कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

हिन्दु अधिराज्यमा मासिएका हिन्दु देवदेवी !

२०३० सालमा हिन्दु देवदेवी र तिनका गरगहनालाई कस्ता ग्रहदशा लागेका थिए ? ती देवदेवीले कस्ता दुर्दिन भोग्नुपरेको थियो ? र, देवदेवीलाई विनाश गर्नेहरू कसरी निर्बाध मूर्ति चोरी गर्थे ? 
मोहन मैनाली

नयाँ वर्षको शुभकामना लेनदेन गरिसकेपछि अब एउटा पात्रो हेरौं, जसले आउने दिनबारे होइन गइसकेका दिनबारे बताउँछ । आगामी दिनमा कुन बाटो हिँड्नुपर्छ भनी सही निर्णय गर्न पछाडि फर्केर हेर्न सघाउँछ । यस पात्रोले आजभन्दा पचास वर्ष पहिले अर्थात् २०३० सालको कुरा बताउँछ ।

हिन्दु अधिराज्यमा मासिएका हिन्दु देवदेवी !

त्यस वर्ष हिन्दु देवदेवी र तिनका गरगहनालाई कस्ता राहु, केतु, शनि आदि ग्रहदशा लागेका थिए, ती देवदेवीले कस्ता दुर्दिन भोग्नुपरेको थियो र देवदेवीको विनाश गर्नेहरू निर्बाध रूपमा यो काम कसरी गर्थे भन्ने देखाउँछ ।

त्यस वर्षको वैशाख १३ गते मकवानपुरको भीमफेदी बजारको पुरानो सुनौला गणेशको मूर्ति चोरी भएको थाहा भयो । त्यो मूर्ति पचास वर्ष पुरानो थियो ।

त्यसको पर्सिपल्ट वैशाख १५ गते मोरङको थलाहको करमयण घाटस्थित राम मन्दिरका बहुमूल्य गहना चोरी भएको थाहा भयो ।

त्यस वर्षको पहिलो महिना वैशाखको अन्त्यमा पूर्वका अरू नराम्रा समाचार आए । तिनका अनुसार, धनकुटाको हुलाक टोलको कृष्ण मन्दिरबाट श्रीकृष्णको ढुंगाको मूर्ति, गोपिनीहरूका पित्तलका चारटा मूर्ति, गरुडको मूर्ति भएको आरती र गोपालजीको आसनसमेत सातवटा मूर्ति चोरी भए । त्यसको लगत्तै २०३० साल वैशाख २९ गते धनकुटाकै माथिल्लो कोप्चेको राम मन्दिरको रामलक्ष्मणको मूर्ति चोरी भएको थाहा भयो । त्यसको अघिल्लो वर्ष पनि धनकुटामा केही मूर्ति चोरिएका थिए । २०३० सालभरमा नेपाल अधिराज्यभरमा मूर्ति र गरगहना चोरी भएका खबर बारम्बार बाहिर आए । मूर्ति चोरी भएका सबै खबर बाहिर आउँदैनथे । त्यसैले त्यस वर्ष योभन्दा धेरै मूर्ति चोरी भएका थिए ।

मूर्ति चोर्न र चोरिएका मूर्ति विदेश तस्करी गर्न चोरहरू इलाम, झापा, धनकुटा, सुनसरी, मोरङ, संखुवासभा, भोजपुर, काभ्रे, सिन्धुपाल्चोक, पर्सा, मकवानपुर, तीन सहर काठमाडौं, तनहुँ, रूपन्देही, पाल्पा, स्याङ्जा, बागलुङ, अर्घाखाँची, डोल्पा र बाँकेमा सक्रिय थिए । त्यतिबेला नेपाल हिन्दु अधिराज्य थियो । यस देशको अधिकारको स्रोत ‘आर्य संस्कृतिका अनुयायी हिन्दु धर्मावलम्बी गद्दीनसीन श्री ५ महाराजाधिराज’ होइबक्सन्थ्यो । नेपालको सार्वभौमसत्ता मौसुफमा निहित थियो, ‘कार्यकारिणी, व्यवस्थापिका र न्यायसम्बन्धी सबै अधिकार मौसुफबाट नि:सृत’ हुन्थे ।

