३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

एक नेपालविज्ञको कूटनीतिक संस्मरण

व्यक्ति प्राज्ञ बन्नु र स्थापित हुनु कठिन विषय हो । आफ्नै पेसा, प्रकाशन र प्रस्तुतिले प्रदान गर्ने परिणामले प्राज्ञिक र विज्ञता सिद्ध गर्ने हो । प्राज्ञका अध्ययन र अनुसन्धानबाट बनेका विचार र निष्कर्षले समाजमा उनीबारे पनि विचार बनाउन भूमिका खेल्छ । तर, एक प्राज्ञबारे बन्ने यस्ता विचार मानिसको विषयगत रुचि र ज्ञान, बुझाइको तह साथै व्यक्तिसम्मको पहुँचले निर्धारण गर्छ । 

एक नेपालविज्ञको कूटनीतिक संस्मरण

नेपालविज्ञका रूपमा भारतमा परिचित प्राध्यापक एस.डी. मुनी त्यस्तै एक व्यक्तित्व हुन्, जसको अन्तर्राष्ट्रिय सम्बन्ध विधा अन्तर्गतका अध्ययन–अध्यापन र अनुसन्धान–बहसजस्ता प्राज्ञिक साधनाले भारतीय कूटनीतिज्ञका रूपमा काम गर्ने औपचारिक, अनौपचारिक थुप्रै अवसर दिलायो । यही अनुभवको सँगालो हो, उनको पछिल्लो पुस्तक ‘डब्लिङ इन डिप्लोमेसी’ । उनी प्रस्तावनामा भन्छन्, ‘कूटनीतिमा अरू थुप्रैको संलग्नता हुन्छ । राम्रा–नराम्रा सबैखाले प्रभाव र परिणाम हुन्छन् । कतिपय गोप्य र अनौपचारिक भनिएका कुरा पनि हुन्छन् । ती लेख्नुपर्ने भएकाले म यो प्रकृतिको लेखनबाट बच्ने सोच्थें, तर मित्र र शुभचिन्तकका कारण जीवनको उत्तरार्धमा स्मरणका (डायरी नलेखेको) आधारमा लेखिएको यो सत्य र इमानदार प्रयास हो ।’

किताबमा एक व्यक्तिको जीवनका घटना र भोगाइ जस्ता साधारण लाग्ने थुप्रै यस्ता विषय अभिव्यक्त छन्, जसलाई मनन गर्दा सामान्यदेखि समाज र देशलाई नै मार्गनिर्देश गर्छन् । जोधपुरको सानो गाउँमा जन्मेर प्रदेश (राजस्थान) राजधानी जयपुर हुँदै नयाँदिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू), विशुद्ध विज्ञानको अब्बल विद्यार्थी समाजविज्ञान (राजनीतिशास्त्र) मा उच्चशिक्षा हुँदै नेपाल–भारत सम्बन्धमा विद्यावारिधि, विज्ञान र गणितको माध्यमिक शिक्षकबाट प्रोफेसर इमिरेट्स, अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञबाट सर्वस्वीकृत कूटनीतिज्ञ ! यी सामान्य उपलब्धि होइनन् र उनको एकल प्रयासबाट मात्रै सम्भव भएका परिणाम पनि होइनन् ती । कसरी एउटा निम्न–मध्यम वर्गीय परिवारको बच्चा संघर्षशील व्यक्ति हुँदै व्यक्तित्व बन्छ ? कसरी घरपरिवार, आफन्त, समाज, संस्था, साथी–संगति, सहकर्मी र शिक्षक तथा सुपरिवेक्षकको सकारात्मक भूमिकाले उसलाई परिपक्व बनाउँछ र एजेन्सी विकसित हुन्छ ? जसले आफ्नो विषयमा निखारिने र तिखारिने भोक जगाउँछ साथै थप लक्ष्य पहिल्याउन र त्यहाँ पुग्ने बाटो खोजी र तय गर्छ ? परिणामतः, व्यक्ति कालान्तरमा व्यक्तित्व बन्छ, अवसरका सबै ढोका खुल्छन् । कामका सिलसिलामा फराकिलो मानव–सञ्जाल, सम्पर्क सूत्र हुँदै सामाजिक पुँजी बन्छ । बदलामा उसले पेसागत जीवनमा प्राप्त अवसर र निर्मित सामाजिक पुँजी सदुपयोग गरी परिवार, समाज र देशका लागि अपेक्षाकृत काम गर्न र देन दिन सक्छ । यिनै फेहरिस्तसहितको यो किताब एक अनुभवी प्राज्ञको प्रेरणामूलक पेसागत संस्मरण हो ।

