अभिनयमा अब्बल, लेखनमा प्रवीण

अभिनयको बाटो हुँदै उनी जीवनतिर फर्किन्छन् या जीवनको बाटो हुँदै अभिनयतिर ? तोकेर भन्न मुस्किल छ ।

जेष्ठ १२, २०८१

दीपक सापकोटा

Excellent in acting, proficient in writing

मृत्युपश्चात् छोराले पिण्डदान नगरे ‘स्वर्ग’ पुगिन्न भन्ने विश्वाससहित बाँचिरहेका पिताका निम्ति सन्तानको चाहना पूरा गर्न नसकेको पात्र हो– दधिराम पोखरेल । दुइटी श्रीमतीका निम्ति एक ‘असफल पति’ र पिताका निम्ति ‘असफल छोरा’ मात्रै होइन दधिराम, ऊ अधिकांश नेपाली समाजको एक प्रतिनिधि हो । वा हो– मक्किँदै गएको शताब्दीऔं पुरानो परम्पराको एक पात्र ।

दधिरामको मन घामजत्तिकै तातो छ । त्यसको प्रवाहमान् तेजले उसलाई भित्रभित्रै सल्काइरहेको छ । दोस्रो विवाह गर्दा पनि सन्तान नभएपछि फिल्म ‘मनसरा’ मा दधिरामको प्रश्न छ– के बाउ–छोरा भनेको रगतको नाता मात्रै हो ? आफैंलाई यो प्रश्न सोधेर दधिराम हृदयको आगो निभाउन चाहन्छ । जुन मनोदशामा बाँचिरहेको छ दधिराम, एउटा प्रश्न समाजलाई छोड्छ ऊ– उसको यस्तो मनोदशाप्रति कर्मकाण्डको कुनै भूमिका छैन ? 

‘मनसरा’ फिल्ममा दधिरामको पात्रमा देखिएका छन्– प्रवीण खतिवडा (४१) । र, उनको अभिनय–तारिफमा दर्शक मग्न छन् । दधिराम र प्रवीणको असली जीवनमा केही तादात्म्य रहेछ । ‘मनसरा’ नखिपोट, नख्खुखोलाको धापमा सुटिङ भएको थियो । त्यहाँ जग्गा भाडामा लिने र फार्म गरी बस्ने चलन छ, ठ्याक्कै फिल्ममा देखाइएजस्तो । फिल्म खेल्नकै लागि प्रवीण दुब्लाउनुपर्ने थियो । सुटिङ सुरु गर्दा ७६ का थिए, पछि ५८ किलोमा झरे । ‘मनसरामा दधिरामको चरित्र मेरो परिवारसँग पनि ठ्याक्कै मेल खान्छ । मेरो ठूला बा भैंसी र गाई पाल्नुहुन्छ । फिल्ममा मेरो भूमिकाझैं उहाँको पनि दुइटा बिहे भएको हो, बच्चा नभएर अर्को बिहे गर्नुभएको । कथा मेरै वरिपरिकै हो, फिल्ममा मैले उतार्नु मात्रै पर्थ्यो,’ प्रवीण भन्छन्, ‘त्यसैले दधिराम बन्नु मेरा लागि सहज भयो ।’ 


विज्ञान छाडेर पत्रकारिता पढ्न काठमाडौं पसेपछि प्रवीणको जीवनमा कलाकारिताको प्रवेश भयो । २०५७ सालमा कलेज पढ्दापढ्दै मोरङको लेटाङ 

छाडे । मध्यचैतको घाममा एउटा बसले उनको चाहनालाई यो स्वप्न–सहरमा ओराल्यो । तर, यहाँ पत्रकारिता होइन, उनलाई पर्खिरहेको थियो– थिएटरले । घट्टेकुलोमा बस्थे प्रवीणका पत्रकार दाजु नवीन खतिवडा, उनी दाजुसँगै बसे । र, पत्रकारितामा भर्ना भए । संगत र लहैलहैमै उनी २०६० सालमा एक दिन धोबीखोलापारि बानेश्वरको डाँडोमा रहेको आरोहण गुरुकुल पुगे । रत्नराज्यमा आईए दोस्रो वर्ष पढिरहेका उनी गुरुकुलको दोस्रो ब्याचमा पनि भर्ना भए । अभि सुवेदी लिखित, सुनील पोखरेल निर्देशित गुरुकुलको चर्चित् नाटक ‘अग्निको कथा’ (२०६०) बाट सुरु भयो उनको अभिनय–यात्रा । त्यसपछि ९ वर्षसम्म उनले गुरुकुलमै साधना गरे । 

