द्वन्द्वका काँडाको मात्र हैन फूलको पनि कुरा गर्नुपर्छ : रास्वपा प्रमुख सचेतक परियार

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले द्वन्द्वका कमजोरीलाई मात्रै उजागर गरेर समाजमा शान्ति स्थापना नहुने बताएका छन् । उनले द्वन्द्वकालीन घटनाका उपलब्धिलाई हेरेर अगाडि बढ्नुपर्ने बताएका छन् । 

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा प्रतिनिधिसभाको आइतबारको बैठकमा परियारले द्वन्द्वकालीन घटनाको न्याय निरुपण संक्रमणकालीन न्यायको सिद्धान्तअनुसार हुनुपर्ने बताए ।

'शान्ति प्रक्रियाको एउटा अभिन्न अंग हो, संक्रमणकालीन न्याय । संक्रमणकालीन न्याय परिभाषाले पनि विशेष हुन्छ, महत्वपूर्ण हुन्छ । हामीले सामान्य अर्थमा अन्य बेलाको न्याय सम्पादनजस्तो संक्रमणकालीन न्याय व्यवस्था हुँदैन भन्ने हामीलाई लाग्दछ,' उनले भने, 'भविष्यलाई सुनिश्चित गर्न राज्यले इतिहासको सही मूल्यांकन गर्नुपर्छ । हामी रुपान्तरित व्यवस्थामा छौं । यो व्यवस्थाको वैधानिकताको लागि पनि संक्रमणकालीन न्यायलाई टुंग्याउनु छ । तसर्थ जोड दिएर भन्न चाहन्छु, यहाँ द्वन्द्वमात्रै छैन । द्वन्द्वको काँडाहरूको मात्र कुरा गरेर हुँदैन, द्वन्द्वका फूलहरूको पनि कुरा गर्नुपर्छ ।'

द्वन्द्वबाट समाज रुपान्तरण भएको भन्दै प्रमुख सचेतक परियारले त्यसका उपलब्धिको विषयमा लिएर अघि बढ्नुपर्ने बताए । 'द्वन्द्वबाट हामीले समाजलाई रुपान्तरण गरेका छौं । द्वन्द्वको एउटा शाश्वत नियम, प्राज्ञिक नियम के हुन्छ भने त्यो रुपान्तरित हुनुपर्छ । त्यो व्यवस्थापन भन्दा पनि रुपान्तरित हुनुपर्छ,' उनले भने, 'हामी द्वन्द्व रुपान्तरण गरिरहँदा अझ समावेशी नेपाल, संघीय लोकतान्त्रिक नेपाल पाएका छौं, गणतन्त्र नेपाल पाएका छौं । संक्रमणकालीन न्यायलाई राम्रोसँग व्यवस्थापन गरेनौं भने व्यवस्थामाथि प्रश्न उठ्नेछ ।'

संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्‍याउन सबै राजनीतिक दल एकजुट हुनुपर्ने परियारको आग्रह थियो । उनले भने, 'यो गम्भीर विषयमा यो वा त्यो नभनीकन, कुनै राजनीतिक विचार र सिद्धान्तमा निश्चित नभइकन, यो हाम्रो राज्यको विकासको क्रममा भोगेको भोगाइ एउटा अनुभव भएकाकाले सबैलाई न्याय सम्पादन गर्नुपर्छ । यो व्यक्ति वा पार्टी विशेषको कुरा होइन ।'

