कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

करोडौंका भेन्टिलेटर र अक्सिजन प्लान्ट अलपत्र

कोभिडका बेला जडान गरिएका संरचना र उपकरण सञ्चालन गर्न जनशक्ति अभाव
बेनी अस्पतालका चारवटा भेन्टिलेटर स्टोरमा, अक्सिजन कन्सन्ट्रेटर र दुईवटै अक्सिजन प्लान्ट बिग्रिए
पर्वत जिल्ला अस्पतालमा तीन वर्षअघि करिब ७ करोडमा किनिएका आईसीयू, भेन्टिलेटरलगायत उपकरण थन्किए; कोभिडका बेला गोरखा अस्पताललाई प्राप्त दुईमध्ये एक भेन्टिलेटर प्रयोगविहीन
स्याङ्जा अस्पतालका १० वटा आईसीयू र १० वटा भेन्टिलेटर थन्किए भने लमजुङ अस्पतालमा संघले दिएका ३ भेन्टिलेटर र ५ आईसीयू स्टोरमा
गण्डकी प्रदेश ब्युरो

पोखरा — कोभिड कहरका बेला गण्डकी प्रदेशका विभिन्न अस्पतालमा जडान गरिएका आईसीयू कक्ष, अक्सिजन प्लान्ट र प्रदेश सरकारको सहयोगमा खरिद गरिएका भेन्टिलेटरलगायत उपकरण जनशक्ति अभावले थन्किएका छन् ।

करोडौंका भेन्टिलेटर र अक्सिजन प्लान्ट अलपत्र

म्याग्दी सदरमुकामस्थित बेनी अस्पतालमा रहेका चार भेन्टिलेटर स्टोरमा राखिएका छन् । अस्पताल भवन र भेन्टिलेटरसहितको आईसीयू सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा महत्त्वपूर्ण उपकरण थन्किएका हुन् । स्टाफ नर्स मोनिका पुनका अनुसार बिरामी भर्ना कक्षमा जोडिएको भेन्टिलेटर सुरुबाटै चलाइएको छैन भने धेरै पार्टपुर्जासमेत झिकिएको अवस्थामा अलपत्र छ । आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि ‘क्रिटिकल केयर टिम’ चाहिन्छ ।

अस्पतालमा पूर्वाधार र एनेस्थेसियोलोजिस्टसमेत नभएकाले आईसीयू र भेन्टिलेटर चलाउन नसकिएको निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.शंकरराज लामिछानेले बताए । ‘भेन्टिलेटर थन्काएका छौं, अहिलेकै अवस्थामा चलाउन सम्भव छैन,’ उनले भने । भेन्टिलेटर सञ्चालन गर्न कम्तीमा ३ जना डाक्टर र १२ नर्स स्ट्यान्डबाई रहनुपर्छ । लामिछानेले नियमित उपचारमै डाक्टर अभाव रहेका बेला भेन्टिलेटरका लागि जनशक्ति टाढाको कुरा रहेको बताए ।

अस्पतालका अक्सिजन कन्सन्ट्रेटर र दुईवटै अक्सिजन प्लान्ट बिग्रिएका छन् । अस्पताल व्यवस्थापन समितिका अनुसार सानो अक्सिजन प्लान्ट तीन वर्षदेखि बिग्रिएको हो । ठूलो प्लान्टको अटोमेटिक सिस्टम बिग्रिएकाले कर्मचारीले हातले मेसिन घुमाएर अक्सिजन उत्पादन गर्छन् । समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले अक्सिजन प्लान्ट बिग्रेपछि सम्झौताअनुसार प्लान्ट सेटअप गर्ने कम्पनीलाई मर्मत गर्न भनेको बताए । ‘कम्पनीले मर्मत गर्ने उपकरण नभएकाले चीनबाट ल्याउन एलसी खोलेको र छिट्टै मर्मत गर्न आउने जानकारी दिएको छ,’ उनले भने ।

अस्पतालमा ५० किलोग्राम क्षमताका दैनिक २० सिलिन्डर अक्सिजन उत्पादन गर्ने सानो र दैनिक ५० केजी क्षमताका ७५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने ठूलो प्लान्ट छन् । सानो प्लान्ट गण्डकी प्रदेश सरकारको ७५ लाखमा र ठूलो प्लान्ट प्रदेश र संघको ७५/७५ लाख लागतमा निर्माण भएको हो । अस्पतालमा आव ०७६/७७ मै पाँच शय्या क्षमताको भेन्टिलेटरसहित आईसीयू कक्ष स्थापना गरिएको थियो तर आईसीयू चलाउन एनेस्थेसियोलोजिस्ट र पारामेडिक्सजस्ता जनशक्ति नभएपछि सञ्चालनमा आएको छैन ।

