कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अझै पुगेनन् कर्मचारी

पर्वत — महाशिला गाउँपालिकामा शिक्षा संयोजक तोकिएका उदिमराज पौडेल जुनियर अधिकृतको मातहतमा काम गर्न नसक्ने भन्दै उनी लामो समयदेखि कार्यक्षेत्र गएका छैनन् ।

‘जिम्मेवारी वहन गर्दै नगरेको होइन । साबिकबमोजिम काम गरेकै छु,’ पौडेलले टेलिफोनमा भने, ‘आफूभन्दा जुनियर कर्मचारीको मातहतमा बसेर कसरी काम गर्ने ?’

पैयुँ र जलजला गाउँपालिकाको अवस्था पनि उस्तै छ । यी तहमा सबैभन्दा धेरै बजेट विनियोजन भएको शिक्षाकै विषयगत कर्मचारी तोकिएका छैनन् । ‘बढी समस्या देखिएका पालिकामा सम्भव भएसम्मका कर्मचारी पठाएका छौं,’ जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले भने ।

खटाइएका केही कर्मचारीले पनि काम गर्ने वातावरण नबनेको भन्दै हाजिर गरेका भरमा दिन कटाउने गरेका छन् । ‘जिल्लामा बस्दाको जसरी कामै छैन,’ महाशिलामा खटिएका सबइन्जिनियर रमाकान्त पौडेलले भने, ‘काम गर्ने वातावरण नै बनेन ।’ बिहादी गाउँपालिकाका शिक्षा संयोजक कृष्णप्रसाद आचार्यले शिक्षा कार्यालयमै बसेर कार्यसम्पादन गरिरहेको बताए । ‘हाम्रो केन्द्रदेखि नै आन्दोलन छ,’ उनले भने, ‘कहिलेकाहीं आउने–जाने गरेकै छु, रमाना लिएर कार्यपालिकामै हाजिर भएको छैन ।’ विषयगत कार्यालयका अधिकृतस्तरका कर्मचारीले जुनियर प्रशासकीय अधिकृतको निर्देशनमा काम गर्न नसकिने अडान लिएका छन् । ‘जिल्ला तहमा काम गर्ने साथीहरूलाई सरकारले नै विभेद गरेको छ,’ निजामती कर्मचारी ट्रेड युनियन महासंघका जिल्ला अध्यक्षसमेत रहेका उदिमराज पौडेलले भने, ‘सरकारले योग्यता प्रणाली व्यवस्थित नगरेसम्म हामी सरासर काम गर्दैनौं ।’

सदरमुकाममै रहेको कुश्मा नगरपालिकाबाहेक शिक्षा, महिला तथा बालबालिका, वन, भू–संरक्षण, नापी, मालपोत, सिँचाइ, खानेपानी तथा सरसफाइलगायत अधिकांश विषयगत कर्मचारी स्थानीय तह पुगेकै छैनन् । मोदीका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले खानेपानी, सिँचाइ, वनलगायतको बजेट खर्च हुन नसकेको बताए ।

जलजलाका प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमका अनुसार विषयगत शीर्षकको बजेट खर्च गर्न समस्या छ । ‘पूर्वाधारतर्फका ३० मध्ये २९ योजना सम्झौता भइसके,’ उनले भने, ‘कर्मचारी नभएकै कारण विषयगततर्फका कार्यक्रम अघि बढाउन सकिएको छैन ।’


सेवा प्रभावित

नुवाकोट (कास)– स्थानीय तहमा कर्मचारी अभाव हुँदा काममा समस्या भएको छ । ‘तत्काल शिक्षा शाखा हेर्ने र प्राविधिकतर्फ इन्जिनियर छैनन्,’ सूर्यगढी गाउँपालिका कार्यकारी अधिकृत उत्तम खतिवडाले भने, ‘शिक्षा र प्राविधिक भए काम चल्थ्यो ।’ ९ दरबन्दी रहे पनि कर्मचारी अभावले योजना सञ्चालनमा समस्या आएको गाउँपालिकाले जनाएको छ । ‘स्रोतव्यक्तिबाहेक शिक्षा शाखा हेर्ने कर्मचारी नै आएनन्,’ उनले भने । किस्पाङ गाउँपालिका प्रमुख छत्र लामा कर्मचारी अभावले योजना अगाडि बढाउन समस्या भएको बताउँछन् । ‘३/४ कर्मचारीले मात्रै गाउँपालिका चलेको छ,’ उनले भने, ‘कर्मचारी आइदिए धेरै योजना अघि बढ्थे ।’

प्रकाशित : माघ १७, २०७४ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?