गान्तोकदेखि १६४ जातजातिमाथिको सोधखोज

‘नेपाली भनेको महाभाषी, महाजाति हो’   
कान्तिपुर संवाददाता

गान्तोक — भारतको सिक्किममा जन्मेहुर्केका टीबी चन्द्र सुब्बा कुनै नेपालकै अनुसन्धाता र मानवशास्त्रीजत्तिकै नेपाली गाउँघरदेखि हिमाल–पहाडमा जातिगत अध्येता बनेर आउनेजाने गरेका छन् ।

विश्वकै मानव सभ्यता र त्यसमा पनि भारतीय उपमहाद्वीप क्षेत्रको जातीय इतिहास खोजबिन गर्ने क्रममा सुब्बाले १६४ जातजातिमाथिको सोध पूरा गरेका छन् भने नेपालका उनले नेपालका ७१ जिल्ला र भारतका २६ वटा राज्यको भ्रमणमा पुगेका छन् । नेपाली साहित्य परिषद्, गान्तोकमा उपाध्यक्ष रहिसकेका सुब्बाका कथा, कविता, जीवनीसहित १ दर्जन कृति प्रकाशित छन् ।

‘विश्वमा मानव सभ्यता, जातीय बृहत् इतिहास : संस्कृति र परम्परा’ नामको यो बृहत्तर कृति (पृष्ठ २६ सय)का लागि जुटेका सुब्बाले एउटै कृतिमा समाजशास्त्रदेखि मानवशास्त्रसम्मको इतिवृत्ति भर्न चाहेका छन् । ‘पहिले भारतमा नेपाली साहित्यको केन्द्र भनेर दार्जीलिङलाई चिन्ने गरिन्थ्यो, बरु अहिले भने सिक्किमले यो परिचय जितेको अवस्था छ,’गान्तोक, एमजी रोडमा भेटिएका सुब्बा भन्छन्, ‘विगतका मुख्यमन्त्री पवन चाम्लिङ र अहिलेका पीएस गोलेले पनि साहित्यिक प्रकाशनमा व्यवस्थित गृह खोलेर नेपालीसहितका भाषाभाषीलाई प्रवद्र्धन गरेको अवस्था छ ।’

अध्येता सुब्बाका बुझाइमा, झन्डै ३ सय वर्षअघि आजको नेपाल बनिनुअघिको बाइसे/चौबीसे राज्यहरूकै बेलादेखिका भाषाभाषी र जातजातिको खोजी हुनु जरुरी छ । ‘सिक्किम, गढवाल, कुमाउँदेखि अफगानिस्तानसम्मको मानचित्रमा नेपाल रहेको इतिहासलाई हामीले पाएका छौं, यही खोजबिनमा १६४ जातजातिमथिको सोधखोजको दायरा बनेको हो,’सुब्बाले भने । यो कृत्ति यसै वर्ष प्रकाशनमा ल्याउने दौडधुपमा उनी छन् ।

सुब्बाका अनुसार, भारतका २८ राज्यमध्ये २६ वटामा नेपालीको बसोबास छ । असम, मेघालय, मणिपुर, दार्जीलिङ, सिक्किम, उत्तराखण्डमा उल्लेख्य नेपालीभाषी रहेको तथ्यांक सुब्बाले बटुलेका छन् । केही महिनाअघि मात्रै सिक्किममा रहेका नेपालीभाषीलाई ‘आउटसाइडर’ भनेर बहस सुरु भएकोमा भाषासेवी सुब्बाले यसलाई केवल ‘प्रोपोगान्डा’ मानेका छन् । ‘नेपाली जाति मात्रै नभएर महाभाषी र महाजाति पनि हो । यसमा सबै जात र जातिको समावेशी चित्र छ,’उनी भन्छन्,‘हामीलाई बाहिरिया भन्नुमा ठूलो राजनीतिक षड्यन्त्र छ । यथार्थमा नेपालबाट कोही पनि आएको होइन, न नेपाल कोही गएको हो । नेपालको प्राचीन मानचित्र हेर्दाखेरि ढाकासम्म, अरुणाचल र असमसम्म, बिहार, गढवाल,कुमाउँ, जम्मू–कश्मीर, राजस्थान सबै नेपालको भूभाग थियो । योबेला के बाहिरिया, को बाहिरिया ?’

सुब्बाले आफ्नो अध्ययन भ्रमणमा सुर्खेत, दैलेख, गोरखा, सल्यानजस्ता जिल्लामा बढी समय बिताएका रहेछन् । ‘गोर्खामा सबैभन्दा बढी जातजातिसँग भेटघाट भयो, त्यहाँ झन्डै १५ वटा जातजातिको बसोबास पाएँ,’उनले सम्झिए । सिक्किमको कुरा गर्दा, बहुभाषीय–बहुजातीय पद्धतिमा राज्यले शिक्षण तथा पाठ्यक्रम तयार गरेको सुब्बाले सुनाए । उनका अनुसार, अहिले ११ जातजाति भाषा सिक्किमका विद्यालयमा पढाइ हुन थालेको छ । विगतमा भोटे, लिम्बू, नेपालीलाई मात्रै मान्यता रहेको सिक्किममा अहिले नेवारी, गुरुङ, राई, तामाङ, मगर, भुजेलजस्ता भाषालाई राज्यले मान्यता दिएपछि यी भाषा पनि पढाइसहित कामकाजी बन्न थालेको सुब्बाले बताए ।