मौसुफ सरकार संविधानभन्दा माथि होइबक्सन्थ्यो ! मौसुफ सरकार नेपाललाई असली हिन्दुस्तान बनाउने ध्येय भएका श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहका वंशज होइबक्सन्थ्यो । त्यतिबेलाको संविधानले त्यस विषयमा गर्व गरेको थियो ।

यस्ता धर्मावलम्बी र प्रतापी हिन्दु राजा भएको देश नेपालमा वैशाखपछि पनि पहिलेका वर्षमा झैं हिन्दु देवदेवीका मूर्ति र गरगहना चोरी र तस्करी हुने क्रम चलिरह्यो । हिन्दुधर्मविरुद्ध यस्तो पाप गर्नेमध्ये थोरै मात्र पक्रिइए, पक्रिएकामध्ये धेरै सजिलै छुटे/छुटाइए ।

हिन्दु अधिपति र कसै–कसैका मान्यताअनुसार, ‘विश्वका एकमात्र हिन्दु सम्राट्’ को छत्रछायामा रहेको देशमा पाप र अधम कति उम्लिएको थियो भने मन्दिर र गुम्बाका पुजारी उनैले पूजा गरेको मूर्ति बेचेको भनी प्रहरीको फन्दामा परेका थिए ।

यसका केही उदाहरण हेरौं । बनेपाको चण्डेश्वरी मन्दिरभित्र रहेको सुनका पाँच थान मूर्ति चोरेको भनी सोही मन्दिरका पुजारीले साविती बयान दिएका थिए । इचंगुनारायण थानको वीर भगवतीको फटिकको मूर्ति चोरी गरेको अभियोगमा मूर्ति किन्ने क्युरियो व्यापारीसँगै त्यस मन्दिरका पुजारी पनि पक्रिइएका थिए ।

२०३० साल भदौ १९ गते बागलुङमा सात थान मूर्ति सहित दुई जना मानिस पक्राऊ परेका थिए । उनीहरूले मुस्ताङको नाकुम गाउँको गुम्बाका सातवटा मूर्ति ल्याएका थिए । ती मूर्ति सोही गुम्बाका पुजारीले बेचेको उनीहरूले बताएका थिए ।

मूर्ति चोर र तस्कर आक्कलझुक्कल मात्रै पक्राउ पर्थे । त्यस वर्ष मूर्ति चोरीका धेरै घटना बाहिर आएकोमा पक्राउ परेका थोरै मात्र घटना बाहिर आएका थिए ।

गिरोहमा संलग्न नभएका ससाना चोर मात्रै पक्राउ पर्थे । केही चोरहरू उनीहरूकै ग्रहदशा वा कुबुद्धिले मात्र पक्राउ परेका थिए । उदाहरणका लागि, मूर्ति काठमाडौंबाट बुटवल पठाउने र त्यस्ता मूर्ति बुटवलमा लिने दुईजना होटलवालाको कुरा गरौं ।

२०३० साल कात्तिकको पहिलो हप्ता बुटवलको खस्यौली बजारबाट काठमाडौंको एउटा होटलका मालिकलाई प्रहरीले पक्राउ गर्‍यो । उनका साथबाट विभिन्न मुद्राका गणेश, शिवजी, भगवती र बुद्धका, ढलोटका १२ वटा मूर्ति पनि समातिए । ती मूर्ति १०० देखि २०० वर्ष पुराना भएको र त्यतिबेला ती तीन लाखमा बिक्री हुने अनुमान प्रहरीले गरेको थियो ।

यो घटनापछि प्रहरीले थाहा पायो— काठमाडौंको होटलबाट बुटवलको खस्यौलीको होटलका नाममा मूर्ति पठाइँदो रहेछ । त्यसपछि ती मूर्ति विदेश पठाइँदो रहेछ । यसअघि दुईपल्ट यसै गरी मूर्तिहरू विदेश पठाइसकिएको रहेछ ।

यत्रो ठूलो सफलता पाउन प्रहरीले गर्नुपर्ने मिहिनेत केही गर्नु परेनछ । त्यो घटनासँग सम्बन्धित समाचारअनुसार, मूर्ति पठाएको भनी होटल मालिकका नाममा पठाएको पत्र ‘गल्तीले प्रहरीको हातमा पर्न जाँदा अभियुक्त पक्राउ गर्न प्रहरी सफल’ भएको रहेछ ।