‘गुरुकुल पुगेपछि जिन्दगीलाई रिकल गरें,’ प्रवीण भन्छन्, ‘त्यसपछि लाग्यो– नाटक नै मेरो जिन्दगी हो । यत्ति हो कि मलाई ढिलो बोध भयो– नाटक मेरै विधा हो ।’ गुरुकुलले नयाँ नाटक मञ्चन गर्न ३ जना कलाकार माग्दा १६८ ले भाग लिएका थिए । स्कुलमा जानी–नजानी ४, ५ वटा नाटक खेलिसकेका प्रवीण त्यही भीडमा मिसिए । सौभाग्यवश छानिए– प्रवीण, रामहरि ढकाल र समुना केसी । सुवास थापा र अनुप बरालले खेलिरहेको भूमिकामा अन्ततः प्रवीणले खेल्नुपर्ने भयो । सौगात मल्लले उनलाई त्यो रोलका लागि तयार बनाए, लामो समय रिहर्सल गराए । सौगातको मार्गदर्शनमा १ महिना अभ्यास गरे प्रवीणले र ‘अग्निको कथा’ को मञ्चमा उभिए । चुनौती थियो– अनुप बराल र सुवास थापाको साख जोगाउनु । साथीहरूको गुनासो छँदैथियो– सुरुमै यसले मुख्य भूमिका किन पायो ? ‘मैले असाध्यै दुःख गरेर त्यो नाटक धानें,’ प्रवीण ती दिन सम्झिन्छन् । लेखक अभि सुवेदीले भनेका थिए, ‘तिम्रा गुरुहरूको रोल तिमीले बल्लबल्ल धान्यौ ।’ 

‘अग्निको कथा’ को १९८ औं प्रदर्शनीपछि प्रवीणलाई बोध भयो– मैले त नाटकमा बनावटी अभिनय मात्रै पो गरिरहेको रहेछु, मलाई अभिनय नै नआउँदो रहेछ । ‘अहिले सोच्दा लाग्छ, त्यतिबेला तर्सिएछु,’ प्रवीण भन्छन्, ‘तर, त्यो समयले नै मलाई मान्छे बनायो । त्यो बरालिने समयमा त्यति चेतनशील मानिसहरू नभेटेको भए म असफल हुन्थें सायद ।’ प्रवीणलाई लाग्छ, अनुभूति र भोगाइ नै कलाकारका निम्ति अभिनय–गुरु हो । 

गुरुकुल छँदा उनीहरू आफैं शौचालयदेखि प्रेक्षालयसम्म सफा गर्थे । अहिले लाग्छ, त्यही समय र तिनै दिनचर्याले उनलाई जीवन सिकायो, संवेदना अनुभूत गर्न सिकायो । नाटकलाई ‘इमोसनको ग्राफ’ भित्र सेट गर्न त्यही कालखण्डले सघायो । ‘अग्निको कथा’ पछि लामो समय उनकै अनुसार उनले ‘टुक्रे भूमिका’ मात्रै खेले । भन्छन्, ‘तर, त्यो पनि एउटा कलाकारका लागि सिक्ने प्लेटफर्म हुँदो रहेछ । ग्राफको हिसाबले पात्र निर्माणको प्रक्रिया बुझ्न पाइँदो रहेछ ।’ 

धेरै वर्षहरू उनले ब्याकस्टेजमा बसेर काम गरे– लाइट, सेट, साउन्ड र वर्कसपमा । कोही पात्र आउन नभ्याउँदा उसको रोलमा अभिनय गर्न तयारै भएर बसेका हुन्थे उनी । उनको अनुभव छ, त्यो समय नाटककै स्वर्णयुग थियो– ‘पुतलीको घर’, ‘अग्निको कथा’, ‘पाँच भैरव’, ‘जात सोध्नु जोगीको’, ‘इडिपस रेक्स’, ‘ककेसियन चक सर्कल’, ‘कर्नाली दख्खिन बग्दो छ’, ‘एल्ममुनिको तिर्खा’ जस्ता सानदार नाटक त्यसै समय मञ्चन भएका थिए । 

