कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

दिमाग घोच्ने मान्छेको बकपत्र

‘ह्वाई नेपाल ?’ जीवनी होइन, न हो आफ्नो गौरवगाथा । किताबमा छ– उज्ज्वल थापाका केही प्रयोग, आत्मसमीक्षा र हाम्रा यथास्थिति झल्काउने विचार । 
मिलन पाण्डे

उत्साहान्निर्श्चयाध्दैर्यात् तत्तत्कर्म प्रवर्तनात् ।
संगत्यागात्सतो वृत्ते: षङ्भिर्भक्ति: प्रसिद्धयति ।।

दिमाग घोच्ने मान्छेको बकपत्र

श्रीमद्भगवद् गीताको यो श्लोकले भन्छ सफलता, प्रसिद्धिका लागि ६ वटा काम गर्नु आवश्यक छ– उत्साहित हुने, निश्चय: (अठोट) गर्ने, धैर्य राख्ने, आफ्नो उद्देश्यका लागि जुन–जुन काम आवश्यक पर्छ त्यो त्यो काम मात्रै गर्ने, खराब व्यक्ति/शक्तिको संगत नगर्ने र सकारात्मक–सही व्यक्तिको मात्रै संगत गर्ने । मलाई थाहा छैन, ‘ह्वाई नेपाल ?’ पुस्तकका लेखक स्व. उज्ज्वल थापालाई यो श्लोक थाहा थियो वा थिएन, तर यी ६ विषय भने लेखकको व्यवहारमा झल्किन्थ्यो । पुस्तक पढ्दै जाँदा पाठकले यी विषय महसुस गर्लान् नै ।

‘ह्वाई नेपाल ?’ पुस्तक उज्ज्वल थापाको जीवनको शब्दकोश हो । अंग्र्रेजीमा लेखिएको यो पुस्तक पढ्दै गर्दा अन्त्यमा पाठकको दिमागमा एउटा चित्र बन्छ, हो त्यही व्यक्ति हुन् उज्ज्वल थापा । यात्रा प्रकाशन गृहले प्रकाशित गरेको पुस्तक

‘ह्वाई नेपाल ?’ हात पर्नेबित्तिकै यसको नाम किन ‘ह्वाई नेपाल ?’ रह्यो भन्ने पहिलो प्रश्न दिमागमा आउँछ । पुस्तकको मात्रै होइन, उज्ज्वल थापाको वेबसाइटको नाम पनि ह्वाई नेपाल नै हुने गर्थ्यो । अहिले पनि त्यही छ ।

उनलाई व्यक्तिले भन्दा पनि विचारले स्थान पाओस् भन्ने लाग्थ्यो, त्यसैले उनी आफ्नो नामभन्दा विचारलाई मान्छेले पढुन् भन्ने चाहन्थे । यतिसम्म कि वेबसाइटका उनका लेख, विचारलाई उनले ‘कपी राइट फ्री’ बनाएका थिए । एउटा स्ट्याटससमेत चोरी भयो भनेर हंगामा हुने समाजमा थापाको यो बुझाइ आफैंमा उल्टो थियो । उनको बुझाइ उल्टो थियो वा अहिलेको जमानै उल्टो हिँडिरहेको छ, पुस्तकमा कैयौं ठाउँमा यही प्रश्नले दिमाग घोच्छ ।

कुनै पनि आइडिया फैलाउन उक्त विषय वा विचारबारे तीन प्रश्न अर्थात् ‘किन ? कसरी ? के’ मा स्पष्ट हुनु जरुरी छ भन्ने थापाले सुरुमै एउटा चित्रमार्फत दर्शाएका छन् । किताबको नाम त्यही पहिलो प्रश्नबाट ‘ह्वाई नेपाल ?’ राखियो ।

उज्ज्वल थापा आफूलाई दिमाग घोच्ने मानिस भनी चिनाउँथे । उनले दिने गरेको आफ्नो परिचयजस्तै यो किताब पनि दिमाग घोच्ने किताब हो । यो किताब थापाको जीवनी होइन, न हो उनको गौरवगाथा । यो किताब त थापाको केही प्रयोग, केही आत्मसमीक्षा अनि केही हाम्रा यथास्थिति झक्झक्याउने विचारहरूको संग्र्रह हो ।

किताब उज्ज्वल थापाको परिचय र यात्राबाट सुरु हुन्छ । सुरुमै उनी आफ्नो ११ कक्षाको एउटा प्रसंग लेख्छन् । उनी ओ लेभल (११ कक्षा) को अन्तिम परीक्षा दिन परीक्षा हलमा हुन्छन् । परीक्षा अंग्र्रेजी साहित्यको रहेछ । परीक्षामा थापाको राम्रो तयारी रहेनछ । जब उनले प्रश्नहरू पढे, उनी फेल हुने भएँ भनेर आत्तिएछन् ।

