कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माओवादीको ‘रिब्रान्डिङ’ तयारी

एकीकृत पार्टीको नाम ‘नेकपा समाजवादी’ रहने लगभग निश्चित, चुनाव चिह्न पनि फेरिने
गंगा बीसी

काठमाडौँ — एकता गरेर दलको नाम ‘नेकपा समाजवादी’ राख्ने करिब निश्चित गरिसकेका पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले चुनाव चिह्न पनि नयाँ राख्ने तयारी गरेका छन् । शान्तिपूर्ण राजनीतिमा माओवादी नाम र हँसिया–हतौडा चुनाव चिह्न कमजोर बन्दै गएको निष्कर्षका साथ दुवै दल नयाँ नाम र चुनाव चिह्न तय गर्ने निष्कर्षमा पुगेका हुन् ।

माओवादीको ‘रिब्रान्डिङ’ तयारी

२०५२ मा सशस्त्र द्वन्द्व सुरु गर्नुअघि नेकपा एकता केन्द्रलाई परिवर्तन गरेर पार्टीको नाम नेकपा माओवादी राखिएको थियो, जसले चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष माओत्सेतुङबाट प्रभावित भएर पार्टीले गाउँदेखि सहर घेर्दै जनवादी क्रान्ति पूरा गर्ने नीति लिएको थियो । २०७५ सालमा एमालेसँग एकता गरेपछि भने पार्टीको नाममा माओवादी हट्यो । तर २०७७ फागुन २२ मा सर्वोच्च अदालतको फैसलाले माओवादी केन्द्र ब्युँताइदियो । ‘सशस्त्र युद्ध र त्यसको रापताप रहेका बेला माओवादी नाम प्रभावकारी भए पनि पछिल्लो समय कमजोर बन्दै गएको शीर्ष नेताहरूको निष्कर्ष रहेकाले नयाँ नाम तय गर्न लागिएको छ,’ माओवादीका एक नेताले भने ।

दाहाल र भट्टराईले २०७२ अघिसम्म करिब २६ वर्ष एउटै पार्टीमा रहेर सहकार्य गरेका थिए । तर उनीहरूबीचको सम्बन्ध उतारचढावपूर्ण थियो । भट्टराईले नयाँ संविधान जारी भएपछि भने माओवादी छाडे । नयाँ शक्ति पार्टी खोलेका उनी समाजवादी पार्टी (संघीय समाजवादीसँग एकतापछि), जनता समाजवादी पार्टी (राष्ट्रिय जनता पार्टीसँग एकतापछि) हुँदै पछिल्लो समय आफैंले खोलेको नेपाल समाजवादी पार्टीको नेतृत्वमा छन् ।

दाहाल र भट्टराईले गएको आमनिर्वाचनमै सहकार्य थालेका हुन् । नेपाल समाजवादी पार्टीका नेता माओवादीको चुनाव चिह्नबाट प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । चुनावी सहकार्यबाट अझै अघि बढेर माओवादी केन्द्र र समाजवादी पार्टीबीच एकता हुन लागेको हो । नेताहरूका अनुसार माओवादीको आगामी साता हुने केन्द्रीय समिति बैठकपछि पार्टी एकता गर्ने तयारी छ । केन्द्रीय समितिमा नयाँ पार्टीको मार्गनिर्देशक सिद्धान्त तय गरिने माओवादीका एक नेताले बताए । हाल माओवादीले मार्क्सवाद, लेनिनवाद र माओवादलाई मार्गनिर्देशक सिद्धान्त मान्दै समाजवादी उन्मुखको बाटो लिएको छ ।

दुवै दल एकीकृत पार्टीको चुनाव चिह्न नयाँ राख्न तयार छन् तर चिह्न के राख्ने भन्ने टुंगो लाग्न बाँकी छ । अहिले माओवादीको चुनाव चिह्न गोलाकारभित्र हँसिया–हतौडा र नेपाल समाजवादीको आँखा छ । संघ, प्रदेश र स्थानीय तह निर्वाचनमा तालमेल गर्दा कांग्रेसका मतदाताले हँसिया–हतौडामा मत हाल्न हिचकिचाएको माओवादीको बुझाइ छ । भविष्यमा पनि अन्य दलसँग चुनावी तालमेल हुने आकलनका साथ नयाँ चिह्न राख्न माओवादी तयार भएको हो । ‘अब बन्ने नयाँ पार्टी खासगरी माओवादी र पूर्वमाओवादीको रिब्रान्डिङ हो,’ माओवादीका एक नेताले भने ।

