोर्डमै राखिएको छ । यसअघि नेपाल स्याट–१ मिसनमा छुट्टै राखिएको थियो ।

बर्डस्–३ परियोजनामार्फत नेपाली स्याट निर्माण भएपछि त्यसलाई थप परिस्कृत गरेर नाम ‘मुनाल’ मिसन राखिएको छ । जापानीहरूले बनाउने स्याटेलाइटको नाम चरासँग राखिदिने र नेपालको स्याटेलाइट पनि बर्ड्स–३ मिसनअन्तर्गत भएकाले स्याटेलाइटको नाम पनि चरासँग मिल्दो राखिएको हो । मुनाललाई करिब ५ सय किलोमिटर माथिको अन्तरिक्षमा राखिने तयारी छ ।

अन्तरिक्ष प्रतिष्ठान नेपालले नास्टैसँगै मिलेर ‘डाँफे’ मिसन पनि सञ्चालन गरेको छ । थाइल्यान्डमा निर्माण गरिएको ‘मल्टी पे लोड क्युब स्याट’ मा दुई वटा मिसनलाई ‘डाँफे मिसन’ नाम दिइएको छ । जसमा दुइटा प्रविधिको प्रयोग हुँदै छ । एउटामा स्याटेलाइटमा प्रयोग गरिने सफ्टवेयरको परीक्षण र अर्को सन् २०२० मा आएको एउटा चिपको अध्ययन हुँदै छ । उक्त चिपले अन्तरिक्षको वातावरणमा त्यहाँको विकिरणहरूले कस्तो असर गर्छ भन्ने सम्बन्धमा अनुसन्धान हुँदै छ ।

डाँफे मिसनको सुरुवात

जापानको क्युटेक विश्वविद्यालयमै विद्यालवारिधि अध्ययन गरिरहँदा बर्ड्स–३ मिसनअन्तर्गत नेपाली स्याट–१ निर्माणको नेतृत्व गरेका थिए आभास मास्केले । स्याटेलाइटसँग सम्बन्धित इन्जिनियरिङमा विद्यावारिधि गरेपछि मास्के सन् २०२० मा नेपाल फर्किएका थिए । विदेशमा सिकेको ज्ञानलाई कसरी स्वेदशमा प्रयोग गर्ने सवालमा बहस गरिरहेका थिए ।

स्वेदशमै नेपाली स्याट–१ को परिस्कृत भर्सन निर्माण गर्न चाहन्थे, डा. मास्के । नेपाली स्याट–२ ‘पदयात्री’ र नेपाली स्याट–२ ‘विद्यालय’ नाम पनि जुराइसकेको थिए । त्यही बीचमा नास्टसँग सहकार्य गर्दै मास्केको नेतृत्वमा अन्तरिक्ष प्रतिष्ठान नेपालको स्थापना भयो । नास्टका निवर्तमान उपकुलपति डा. सुनीलबाबु श्रेष्ठ, प्रविधि संकाय प्रमुख डा. रवीन्द्र ढकालले साथ दिएपछि स्वदेशमै स्याटेलाइट निर्माण गर्नका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । उपकुलपति श्रेष्ठकै सुझावमा पदयात्रीलाई नाम डाँफे र विद्यालयलाई मुनाल मिसन नामकरण गरिएको मास्के बताउँछन् । ‘बर्ड्स मिसनअन्तर्गत स्याटेलाइट निर्माण गरेका थियौं,’ मास्के भन्छन्, ‘त्यही भएर यो स्याटेलाइटको नाम पनि चराको नामसँग राखियो ।’

पूर्ण रूपमा स्याटेलाइट निर्माण गर्ने जनशक्ति नभइरहेको बेला, डाँफे मिसन सुरु गरिएको थियो । थाइल्यान्डले इन्सेटसँगको सहयर्कामा निर्माण गर्ने स्याटेलाइटको एक भाग नेपाललाई दिने भएपछि मास्केले गरेका थिए । डाँफे पूर्ण रूपमा स्याटेलाइट नभए पनि एउटा स्याटेलाइटको भाग मात्रै हो । ‘डाँफे भनेको एउटा स्याटेलाइटको पेलोड मात्रै हो,’ मास्के भन्छन्, ‘पहिलो स्याटेलाइट निर्माण गर्नुपर्ने थियो । नेपालाम भएका इन्जिनियरहरूलाई तालिम दिँदै स्याटेलाइट बनाउन सिकाएँ ।’ स्याटेलाइटको सानो भागहरू बनाउँदा सिलवालसहितका इन्जिनियरहरूले स्याटेलाइटको मिसन, मिसनलाई कसरी हार्डवेयरमा रूपान्तरण गर्ने, कसरी बनाउने, परीक्षण गर्नेलगायतका विषयमा सिकेका थिए । त्यसपछि बल्ल मुनाल मिसन सुरु गरिएको मास्केले बताए । हाल डाँफेको फ्लाइट मोडल तयार भइसकेको छ । सन् २०२३ मै यो थाइल्यान्डले प्रक्षेपण गर्ने उनले बताए ।

मुनाल मिसलका लागि करिब २ करोड खर्च हुने अनुमान छ । हालसम्म विभिन्न संघसंस्था, सानिमा बैंक, व्यक्तिगत सहयोग र क्राउड फन्डिङमार्फत ५० लाख खर्च भइसकेको छ । हाई स्कुलका विद्यार्थीहरूले नेपालमै बसेर स्याटेलाइट निर्माण गरी अन्तरिक्ष पठाउन सक्छन् भन्ने सन्देश मुनाल मिसनले दिने मास्केले बताए ।

मुनाल स्याटेलाइट पृथ्वीभन्दा ५ सय ५० किलोमिटरमाथिको उचाइमा छाडिने मास्केले बताए । यो स्याटेलाइटलाई सन–सिनक्रोनस अर्बिट (एसएसओ) मा राखिनेछ । अर्थात्, सूर्यको सापेक्षमा एउटा स्थिर स्थितिमा रहनेछ । यस्तो हुँदा सधैं एउटै स्थानमा स्याटेलाइट घुम्ने गर्छ । अर्थात् कुनै दिन काठमाडौंको आकाशमाथि देखियो भने सधैं एउटै समयमा त्यही स्थानमा देखिन्छ । एसएसओ अर्बिटमा हुने स्याटेलाइटले कुनै एउटा स्थानलाई एकै समयमा हेर्ने गर्दा समयसँगै भएका परिवर्तनहरूलाई विश्लेषण गर्न मद्दत गर्छ ।

प्रकाशित : चैत्र १८, २०७९ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?