कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

उपराष्ट्रपतिमा जसपाबाट प्रमिला यादवको पनि उम्मेदवारी

कान्तिपुर संवाददाता

काठमाडौँ — उपराष्ट्रपति निर्वाचनका लागि जनता समाजवादी पार्टी(जसपा) बाट प्रमिलाकुमारी यादवले पनि उम्मेदवारी दिएकी छिन् । शनिबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर राष्ट्रिय सभा सदस्य यादवले उम्मेदवारी दर्ता गरेकी हुन् ।

उपराष्ट्रपतिमा जसपाबाट प्रमिला यादवको पनि उम्मेदवारी

यादवको प्रस्तावकमा सांसदहरू रन्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव र समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई, मनिष सुमन रहेका छन् ।

यसअघि जसपाका संसदीय दलका नेता रामसहायप्रसाद यादवले पनि उम्मेदवारी दर्ता गरिसकेका छन् । जसपाको केन्द्रीय कार्यकारिणि समितिले यसअघि नै रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष र खस आर्य समुदायबाहेकका उम्मेदवार हुनुपर्ने स्पष्ट पारेपछि जसपाले प्रमिला यादवलाई समेत उठाउने भएको हो ।

सत्ता गठबन्धनमै रहेको जनमत पार्टीबाट समेत उपराष्ट्रपतिमा उम्मेदवारी पर्दैछ । जनमतबाट ममता झाले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गर्दैछिन् ।

नेकपा एमालेबाट भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी छिन् ।

निर्वाचन आयोगले शनिबारका लागि उपराष्ट्रपतिको मनोनयन पत्र दर्ता गर्ने समय तोकेको छ । शनिबार बिहान ९ बजेदेखि २ बजेसम्मलाई मनोनयन दर्ताको समय तोकिएको छ । आइतबार उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । त्यस्तै चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुनेछ ।

प्रकाशित : फाल्गुन २७, २०७९ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?