१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

चतुर्मुख ब्रह्मा मूर्ति मन्दिरमा राखिने

दामोदर न्यौपाने

काठमाडौँ — लिच्छविकालीन ब्रह्मामूर्ति अब मन्दिरमा राखिने भएको छ । पशुपति क्षेत्रको करेटोलमा रहेको ब्रह्म मन्दिरको जीर्णोद्धार गरेर मूर्ति प्रतिस्थापन गर्न लागिएको हो । उपभोक्ता समितिमार्फत मन्दिर जीर्णोद्धार गर्न काठमाडौं महानगरपालिकाले बजेट छुट्याएको छ । 

चतुर्मुख ब्रह्मा मूर्ति मन्दिरमा राखिने

मन्दिर पुनर्निर्माणका लागि जग सफा गर्ने काम भइरहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष श्यामकृष्ण संगतले बताए । उनका अनुसार मन्दिर गुम्बज शैलीको बनाउने तयारी थियो तर प्राविधिकको सुझावअनुसार भक्तपुरको न्यातपोलजस्तै प्यागोडा शैलीको बनाउन लागिएको छ । ब्रह्माको मूर्ति धोबीखोलामा बालुवाले पुरिएको अवस्थामा भेटिएको थियो ।

जयबागेश्वरी टोल सुधार समितिका अध्यक्ष क्षत्रानन्द वैद्यका अनुसार उक्त मूर्ति चालीसको दशकतिर चोरी भएको थियो । हराएको ६ महिनापछि भेटिएको थियो । ‘बालुवामुनि लुकाएको भेटिएको हो,’ वैद्यले भने । भेटिएपछि मूर्ति पशुपति क्षेत्र विकास कोष परिसरमा राखिएको थियो । त्यहाँ सुरक्षित नहुने भएपछि महानगरीय प्रहरी प्रभाग गौशालामा राखिएको थियो । हाल मूर्ति प्रभाग परिसरभित्रै छ । वरिपरि मोटरसाइकल पार्किङ गरिएको हुन्छ । बीचमा सिमेन्टको गोलो घेरा बनाएर बीचमा राखिएको छ । पशुपति क्षेत्रका संस्कृतिविद् नरोत्तम वैद्य मन्दिर क्षेत्र अतिक्रमण हुने क्रममा उक्त मूर्तिलाई कसैले लगेर खोलामा मिल्काइदिएको बताउँछन् ।

पशुपति क्षेत्रका विज्ञ गोविन्द टण्डनको स्रोतग्रन्थ ‘पशुपति क्षेत्रका सांस्कृतिक अध्ययन’ अनुसार उक्त मूर्ति २०३८ सालको मध्यतिरसम्म जयबागेश्वरी छेउको मन्दिरमा थियो । मन्दिर खुला ठाउँमा थियो । प्रस्तरको मूर्ति फिका कालो रङको छ । टण्डनका अनुसार छैटौं शताब्दीमा निर्मित उक्त मूर्ति २० इन्च अग्लो छ । अगाडिबाट हेर्दा तीन मुहारयुक्तजस्तो देखिन्छ तर चार मुहारयुक्त छ । अग्रभाग कुममा एउटा जटा लत्रिएको अवस्थामा ब्रह्मा कमलासनमा मृगमाथि धोती लगाएर बसेका छन् । दाहिने हातमा अक्षमाला र देब्रे हातमा कमण्डलु छ ।

टण्डनका अनुसार यो मूर्तिमा गहनाको अत्यन्त कम प्रयोग भएको छ । घाँटीमा एकसरो मालाबाहेक अरू केही छैन । हात भग्न अवस्थामा छ । यसबारे जनाउने थप अभिलेख भने भेटिएको छैन । संगतका अनुसार यस्तो चतुर्मुखी ब्रह्मा नेपालमा एउटा मात्रै हो । मूर्ति अहिले पशुपति गोश्वारामा राखिएको छ । अनुसन्धानदाता प्रतापादित्य पालका अनुसार यो मूर्ति दसौं शताब्दीको हो ।

यसअघि मूर्तिहरू चोरिने र बेवारिसे हुने गरेपछि यो मूर्तिलाई संरक्षण गर्न स्थानीयवासीले छलफल गर्दै आएका थिए । ‘जहाँ पायो त्यही राख्यो भने चोरिने डर हुन्थ्यो,’ वैद्यले भने, ‘कहाँ राख्ने भनेर चासो राख्दै लामो समय बित्यो । त्यही भएर स्थानीयवासीले ब्रह्मा मन्दिर बनाउने पहल एक दशकअघिदेखि नै सुरु गरेका थिए ।’

एक दशकदेखि प्रयास भए पनि स्थानीय, महानगर र कोषबीच समन्वय नहुँदा मन्दिर पुनर्निर्माणको काम अघि बढेको थिएन । यही क्षेत्रका सांसद गगन थापाले दुई पटक सांसद कोषबाट बजेट उपलब्ध गराइदिए । तर, पुरातत्त्व विभागले नक्सा नबनाइदिएकाले बजेट त्यत्तिकै फ्रिज भएको संगतले गुनासो गरे । थापाले ३५ लाख रुपैयाँ छुट्याइदिएका थिए । यही क्षेत्रका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले पनि बजेट छुट्याइदिएका थिए । त्यो पनि फ्रिज भयो । अहिले मन्दिर बनाउन काठमाडौं महानगरपालिकाले २९ लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रकाशित : फाल्गुन २१, २०७९ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?