राज्यले संक्रमणकालीन न्याय टुंग्याउन विधिवत बाटो अपनाउनुपर्ने परियारको भनाइ छ ।

प्रकाशित : चैत्र १२, २०७९ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्

बन्चरेडाँडामा गिद्धले मान्छेलाई नै आक्रमण गर्ने अवस्था छ : सांसद सुवेदी

'बन्चरेडाँडाको फोहोरमा झिंगा, कुकुर, स्याल, गिद्धले आतंक मच्चाएका छन् । सरकारको ध्यान जाओस् ।'
कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यकाको फोहोर विसर्जनस्थल बन्चरेडाँडा आसपासका मानवबस्तीमा झिँगा, कुकुर, स्याल, गिद्धहरुले आतंक सिर्जना गरिरहेको भन्दै त्यसको नियन्त्रणका लागि सांसद विमला सुवेदीले संसद्‍मा आवाज उठाएकी छन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै माओवादी केन्द्रकी सांसद सुवेदीले संघ सरकार, काठमाडौं महानगरपालिकालगायत निकायले सहमतिबमोजिम उचित तबरले फोहोर व्यवस्थापन नगर्दा बन्चरेडाँडा ल्यान्डफिल साइट क्षेत्रका बासिन्दा भयावह अवस्थामा बाँच्नु परेको बताएकी हुन् ।

'हामी भर्खरै मात्र त्यहाँ गएका थियौं । अवस्था यति भयावह बनेको छ कि स्याल, गिद्ध, झिँगा, कुकुरहरुले मानवबस्तीमा आतंक सिर्जना गरिरहेका छन् । दिनदहाडै अव्यवस्थित रुपमा फालिएका सिनोहरु हजारौं गिद्ध र कागहरुले मानव बस्तीमा खसाल्ने गरेका छन् । कुकुर, स्यालहरुले दिनदहाडै पशुचौपाया मार्नेमात्रै होइन, गाईवस्तुका कल्चौडाहरु खाइरहेका छन्,' उनले भनिन्, 'गिद्धहरुले मान्छेहरुलाई नै आक्रमण गर्ने अवस्था देखिएको छ ।'

सांसद सुवेदीले बन्चरेडाँडावासीले जस्तो पीडा कसैले भोग्नु नपरेको उल्लेख गर्दै त्यसको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराइन् । 'फोहोर र मान्छे एकै ठाउँमा बस्नु परेको स्थिति, त्यहाँबाहेक नेपालका अन्य ठाउँ र विश्वमै छैन,' उनले भनिन्, 'त्यसैले राज्यको यथाशीघ्र ध्यानाकर्षण होस् र तत्काल समस्या समाधान होस् ।'

सेनेटरी ल्यान्डफिल अवधारणाअनुसार फोहोर फाल्ने सम्झौता भए पनि त्यसो नहुँदा दुर्गन्ध फैलिएको सांसद सुवेदीको भनाइ छ । फोहोरको विषयमा नेपाल सरकार, काठमाडौं महानगरपालिका र सम्बन्धित नियकाहरुसँग ७२ चोटी सम्झौता भए पनि कार्यान्वयन नभएकोमा उनले गुनासो गरिन् ।

सांसद सुवेदी, नुवाकोट-१ बाट निर्वाचित सांसद हितबहादुर तामाङ नेतृत्वको टोलीले शुक्रबारमात्रै बन्चरेडाँडाको स्थलगत अनुमन र स्थानीयसँग जानकारी लिएको थियो ।

वर्षा सुरु हुनै लाग्दा नुवाकोट र धादिङको सीमा क्षेत्रमा पर्ने बन्चरेडाँडास्थित ल्यान्डफिल साइटको लिचेट ओभरफ्लो हुन लागेपछि आसपासका बासिन्दा चिन्तित देखिएका छन् । लिचेट भरिएर लेदोयुक्त पानी कोल्पुखोलामा मिसिनसक्ने भन्दै स्थानीयहरूले यसको समाधानका लागि सरकारसँग पहल गर्न जनप्रतिनिधिसमक्ष माग गर्दै आएका छन् ।

बिसर्जन गर्नुअघि प्रयोगमा आउने वस्तु तथा कुहिने र नकुहिने फोहोर छुट्याउने तथा नकुहिने फोहोरमात्रै ल्यान्डफिल्डमा विसर्जन गर्ने र बन्चरेडाँडालाई ५० वर्षसम्म फोहोर विसर्जनका लागि स्थायीरुपले टिकाउने भनिएकोमा जथाभावी किसिमले फोहोर झार्दा निर्माण भएका २ सेलमध्ये १ नम्बर सेल ८ महिनामै भर्न लागेको स्थानीय बताउँछन् ।

प्रकाशित : चैत्र १२, २०७९ १८:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×