‘फुटुङ’ ले देखाएको अनुसन्धानको बाटो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘फुटुङ’ ले देखाएको अनुसन्धानको बाटो

१० सेकेन्डमै पानीको प्रदूषण परीक्षण गर्ने प्रविधिको विकास
मणि दाहाल, बुद्धिसागर मरासिनी

काठमाडौँ — बेल्जियमको गेन्ट विश्वविद्यालयबाट फोटोनिक्समा ‘पोस्ट डक्टरल’ गरेपछि देश फर्किएका असिम ढकालका चुनौतीका दिन बल्ल सुरु भएका थिए । युरोप तथा अमेरिकामा उनका लागि अवसरका ढोकाहरू खुला थिए । त्यसलाई त्यागेर फर्किएका उनका सामु देशमा भने केही थिएन । विसं. २०७२ कुरा हो, भूकम्पले देश तहसनहस थियो । अनि, जनजीवन अव्यवस्थित । पोस्ट डक्टरले गरे पनि आफ्नो क्षेत्रमा उनी शून्य जस्तै थिए । काम के र कहाँबाट सुरु गर्ने भन्ने अन्योलमा थिए उनी । 

त्यसै क्रममा उनी हाम्रो देशका लागि आवश्यक र उपयोगी हुने स–साना अध्ययन र अनुसन्धान गर्ने निष्कर्षमा पुगे ढकाल । त्यसै क्रममा जन्मियो, ‘फुटुङ रिसर्च इन्स्टिच्युट ।’ यही इन्स्टिच्युटको एक टोलीले १० सेकेन्डमै प्रदूर्षित पानीको परीक्षण गर्ने प्रविधि विकास गरेका छन् । ढकालका अनुसार यो सम्भवतः विश्वकै छिटो प्रविधि हो ।

तपाईंहरूले विकास गरेको प्रविधि (सिस्टम) अरूले बनाएका छैनन् र अरूले बनाउन सक्दैनन् ? ढकालको सिधा जवाफ छ– ‘चन्द्रमामा यान पठाउन सक्नेले बनाउन सक्दैनन् भनेर कसरी भन्नु, पश्चिमाहरूले चाहेको भए बनाउन सक्थे होलान् । तर उनीहरूले आवश्यक नै ठानेनन् होला ।’

ढकालको नेतृत्वमा विकास गरिएको प्रविधि मंगलबार एक कार्यक्रम गरेर सार्वजनिक गर्ने तयारी गरेको छ फुटुङको । ‘हामी साथीहरू हाम्रो आवश्यकता अध्ययन, अनुसन्धान तथा प्रविधिको विकास नेपालमै गर्ने भनेर फर्किएका हौं,’ ढकालले भने । फोटोनिक्स इन्जिनियरिङमा विद्यावारिधि गरेका ढकालले यसअघि नेपालमै पहिलो ‘नानो फोटोनिक्स चिप’ बनाएका थिए ।

आफूले विकास गरेको प्रविधि नेपालको आवश्यकता हो भन्नेमा जोड दिँदै ढकालले औलो (मलेरिया) र कोभिड–१९ लाई उदाहरण रूपमा प्रस्तुत गरे । ‘हजारौं वर्षदेखि करोडौं मानिस मलेरियाले मारेको छ, अहिले पनि ठूलो समस्याको रूपमा छ । त्यो एसिया र अफ्रिकाको समस्या भयो,’ ढकालले भने, ‘युरोपेली वा अमेरिकीका लागि त्यति ठूलो समस्या होइन । त्यो ज्यानमारा रोगको भ्याक्सिन भर्खरै बनेको छ । तर कोभिडको भ्याक्सिन एक वर्षमै बन्यौं । त्यो अमेरिका वा युरोपको समस्या नभएर एसिया र अफ्रिकातिरको मात्रै भएको भए अहिले पनि बन्ने थिएन होला ।’

कपिलवस्तु र जाजरकोट फैलिएको हैजाको उदाहरण दिँदै उनले भने, ‘२१ औं शताब्दीमा पनि हैजाको कारण मानिस मरिरहेका छन् । त्यो ठूलै विषय हो भने यसलाई सम्बोधन गर्नुपर्छ बनाएका हौं ।’ ढकालले पहिलो विषादी परीक्षण गर्ने प्रविधि विकास गर्ने काम सुरु गरे पनि ‘पेस्टिसाइड परीक्षण तत्काल गर्ने धेरै किटहरू छन्,’ उनले भने, ‘त्यसैले पानीतर्फ लागेका हौं ।’

