लागूपदार्थ सेवन गरी मोटरसाइकल चलाउने ५ जना पक्राउ


ललितपुर — लागूपदार्थ सेवन गरी सवारी चलाइरहेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ललितपुरको बाँडेगाउँमा शुक्रबार गरिएको जाँचका क्रममा लागूपदार्थ सेवन गरी मोटरसाइकल चलाइरहेको पाएपछि ५ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।


नियन्त्रणमा आउनेहरूमा वाग्मती प्रदेश ०२-०३३ प ३४ ०१ नम्बरका मोटरसाइकल चालक बाँके घर भई हाल ललितपुरको हात्तीवन बस्ने २२ वर्षीय अंकित महत, सुदूरपश्चिम प्रदेश ०१-०१० प १५ ०६ नम्बरका मोटरसाइकल चालक अर्घाखाँचीको मालारानी गाउँपालिका-६ घर भई हाल शंखमुल बस्ने २० वर्षीय अनिल बस्नेत, बा ९८ प ९४ १२ नम्बरका मोटरसाइकल चालक ललितपुरका २३ वर्षीय अमित कार्की, बा १९ प ३४ ७२ नम्बरका मोटरसाइकल चालक ललिपुरको बाँडेगाउँ बस्ने १८ वर्षीय एलिश महर्जन र प्रदेश ३-०२-००२ प ७७ ४३ नम्बरका मोटरसाइकल चालक मोरङको विराटनगर घर भई हाल चाबहिल बस्ने २७ वर्षीय सुमन खड्का रहेका छन् ।
नियन्त्रणमा आएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरीवृत्त सातदोबाटो पठाइएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक प्रहरी परिसर सातदोबाटो, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएका संयुक्त टोलीले शुक्रबार ललितपुरको बाँडेगाउँमा सवारी साधनलाई चेक गरेको थियो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा निन्दनीय कार्य भएको र यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभई यात्रुहरूको जीवनसमेत जोखिममा पर्ने भएकाले कारबाही अभियानलाई तीव्रता दिइएको बताए । भाडाका सवारी साधन चलाउने चालकहरूले समेत लागूपदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएकाले आफू सवार सवारी साधनका चालकले लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा प्रहरीलाई खबर गर्न यात्रुहरुलाई उनको आग्रह छ ।
प्रकाशित : जेष्ठ २७, २०८० १५:०८