पक्राउ परेका मूर्ति चोर प्रहरीले समाते पनि भाग्न सक्थे । २०३० साल भदौ १५ गते इलामको तल्लो भेगमा एक जना मान्छेलाई चारवटा मूर्तिसहित प्रहरीले पक्रियो । प्रहरीले इलाम लैजाँदा बाटोमा पर्ने चिसापानी गाउँबाट ऊ भाग्यो ।

त्यतातिर प्रहरी आफ्नो अधीनमा रहेका मानिसलाई भाग्न नदिने काममा चुस्त थियो । मूर्ति चोर भाग्नुभन्दा ६ महिना पहिले झापाबाट इलाम लैजान लागेका झापा कान्डका पाँचजना कैदी ‘भाग्न लाग्दा’ प्रहरीले उनीहरूलाई इलामको सुखानीमा गोली हानेर मारेको थियो । मूर्ति चोर्ने मान्छे भने प्रहरीको घेराबाट सजिलै भाग्न सक्थे ।

मूर्ति चोर ठूलो रहेछ, उसले निकै धेरै मूर्ति चोरी गरेको रहेछ अनि उसलाई ग्रहदशा लागिहालेछ भने पनि प्रहरी दाहिना भइदिँदो रहेछ । नपत्याए २०३० सालको साउन र भदौको एउटा घटना हेरौं ।

स्वीट्जरल्यान्ड जाने यात्रीका ६ वटा सुटकेस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालयले जाँच्न खोज्यो । ‘चाबी अर्कैले लगिसकेको’ भन्दै ती यात्रीले ‘चाबी लिएर आएपछि फिर्ता लैजाने’ भनी सुटकेस त्यहीं छाडेर गए । पछि एक जना विदेशी चाबी लिएर आए र सुटकेस मागे । भन्सारले ती सुटकेस खोल्दा त्यहाँ ८० वटा मूर्ति र चित्रांकित पुराना पुस्तक भेटिए । ती मूर्तिमध्ये अधिकांश १०० वर्षभन्दा पुराना र पुरातात्त्विक महत्त्वका थिए, जुन विदेश लैजान पाइँदैनथ्यो । ।

भन्सारले यसका नाइकेलाई पक्राउ गरी मान्छे, मूर्ति र पुस्तक प्रहरीलाई बुझायो । भदौको अन्त्यमा प्रहरीले ती मूर्ति बेवारिसी अवस्थामा फेला परेको भनी स्थानीय प्रशासनलाई बुझायो ।

ती मूर्ति काठमाडौंमा किनबेच हुँदा प्रहरीले थाहा पाएन, विमानस्थल पुग्दासम्म पनि थाहा पाएन । भन्सारले मान्छेसमेत बुझाएका ती मूर्ति प्रहरीले बेवारिसे बनायो । ती मूर्ति तस्करी गर्ने मानिसलाई जोगायो ।

अर्थात्, हिन्दु अधिपतिको प्रहरी बल यसरी हिन्दु देवीदेवता चोरेर हिन्दुधर्म मास्ने अभियानमा लागेका तस्करलाई जोगाउन लागिपरेको थियो ।

प्रहरीले समातेका सानातिना मूर्ति कारोबारीलाई त पक्राउ गर्थ्यो, तर ‘अदालतमा पेस गरेका प्रमाण नपुगेकाले’ तीमध्ये धेरै अदालतबाट छुट्थे ।

करिब तीन हात लामो मूर्ति बिक्री गर्न लागेको अभियोगमा अदालत लगिएका एक जनालाई अदालतले २०३० साल असोजमा धरौटीमा छाडिदियो । झापाको काँकरभिट्टा भन्सार कार्यालयले १२ थान मूर्तिसहित पक्रिएका दुई जना अमेरिकी नागरिकलाई मेची अञ्चल अदालतले १००० रुपैयाँ जरिवाना गरी छाडिदियो ।

२०३० साल कात्तिकमा बागमती विशेष अदालतले प्राचीन मूर्ति चोरी गरेको अभियोग लागेका एक जनालाई प्रमाण नपुगेको भनेर अभियोगबाट मुक्ति दिलायो । दार्जिलिङका दुई जनालाई भने एक/एक हजार जरिवाना गर्‍यो ।

अँ, डोल्पा जिल्ला विशेष अदालतले पाँच थान बुद्ध मूर्ति खरिद गरेको डोल्पाको ताक्षी गाउँ बस्नेसमेत ६ जनालाई भने थुनामा राख्न आदेश दियो ।