उनी कार्टुनहरू बनाउन रुचि राख्थे । सँगै काम गर्दा पार्टीको केन्द्रीय कमिटीमा पनि उनी कार्टुन बनाउने गर्थे । त्यतिबेला परीक्षाको हलमा उनले सोचेछन्– यदि फेल नै हुने हो भने किन यत्तिकै फेल हुनु, प्रश्नको जवाफमा कार्टुनहरू बनाउँछु, यसै फेल उसै फेल । उनले प्रश्नको उत्तर कार्टुनमार्फत दिन थालेछन्, कमिक बनाएर । यसरी चित्र बनाउन थालेको देखेर साथीहरूले सोधेछन्– के गरेको ? उनी लेख्छन्, ‘मैले यसो गरेको देखेर मेरा साथीहरू मेरा लागि मभन्दा दु:खी थिए ।’ केही साथीहरूले उनको मजाक पनि उडाएका रहेछन् । केही समयपछि क्याम्ब्रिज युनिभर्सिटी परीक्षा बोर्डबाट नतिजा आएछ । आफ्नो नतिजा हेर्दा उनी आफैं छक्क परेछन् । उनी पास मात्र भएका रहेनछन्, राम्रो नम्बर ल्याएका रहेछन् । उनले पछि थाहा पाएछन्, यो घटनाबाट प्रेरित भएर पछि केही तल्लो कक्षाका भाइबहिनीले पनि यस्तै चित्र बनाएका रहेछन् । उनीहरू भने फेल भएछन् ।

उनले अन्तिममा ‘अरूले पनि यस्तै गर्दा फेल भएछन्’ भनी एक लाइन लेख्नुको पनि अर्थ छ । उनी पुस्तकमा सफल हुन अरूलाई कपी गरेर नहुने सन्देश प्रत्येकचोटि दिइरहेका हुन्छन् । किताबको पहिलो निबन्धको शीर्षक छ, ‘मेरो हारको बायोडाटा’ । जितको पछि दौडिरहेको पुस्तालाई उनी पहिलो निबन्धमै आफ्ना हारहरू देखाउँछन् । उनले दुई चोटि चुनाव हारेको कथा, उद्यम गर्दा भोग्नुपरेको असफलताबाट पुस्तक सुरु हुन्छ । पुस्तक पढ्दै जाँदा फास्ट फुडको जमानामा अर्ग्यानिक स्वस्थ खाना खाएझैं महसुस हुन्छ ।

दोस्रो निबन्धको शीर्षक छ– ‘जब तिमी मर्नेछौ, तब मानिसले तिम्रा बारेमा के लेख्लान् ? कसरी मानिसहरूले तिमीलाई सम्झेलान् ?’ उक्त निबन्ध एउटा काल्पनिक श्रद्धाञ्जली–पत्रबाट सुरु हुन्छ । र, पाठकलाई उनी प्रश्न सोध्छन्– के तिमीहरू मर्दा कसैले यस्तै पत्र लेखोस् भन्ने चाहन्छौ ? थापा अन्तिममा फेरि ‘कल्पना गरौं, तिमी मर्छौ र सयौं साथीभाइ, परिवार तिम्रो जीवनलाई उत्सवका रूपमा मनाउन भेला भइरहेका छन् । उनीहरू तिम्रा बारेमा उक्त भेलामा के कुरा होस् भन्ने चाहन्छौ ?’ भनेर गहिरो प्रश्नले हामी इगो बोकेर बसिरहेकाहरूलाई सिस्नो–पानी हान्छन् । कुनै बेला भिक्षु हुन हिँडेका थापाले यो पुस्तक कोरोनाबाट निधन हुनु करिब २ वर्षअघि लेखेका थिए । उनलाई चिन्ने जो कोहीको पनि यो निबन्ध पढ्दै गर्दा आँखा रसाउँछ । पाठक पुस्तक पढ्दै गर्दा थापाको गहिरो अध्यात्मबारे सोचमग्न हुन्छन् ।

उनको एउटा अर्को निबन्धले फेरि पाठकलाई झकझक्याउँछ, ‘बुद्ध नेपालमा जन्मिएका थिए, अनि, के भो त ?’ उनले हामी नेपाली बुद्ध नेपालमा जन्मिएका हुन्, यसमा हामी सबै गर्व गर्छौं, तर के बुद्ध फेरि आजको नेपालमा जन्मिन चाहन्छन् त ? भनेर प्रश्न सोधेका छन् । नेपालीलाई अन्याय हुँदा मौन रहेको देखेर बुद्ध के सोच्दा हुन् ? देश छोड्ने लाइन युवा देखेर बुद्धले के गर्दा हुन् ? नेपालीहरू जातको, धर्मको, पार्टीको नाममा विभाजित देखेर बुद्ध के गर्दा हुन् भनेर पाठकलाई नै लामा प्रश्नहरू सोधेका छन् ।