पुस्तकमा ‘परिचय’ देखि ‘सिकाइ’ सम्म सात अध्याय छन् । तीमध्ये तीनवटा नेपाल, एक श्रीलंका, एक नन्करियर राजदूतका रूपमा लाओस र एक विशेष दूतका रूपमा उत्तरपूर्वी एसियाली क्षेत्रका कम्बोडिया लगायतका देश साथै अन्य देशमा अनौपचारिक वा विभिन्न स्वरूपका कूटनीतिक भूमिका केन्द्रित छन् । प्रा. मुनीको पेसागत विज्ञता र जीवनको सुरुवात भारत–नेपाल सम्बन्ध

अध्ययन अनुसन्धानबाट सुरु भएको छ । सैद्धान्तिक रूपले एक विज्ञ राष्ट्रियतामा सीमित हुनुहुन्न भनिए पनि विश्वमा अन्तर्देशीय राजनीतिक सीमा अस्तित्वमा रहँदासम्म व्यक्ति पूर्णत अन्तर्राष्ट्रिय नागरिक बन्न र राष्ट्रियताको बन्धनबाट बाहिर निस्कन सम्भव नहुने व्यवहारवादी पाटाहरू पर्याप्त भेटिन्छन् । आफ्ना अध्ययन र संलग्नता भएका देशहरूकै आन्तरिक राजनीति होस् वा परराष्ट्र सम्बन्धमा चिन्तन गर्दा होस् उनी नागरिक केन्द्रित छन् । नागरिक केन्द्रित राज्य, जनचाहअनुरूप चल्ने खालको शासन प्रणाली स्थापना र स्थायित्व हुन सके मात्रै आन्तरिक, क्षेत्रीय र विश्व समाजमा सुख, शान्ति तथा समुन्नति सम्भव हुन्छ भन्ने सोच उनमा देखिन्छ । त्यसका लागि शासक जनताले छान्न पाउनुपर्छ, उसले जनचाहना अनुरूप काम गर्नुपर्छ । यस अर्थमा उनी गैरराजनीतिक तथा राजनीतिक मूल्यमान्यताविहीन छैनन् । सामाजिक लोकतन्त्रका धुरन्धर पक्षधर र कुनै पनि स्वरूपको निरंकुशताका कट्टर विरोधी देखिन्छन् उनी । पक्षधरता र विरोध दुवै तथ्य, तर्क र प्रमाणमा आधारित छन्, त्यसैले उनलाई मन नपराउनेहरू उनको प्रभावकै तहमा पुगेर प्रतिवाद गर्न सक्दैनन् ।

नेपालमा प्रजातन्त्र हुँदै लोकतन्त्र स्थापना र श्रीलंकामा तमिल विद्रोहका क्रममा शान्तिका पक्षमा वकालत गरेको मात्र होइन, विद्रोहीहरूसँग भेट्ने–बुझ्ने, राय दिने र तिनलाई शान्ति प्रक्रियामा ल्याउन संस्थापनसँग सहजीकरणसमेत गरेको देखिन्छ उनले ।

त्यसो सोच्दा उनी भारतको हित केन्द्रमा राख्छन्, जुन नागरिक कर्तव्य पनि हो । भारतसँग खुल्ला सिमाना भएको र नागरिक तहसम्म विविध सम्बन्ध भएको छिमेक नेपालका माओवादी विद्रोहीलाई मूलप्रवाहीकरण नगरी थुप्रै विद्रोही समूहको सामना गरेको भारतका लागि पनि फाइदा नहुने संस्थापनलाई सहमत बनाउन उनले गरेको पहल र प्राप्त परिणाम उल्लेखयोग्य छ । अर्कोतिर दक्षिण भारतमा ठूलो जनसंख्या र साझा राष्ट्रियता भएका श्रीलंकाका तमिल विद्रोहीका असन्तुष्टि सम्बोधन गरेर मूलप्रवाहीकरण गर्ने सवालमा पनि उनको प्रशस्त मिहिनेत देखिन्छ । यद्यपि भारतीय सहजीकरण स्वरूप नेपालमा दलहरू एक ठाउँ आए अनि जनआनदोलनमार्फत शान्ति प्रक्रिया र लोकतन्त्र स्थापना सम्भव भयो, तर श्रीलंकामा तमिल मुद्दा सम्बोधन भएन । त्यसको सविस्तार कारण पनि उनले किताबमा समेटेका छन् ।