मूर्ति चोरीका मामलामा यसरी आँखा चिम्लिदिनाले मूर्ति चोरी सजिलै उम्कन्थे, त्यसैले यो अपराध ब्याप्त थियो । मूर्ति चोर आँटिला भएका थिए । त्यसैले त २०३० सालको अन्त्यसम्ममा आइपुग्दा मूर्ति चोर सरकारको संग्रहालयमा राखेको मूर्ति चोर्न सक्ने भइसकेका थिए । उनीहरूले ललितपुरको म्युजियमबाट बज्रबाराहीको मूर्ति चोरेका थिए । सुनको जलप लगाइएको सो मूर्ति चौधौं शताब्दीमा बनेको थियो ।

२०३० साल अन्त्य भयो, अरू वर्ष पनि अन्त्य हुँदै नयाँ वर्ष लाग्दै गए । तर, मूर्ति चोरी अन्त्य भएन । २०४१ सालमा मूर्ति चोरीका घटना हेर्दा यो कुरा प्रस्ट हुन्छ । त्यस वर्ष ३० वटा जति मूर्ति चोरी भएका समाचार बाहिर आए । मूर्ति चोरीका सबै घटना बाहिर नआउने भएकाले त्यस वर्ष योभन्दा बढी मूर्ति चोरी भएको हुनुपर्छ । यीमध्ये तीनवटा घटनामा प्रहरीले चोरलाई पक्राउ गर्‍यो । अदालतले त्यस वर्ष दुईवटा मूर्ति चोरेको र एउटा मूर्ति ठाउँ सारेको मुद्दाको फैसला गर्‍यो ।

मूर्ति चोरी गरी बेचेको आरोपमा डेढ वर्षसम्म कैद र ४५ हजार रुपैयाँसम्म सजाय गरिएको थियो । स्मरणीय छ, २०३० सालमा मूर्ति विदेश लैजान लागेका अमेरिकी नागरिकलाई नेपालको अदालतले एक हजार रुपैयाँ जरिवाना गरी छाडेको थियो । यस कुराले नेपालको अदालतले मूर्ति चोरीका मामलामा विदेशीलाई कम र नेपालीलाई बढी सजाय गर्ने गरेको प्रस्ट हुन्छ ।

२०४१ सालमा चोरहरूले बढी मूर्ति चोरेका जिल्लाहरूमा भक्तपुर, काभ्रे, दोलखा र ललितपुर थिए । उनीहरूले भक्तपुरका चारवटा, बनेपाका चारवटा, दोलखाका तीनवटा र ललितपुरका तीनवटा मूर्ति चोरेका थिए ।

त्यस वर्ष मूर्ति चोरहरूले अनौठा देवताको मूर्ति पनि चोरी गरेका थिए । त्यस्ता देवता हुन्— बलभद्र । बलभद्र नेपालमा धानखेतीसम्बन्धी शिक्षा दिने पहिलो देवता हुन् भन्ने विश्वास गरिन्छ । बलभद्रको मूर्तिको शिरमा छुवाएको तोरीको तेल शरीरमा दलेमा प्रसव पीडामा भएकी महिलाको बच्चा सजिलै जन्मन्छ भन्ने कथा छ । उनको पाँच फिट अग्लो ढुंगाको मूर्ति अंशुवर्माले स्थापना गराएका थिए ।

२०४२ सालको फागुनमा आइपुग्दा मूर्ति चोरी होइन, डकैती हुन थालेको थियो । बलभद्रको मूर्ति चोर्न १२ जना डाँका मिनी–बस लिएर आएका थिए । उनीहरूलाई कसैले रोक्न सकेन ।

चैत महिनामा चाहिँ मूर्ति डाकाहरू क्रेनले मूर्ति उखेल्ने गरी हिम्मतिला भएका थिए । एक रात क्रेन लिएर भक्तपुर गएका डाँकाहरूले दरबार चोकमा रहेको भूपतिन्द्र मल्लको पूर्ण कदको शालिक क्रेनको सहायताले उखेल्न खोजेका थिए । स्थानीय बासिन्दाले विरोध गरेपछि र त्यहाँ खटिएका प्रहरी अधिकारीले त्यसो गर्न नदिएपछि उनीहरू रित्तो हात फर्कनुपरेको थियो ।

