कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महानगर माग्दै प्रदर्शन

जनकपुर — एमालेले जनकपुरलाई महानगरपालिका बनाउनुपर्ने माग राखी शुक्रबार प्रजिअमार्फत ज्ञापनपत्र बुझाएको छ भने पूर्वी धनुषाका रघुनाथपुरवासीले गाउँपालिकाको माग राखी प्रदर्शन गरेका छन् ।

कमिटी संयोजक सुरेन्द्र राई तथा सचिव उमेशकुमार साह नेतृत्वको टोलीले प्रजिअ दिलीपकुमार चापागाईंलाई ज्ञापनपत्र बुझाउँदै जनकपुरलाई महानगरपालिका बनाउन माग गरेको हो । ज्ञापनपत्रमा राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा छुट्टै ऐतिहासिक, सांस्कृतिक र धार्मिक पर्यटकीय पहिचान बनाएको तथा सबैखाले पूर्वाधार रहेको जनकपुरलाई पूर्वाग्रहपूर्ण तरिकाले महानगरपालिका घोषणा नगरिएको आरोप लगाइएको छ । ‘प्रदेश नम्बर २ को सम्भाव्य राजधानीका रूपमा सर्वस्वीकार्य बन्दै आएको जनकपुरधामलाई तत्काल महानगरपालिका घोषणा गर्न जोडदार माग गर्दछौं,’ ज्ञापनमा उल्लेख छ ।

यसैगरी छुट्टै गाउँपालिकाको माग राखी चरणबद्ध आन्दोलनमा उत्रेका रघुनाथपुरवासीले शुक्रबार जनकपुरमा विरोध प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासनमा धर्ना दिए । साबिकको रघुनाथपुरका केही वडा विभाजित गरी यस गाविसलाई हाल सबैलाई नगरपालिकामा समाहित गरिएको छ ।

चुनाव सर्ने हल्लाले चिन्तित
चुनाव सर्ने हल्लाले झापाका ३ नगरपालिकाका मतदाता चिन्तित छन् । गाउँपालिकाबाट नगरपालिकामा स्तरोन्नति भएका कमल, बुद्ध शान्ति र झापाका मतदाताले निर्धारित मितिमै चुनाव हुनुपर्ने माग गरे । बुद्ध शान्ति–५ का व्यवसायी सुरेश खतिवडाले गाउँ–टोल चुनावी माहोलमा रंगिसकेकाले जेठ ३१ मै आफूहरूले भोट खसाल्न पाउनुपर्ने माग गरे । ‘हामी भोट दिन उत्साही छौं । दैनिकजसो भोट माग्न आउने उम्मेदवारहरूले थप हौसाएका छन्,’ खतिवडाले भने, ‘यस कारण पनि चुनाव तोकिएकै मितिमा हुनुपर्छ ।’

बुद्ध शान्तिकै अम्बर कटुवालले जेठ ३१ मा चुनाव नभए फेरि हुन्छ भन्ने ग्यारेन्टी नभएको तर्क गरे । ‘मिति सर्‍यो भने फेरि चुनाव हुन्छ भन्ने ग्यारेन्टी छैन, असार खेती गर्ने समय हो, चुनाव गर्ने होइन,’ उनले भने, ‘जसरी हुन्छ सरकार र निर्वाचन आयोगले झापाका सबै स्थानीय तहमा एकैपटकमा चुनाव गराउनुपर्छ ।’

दलित उम्मेदवार २ मात्र
ताप्लेजुङका दलले मुख्य पदमा दलितलाई उम्मेदवार बनाउन कन्जुस्याइँ गरेका छन् । अहिलेसम्म नयाँ शक्ति पार्टीले मात्रै नगरपालिकाका उपमेयरमा दलितलाई उठाउने निर्णय गरेको छ । फुङलिङ नगरपालिकाको उपमेयरमा सुनचाँदी व्यवसायी कृष्ण शंकरलाई उम्मेदवार बनाउने भएको हो ।
कांग्रेसले मेयर, उपमेयर तथा अध्यक्ष र उपाध्यक्षमा दलितलाई उम्मेदवार बनाएको छैन भने उम्मेदवार टुंगो लगाउन बाँकी एमालेमा पनि त्यस्तो संकेत देखिँदैन । माओवादी केन्द्रले पनि मुख्य पदमा दलितलाई उठाएको छैन । उसले फुङलिङ नगरपालिकाको वडा नम्बर २ मा भने गंगा शंकरलाई वडाध्यक्ष उठाउने भएको छ ।

प्रकाशित : जेष्ठ १३, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?