एक दशक नाटकलाई सुन्दर शिखरमा पुर्‍याएर अन्ततः गुरुकुल भत्कियो । गुरुकुलको प्रोफाइल पढ्नु प्रवीणको पनि पढ्नु हो । त्यो सपनाको थलो भत्किनुसँग त्यहाँ जोडिएका ४० जना नाटक–साधकहरूको सपना र भविष्य पनि जोडिन्थ्यो । ‘एउटा भव्य समय गुजारिएछ । गुरुकुलले परिपक्व मानिससँग मेल गराएछ । त्यो समयमा मैले चेतना सिकें । गुरुकुल पुग्नुअघि म केही थिइनँ,’ प्रवीण सुस्केरा हाल्छन्, ‘गुरुकुल भत्किनाले हामीले धेरै कुरा गुमायौं । सिकाइको स्कुल भत्कियो । हामी धेरै पछाडि धकेलियौं । नभत्किएको भए त्यो थलो अहिले सायद दिल्लीको राष्ट्रिय नाट्य विद्यालयजत्तिकै सिकाइको विश्वविद्यालय बन्ने बाटोमा अघि बढ्थ्यो कि ?’ 

गुरुकुलको लाइट, किताबहरू र सेटका सामान केही विराटनगर– गुरुकुल पुग्यो, केही शान्तिनगरको एक फ्ल्याटमा । त्यहाँ दुई वर्ष ती सामान रुंगेर बसे, प्रवीण । सामान कुर्ने क्रममै निर्माण भएको नाटक हो– रशोमन । सुनील पोखरेलको निर्देशनमा बनेको ‘रशोमन’ को नेपाली संस्करणमा प्रवीणले गरेको जब्बरे पात्रको अभिनय प्रशंसित छ । गुरुकुल भत्किएपछि उनी लागे, नाटक निर्देशनमा । नेपाल अध्ययन केन्द्र मार्फत आएको प्रोजेक्ट थियो– हावर्ड जिनको नाटक ‘मार्क्स फर्किए’ । प्रवीणले निर्देशन गरेको, नेपाल प्रज्ञा प्रतिष्ठामा मञ्चन भएको त्यो नाटक खुब रुचाइयो । त्यो सोलो नाटकलाई प्रवीणले मल्टिकास्ट गरे । ‘मार्क्स फर्किए’ निर्देशन गर्दैगर्दा उनलाई अनुभूति भएछ– अहिलेसम्म त मार्क्सवादको बोक्रे अध्ययन मात्रै पो गरिएको रहेछ । ‘बुबाको आदर्शको हिसाबले मात्र लिएको रहेछु मार्क्सलाई, तर यो नाटक गर्दा मलाई मार्क्सवाद पढ्न बाध्य गरायो,’ उनी भन्छन्, ‘यो निर्देशन गर्दा मैले मार्क्स र मार्क्सवादमाथि गहिरिएर अध्ययन गरें ।’ 

प्रवीणले ‘ध्रुव’, ‘महादेवको बाजी’, ‘खलन पटवारी’, ‘हेड्डा ग्याब्लर’, ‘ऊ कसको’, ‘एक बोली एक दाम’, ‘सरजमिन’, ‘मीमांसा’, ‘विमोक्ष’ आदि नाटकको निर्देशन गरिसकेका छन् । र, ‘मार्क्स फर्किए’, ‘न्यायप्रेमी’, ‘घनचक्कर,’ ‘पानी फोटो,’ ‘बाघ भैरव,’ ‘एल्ममुनिको तिर्खा’, ‘खरिको घेरो’, ‘बाठी रानी’, ‘जात सोध्नु जोगीको,’ ‘काल’ लगायत ३ दर्जनभन्दा बढी नाटकमा अभिनय गरेका छन् । शंकर लामिछानेको कथामा आधारित ‘मीमांसा’ ले उनको निर्देशकीय–पक्षमाथि विमर्श गरायो र तारिफ दिलायो । 

प्रवीणको पहिलो फिल्म ‘लुट’ हो । ‘लुट’ को कास्टिङ र वर्कसपको जिम्मा लिएका थिए उनले । त्यो फिल्ममा माने भएर खेलेका छन् उनी । ‘लुट’ रिलिजको समयमै गुरुकुल भत्कियो । नाटक–घर भत्केको निराशामा बाँचिरहेका युवा कलाकारहरूलाई लागेको थियो– लुट फिल्म नचले हामी सकिन्छौं । ‘फिल्ममा संकटकाल लाग्छ’ भन्ने समयमा चलेको ‘लुट’ रिलिजको दोस्रो हप्तापछि भयंकर हिट भयो । त्यो फिल्मले ३ जनालाई स्थापित गर्‍यो– सौगात मल्ल, दयाहाङ राई र निश्चल 