फोटोनिक्स प्रकाशको कण फोटोनलाई उत्पादन, नियन्त्रण र पत्ता लगाउने विज्ञान तथा प्रविधिक हो । यसको प्रयोग फाइबर अप्टिक, लेजर प्रविधि र अप्टिकल कम्युनिकेसन प्रणालीसहितको अप्टिकल प्रविधिलाई समेट्छ । फोटोनिक्सले सञ्चार प्रविधि, औषधि उपचार, उत्पादन तथा रक्षा क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्बाह गर्दै आएको छ । अनुषा थापा, रिजन महर्जन र निराजन ओझासहितको विदेशबाट अध्ययन गरेर फर्किएहरू यसमा संलग्न छन् ।


‘नेपालको समस्या हल गर्न भनेर आएको हो । नेपालमा अध्ययन भाइबहिनी पनि हुनुहुन्छ,’ उनले भने,’ अहिले धेरै अनुसन्धान एक अर्कोसँग जोडिएको छ । यो प्रविधि विकास गर्नका लागि ११ जना धेरै संलग्न रह्यौं । अहिले पनि हाम्रो ल्याबमा नेपालमा अध्ययन गरेको धेरै विद्यार्थीहरू अनुसन्धान गर्दै छन् ।’ ढकालका अनुसार लेन्स डिजाइन गर्नेका लागि बेलायतको ‘युनिभर्सिटी अफ योर्क’ मा प्राध्यापक थोमस क्राउसले सहयोग गरेको बताए । ‘यूके रिसर्च काउन्सिलसँग ग्रान्डका आग्रह गर्‍यौं । बेलायतले पैसा दिनेपछि भए पनि नाम चलेको बेलायती चाहियो । उहाँ प्रिन्सिपिल इन्भेटिगेटर भएर काम गर्न तयार भएपछि दुवैतर्फ काम भयो,’ ढकालले भने ।

अर्को आम्स्टर्डमको ‘युनिभर्सिटी अफ एप्लाइडेड साइन्सेस’ का प्राध्यापक माइकल भान्दर घोस्तअन्तर्गत काम गरिरहेका एक विद्यार्थीले एउटा इलेक्टोनिक पार्टमा डिजाइन गरेर सहयोग गरेको बताए । ‘परियोजनाको पूर्ण रूपमा नेतृत्व र डिजाइन भनेको हाम्रो हो । लेन्सको डिजाइन गर्ने काम योर्कको प्रोफेसरले गर्नुभएको हो । त्यसैगरी इलेक्ट्रोनिक्सको सानो डिजाइन आम्स्टर्डममा भएको हो,’ ढकालले भने ।

ढकालसहितको टोलीले हालै विकसित गरेको ‘रियल टाइम वाटर एसेसमेन्ट सिस्टम (वास)’ ले पानीको प्रदूषणको तत्कालै जानकारी दिन्छ । ‘दस सेकेन्डमा परीक्षण गर्छ, कुनै पनि केमिकल (रसायन) चाहिँदैन,’ ढकालले भने । अहिलेको प्रविधिबाट जाँच गर्दा त्यसको परिणाम आउनका लागि २४ देखि ४८ घण्टासम्म लाग्ने ढकालले बताए ।


ढकालका अनुसार अहिले प्रविधिमा प्रयोगशाला बनाउनुपर्छ, त्यसमा रसायन चाहियो, त्यसमा जीवाणुलाई वृद्धि गर्नका लागि ३७ डिग्री तापक्रमलाई कायम राखिराख्नुपर्ने हुन्छ । त्यसका लागि राम्रोसँग तालिम लिएको प्रविधिक चाहिन्छ । पानी छान्नका लागि फिल्टर चाहिन्छ । त्यसलाई ब्याटेरिया विकास गरेपछि त्यसलाई गणना गरेर गरिन्छ ।

‘त्यसले अहिलेको प्रविधिबाट गाउँगाउँमा परीक्षण गर्दा सम्भव नै छैन । हामीले विकास गरेको प्रविधिका लागि घाम नलाग्ने १५ घन सेन्टिमिटरको ठाउँ भए पुग्छ । परीक्षणका लागि ५ एमएल पानी स्याम्पल चाहिन्छ,’ उनले भने, ‘त्यसका लागि कुनै तालिम लिनु पनि पर्दैन । नपढेको मानिसलाई पनि पहिलो वा रातो बत्ती बलेको छ भने पानी नउमालीकन प्रयोग गर्दै नगर्नु भन्दा हुन्छ,’ उनले भने । करिब एक केजी तौल भएको सानो मेसिन ब्याट्रीबाट चल्छ र सहजै जहाँ पनि लैजान सकिन्छ । एक पटक ब्याट्री चार्ज गरेपछि निरन्तर रूपमा परीक्षण गर्दा ३ घण्टासम्म गर्न सकिने ढकालको भनाइ छ । मेसिनको आयु भने मूल्यांकनकै क्रममा रहेको ढकालले बताए । कुनै प्रकारको समस्या देखिए त्यसलाई सुधार गर्दै जाने उनले बताए । ‘थप परिस्कृत गर्दै जान्छौं । यसलाई सस्तो बनाउनतर्फ पनि लाग्छौं । ४/५ हजार रुपैयाँसम्म बनाउने र घरघरमा पुर्‍याउने लक्ष्य छ,’ उनले भने ।

