वैदेशिक श्रमिकको दुःखपूर्ण यात्रा ‘श्रमाटन’ अंग्रेजीमा

काठमाडौँ — बीएन जोशीको ‘श्रमाटनः नेपाली आप्रवासी कामदारको सम्झना’ कृति अङ्ग्रेजी भाषामा बजारमा आएको छ । निराला पब्लिकेसन्सले छापेको यस किताबमा नेपालीले गर्ने वैदेशिक श्रमको कष्टकर र दुःखपूर्ण संसारको यात्राबारे विवरण प्रस्तुत गरिएको छ ।

साहित्यकार अरुण बुढाथोकीद्वारा अनूदित कृति मूल लेखक जोशीको स्मरण पनि हो । त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरेका लेखकले नियमित रूपमा युवा र श्रम आप्रवासनका विषय उठाउँदै आएका छन् ।
विभिन्न देशमा वैदेशिक रोजगारीको कठोर यथार्थ अनुभव गरेपछि जोशीले पुस्तक लेख्न प्रेरित भएको बताए । जोशीको यसअघि ‘मोडर्न बेली’ (आधुनिक बेली) शीर्षक उपन्यास प्रकाशन भइसकेको छ ।
पब्लिकेसन्सका नेपाल प्रतिनिधि युयुत्सु आर डी शर्माले कृति लेखकको उत्तेजनापूर्ण जीवित अनुभव रहेको र यसलाई पढेपछि पाठक पनि राम्रोसँग निदाउन नसक्ने विचार व्यक्त गरे । उनका अनुसार प्रस्तुत अनूदित कृतिमा मूल कृतिको मौलिकता, जीवन्तता र शक्ति कायमै छ ।
अनुवादक बुढाथोकीले अनूदित कृति नेपाली आप्रवासी कामदारहरूको प्रायः उपेक्षित अनुभवहरूलाई प्रकाश पार्ने काम भएको जानकारी दिए । 'मैले यो शक्तिशाली पुस्तक महामारीको प्रारम्भिक दिनमा अनुवाद गरेको हुँ, यसमा नेपाली आप्रवासी कामदारहरूले संसारभरि सामना गर्ने अन्याय र चुनौतीका बारेमा विश्वलाई बताउन पाउँदा म खुसी छु ।'
पुस्तक अमेजन र पेपरब्याक ढाँचामा उपलब्ध छ ।
प्रकाशित : चैत्र १६, २०७९ १४:१३