वार्ता गर्न आएको गृहको टोलीलाई मिटरब्याज पीडितहरूले भने : प्रधानमन्त्रीलाई भेटेर कुरा सुनाउँछौँ

कान्तिपुर संवाददाता

काठमाडौँ — ११ दिनसम्म पैदलै हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरूले प्रधानमन्त्रीसँग आफ्ना समस्याहरू सुनाउन चाहेको बताएका छन् । उनीहरूलाई भेट्न पुगेको गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मासहितको टोलीलाई काठमाडौंको सडकमा संघर्षरत मिटर ब्याजपीडितहरूले प्रधानमन्त्रीलाई भेटाउन माग गरे ।

उनीहरूसँग वार्ता गर्न र समस्याबारे बुझ्न गएको गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख शर्मा र काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायसहितको टोली सामान्य भेटघाट र कुराकानीपछि फर्किएको छ ।

सहसचिव शर्माले पीडितका समस्या र गुनासाहरू प्रधानमन्त्रीसम्म पुर्‍याउने र यथासिघ्र समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । टोलीले आन्दोलन फिर्ता गर्न समेत आग्रह गरेको छ ।

पीडितहरूसँग भेटेपछि सहसचिव शर्माले सकेसम्म मंगलबारै वार्ताका लागि पहल गरिने बताए । ‘मैले उहाँहरूसँग भेटेँ । उहाँहरूका कुराहरू सुनेँ । उहाँहरूले सम्माननीय प्रधानमन्त्रीज्यूलाई भेट्न र आफ्ना कुराहरू सुनाउन चाहनुभएको छ । मैले त्यही कुरा जाहेर गर्छु । तर त्यसकालागि पनि के–कस्तो अवस्था हो ? कसरी समस्या समाधान गर्न सकिन्छ भनेर हामीले उहाँहरूसँगै छलफल गर्नुपर्ने हुन्छ, त्यसकालागि सकेसम्म हामी आजै वार्ता गर्छौं,’ शर्माले इकान्तिपुरसँग भने, ‘मैले उहाँहरूलाई प्रधानमन्त्रीज्यूसँग पनि भेटाउने वचन दिएको छु ।’

हाल गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबारै गृहकी सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेका छन् ।

मिटरब्याज पीडितहरू ११ दिन हिँडेर आइतबार काठमाडौं आइपुगेका थिए । आइतबार मातातीर्थमा बसेका उनीहरू सोमबार दिनभर काठमाडौंमा मार्च गरे, राति खुलामञ्चमा बस्न चाहे पनि महानगरपालिकाले रोक लगाए पनि उनीहरूले सडकमै रात कटाएका थिए ।

प्रकाशित : चैत्र १४, २०७९ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्

सप्तरीको रुपनीमा इँटा भट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु

अवधेशकुमार झा

राजविराज — सप्तरीमा इँटा भट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ । मंगलबार रुपनी गाउँपालिका-२ पिपराहीस्थित जेएसआर इँटा भट्टाको पर्खाल  भत्किँदा त्यहीँ कार्यरत भारतको पश्चिम बंगाल राज्यको कुचविहारका ४५ वर्षीय अलीम अजीमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पर्खाल भत्किँदा घाइते भएका अजीमलाइ उपचारका लागि गजेन्द्रनारायण अस्पताल राजविराज ल्याइए पनि चिकित्सकले मृत घोषित गरेका हुन् ।

पर्खाल भत्किँदा मृतक अजीमकी श्रीमती मुजिना बिबी र जयारुल हक घाइते भएका छन् । गजेन्द्र नारायण अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।

प्रकाशित : चैत्र १४, २०७९ ११:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×