यसले पानीमा प्रदूषणको मात्राका आधारमा रातो, सुन्तला र हरियो रंगबाट संकेत गर्ने ढकालले बताए । ‘यसको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) मापदण्डअनुसार संकेत गर्छ । यसका लागि प्राविधिक आवश्यक पर्दैन,’ उनले भने, ‘हरियो बल्दा ठीक छ, सुन्तला रंग बल्यो भने खतरा छ है भन्ने हो । र, रातो भए पनि त्यो पानी प्रयोग नै नगर्ने भन्ने हो ।’ त्यसबारे विस्तृत जानकारी चाहियो वा दुई स्थानको फरकफरक पानी परीक्षण गर्नुपर्‍यो भने पनि छ, त्यो विशेषता छ मेसिनमा ।


यसमा ब्याक्टेरिया (जीवाणु) को रहेको प्रोटिनलाई अप्टिकल टेक्नोलोजीमार्फत पत्ता लगाउने गर्छ । ‘पानीमा ब्याक्टेरिया छ भने त्यसले पानीमा प्रोटिन छाड्छ । त्यो प्रोटिनलाई हामीले पत्ता लगाउने हो । त्यो प्रोटिनको मात्रा जति बढी छ, त्यसले त्यति नै प्रदूषित हुने छ,’ उनले भने । तत्काल २० वटा मेसिन बजारमा पठाउने तयारी छ उनको । ‘हामीले र हामीलाई विश्वास गर्नेसँग सम्झौता गर्ने हो,’ उनले भने । सरकारी निकायसँग पनि सहकार्य गर्न सकिने उनको भनाइ छ । ‘मेलम्ची वा खानेपानी संस्थानलगायत निकायले पानी परीक्षणका लागि नयाँ प्रविधि चाहेकाले सहकार्य हुन सक्छ,’ उनले भने । खानेपानी स्वास्थ्य मन्त्रालयदेखि अन्य निकायले पनि समन्वयका लागि बचन दिएका उनको भनाइ छ । उनका अनुसार डेरी, कुखुरा फर्म र पानी उत्पादन गर्ने कम्पनीले पनि चासो दिएका छन् ।

प्रकाशित : माघ २२, २०७९ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्

बुटवलमा उपमहानगरहरूको राष्ट्रिय सम्मेलन सुरू

अमृता अनमोल

बुटवल — देशभरका उपमहानगरपालिकाहरुको पहिलो राष्ट्रिय सम्मेलन बुटवलमा सुरू भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सम्मेलनको उद्घाटन गरे ।

सम्मेलनमा देशभरका उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुसहित करिब ५ सय जना सहभागी छन् । उपमहानगरका समान समस्या, समान मुद्दा र समान संरचना बीचमा अनुभव आदान प्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल गर्ने, साझा र एकल अधिकार प्रयोगमा एकरुपता ल्याउने उद्देश्यले राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा संविधानअनुसार साझा र एकल अधिकारको प्रयोगका चुनौती, असल अभ्यासबारे अनुभव आदानप्रदान, संघ र प्रदेश सरकारसँग स्थानीय सरकारका रुपमा अपेक्षा र स्थानीय आवश्यकताजस्ता विषयमा छलफल गरी निष्कर्ष निकालिने छ । यस्तै, उपमहानगरका साझा समस्या समाधानका लागि सम्बन्धित निकायसँग सामूहिक रुपमा छलफलमा जाने निर्णय गरिने छ । सम्मेलनले साझा प्रतिबद्धतासहितको बुटवल घोषणापत्र जारी गर्ने आयोजक बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।

सम्मेलनमा भाग लिन शुक्रबार नै उपमहानगरपालिकाका प्रतिनिधिहरु बुटवल आएका थिए । शुक्रबार साँझ उपमहानगरका असुल अभ्यासबारे छलफल गरिएको थियो ।

प्रकाशित : माघ २२, २०७९ ११:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×