भारतको छिमेक वा अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा जब द्विदेशीय, बहुदेशीय विषय र विवादको कुरा आउँछ उनी भारतीय राष्ट्रहितको पक्षमा उभिएको र प्रतिरक्षा गरेको पाइन्छ । तर, त्यसोगर्दा कतिपय उनका विचार संस्थापनसँग मेल खायो भने उनी समर्थन र प्रतिरक्षा गर्छन् । जब मिल्दैन विकल्प सहित आलोचना गर्छन् । यद्यपि आपसी साझा हितका विषय र बहसमा उनी थप प्रवर्द्धनको पक्षमा वकालत गर्छन् । एउटा प्राज्ञले देश र राष्ट्रका लागि गर्ने पनि यही हो । एक प्राध्यापकको पुँजी उसको उत्पादित मानवस्रोत र प्रकाशन हुन् । र, प्राज्ञका हैसियतले हेर्दा उसको विषयगत क्षेत्रमा कार्यरत देशभित्र र बाहिरका मानिसको समूह, सञ्जाल अनि समाज हो, जसलाई सामाजिक पुँजी भनिन्छ । जिम्मेवारी पाए एक प्राज्ञले आफ्नो सामाजिक पुँजी परिचालन गरेर कसरी राष्ट्रहितको पक्षमा परिणाम ल्याउने पहल गर्न सक्दोरहेछ भन्ने मोडेलका रूपमा प्राध्यापक मुनीको कर्मलाई हेर्न सकिन्छ । संयुक्त राष्ट्रसंघको पुनःसंरचनाको मुद्दा उठाउन, दक्षिणी विश्वलाई जगाउन र भारतलाई स्थायी सदस्यमा प्रस्ताव गर्न सहमत गराउन तोकिए बमोजिमको उनको काम उदाहरणीय छ ।

भारतीय विदेश नीति निर्माण र सञ्चालनमा अहिले पनि कर्मचारीतन्त्र नै हावी छ । विदेशसेवा बाहिरका, जो उनीहरूलाई प्रशिक्षण दिने र अनुसन्धान गर्न सघाउने प्राज्ञ हुनसमेत सहजै स्वीकार्न नसक्ने र तिनको संलग्नता आफ्नो आधार क्षेत्रभित्र घुसपैठ ठान्ने सोच हावी रहेको देखिने थुप्रै घटना र प्रसंग पुस्तकमा समेटिएका छन् ।

जनता दल नेतृत्व सरकारको छनोटमा परेका थिए मुनी । बीजेपी र कंग्रेस नेतृत्वका पछिल्ला सरकारले उनको राजीनामा अस्वीकृत गर्नु र ढुक्कले कार्यकाल पूरा गर्न विश्वास दिनुले उनको राजनीतिक सर्वस्वीकार्यता देखिन्छ । सुरुवातका यावत् दुर्व्यवहार बाबजुद नियोग पुगेपछि कर्मचारी प्रशासनको उनीप्रतिको व्यवहार र सहयोग सामान्य, मजबुत बन्दै गएका प्रसंग प्रेरणादायी छन् ।

द्विदेशीय विवादका विषयमा प्राज्ञलाई अध्ययन–अनुसन्धान गराउने भारतीय अभ्यास अनुसार नेपाल–भारत शान्ति तथा मैत्रीसन्धि–१९५० र व्यापार तथा पारवहन सन्धि अध्ययनको जिम्मेवारी पनि उनलाई दिइएको थियो । उनले नेपाली नेताका सबल मात्र नभई थुप्रै दुर्बल पक्ष पनि किताबमा लेखेका छन् । भारतको स्वतन्त्रता आन्दोलनदेखि नेपालको प्रजातन्त्र र लोकतन्त्रका आन्दोलनमा नेपाली कांग्रेस–कम्युनिस्टले भारतीयसँग सहकार्य गरेका विषयलाई सामान्यीकरण गरिन्छ । तर, दरबारिया कित्ता यसलाई ‘दलाल’ भाष्य बनाउँछ र दलहरूविरुद्ध दुष्प्रचारमा प्रयोग गर्छ । तर, दरबारनिकट रहेर आजीवन अवसर पाएका व्यक्तिसमेत गणतन्त्रमा मन्त्री माग्न कोसेली बोकेर जेएनयू प्राध्यापकको क्वार्टरसम्म पुगेका फरक दृष्टान्त यस पटक किताबबाट खुलेका छन् ।

राजनीति विज्ञानको प्रयोगशाला समाज हो, जहाँ एउटै विषयवस्तुप्रतिको हेराइ–बुझाइमा विविधता हुन्छ । विचार निर्माणमा व्यक्तिको पृष्ठभूमि, दृष्टिकोण, विधागत ज्ञान र पहुँच जस्ता विषय निर्णायक र निर्धारक हुने हुनाले पुस्तकमा सबैखाले पाठकका रुचि र विश्लेषणलाई ठाउँ छ ।

नेपालबारे केही नाम, मिति, राजनीतिक–ऐतिहाासिक घटनामा समेत नेतृत्वका विचार, सिद्धान्त र परिवेशसँग बाझिने विषय (जस्तै ‘सिक्किम भारतमा समाहित गर्ने भारतीय भूमिकाको बीपीले समर्थन गरेका थिए’) परेका छन् । वाक्यांशमा परेका यस्ता गहन विषयमा तथ्य र प्रमाणमा आधारित खोजमूलक थप प्रकाशनको पाठकीय अपेक्षा स्वाभाविक छ ।

प्रकाशित : चैत्र १७, २०८० १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्मा हाजिर गरेर टाप कस्ने, बैठकमा पूर्ण समय नबस्ने सांसदहरूबारे तपाईंको के टिप्पणी छ?