कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

न्ह्यू सधैं समीप

ऊ कुशल संगीतकार हो ? साहित्य, सिनेमा र कलाको पारखी हो ? धन कमाउने होडबाट मुक्त कलासाधक हो ? के हो ?  धेरै आयामले भरिएको मान्छे हो— न्ह्यू बज्राचार्य । त्योभन्दा विशेष मेरो समीपको साथी हो । 
उसको दिमागमा संगीतका कर्डहरू ह्वारह्वार बर्सिरहेका हुन्छन् । धूनका पवन चलिरहेका हुन्छन् । तीमध्ये केही ऊमार्फत हाम्रा निधि बन्छन्, केही फुत्केर दूर जान्छन् ।

संगीतसँग बडो निकट छु म । यो मसँग मेरो बाल्यकालदेखि सँगसँगै छ, अटुट । संगीतको परख गर्न लामो स्वअध्ययन, संगत र त्यसमाथि मैले लिएको विविध आस्वादले काम गरेको हुनुपर्छ । डीलन, मेहंदी हसन, जगजित, आबिदा र आला पुगाचोभाका गीतहरू सुन्दा तिनकै धूनमा विलीनप्रायः हुन्छु म ।

न्ह्यू सधैं समीप

किन यसरी संगीतसँग लहसिएँ होला ? सायद यसमा भएको विशिष्ट विशेषताले त्यसो भएको हुनुपर्छ । संगीतले जब तपाईंको हृदय स्पर्श गर्छ, त्यो स्पर्श–प्रिय हुन्छ । प्रहार हो यदि त्यो भने त्यो दर्दरहित हुन्छ । प्रसिद्ध गायक बोनो त यसलाई संसार बदल्ने माध्यम भन्छन् । उनका अनुसार, संगीतले संसार बदल्न सक्छ, किनभने यसले मानिसलाई नै बदलिदिन सक्छ ।

सन्दर्भ न्ह्यू बज्राचार्यको हो । संगीत, सोच र व्यवहारको मयूर–प्वाँखले मेरो मन स्पर्श गर्नुअघि उसको संगीतले मलाई वशीभूत गरेको हो । उसको संगीत र संगतले मलाई स्मृतिमा कुँदिन सम्भव विशेष पलहरू दिएको छ । ऊबारे लेख्नुपर्दा दुविधामा हुन्छु । यति धेरै कुराहरू छन् कि के लेख्ने र के नलेख्ने ? ऊ असल साथी हो ? कुशल संगीतकार हो ? अरूको हित हुने र हौसला बन्ने कुरामा सँधै चनाखो रहने व्यक्ति हो ? साहित्य, सिनेमा र कलाको पारखी हो ? धन कमाउने होडबाट मुक्त कलासाधक हो ? के हो ? धेरै आयामले भरिएको मान्छे हो ऊ । त्योभन्दा विशेषचाहिँ मेरा लागि समीपको साथीमध्ये एक हो ।

‘साथी’ शब्द सुन्दा साधारण लाग्ला । तर, होइन है । शब्दमा रहेको रस सिकाउन कन्जुस्याइँ गर्ने हो या समय नभएको हो वा शब्दको रससँग अनभिज्ञ रहेको भान हुने शिक्षण संस्कारमा हुर्किएका हामीमध्ये धेरैलाई त्यो शब्दमा भएको भावको अर्थसँग मतलब नहुन सक्छ । मेरा लागि भने ‘साथी’ शब्दले विशेष अर्थ राख्छ । ‘अक्वेन्टेन्स’ र साथीमा फरक हुन्छ । साथी त्यो हो, जसलाई सम्झिनेबित्तिकै आफू मायाले सिञ्चित भएको महसुस हुन्छ र जोसँग आफ्ना सारा रहस्य साझा गर्न सकिन्छ । साथीले तपाईंबारे राय बनाउन जानेको हुँदैन, उसको प्रेम निःसर्त हुन्छ । आफ्ना त्रुटिलाई साथीले मायासहित सम्झाउँछ, अरुले तपाईंलाई चित्त दुखाउन खोज्दा अघि सरेर बचाउन उभिने पनि साथी नै हुन्छ ।

मैले न्ह्यूमा त्यो गुण पाएको छु । र, थाहा छ मलाई– उसका ती गुण उसका साथीका निम्ति सदा उपलब्ध छन् ।

