मन्त्री मोदीको निर्देशन- 'कानुनका छिद्र देखाएर सेवाग्राहीलाई दु:ख नदिनू'

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कानुनी छिद्र देखाएर सेवाग्राहीलाई दु:ख नदिन कर्मचारीहरूलाई निर्देशन दिएका छन् । सेवाग्राहीका गुनासो आफूले सुनेको भन्दै सहज रुपमा उनीहरूलाई सेवा प्रदान गर्न मन्त्रीले निर्देशन दिए ।

मन्त्री मोदीको निर्देशन- 'कानुनका छिद्र देखाएर सेवाग्राहीलाई दु:ख नदिनू'

मन्त्रालयले महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग बुधबार आयोजना गरेको अन्तरक्रियामा मन्त्री मोदीले यस्तो बताएका हुन् । यस क्रममा मन्त्री मोदीले परिणाममुखी कामका उपायबारे छलफल गरेका थिए।

छलफलका क्रममा प्रमुख प्रशासकीय अधिकृतहरुले कार्यसम्पादनका क्रममा आफूहरुले भोगिरहेको कानुनी जटिलता लगायत विषयमा धारणा राखेका थिए । त्यससँगै आआफ्नो पालिकामा सञ्चालन भइरहेको काम, प्राप्त उपलब्धी र अनुभव पनि उनीहरूले आदानप्रदान गरे ।

छलफलमा बोल्दै मन्त्री मोदीले सेवाग्राहीलाई प्रभावकारी ढंगबाट सेवा प्रवाह गर्न निर्देशन दिएका थिए । कर्मचारीहरुले सेवाग्राहीलाई अनावश्यक दु:ख दिने गरेको गुनासो बढिरहेको भन्दै मन्त्री मोदीले जनतालाई कसरी सहज र सरल ढंगबाट सेवा प्रदान गर्ने भन्नेतिर ध्यान दिन निर्देशन दिए ।

'कानुनका छिद्र देखाएर सेवाग्राहीहरुलाई राष्ट्रसेवक कर्मचारीहरुले अनावश्यक दु:ख दिने गरेको गुनासो सुनेको छु, प्रधानमन्त्रीज्युले पनि यो समस्या हटाउँछु भनेर संसदमा भन्नुभएको छ, उहाँको स्पिरिटलाई पनि हामीले समाउनुपर्ने हुन्छ,' उनले भने ।

कानुनका छिद्र देखाएर जनतालाई दु:ख दिने नियत नराख्न पनि कर्मचारीहरूलाई मन्त्रीले आग्रह गरेका थिए ।अन्तरक्रियाको क्रममा उठेका समस्या र सुझावहरूलाई मन्त्रालयले कार्ययोजना बनाएर प्रभावकारी कार्यसम्पादनको वातावरण बनाउने पनि मन्त्री मोदीको भनाइ थियो ।

छलफलमा मन्त्रालयका सचिव कृष्णहरी पुस्करले कानुनभन्दा बाहिर गएर कुनै पनि निर्णय नगर्न निर्देशन दिएका थिए ।

प्रकाशित : फाल्गुन ३, २०७९ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?