तीन प्रतिष्ठान र साझाका पुस्तक एकै ठाउँमा प्रदर्शनी- साहित्य/विविध - कान्तिपुर समाचार

तीन प्रतिष्ठान र साझाका पुस्तक एकै ठाउँमा प्रदर्शनी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनका विभिन्न विधाका पुस्तकहरु एकै स्थानमा प्रदर्शनी गरिएको छ । 

पृथ्वी जयन्तीको अवसरमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा यही पुस २६ गतेदेखि चार वटा संस्थाका साहित्य, संगीत, नाट्य, ललितकला, इतिहास, धर्म, दर्शन, संस्कृति, भाषा, व्याकरण, बाल साहित्यका एक हजारभन्दा बढी पुस्तकहरु प्रदर्शनरत छन् । प्रदर्शनीमा साझाका तीन सय, प्रज्ञा प्रतिष्ठानको ७ सयभन्दा बढी, संगीत तथा नाट्यको २३ र ललितकलाबाट ६० वटा पुस्तकहरु अवलोकन गर्न सकिन्छ ।

पुस्तक खरिदमा पाठकलाई १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको प्रदर्शनीका संयोजक सुधीर ढुंगेलले बताए । उनका अनुसार प्रदर्शनीमा तीन रुपैयाँ पर्ने पुस्तक ‘काव्यअर्चना’देखि तीन हजार तीन सय रुपैयाँ पर्ने ‘प्रज्ञा नेपाली बृहत्‌ शब्दकोष’समेत बिक्रीका लागि राखिएका छन् । डा. मोदनाथ प्रश्रितद्वारा लिखित ‘बनौषधिचिकित्सा’, डोरबहादुर विष्टको ‘रिपोर्ट फ्रमल्हासा’सँगै नयनराज पाण्डेको ‘लू’लगायतका साहित्यका पुस्तकहरु पाठकको रोजाईमा अत्यधिक परेको संयोजक ढुंगेलले बताए । ‘साहित्यका साथै अध्ययन, अनुसन्धानमा लागिरहनुभएकाहरुले चाहिँ दर्शक, संस्कृति र इतिहासका खोजमूलक पुस्तकहरु बढी मात्रामा खोजिरहनुभएको छ,’ उनले भने,‘विद्यार्थी, साहित्यप्रेमी, अनुसन्धाताजस्ता सबैजसो वर्गलाई हुने गरी हामीले प्रदर्शनीमा पुस्तकहरु राखेका छौं ।’

प्रदर्शनीमा रमेश विकलको ‘मान्छे वैभव र मृत्यु,’ संगीत नाट्यको प्रदेश नम्बर ६ को प्रादेशिक अनुसन्धानअन्तर्गत ‘नेपालका प्रदर्शनकारी कला’, प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘थारु लोक साहत्यि’, ‘पुनर्वासपछिका भुटानी नेपाली कविता’लगायतका पुस्तकहरु छन् । साझाबाट प्रकाशित विशेषगरी नयाँ संस्करणहरुलाई प्रदर्शनीमा राखिएको साझाबाट प्रदर्शनी बिक्रीकक्षमा संलग्न रेखा गिरी श्रेष्ठले सुनाइन् ।

प्रदर्शनीमा आफूलाई चाहिने सबै खाले पुस्तकहरु सहजै उपलब्ध हुने भएकाले पाठकहरुलाई निकै लाभदायी नै हुने हाल त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र विभागका प्राध्यापक पुजन पोखरेलले बताइन् । उनका अनुसार उनी समाज र संस्कृति विषयका अनुसन्धानमूलक पुस्तकहरु खरिदका लागि प्रदशर्नीमा सहभागी भएकी थिइन् । उनीजस्तै कलाकार तथा कवि सुन्दर लामा भने तामाङ समुदायको भाषा, संस्कृतिका विषयमा लेखिएका पुस्तकहरु खोजीकै क्रममा प्रदर्शनीमा आइपुगेका थिए ।

एकै स्थानमा चारै वटा संस्थाका पुस्तकहरु प्रदर्शनी गर्दा पाठकलाई सहज र पुस्तक खरिदसँगै संथाहरुको साझा उद्देश्य देखिने ढुंगेलको बुझाई छ । सबै संस्थाहरुको उद्देश्य नै पठन संस्कृतिसँगै एक–आपसमा पाठकबीच अन्तरक्रियात्मक सम्बन्धलाई समेत अगाडि बढाउनु रहेको उनले बताए । पुस्तक प्रदर्शनी यही माघ १६ गतेसम्म जारी रहनेछ ।

प्रकाशित : माघ १३, २०७९ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्

माओवादी स्थायी समितिमा नेताहरूको धारणा- 'राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्छ'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका स्थायी समितिका धेरैजसो नेताहरूले राष्ट्रपति पदमा राष्ट्रिय सहमति हुनुपर्ने धारणा राखेका छन् । शुक्रबार बैठकमा बोल्ने अधिकांश नेताहरूले राष्ट्रपतिमा राष्ट्रिय सहमतिका लागि पार्टीले पहल गर्नुपर्ने उल्लेख गरे ।

'स्थायी कमिटीमा बोल्ने अधिकांश नेताहरुले राष्ट्रिय सहमति हुनुपर्ने धारणा राखेका छन् । यस विषयमा औपचारिक निर्णय गर्न बाँकी छ' प्रवक्ता कृष्णबहादुर महराले भने, 'राष्ट्रिय सहमति भनेको कांग्रेस र एमालेसहित सबैको सहमति भन्ने हो ।' महराले राष्ट्रिय सहमतिका लागि पहल गर्ने औपचारिक निर्णय गर्न बाँकी रहेको बताए ।

बिहीबारबाट पेरिसडाँडामा सुरु भएको बैठकमा शुक्रबार महरालाई पार्टी एकतासम्बन्धी, जनार्दन शर्माले संगठनसम्बन्धी र उपमहासचिव गिरिराजमणि पोखरेलले पार्टीको स्कुलिङसम्बन्धी प्रतिवेदन प्रस्ताव गरेका थिए । बैठक निरन्तररुपमा जारी रहने महराले बताए ।

प्रकाशित : माघ १३, २०७९ १६:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×