नेपालको राजनीति र नेतृत्वको चरित्र, उद्यमशीलताको वर्तमान अवस्था र भविष्यको सम्भावना लगायत विषय पुस्तकमा छ । पुस्तकमा लेखक थापाले तराई, पहाड, हिमाल घुम्दा देखेका दृश्य, घटनालाई फरक कोणबाट देखाएका छन् ।

लेखक थापाले नेपाल किन असफल भयो, कसरी सफल हुन सक्छ भन्ने विषयमा आफ्ना विचार राखेका छन् । उनले एउटा प्रश्न बारम्बार गरेका छन्– ‘हामी नेपाली व्यक्तिगत रूपमा सफल छौं, तर किन सामूहिक रूपमा असफल छौं ?’ उनले हालको दलहरूको राजनीतिलाई लुटतन्त्रको संज्ञा दिएका छन् । पुस्तकमा प्रश्नै प्रश्नहरू छन् । तर, जब हामी पुरै पुस्तक पढ्छौं, तब पुरै उत्तर पाउँछौं ।

यो पुस्तक युवा व्यवसायीहरूका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ । उज्ज्वल थापा आफैं उद्यमी थिए । पुस्तकमा थापाले नेपालमै उद्यम किन गर्नुपर्छ भनेर १० कारणबारे चर्चा गरेका छन् । थापाको राजनीतिको उद्देश्यै उद्यमशील समाज बनाउनुथियो । पुस्तकको एउटा निबन्धमा थापा युवा विद्यार्थीहरूलाई कलेज सक्नुअघि यी १२ काम गर्न च्यालेज गरिरहेका हुन्छन् । अर्को निबन्धमा थापा पाठकलाई प्रश्न गर्छन्– ‘तपाईंले आफूलाई १०० प्रतिशत वा ५० प्रतिशत वा १० प्रतिशत पनि परिवर्तन गर्नुपर्दैन, के १ प्रतिशत परिवर्तन गर्न सक्नुहुन्छ ?’ उनी यदि नेपालीहरूले आफूलाई सानो परिवर्तन गरे पनि ठूलो परिवर्तन आउने १५ कुरा बत्ताउँछन् ।

उनी नेपालमा अभियान कसरी गर्न सकिन्छ भनेर अनुभवहरू शब्दमार्फत समेत साट्छन् । थापा विवेकशील नेपाली पार्टीका संस्थापक अध्यक्ष हुन् । उनले नेपालमा नयाँ शान्तिपूर्ण सडक आन्दोलनको सुरुवात गरेका थिए । उनले यो पुस्तकमा सडकको शक्तिलाई पनि दर्शाएका छन् । २१ औं शताब्दीको नागरिक कस्तो हुनुपर्छ, नेता कस्तो हुनुपर्छ ? व्याख्या गरेका छन् । उनले नेतृत्वबारे एक लाइनमा ‘नेतृत्व भनेको पूर्वतयारी हो’ भनेका छन् ।

पुस्तकको अन्त्यमा उनी सन् २०३० सम्मका लागि ३० वटा भविष्यवाणी गर्छन् । नेपालको लोकतन्त्र, संविधान, राजनीति, उद्यमबारे भविष्यवाणी गरेका थापा अन्तिम भविष्यवाणी भने यी माथिका भविष्यवाणी मिल्ने र आफूलाई नयाँ भविष्यद्रस्टाका रूपमा चित्रण गर्ने, तर आफू उक्त पदवी लिन अस्वीकार गर्ने मजाकसमेत गर्छन् । उनको लेखहरूमा रहेको ठट्यौली शैलीले नै पाठकलाई तानिरहेको हुन्छ ।

किताबको अर्को विशेषता हो, प्रत्येक पाठपछि थापाले पाठकलाई केही काम दिएका छन्, केही प्रश्न सोधेका छन्, जसले पाठकको दिमाग घोची नै रहन्छ । पुस्तकको अन्त्यमा, उज्ज्वल थापाले बनाएका कार्टुनहरू छन् । थापाले जसरी जीवन बाँचे, त्यसरी नै यो पुस्तक हामीलाई उपहार दिएर गए ।

उनले पुस्तक विमोचनको तडकभडक, तामझाम गर्न चाहेनन् । कोरोना संक्रमणका कारण निधन भए पनि उनी आफ्ना विचारमार्फत र यो पुस्तकमार्फत बाँचिरहनेछन् ।

प्रकाशित : चैत्र १०, २०८० ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?