म कवि, ऊ कलाकार । निश्चित रूपमा जब हामी कुनै जमघटमा जान्छौँ, ऊ आकर्षण बन्छ । म ऊसको छेउमा बसेर रमाइरहेको हुन्छु । तर, मेरो अनुभवले भन्छ, त्यतिखेर ऊ आफूले पाएको सम्मानको मदमा लीन हुँदैन, बरु आफूसँग भएको साथीको उपस्थितिको हेक्का राख्छ र साथीको परिचय सबैलाई दिन्छ । अनि केही भीड मतिर आउँछन् । जुन भीडको लालसा हामी दुवैलाई छैन । किनभने ती चिजमा हामी रमायौँ भने हाम्रा रचनात्मकता र सिर्जनशीलताका दैलाहरू बिस्तारै बन्द हुँदै जान्छन् । भीडको स्नेहलाई आँखाले धन्यवाद भन्छौँ र मनमनै कृतज्ञ हुन्छौँ अनि आफ्ना कृतिमा ऊर्जा भर्न त्यो भीडले स्नेहीभावको उपयोग गर्छौँ, झन्झन् जिम्मेवार बन्छौँ, आ–आफ्ना रचना निर्माणमा ।

न्ह्यू साथीहरूका निम्ति सधैं साथी हो । साथीलाई कसैले चोट पुर्‍याउँदा उसलाई जोगाउन ऊ उभिएको मैले देखेको छु । ऊ झगडालु कहिले होइन, तर साथीको अपमान हुँदा त्यसको विरोधमा ऊ भीम भएर उभिन्छ । साथीका निम्ति ऊ कति स्नेही छ भन्ने थुप्रैपटक अनुभव गरेको छु मैले । तर, ऊ बोलेर माया गर्न जान्दैन । उसकै मनको गर्भमा हुन्छ उसको माया । अनपेक्षित रूपमा उसले देखाउने माया ताज्जुब तुल्याउने खालका हुन्छन् । म जब कुनै आनन्दभूमिमा पुग्छु, जब सुन्दर दृश्य देख्छु, जब विशिष्ट वस्तु खेलाउँछु– मलाई न्ह्यूको याद आउँछ । ऊ पनि जबजब त्यस्तै परिवेशमा हुन्छ, मलाई सम्झिन्छ । कथंकदाचित उसले याद गरेन भने म आफैं टुप्लुक्क उसको घर या अफिस डोरेमी पुगेको हुन्छु, जुन नियोजित हुँदैन । यो कस्तो योजना हो कस्मसको, हामी दुवै चकित पर्छौँ ।

म जस्तो हुँ उस्तै रूपमा उसले मलाई स्वीकार गरेको छ । ऊ मलाई उसको दृष्टिकोणको साँचोमा ढाल्न चाहँदैन । त्यसबारे ऊ सोच्दै सोच्दैन । म यो किन भन्न सक्छु भने साथीले नै हो साथीको मनमा लुकेको अनुभूति अनुमान गर्दछ र त्यो अनुमान सँधै सत्य साबित हुन्छ । कहिलेकाहीँ बोल्नु नपर्ने महफिलमा मैले अञ्जानमा अज्ञानतावश केही प्याट्ट बोलेँ भने ऊ त्यस बखतको कुराकानीलाई अन्तै कतै मोडिदिन्छ । र, अर्को भेटमा मैले राम्ररी महसुस गर्ने गरी र मेरो मनमा ठेस नपुग्ने गरी मैले सोच्ने दृष्टिकोण बदल्नुपर्ने चेत उसैले खुलाइदिन्छ । म असल छु, खराब छु, जे छु त्यसैलाई नतौलिकन स्वीकार गरेको छ उसले ।

मेरो जीवनको गुणवत्तालाई उसले सुधार गरिदिएको छ, धन दिएर होइन, अदृश्य आत्मीयता दिएर । मेरो आत्मविश्वासलाई उसले बढाएको छ, संवादबाट होइन– उसको व्यवहारबाट । मानिसको प्रगति गाडी, घर र धनबाट होइन, मानसिक रूपमा हुनुपर्छ । मलाई यो थाहा नभएको कहाँ हो र ? तर, न्ह्यूसँगको सत्सङ्गबाट मैले त्यसलाई महसुस गरेको छु । म जीवनयात्रामा हारसँग निहुरिने मान्छे नहुँला । तर, जीवन न हो, मनोदशा हमेसा एकनास हुँदैन । कहिलेकाहीँ मेरा आँखामा उसले उदासी देख्दो हो । त्यस्तो बखत मेरो शक्ति उसले कुरैकुरामा सम्झाएको मलाई सम्झना छ । कहिलेकाहीँ उसलाई सम्झिँदा र ऊ सशरीर मेरो समीप नहुँदा अनायास मेरो आँखा रसाउनु सायद त्यसैको परिणाम हुनुपर्छ । ऊसँग लामो समयसम्म संवादमा नरहे पनि भेट्नेबित्तिकै फेरि सहजै आत्मीयताको उही पुरानो रूपमा आइपुग्न सक्छु म । यही त हो साथी भनेको ।