प्रकाशित : जेष्ठ ९, २०८० १७:४९
प्रतिक्रिया
पठाउनुहोस्

धमाधम बन्द हुँदै रौतहटका इँटाभट्टा

शिव पुरी

रौतहट — इँटा बिक्री हुन छाडेपछि रौतहटका धेरैजसो उद्योग बन्द हुन थालेका छन् । महँगिदै गएको कोइलाले इँटाको लागत नै बढ्न गएको र उत्पादित इँटा समेत बिक्री हुन छाडेपछि धेरैले यो सिजनमा भट्टा संचालन गरेनन् । लागत मूल्यभन्दा कम दरमा इँटा बेच्न खोज्दा समेत ग्राहक पाउन छाडेपछि उद्योग संकटमा परेको व्यवसायी बताउँछन् । 

राजपुर नगरपालिकास्थित भगवान चोकमा रहेको बेस्ट इँटा उद्योग यसपालिबाट बन्द नै भएको छ । जिल्लाको सबैभन्दा ठूलो यो भट्टा आर्थिक समस्याका कारण बन्द भएको हो । उद्योग संचालक शेख अमिरुल्लाहले आर्थिक संकट गहिरिँदै गएपछि बाध्य भएर भट्टा बन्द गर्नुपरेको बताए ।

‘समयमा इँटा बिक्री हुँदैन । कोइलाको मूल्य आकासिएर खरिद गर्न नसक्ने अवस्थामा पुगेको छ,’ उनले भने, ‘भट्टा संचालन गर्न नसक्ने अवस्थाकै कारण बन्द गर्नुपरेको हो ।’ अमिरुल्लाह मात्र होइन जिल्लामा रहेको १ सय ६३ वटा भट्टामध्ये यो पटकको सिजनमा झण्डै आधाजसो बन्द भए । कोइलाकै मूल्य प्रतिकेजी ४१ देखि ४६ रुपैयाँसम्म पर्ने गरेको छ । हाल कोइलाको मूल्य हृवात्तै बढेको इट्टा उद्योग संघ रौतहटका सचिव मोहन साहले बताए । ‘उद्योग संचालन गर्नेहरु तनावमा छन् । ऋण लिएर भट्टा संचालन गरे पनि भनेको बेला इँटा बिक्री हुँदैन’ उनले भने, ‘कोइलाको मूल्य बढे पनि इँटाको मूल्य उत्ति नै छ । यस्तो अवस्थामा उद्योग बन्द गर्नुको विकल्प छैन ।’

सचिव साहका अनुसार आर्थिक समस्याका कारण धेरैजसो संचालकहरुले केही दिन मात्रै चलाएर उद्योग बन्द गरेका छन् । कोइलाको मूल्य बढ्नु, त्यो पनि बेलामा उपलब्ध नहुनु, माग घट्नु, लागतभन्दा कम मूल्यमा इँटा बिक्री गर्नुपर्ने स्थिति आउनु र उधारोमा बिक्री गर्नुपर्ने लगायतका समस्या यो क्षेत्रमा रहेको उनले बताए । संघका अनुसार देशभर १ हजार २ सय ३० वटा इँटाभट्टा छन् । तीमध्ये यस पटक ६ सयले मात्र आंशिक रुपमा चलाए । मधेश प्रदेशमा मात्रै ५ सयको हाराहारीमा भट्टा छन् । आर्थिक समस्याका कारण भट्टा संचालकहरु मारमा परेको भन्दै उनले यतिबेला सरकारले सहजता प्रदान गर्नुपर्ने बताए ।

मूल्य अभिवृद्धिकर (भ्याट) र आयकरको हर्जाना सरकारले मिनाहा गर्नुपर्ने माग संघले अघि सारेको छ । भट्टा संचालक समेत रहेका साहका अनुसार एउटा स्तरीय इँटा उत्पादन गर्न १३ रुपैयाँ लागत लाग्छ । तर बजारमा ११/१२ रुपैयाँभन्दा बढीमा बिक्री हुँदैन । तीन वर्ष अघिसम्म जिल्लाबाट दैनिक २ सय बढी ट्रकमा लोड भएर काठमाडौं, पोखरा, चितवन लगायतको शहरमा इँटा जान्थ्यो । अहिले मुस्किलले २०/२५ ट्रक लोड हुने गरेको संघले जनाएको छ । जिल्लामा संचालनमा रहेका भट्टामा ५ हजार बढी मजदुर कार्यरत थिए । भट्टा बन्द भएपछि मजदूर समेत प्रभावित भएका छन् । उनीहरु अहिले धमाधम घर फर्कन बाध्य भएका छन् ।

गुजरा– ६ बक्तौरास्थित गिरी इँटा उद्योगका संचालक पवन गिरीले भट्टा संचालन गर्दा घाटा ब्यहोर्न परेकोले आफू ऋणमा डुबेको कथा सुनाए । ‘पहिला नगदमै इँटा बिक्री हुन्थ्यो, अहिले उधारोमा खोज्छन्, त्यो पनि सस्तोमा,’ उनले भने, ‘यस्तै अवस्था रह्यो भने अर्को वर्ष जिल्लामा ५/७ वटा मात्र भट्टा संचालनमा रहन्छ ।’ बर्खाको बेला पानीले काँचो इँटा भिजेर क्षति झेल्दै आएका भट्टा संचालकहरु यस पटक आर्थिक समस्यामा परेका छन् ।

प्रकाशित : जेष्ठ ९, २०८० १७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×