बस्नेत । ‘सिनेमामा सम्भावना भएका केटाहरू’ भनेर विपिन कार्की र प्रवीण चिनिए । ‘लुट’ पछि उनले फिल्ममा अभिनय–प्रशिक्षकका रूपमा पनि काम गरे । ‘लुट–२’, ‘ढुवानी’, ‘बिना कारण’, ‘कालो पोथी’, ‘पण्डित बाजेको लौरी’, ‘जात्रा’, ‘गरुड पुराण’, ‘माछामाछा’, ‘रंगेली’, ‘महाजात्रा’, ‘उमा’, ‘चट्कल’, ‘द रेड सुटकेस’, ‘मनसरा’ आदि उनी अभिनीत फिल्म हुन् । 

अभिनय प्रशिक्षक माइकल चेखव भन्छन्– पात्रहरू आत्मा बनी उडिरहेका हुन्छन्, त्यसलाई समाउ र आफूभित्र प्रवेश गराउ । तर, प्रवीणचाहिँ अभिनयमा पञ्चतत्त्व पछ्याउनुपर्छ भन्छन् । ‘तर, हामीले जे टेक्निक प्रयोग गरे पनि त्यो समाजभन्दा बाहिर हुँदैन,’ उनको बुझाइ छ ।


बालापनमा प्रवीणको गाउँ मोरङ, लेटाङ राजनीतिमय थियो । मसाल जुलुस, राता झन्डाहरू, कम्युनिष्ट–राप्रपा–कांग्रेस द्वन्द्व उनी बरोबर देख्थे । कम्युनिस्ट राजनीतिमा पूर्णकालीन होमिएका उनका बुबा घनश्याम खतिवडा अधिकांश समय घरमा हुँदैनथे । पञ्चायतकालमा भूमिगत उनको जेल र घर यात्रा सामान्य कर्मजस्तो हुन्थ्यो । प्रवीण पनि बुबालाई जेलमा भेट्न पुगेका छन् । सम्झना छ– भरतमोहन अधिकारी पनि सँगै थिए । 

गाउँमा व्यापक हल्ला थियो, जुन हल्ला र हल्लाहरू सुनेरै हुर्किएका थिए– प्रवीण र उनका दाजु । हल्ला कस्तो भने २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना नभएको भए उनका बुबा मारिने सूचीमै थिए । तर, बुबा जेलबाट फर्किए भन्ने हर्षले रातो सिन्दूर बोकेर राति–राति हिँडेका दिन प्रवीण अझै याद गर्छन् । 

मदन भण्डारी नेतृत्वको पार्टी मालेमा थिए– उनका बुबा । मदनको सेल्टर उनको घर थियो । बेलाबेला उनी फरक हुलियामा आउजाउ गरिरहन्थे । त्यो गन्ध सुँघेका पुलिस पनि बेलाबेला प्रवीणको घर आइरहन्थे । 

एक दिन प्रवीण–नवीनले घरको बुइँगलमा चिनियाँ क्रान्तिको फोटो भएको किताब भेटे । ‘चाइनिज आउँछ’ जस्तो गरी घरको धुरीको झ्यालमा बसेर के–के भट्याउन थाले । बाटोमा हिँडिरहेका स्कुलका सर चन्द्रप्रकाश गौतमले त्यो देखे । र, गाली गर्दै त्यो किताब लिएर गए । ‘मलाई पुलिसको डर अझै पनि लाग्छ, किनभने बेलाबेला पुलिस छापा मार्न घरमा र रेकी गर्न स्कुलमा आउँथ्यो,’ उनी भन्छन्, ‘चन्द्र सरले ठिकै गर्नुभएको रहेछ भन्ने लाग्छ अहिले सम्झिँदा ।’

उनको मामाघरका हजुरबा राप्रपाको राजनीति गर्थे, जो राजदरबार हत्याकाण्ड पछि मात्रै कम्युनिस्ट पार्टीमा सामेल भए । हजुरबाले चिया–पसल, आँगन र चौतारीमा बसेर ‘कस्तो चाहिँ ज्वाइँ पाइएछ’ भन्दै बुबाको कुरा काटेको अझै सम्झिन्छन् प्रवीण । 

बहुदलपछि प्रधानपञ्चको चुनावमा जनपक्षीय उम्मेदवारका रूपमा उठेका घनश्याम खतिवडाले ३ भोटले हारे, प्रवीणको मामाघरकाले नै भोट नदिएर । पछि २०४७ को गाविस अध्यक्ष जिते । २०५० तिर गाउँमा कांग्रेस–कम्युनिस्टबीच पानी बाराबारकै स्थिति थियो । त्यो साइकल र्‍याली, मशाल जुलुसको असाध्यै याद आउँछ प्रवीणलाई । २०७० मा संविधानसभा चुनाव हारेका उनका बुबाले २०७४ मा प्रतिनिधिसभामा जिते र सांसद भए । अहिले एमालेको कोशी प्रदेश अध्यक्ष छन् । बुबाको राजनीतिले नै उनलाई उबेलै ‘अग्निदीक्षा’, ‘आमा’ जस्ता क्रान्तिकारी चेत भएका साहित्य पढ्ने रस बसेको थियो । ‘ती दिनको सिकाइले अहिले पनि केही काम गरिरहेझैं लाग्छ,’ उनी भन्छन् । 