न्ह्यूमा आत्मरति छैन । एक दिन मेरा अर्का साथी सुरेन थामीले एउटा आईएनजीओको कार्यक्रम सुरुवात गर्न न्ह्यूको गीत खोजे– ‘जिन्दगी यो उत्सव हो, वरदान ईश्वरको’ । मैले न्ह्यूसँग त्यो गीत मागेँ । तर, गीत भेटेन उसले । कुनै बेला सिम्फोनिकमा रेकर्ड भएको त्यो गीत उसले आफ्नो अर्काइभमा राखेको थिएन । अर्को प्रचलित गीत मागेँ, त्यो पनि ऊसँग थिएन । ऊ काम गर्दै जान्छ, त्यसको सफलता वा असफलताको भुमरीमा रिंगिएर रहँदैन ।

साधारण संगीत मेरो कानसम्म पुग्छ, हृदयसम्म पुग्न मुस्किल हुन्छ । उसको संगीत मेरो कानलाई झुक्याएर कतिखेर हृदयभित्र बसिसक्छ, सुइँकै हुँदैन । यस्ता कुराले तन्तुहरूलाई खुसी दिन्छन् । र, यस्तो खुसीलाई अभिव्यक्त गर्ने शब्द म अक्सर खोजिरहन्छु । रैथाने, ब्लुज, ज्याज, सिम्फोनी, शास्त्रीय र पाश्चात्य संगीतमा पर्याप्त ज्ञान ऊसँग छ । कुन गीतलाई कसरी आकार दिने अर्थात् कस्तो खालको रंग दिने शिल्प छ ऊसँग । उसले हजारौं गीतमा संगीत भरेको छ । हिन्दुस्तानका केही समकालीन संगीतकर्मीहरू न्ह्यूको प्रतिभासँग कायल छन् । उसले आनी छोइङलाई बनाइदिएको गीतको धून सर्लक्कै उठाएर चीनमा एउटा लोकप्रिय गीत बनेको छ । मुद्दा हाले त प्रशस्त पैसा आउँथ्यो होला । तर, त्यसरी कमाउने ऊसँग जाँगर छैन ।

कुनै बखत म अमेरिकामा थिएँ । न्ह्यू त्यसै बखत अमेरिका आउने भयो । मेरो बालसखा रविन भण्डारीलाई उसले भनेको रहेछ– विप्लवलाई २०/२५ वटा गीत तयार राख्नु भन्नु । मैले पत्याइनँ, मलाई भन्नुपर्ने कुरा किन रविनलाई भनेको होला भनेर । यस अर्थमा ऊ अलि लजालु पनि छ, केही अर्न्तमुखी । ऊ अमेरिका आएलगत्तै उसले मेरो एउटा रोम्यान्टिक कविता कम्पोज गर्‍यो । बडो मदिर थियो धून । त्यतिखेर त्यसलाई फोनमै सही, रेकर्ड गर्ने शुद्धि आएन । अब त त्यसको धून उसैको स्मृतिबाट गायब भइसक्यो । त्यसपछि बाँकी गीत पनि उसले कम्पोज गर्‍यो, जुन रेकर्ड भएर प्रकाशित नभए पनि फोनमा अद्यापि छँदैछ ।

हामीमा भएको रोचक कुरा के छ भने, हामी दुवै आफ्ना कृति रेकर्ड गर्ने कुरामा चासो दिँदैनौँ । मैले लेखेको गीत उसले कम्पोज गर्दा, हामी दुवैले त्यसलाई स्वीकृत गर्दा, मैले शब्द र उसले धून परिमार्जित गर्दा, सँगै हुँदा कहिलेकाहीँ त्यस गीतलाई गुन्गुनाउँदा र गीतले यौटा आकार लिँदै गर्दा पाइने खुसीको उत्कर्ष हामीले अनुभूत गरेका छौँ । त्यस माध्यमबाट हामी आनन्दको वर्षामा निथ्रुक्क रुझ्दछौँ र त्यसपछि महसुस हुने तृप्तिको इन्द्रेणीमा बेरिन्छौँ ।

यौटा गीत तयार हुन काव्यले सजिएको रचना त चाहिन्छ नै । गीतलाई आकार दिन पनि संगीतकार सक्षम हुनुपर्छ, जसमा ऊ पारंगत छ । हामी सँगै बस्दा, गीत–संगीतका कुरा गर्दा, मलाई भने यस्तो विलक्षण शिल्पीको गीत किन नेपाली सिनेमामा सामेल हुँदैन भनेर मनमा कुरा खेलिरहन्थ्यो । नेपालको परिप्रेक्ष्यमा सिनेमाको धर्म सिनेमा बनाउनु मात्रै होइन, गीतसंगीतलाई अर्को स्तरमा पुर्‍याउनु पनि हो । तर, सिनेमाले गीतसंगीतलाई सीमान्तकृत अवस्थामा राखेको कुरा मैले भनिरहनु पर्दैन । नेपाली सिनेमालाई गम्भीर, जीवनसँग जोडिएका र स्पर्शी गीत धेरै वर्ष अघिदेखि चाहिएको छैन ।