माओवादी चुनावमा झन्–झन् कमजोर बन्दै गएको र भट्टराईलाई आफ्नो पार्टीको अस्तित्व जोगाउन हम्मे परेकाले पनि नयाँ स्वरूपमा अघि बढ्न खोजेको देखिन्छ । माओवादीका महासचिव देव गुरुङ भने कम्युनिस्ट पार्टीबीच ध्रुवीकरण हुने परिस्थिति तयार भएको बताउँछन् । विगतमा टुटफुटबाट गुज्रिएको कम्युनिस्ट पार्टीहरूबीच सकेसम्म एकता गर्ने, त्यो सम्भव नभए मोर्चा बनाएर अघि जाने तयारी भइरहेको पनि उनले जानकारी दिए । ‘कम्युनिस्ट पार्टीहरूबीच एकीकरण र ध्रुवीकरण निरन्तर भइरहने प्रक्रिया हो,’ उनले भने, ‘माओवादी र समाजवादीबीच पार्टी एकता प्रक्रिया पनि त्यहीअनुसार अघि बढेको छ ।’

नेता भट्टराई नयाँ पार्टी विशुद्ध समाजवादी हुनुपर्ने अडानमा थिए । माओवादी पार्टीको औचित्य सकिएको भन्दै सात वर्षअघि पार्टी त्याग गरेपछि उनले गैरकम्युनिस्ट पार्टी गठन गरेका थिए । एकताका लागि भएका वार्तामा पार्टीको नामबाटै कम्युनिस्ट शब्द हटाउन माओवादी केन्द्र तयार भएन । माओवादीका महासचिव गुरुङले पार्टी नाम र चुनाव चिह्न परिवर्तन भए पनि कम्युनिस्ट विचार छाड्न नसकिने बताए । ‘कम्युनिस्ट पार्टीकै रूपमा एकता हुनुपर्छ,’ उनले भने, ‘कम्युनिस्ट विचार छाड्ने पार्टी क्रान्तिकारी हुन सक्दैन ।’ भट्टराईनिकट एक नेता भने समाजवादी क्रान्ति कम्युनिस्ट पार्टीभन्दा समाजवादी पार्टीबाटै सम्भव हुने तर्क गर्छन् ।

पार्टी एकता भएपछि दाहाल कार्यकारी अध्यक्ष र भट्टराई दोस्रो वरीयताको नेता हुने माओवादीका एक नेताले बताए । भट्टराई विगतजस्तो दाहालसँग संघर्ष गर्ने मनिस्थतिमा छैनन् । ‘उहाँ माओवादी युद्ध लडेका व्यक्तिलाई मूलधारमा अवतरण गराएर उनीहरूको राजनीति सुनिश्चित गर्ने पक्षमा हुनुहुन्छ,’ भट्टराईनिकट एक नेताले भने, ‘उहाँ अध्यक्ष प्रचण्डसँग संघर्षभन्दा सहकार्य गर्ने पक्षमा हुनुहुन्छ ।’

एक नेताका अनुसार ‘माओवादी’ नामलाई जनताले रुचाउन छाडिसकेको महसुस दाहालले २०७४ मै गरेका थिए । त्यही कारण एमालेसँग पार्टी एकता गर्ने लक्ष्य राखेर चुनावी गठबन्धन निर्माण गरेका थिए । त्यतिबेलाको वाम गठबन्धनले चुनावमा झन्डै दुई तिहाइ सिट जितेको थियो । २०७५ जेठ ३ मा एकता गरेपछि पार्टीको नाम नेकपा रह्यो । तर ऋषि कट्टेल नेकपा आफ्नो पार्टीको नाम रहेको भन्दै सर्वोच्च अदालत गए । सर्वोच्चले नेकपालाई एकतापूर्वको अवस्थामा पुर्‍याइदिएपछि दाहाल माओवादी पार्टीको नेतृत्व गर्नुपर्ने अवस्थामा पुगे ।

