कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

बालुवाटारबाट ओली निस्किएपछि कांग्रेससहित चार दलको बैठक सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहासँग नेकपा एमालेका अध्यक्ष केपी ओलीको वार्ता सकिएलगत्तै नेपाली कांग्रेससहित चार दलका नेताहरू बालुवाटार प्रवेश गरेका छन् । राष्ट्रपति निर्वाचनका लागि प्रधानमन्त्री दाहालसँग छलफल गर्न ओली प्रतिनिधिसभा बैठकपछि बालुवाटार पुगेका थिए ।

बालुवाटारबाट ओली निस्किएपछि कांग्रेससहित चार दलको बैठक सुरु

ओली बालुवाटारबाट निस्किएलगत्तै कांग्रेसका महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का र वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला प्रधानमन्त्री दाहालसँग वार्ताका लागि बालुवाटार पुगेका हुन् । 'राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा सहमतिका लागि नै छलफलका लागि हामी आएका हौं,' कांग्रेसका उपसभापति खड्काले इकान्तिपुरलाई बताए ।

बैठकमा सहभागी हुन भर्खरै नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरु समेत बालुवाटार पुगेका छन् ।

गत मंसिर ४ को निर्वाचनअघि एउटै गठबन्धनमा रहेका यी चार दल अब राष्ट्रपति निर्वाचनमा फेरि एक ढिक्का हुनेबारे छलफलमा छन् । शुक्रबार बिहानमात्रै चार घन्टासम्म छलफल गरेका नेताहरुले अहिले साँझ बस्ने बैठकबाट राष्ट्रपतिमा साझा उम्मेदवार तय हुने बताएका छन् ।

शुक्रबार विहानको छलफलपछि कांग्रेस महामन्त्री गगन थापाले शुक्रबार साँझको बैठकबाट साझा उम्मेदवार तय गर्ने दाबी गरेका थिए । त्यसपछि प्रधानमन्त्री दाहालले नेकपा एमालेका अध्यक्ष ओलीसँग छलफल गरेका थिए ।

बालुवाटार स्रोतका अनुसार अध्यक्ष ओलीले भने दाहाललाई पुस १० गतेको सहमति पालना गर्न तथा राष्ट्रपतिमा एमालेलाई सघाउन आग्रह गरेका थिए । साथै प्रधानमन्त्रीसँग ओलीको वार्ता निष्कर्षमा नपुगेको बताइएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा प्रमुख दलका शीर्ष नेताहरूले भेटघाट तीव्र बनाएका छन् । बुधबार १३ गते मनोनयन दर्ता गरिसक्नुपर्नेमा कुनै दलले पनि उम्मेदवारको औपचारिक घोषणा गरिसकेका छैनन् ।

प्रकाशित : फाल्गुन १२, २०७९ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?