एकपल्ट मैले न्ह्यूलाई नेपाली सिनेमाका निम्ति संगीत गर्न दबाब दिएको थिएँ । उसले एउटा फिल्मका लागि काम गर्‍यो पनि, तर जसका लागि गरेको थियो, उसकै उदासीनताले रेकर्डेड गीत पनि फिल्ममा आएन । यो एक प्रकारको अपमान थियो म भन्दिनँ, तर संवेदनशील काम भने थिएन । तर, न्ह्यू त्यतिखेर खिन्न भएन, न मसँगै ठुस्कियो । बरु नेपाली फिल्मकमीमाँझ गीतसंगीतको हैसियत कस्तो रहेछ भन्ने कुराचाहिँ त्यही घटनाबाट मैले सिकेँ ।

गीतलाई सही आकार दिएर संगीत बुन्न सक्ने मान्छेको कदर सिनेमामार्फत गराउन मैले सकिनँ । त्यसैले म थिएटरमार्फत त्यो काम गर्न चाहन्थेँ । कुनै थिएटरको यौटा नाटकमा मैले गीत लेख्ने अवसर आयो । संगीत न्ह्यूले गरिदेओस् भन्ने निर्देशकको चाहना थियो, जुन काम न्ह्यूले मेरा कारण सहर्ष स्वीकार गर्‍यो । तर, त्यहाँ पनि केही अनपेक्षित नरमाइलो घटना घट्यो । अपशोच, अब थिएटरमा संगीत दिने कुरामा पनि उसको मोहभंग भयो ।

तर, कुनै सुरतले मेरो भत्किएको मनलाई टालटुल पार्ने यौटा अवसर अन्ततः आइछाड्यो । अनुप बराल नाटक ‘यौटा सपनाको अवसान’ बनाउँदै थिए । आर्थर मिलरकृत त्यस नाटकको अनुवाद अनुपले मलाई गर्न दिएका थिए । गीत पनि मैले नै लेखेको थिएँ । मलाई न्ह्यूको संगीतसँग मोह थियो, अनुपले मेरो कुरा खाए । पैसा बडो न्यून थियो त्यस काममा । तर, न्ह्यूले पैसालाई खास महत्त्व दिएन । संगीत गर्‍यो र त्यसमा कम्पोज भएका गीत जब अनुपले मन पराए, मेरो आहत मनले क्षतिपूर्ति पायो । डराइ–डराई मैले न्ह्यूलाई अनुरोध गरेको थिएँ । उसले ‘म गर्छु’ भनिदियो । यस अर्थमा कुनै नरमाइलो विगतलाई सम्झिएर कुँडिने बानी ऊसँग छैन भन्ने कुरा मैले चाल पाएँ ।

कहिलेकाहीँ सोच्दछु, मेरो जीवनमा उसको उपस्थिति नहुँदो हो त के हुन्थ्यो ?

मेरो जीवनमा अद्भुत सेन्स अफ ह्युमर भएको साथी हुँदैनथ्यो । मबाट टाढा रहँदा पनि उसको प्रेम र मित्रता अनुभूत भइरहने यौटा महसुसको अनुभव मैले गर्न पाउँदिनथेँ । तर, कहिलेकाहीँ मसँग हुँदा ऊ कताकता हराइरहन्छ । पहिले थाहा थिएन, अहिले बुझेको छु– उसको दिमागमा संगीतका कर्डहरू ह्वारह्वार बर्सिरहेका हुन्छन् । धूनका पवन चलिरहेका हुन्छन् । तीमध्ये केही ऊमार्फत हाम्रा निधि बन्छन्, केही फुत्केर दूर जान्छन् । म रहुन्जेल उसको महत्त्वपूर्ण र अर्थपूर्ण उपस्थितिबाट कवै दूर नहुँ । यो मेरो दृढचाहना हो । र, दृढ भएर चाह्यो भने सुन्छु, कस्मसले सुन्छन् रे ।

-पेसागत जीवन होस् वा सामाजिक परिवेश, हामी सबैको कसै न कसैसँग खास सम्बन्ध हुन्छ– खास दृष्टिकोणसहित । व्यक्तिमाथिको दृष्टिकोण आफैंले देखेको र अनुभव गरेको आधारमा तय हुन्छ, जसलाई संसारको अन्य दृष्टिकोणले फेरबदल गर्न सक्दैन । ‘समदृष्टि’ त्यही स्तम्भ हो, जहाँ एकको दृष्टिमा अर्कोको जीवन–चित्र लेखिनेछ ।

प्रकाशित : वैशाख ८, २०८१ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x