यति शक्तिशाली डाँकालाई मूर्ति डकैती गर्न रोक्ने ती प्रहरी अधिकारीलाई केही समयपछि ‘तालिमका लागि’ बेलायत पठाइएको थियो । यसो भएपछि डाँकाहरूको काम निर्विरोध हुन सक्थ्यो ।

भक्तपुरको यो कान्ड सरकारी सञ्चार माध्यममा आएन । निजी क्षेत्रका सञ्चार माध्यममा मात्र आयो । यस घटनाको लगत्तै सरकारी सञ्चार माध्यममा मूर्ति चोरीका घटना रोक्न प्रहरी सक्रिय भएको अचम्मलाग्दो समाचार आयो । २०४१ साल चैत २८ गते प्रकाशित सो समाचारका अनुसार, मूर्ति चोरी गर्ने तीन जनाको गिरोहलाई प्रहरीले काठमाडौंमा पक्राउ गर्‍यो । उनीहरूबाट प्रहरीले सातवटा मूर्तिसमेत बरामद गर्‍यो ।

सोही समाचारअनुसार, पशुपति वनकाली नजिकै रहेको चण्डेश्वरको मूर्ति फलामको रडले उखेली बिक्री गर्न हिँडिरहेको अवस्थामा प्रहरीले अर्का एकजनालाई पक्राउ गरेको थियो ।

क्रेनले मूर्ति उखेल्न खोज्नेलाई पक्राउ गर्न चासो नराख्ने प्रहरीले ‘फलामको रडले मूर्ति उखेल्ने’ लाई पक्राउ गरेको भनी आफ्नो बहादुरी प्रचार गर्‍यो । यसो गर्दा क्रेन कान्ड अलि मत्थर हुन सक्थ्यो ।

मूर्ति चोरहरूको यस्तो बिगबिगी भएपछि र उनीहरूले यो काम निर्बाध गर्न पाएपछि भक्तजनहरू आफ्ना देवीदेवताको रित्तो प्रतिष्ठान हेरेर मन कुँड्याएर बस्न बाध्य भए । चोरले सजिलै चोर्न नपाउन् भनेर मूर्ति र तोरणलाई फलामे रडले बेरेर राख्न भक्तजनहरू बाध्य भए । अर्थात्, सदियौंदेखि स्वतन्त्रतापूर्वक बसेका देवदेवी रडले घेरिएर बस्नुपर्‍यो । मूर्ति चोर जेल पर्नु नपरेपछि मूर्तिलाई नै जेल हाल्नुपर्‍यो ।

आफ्ना देवदेवीको टाउको भाँचेर चोरले लगेपछि भक्तजनहरूले सिमेन्टको नयाँ टाउको बनाएर देवदेवीको शरीरमा जोडिदिए । कलात्मक र प्राचीन शरीरको शिरमा आधुनिक, तर कुरूप टाउको बसाइएका देवदेवी पुज्न भक्तजनहरू बाध्य बनाइए ।

हिन्दु धर्मावलम्बीहरूका लागि यी मूर्ति अजीव मूर्ति होइनन् । मूर्तिमा देवीदेवताको प्राणप्रतिष्ठा गरिएको हुन्छ । यसो भएपछि ढुंगा वा धातुका ती मूर्ति मूर्तिमात्रै रहँदैनन् साक्षात् देवदेवी बन्छन् । त्यसैले भक्तजनहरू मूर्तिलाई देवीदेवता नै ठानेर पूजा गर्छन् । मूर्ति हटाइदिनु भनेको हिन्दु धर्म मान्नेलाई देवता नजिक हुन नदिनु हो, धर्म मास्नु हो ।

आर्य संस्कृतिका अनुयायी हिन्दु धर्मावलम्बी श्री ५ महाराजाधिराज गद्दीनसीन होइबक्सेका बेला यस्तो अधर्म कसरी फैलियो होला ? नेपाललाई असली हिन्दुस्तान बनाउने ध्येय भएका श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहका वंशज हिन्दु अधिपतिले यस्तो अधर्म किन रोकिबक्सेन होला ? यी मूर्ति चोरी भएका बेला मौसुफ राणाकालमा जस्तो निरीह होइबक्सन्नथ्यो । सार्वभौमसत्ता मौसुफमा निहित थियो । मौसुफ संविधानभन्दा माथि होइबक्सन्थ्यो । मौसुफले गरेका कामबारे कहीं, कतै, कसैले – न्यायपालिका वा व्यवस्थापिकामा समेत– औंला उठाउन पाइँदैनथ्यो । तैपनि हिन्दु धर्मप्रति भएको निरन्तर हमला मौसुफले किन रोकिबक्सेन ?

