काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदुवाको बीउ खरिदमा अनमियतता गरेको आरोपमा स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्वमेयर भुपराज अधिकारीसहित ६ जना र आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रालिविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नगरपालिकालाई हानी पुर्याई गैरकानुनी लाभ गरेको आरोपमा उनीहरुलाई मुद्दा दायर गरिएको हो । मुद्दा दायर गरिएकामा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डे, तत्कालिन बाली विकास अधिकृत अरविन्द मणि त्रिपाठी, तत्कालिन लेखापाल राजेन्द्र रेग्मी र तत्कालिन खरिदार सन्तोष कोइराला छन् ।
पूर्व नगर प्रमुख अधिकारीले दररेट निर्धारण समितिले गरेको सिफारीसमामा अस्वभाविकरुपमा दररेट थप गरी अदुवाको बीउको खरिद गरी नगरपालिकालाई १३ लाख थप व्ययभार पारी आपूर्तिकर्तालाई लाभ हुने काम गरेको आरोपपत्रमा छ । अधिकारीलाई तेह्र लाख रुपैयाँ बिगो कायम गरी कैद र बिगो वमोजिम जरिवाना गरी विगो असुल उपर गर्ने अख्तियारको मागदाबी छ ।
त्यस्तै आरोपितहरुले स्पेशिफिकेशनमा उल्लिखित कागजातहरुको परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बीउ गानो खरिद गरी भुक्तानीका लागि टिप्पणी आदेश पेश गरेको र पेश भएको टिप्पणी आदेश स्वीकृत गरी पटक पटक २ करोड १४ लाख भुक्तानी दिइ आपूर्तिकर्तालाई गैरकानूनी लाभ र गल्याङ नगरपालिकालाई हानी पुर्याउने कार्य गरेको आयोगको आरोपत्रमा छ ।
उनीहरुलाई एक करोड ९७ लाख ७० हजार ४ सय ९९ रुपैयाँ बिगो कायम त्यसअनुसार कैद र बिगोवमोजिम जरिवाना मागिएको छ ।
साथै, अदुवाको बीउ आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रा.लिका अख्तियार प्राप्त प्रतिनिधि शिव प्रसाद न्यौपानेले अदुवाको बीउ आपूर्ति गर्दा गुणस्तरीय एवं स्पेशिफिकेशन अनुसारको अदुवा बीउ गानो आपूर्ति गर्नुको सट्टा अन्य गुणस्तरहीन अदुवाको बीउ आपूर्ति गरी भुक्तानी लिई आफूलाई गैरकानूनी लाभ र गल्याङ नगरपालिकालाई गैरकानूनी हानिनोक्सानी पुर्याउने कार्य गरेको उल्लेख छ । त्यसैले आपूर्तिकर्ता कम्पनी र प्रतिनिधिका न्यौपानेलाई दुई करोड १० लाख ७० चार सय ९९ रुपैयाँ) बिगो कायम गरी त्यस बमोजिम सजाय र बिगो जफत गर्न मागदाबी अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले उल्लेख गरेका छन् ।
प्रकाशित : माघ ९, २०७९ १८:०२