दक्ष जनशक्ति अभावले पर्वत जिल्ला अस्पतालमा पनि आईसीयू, भेन्टिलेटरलगायत उपकरण थन्किएका छन् । तीन वर्षअघि खरिद गरिएका करिब ७ करोडका उपकरण थन्किएका हुन् । अस्पताल प्रशासनका अनुसार ४ वर्षदेखि ५० शय्यामा स्तरवृद्धि गर्न संघीय सरकारमार्फत करिब २५ करोडमा भवन निर्माण भएको छ । नयाँ भवनमा अस्पतालका सेवा सञ्चालनमा आएको पनि महिनौं भइसक्यो । गण्डकी प्रदेशमार्फत नै ३ वर्षअघि ५ शय्या आईसीयू र ३ शय्या भेन्टिलेटरका लागि १ करोड ६९ लाख बजेट प्राप्त भएको थियो । अन्य उपकरण खरिदका लागि ४० लाख, सवारीसाधन खरिदमा ४५ लाख, डायलसिस सञ्चालनका लागि मेसिनबाहेक २५ लाख बजेट प्राप्त भएको थियो ।

त्यस्तै, लायन्स क्लबले समेत भेन्टिलेटर, अक्सिजन प्लान्टलगायत उपकरणका लागि करिब २ करोडभन्दा बढी सहयोग गरेको थियो । सोही वर्ष अक्सिजन प्लान्ट जडानका लागि ७५ लाख, आँखा तथा दाँत सेवा विस्तारका लागि ५० लाख, भौतिक पूर्वाधार निर्माणका लागि ४० लाख, विद्युतीय मेडिकल अभिलेख प्रणालीका लागि २८ लाख र शव चिस्यान केन्द्रका लागि ८ लाख बजेट थियो । तीमध्ये हाल उपलब्ध जनशक्तिले भ्याउनेजति उपकरण सञ्चालनमा ल्याइएको अस्पतालका सूचना अधिकारी लक्ष्मण शर्माले बताए । ‘अहिले भेन्टिलेटरको समस्या हो,’ उनले भने, ‘अन्य उपकरण भने सञ्चालनमा ल्याइएकै छ ।’

लामो समय थन्किएको अक्सिजन प्लान्ट भने केही महिनादेखि सञ्चालनमा आएको अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीले बताए । गिरीका अनुसार प्रदेश सरकारले तत्कालै दक्ष जनशक्ति उपलब्ध गराउने सर्तमा खरिद गरिएका भेन्टिलेटरका उपकरण नयाँ भवनको एउटा कोठामा थन्किएका छन् । ‘अहिले हामीसँग पाँच–सात करोडका उपकरण त्यत्तिकै थन्किएका छन्,’ उनले भने, ‘निल्नु न ओकल्नुजस्तै भएको छ ।’

कोभिड महामारीका बेला गोरखा अस्पताललाई प्राप्त दुईमध्ये एक भेन्टिलेटर प्रयोगमा छैन । एक भेन्टिलेटर भने शल्यक्रिया कक्षमा सञ्चालनमा रहेको अस्पतालका रेडियोग्राफर तथा स्टोरकिपर अनिल रेग्मीले बताए । ‘कोभिडका बेला चलेको थियो, अहिले स्टकमा छ,’ उनले भने, ‘अब दुई साताभित्रै चार शय्या क्षमताको आईसीयू सञ्चालन गर्दै छौं, स्टकमा रहेको भेन्टिलेटर पनि त्यहीं प्रयोग हुन्छ ।’

कोभिड महामारीकै बेला गोरखा अस्पतालमा अक्सिजन प्लान्ट र सुविधासम्पन्न एचडीयू शय्या सञ्चालनमा आएको थियो । एचडीयू शय्या भने सबै सञ्चालनमा छन् । अक्सिजन प्लान्ट भने चार महिनायता प्रयोगमा छैन । ‘अक्सिजनको गुणस्तरमा समस्या देखिएपछि बायोमेडिकल इन्जिनियरसँग सल्लाह गरिरहेका छौं,’ उनले भने । प्रतिमिनेट ८० लिटर अक्सिजन उत्पादन गर्ने प्लान्ट जडान भएको थियो । आईसीयू सञ्चालनका लागि कर्मचारी थप चाहिने अस्पतालका मेसु हरिकुमार श्रेष्ठले बताए । ‘मेनपावर छैन, समितिले मेनपावर राखेर चलाउनुपर्ने बाध्यता छ,’ उनले भने ।

स्याङ्जा अस्पतालमा पनि दक्ष जनशक्ति नहुँदा महत्त्वपूर्ण उपकरण अलपत्र छन् । अस्पतालकी निमित्त प्रमुख कृष्णकुमारी कार्कीले प्रदेश सरकारसमक्ष साधन सञ्चालनका लागि जनशक्ति माग गरिएको बताइन् । गण्डकी सरकारले कोरोना महामारीको समय जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट, भेन्टिलेटर र आईसीयू शय्या स्थापनाका लागि बजेट विनियोजन गरेको थियो । अक्सिजन प्लान्टमात्रै सञ्चालनमा रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष इन्द्र गोदारले जनाए । उनले भने, ‘अक्सिजन जिल्लाभरि पुग्ने गरी उत्पादन भएको छ तर दक्ष जनशक्ति अभावका कारण भेन्टिलेटर र आईसीयू शय्या सञ्चालन गर्न सकेनौं ।’