१० वर्षे सशस्त्र द्वन्द्व अन्त्य गर्दै माओवादी शान्ति प्रक्रियामा आएपछि भएको पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको थियो । लगत्तै २०६५ पुस २८ मा नारायणकाजी श्रेष्ठले नेतृत्व गरेको एकता केन्द्र मसालसँग पार्टी एकता भयो । लडाकु समायोजनमा असन्तुष्टि जनाउँदै उपाध्यक्ष मोहन वैद्यको समूह २०६९ असार ४ मा अलग भयो । उनीहरूले क्रान्तिकारी माओवादी पार्टी गठन गरे । वैद्य समूहबाट माओवादीमै फर्किएका देव गुरुङ महासचिव र पम्फा भुसाल उपमहासचिव छन् । रामबहादुर थापा एमाले उपाध्यक्ष र टोपबहादुर रायमाझी एमालेमै सचिव छन् ।

भट्टराईले जसपा छाडेर गत असार ३१ मा नेपाल समाजवादी पार्टी गठन गरेका हुन् । आमनिर्वाचनमा माओवादीको चुनाव चिह्नबाट उम्मेदवार बनेका नेपाल समाजवादीका नेतामध्ये महिन्द्र राय यादव सर्लाही–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । यस्तै, गोरखा–२ (१) बाट फणीन्द्र यादव र सिन्धुली–२ (२) बाट गंगानारायण श्रेष्ठ प्रतिनिधिसभा सदस्य बनेका छन् । श्रेष्ठ अहिले वाग्मती प्रदेशमा आन्तरिक मामिलामन्त्री छन् । माओवादीको भने संघमा ३२ र प्रदेशमा ८४ सांसद छन् ।

माओवादी सचिव राम कार्की भने पार्टीको नाम जेसुकै राखे पनि मजदुर किसानको पक्षमा कार्यक्रम बनाउनुपर्नेमा जोड दिन्छन् । ‘मजदुर किसानको जीवनस्तर उकास्ने कार्यक्रम नल्याए र त्यसलाई व्यवहारमा नउतारे जुनसुकै नाम र रङको पार्टी बनाए पनि त्यसको अर्थ रहँदैन,’ उनले भने, ‘अब नाम होइन, काम गर्ने पार्टी चाहिएको छ ।’

दाहाल–भट्टराई सम्बन्धका उतारचढाव

२०४६– भट्टराई संयुक्त जनआन्दोलन समितिको प्रवक्ता भएपछि दाहालसँग सम्बन्ध विस्तार

२०४८– पार्टी एकीकरण, दाहाल पार्टी अध्यक्ष, भट्टराई चुनावी मोर्चाको अध्यक्ष

०५२ फागुन– सशस्त्र द्वन्द्व सुरू, दाहाल पार्टी अध्यक्ष, भट्टराई समानान्तर सरकारको संयोजक

०५५ भदौ– दाहाल–भट्टराई मतभेद

२०६१ असोज– भट्टराईलाई कारबाही गरी जनसेनाको हिरासतमा राखियो

२०६२– कारबाही फिर्ता

२०६२ मंसिर– नयाँदिल्लीमा सात दलसँग १२ बुँदे समझदारी, दाहाल–भट्टराई एक ठाउँमा

२०६७ मंसिर– गोरखाको पालुङटारमा मतभेद

२०६८ भदौ– दाहाल–भट्टराई पुनः एक ठाउँ

२०६८ असोज १२ देखि ०६९ फागुन ३० सम्म– भट्टराई प्रधानमन्त्री, दाहाल पार्टी अध्यक्ष

२०७२ असोज ९– भट्टराईद्वारा माओवादी पार्टी त्याग

२०७३ जेठ ३०– नयाँ शक्ति पार्टी गठन

२०७४– प्रतिनिधिसभा निर्वाचनमा भट्टराई कांग्रेससँग तालमेल गरी निर्वाचित, माओवादीद्वारा एमालेसँग चुनावी गठबन्धन

२०७९– भट्टराईले जित्दै आएको गोरखा–२ दाहाललाई हस्तान्तरण

प्रकाशित : माघ १६, २०७९ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?