यसको जवाफ खुलेर होइन, दबेर मात्र दिने गरिन्थ्यो— मौसुफ सरकार निरीह भएकाले र शासनमा सर्वत्र छाएका अधिराजकुमार धीरेन्द्र वीरविक्रम शाह स्वयं यस काममा संलग्न भएकाले ।

२०४१ सालमा श्री ५ अधिराजकुमार धीरेन्द्र वीरविक्रम शाह अन्तर्राष्ट्रिय युवा वर्ष राष्ट्रिय समितका अध्यक्षका हैसियतमा युवा वर्गलाई ‘रचनात्मक कार्यक्रमका माध्यमबाट राष्ट्र निर्माणमा संलग्न गराउन’ सक्रिय होइबक्सन्थ्यो । मौसुफ राष्ट्रिय खेलकुल परिषद्का संरक्षक होइबक्सन्थ्यो । त्यसैले मौसुफ यस्ता काममा संलग्न होइबक्सन्नथ्यो भन्न मिल्ला ।

यस प्रसंगमा हिन्दु राजाको जगजगी भएका बेला नेपालको अर्थतन्त्र र परराष्ट्र मामिलाका दह्रो खम्बा भेषबहादुर थापाले आफ्नो किताब ‘राष्ट्र–परराष्ट्र’ (पेज. १८१) का दुईवटा अनुच्छेदमा लेखेका यी कुरा ख्याल राख्नुपर्छ, ‘राजाका कान्छा भाइ श्री ५ धीरेन्द्र शान्ति सुरक्षा हेरिबक्सन्थ्यो । मौसुफ ‘मुख्यगरी प्रहरी र तिनले अपनाएको सुरक्षामा मात्र सीमित’ होइबक्सन्थ्यो ।’

यस कुरालाई अर्को अकाट्य तथ्यसँग जोड्नुपर्छ । त्यो हो— नेपालमा राजतन्त्र शक्तिशाली भएका बेला, नेपाल हिन्दु अधिराज्य भएका बेला, नेपालले हिन्दुधर्मको रक्षा गर्ने नीति लिएका बेला नेपालमा हिन्दुधर्मलाई जति क्षति पुग्यो त्यति क्षति त्यसअघि पुगेको थिएन, त्यसपछि पनि पुगेको छैन । नेपालमा हिन्दुधर्म विरोधी यस्तो काम लगातार लामो समयसम्म निर्बाध रूपले कुनै विधर्मीले कहिल्यै गर्न सकेको थिएन ।

उहिल्यै धेरै वर्ष पहिले बंगालका सुल्तानले काठमाडौं उपत्यकामा हमला गरी पाटन, पशुपतिनाथ र स्वयम्भूका मन्दिर, मूर्ति र चैत्यको विनाश गरेका थिए । उनी चाँडै फर्की गएकाले उनले निरन्तर विनाश गर्न पाएनन् । सनकी राजा रणबहादुर शाहले पनि केही मूर्ति र मन्दिरको विनाश गर्ने प्रयास गरेका थिए तर उनले पनि धेरै विनाश गर्न पाएनन् । माओवादीले लडाइँ गरेका बेला एकाध ठाउँका मन्दिर र मूर्ति विनाश गरेका थिए । तर राजा सर्वेसर्वा भएका बेलामा हिन्दुधर्म र सम्पदा निरन्तर र निर्बाध विनाश भए । यस्तो विनाश किन सम्भव भयो भने यसरी विनाश गर्ने बंगालका सुल्तान झैं विधर्मी थिएनन्, राजा रणबहादुर झैं सनकी थिएनन् र माओवादी झैं धर्मविरोधी थिएनन् । यिनलाई हिन्दु धर्मका संरक्षकले संरक्षण दिएका थिए ।

(सबै फोटो : युर्गेन शिकको ‘द गड्स आर लिभिङ द कन्ट्री’ बाट)

प्रकाशित : वैशाख १, २०८१ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?