अस्पतालमा १० वटा आईसीयू शय्या र १० वटा भेन्टिलेटर रहे पनि जनशक्ति अभावमा सञ्चालन गर्न नसकिएको कार्कीले बताइन् । ‘यहीं पाइने सुविधाका लागि सेवाग्राहीले पोखरा गएर महँगो तिर्नुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘प्रदेश सरकारले कर्मचारी पठाएर व्यवस्थापन नगरेसम्म सेवाग्राही पोखरा जान बाध्य हुन्छन् ।’ कार्कीले जडान गरेर प्रयोगमा नआएका सामान राख्दाराख्दै बिग्रने अवस्था आएको बताइन् ।

लमजुङ अस्पतालमा पनि संघीय सरकारले दिएको ३ भेन्टिलेटर र ५ आईसीयू शय्या स्टोरमा थन्किएका छन् । प्रदेश सरकारको सहयोगमा १ करोड ४४ लाख रुपैयाँ बराबरको डिजिटल एक्सरे–मेसिन फागुन पहिलो साता जडान भएको छ तर यसको प्रिन्ट राम्रो नआएको चिकित्सकले बताए । प्रदेश सरकारकै सहयोगमा डेढ वर्षअघि जडान गरिएको अक्सिजन प्लान्ट अहिले दैनिक करिब ३ घण्टा चलाउने गरिएको छ ।

पीसीआर ल्याब उपकरण डेढ वर्षअघि नै आए पनि सञ्चालनमा आउन सकेको छैन । अस्पतालका मेसु डा.रमेशप्रसाद आचार्यका अनुसार ५० शय्याको अस्पतालमा दैनिक ४० जना हाराहारीमा भर्ना हुने गरेका छन् । ‘आइसोलेसनलाई किन यत्तिकै राख्ने भनेर अब बिरामी नै राख्नुपर्ला भनेर सोच बनाएको छु,’ उनले भने । उनले भेन्टिलेटर जडानका लागि प्राविधिक चाहिने बताए ।

कोरोना संक्रमणका बेला अक्सिजन हाहाकार हुँदा बागलुङस्थित धौलागिरि अस्पतालको गाडी दैनिक चार पटक पोखरा पुगेर ल्याउँथ्यो । सडकमा केही समय ढिला हुँदा बिरामीको ज्यानै जाने खतरा थियो । गण्डकी सरकारको सहयोगमा दुई वर्षअघि जडित प्लान्टबाट अस्पतालका सबै शय्यामा पाइपलाइनबाट अक्सिजन वितरण भइरहेको छ । यसले नियमित उपचारमा सहयोग पुगेको मेसु डा.अमित ढुंगानाले बताए ।

अस्पतालमा २ सय शय्या पुर्‍याउने लक्ष्य छ । यो प्लान्टले ती सबै शय्यामा पाइपलाइनबाटै अक्सिजन लैजान सकिन्छ तर अहिले अस्पतालमा ५० शय्या मात्रै सञ्चालनमा छ । त्यसबाहेक ४ शय्या आईसीयू, बाल कक्ष, सुत्केरी कक्ष र इमर्जेन्सीमा पनि सिधै अक्सिजन जोडिएको छ । ‘सबै शय्यामा अक्सिजन प्लान्टबाटै पाइपलाइन जोडिएकाले सिलिन्डर सकिने चिन्ता छैन,’ चिकित्सक डा.अभिषेक वाग्लेले भने, ‘बरु चिकित्सक बस्ने व्यवस्था भइदिए राम्रो हुन्थ्यो ।’

छात्रवृत्ति करारका चिकित्सकले समेत दुई वर्ष नबसी एक वर्षमै अस्पताल छाड्ने समस्याले उपचार प्रभावित भएको उनले बताए । प्लान्ट जोडेपछि पर्वत र बेनी अस्पतालले पनि धौलागिरि अस्पतालमा आएर अक्सिजन भर्न थालेको शाखा अधिकृत तेजप्रसाद निउरेले बताए । यहाँ स्थापित प्लान्टमा २४ घण्टामा ७० देखि १ सय सिलिन्डर भर्न सकिने क्षमता छ । यसअघि अस्पतालमा रहेको पुरानो मेसिनबाट पनि २४ घण्टामा २० वटासम्म सिलिन्डर भर्न मिल्थ्यो । उक्त प्लान्ट भने बिग्रेर बसेको छ । गलकोट, बुर्तिवाङ र जैमिनीलगायत ग्रामीण स्वास्थ्य संस्था र अस्पतालले पनि यहाँबाट अक्सिजन भर्न थालेका छन् । २ करोड ३२ लाखमा अक्सिजन प्लान्ट स्थापना गरिएको हो ।

- घनश्याम खड्का (म्याग्दी), अगन्धर तिवारी (पर्वत), हरिराम उप्रेती (गोरखा), प्रतीक्षा काफ्ले (स्याङ्जा), आश गुरुङ (लमजुङ) र प्रकाश बराल (बागलुङ)

प्रकाशित : फाल्गुन २९, २०७९ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?