नाटक र फिल्म अभिनय पछिको नयाँ परिचय थपिदिने हो भने प्रवीण खतिवडालाई अब लेखक भनिदिए हुन्छ । कथासंग्रह ‘अकथ्य’ उनको प्रकाशित नयाँ किताब हो । सामाजिक–राजनीतिक ती कथाहरूमा प्रवीण आफूले देखिआएको गाउँघरका कथा सुनाउँछन् । गाउँका खोला, बेसरमका झाडी र झाडीभित्र महिलामाथिका अत्याचार, गाउँतिर सुनाइने भूत–प्रेतका कथा, धामीझाँक्री र अन्धविश्वास उनका कथा–कन्टेन्ट हुन् । अभिनयदेखि कथाको यो मोडसम्म आइपुग्दा प्रवीणले जीवनका अनौठा अनेक घुम्ती पार गरिसकेका छन् । थिएटरभित्र अनेक ‘मान्छे’ बाँच्दाबाँच्दै उनी तिनै मान्छेका निजी जीवनभित्र प्रवेश गर्छन् र कथा लेख्छन् ।

आज लेटाङ अर्थात् मधेशको त्यो भूगोलबाट मौलिक रंगहरू मिसाएर पहाड–मधेशको जीवनमा कथा लेखिरहेका छन् प्रणीण । आजका कथाकारका धेरै कथामा मान्छे त हुन्छन्, तर ती समाजसँग जोडिँदैनन् । तर, समाजको अस्तव्यस्ततामाथि घोत्लिइरहेका भेटिन्छन् प्रवीण । 

कथाको त्यो गोरेटोमा हिँडिरहेका छन् प्रवीण, जुन हाम्रो मूलबाटोबाट छुट्टिएको छ । जसरी उनी थिएटर र फिल्ममा जिजीविषासँग आमने–सामने हुन्छन् र बाँचिरहेको समय झेल्छन् त्यसैगरी यी कथामा उनी अभिव्यक्त भएका छन् । ‘अकथ्य’ को कथा ‘जिजीविषा’ मा उनी पगली देवकीदेवी हमालको कथा भन्छन् । उसको नागरिकता छैन, तर २०४६ पछिको चुनावमा मतदाता नामावली संकलन हुनुअगावै प्रधानपञ्चले देवकीदेवीको नाममा नागरिकता जारी गरिदिन्छन् । हर एक भोटको महत्त्व भएको गाउँमा चुनाव उठे पनि वा नउठे पनि प्रधान आफूले चाहेको उम्मेदवारलाई जिताउन सक्थे, त्यही निर्णायक मत बन्दै थिइन्– देवकीदेवी । यसरी उनी गाउँको राजनीतिका मिहिन रेसाहरूलाई कथामा लेख्छन् । आत्ममुग्धता नभएका उनको आत्मालोचना छ, ‘यो अभिव्यक्ति मेरो जिम्मेवारी हो, तर खै त्यो जिम्मेवारी निभाउन सकेजस्तो लाग्दैन ।’

२१ वर्षदेखि अभिनयको कुञ्जमा रमाइरहेका छन्– प्रवीण । 

उनी आफ्नो कम्फोर्ट जोन आफैं बनाउँछन् । रंगमञ्चको क्यानभासमा अभिनयमार्फत वर्षौंदेखि दमित समाजको सुस्केरा र पीडा डिस्कोर्सको केन्द्रमा ल्याउन उनलाई मनपर्छ । रंगमञ्च र विचार सँगसँगै बहन्छ– प्रवीणको अभिनयमा अनि जीवनमा । मान्छेका संघर्ष, सपना र जीवनदर्शन उनका नाटकका कन्टेन्ट हुन् । समाजको प्रतिबिम्ब, सत्ताप्रति कटाक्ष उनका अभिनयका लय हुन् । 

थिएटर र फिल्म उनको आफ्नै भूमि हो । अभिनयको बाटो हुँदै उनी आफ्नो जीवनतिर फर्किन्छन् या जीवनको बाटो हुँदै अभिनयतिर ? तोकेर भन्न मुस्किल छ ।

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully