३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

आईपीएलको सनसनी र चुनावी गर्मी

विश्व क्रिकेटमा जति राम्रा खेलाडी छन्, उनीहरूले खेल्ने आईपीएल र भारतीय लोकसभा चुनावको सनसनी समानान्तर अगाडि बढेको छ
हिमेश

काठमाडौँ — सोरभ गाँगुली भारतीय क्रिकेट टिमको कप्तान त थिए नै । उनी भारतीय क्रिकेट बोर्ड बीसीसीआईका अध्यक्ष पनि भए । पछि त्यस पदबाट फ्यालिए । त्यो अर्कै कुरा । पाकिस्तानी क्रिकेट खेलाडीलाई इंगित गर्दै उनले बोलेको एउटा भिडियो क्लिप खुबै भाइरल भएको थियो । त्यसमा उनी भनिरहेका थिए, प्रायोजकमा रूपमा भारतीय क्रिकेटमा पैसा आउने त कति हो कति । पैसा देऊ भनिरहनु पर्दैन । उल्टै व्यापारिक संस्थाहरू यो हाम्रो पैसा लेऊ भन्न आउँछन् ।

आईपीएलको सनसनी र चुनावी गर्मी

सुरु–सुरुमा यो बीसीसीआई गरिब थियो । पछि धनी भयो । अहिले अति धनी छ । सुरु–सुरुमा यो बीसीसीआई कमजोर पनि थियो । पछि शक्तिशाली बन्यो । अहिले अति शक्तिशाली पनि छ । यो धनी र शक्तिशाली बीसीसीआईले विश्व क्रिकेटमा जे भन्छ त्यही हुन्छ । खासमा सन् नब्बेसम्म पनि भारतीय क्रिकेटको एउटा ठूलो गुनासो थियो, यो विश्व क्रिकेटमा इंग्ल्यान्ड र अस्ट्रेलियाको प्रभुत्व किन ? किन गोराको मात्रै आवाज चर्को ?

अहिले तिनै इंग्ल्यान्ड र अस्ट्रेलियालाई आफ्नो हातमा लिएर भारतले विश्व क्रिकेट हाँकिरहेको छ । भनिरहनु पर्दैन, बीसीसीआईलाई पुराना दिन सम्झने फुर्सद पनि छैन । यो सबै चर्चा फेरि दोहोर्‍याएर किन भन्दा हिजैदेखि इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ सुरु भएको छ । अहिलेसम्म जम्माजम्मी दुई साताको खेल तालिका मात्र बाहिरिएको छ । यसपल्टको १७ औं संस्करणको प्रतियोगिता कहिले कहाँनिर गएर टुंगिनेछ, त्यो नै टुंगो छैन ।

यो चिन्ता किन भन्दा जुन १ देखि वेस्ट इन्डिज र अमेरिकामा सुरु हुँदै छ, ट्वान्टी ट्वान्टी वर्ल्डकप । यो त भोलि–पर्सि नै भन्दा पनि हुन्छ । कतै यो वर्ल्डकप नै यसपल्टको आईपीएल अगाडि ओझेलमा पर्ने त होइन ? सायद हुन सक्छ । सायद नहुन पनि सक्छ । सायद किन हुन सक्छ भने आईपीएल सकिएलगत्तै थाकेका खेलाडीले नै विश्वकप खेल्ने हो । त्यसैले त्यो फिक्का हुन सक्छ । होइन, यो वर्ल्डकपलाई अहिलको आईपीएलले लय दिनेछ ।

रोमाञ्चकको बाटो तयार पार्नेछ, त्यसैले सायद नहुन पनि सक्छ । त्यो भनेको आईपीएलकै कारण यो वर्ल्डकप अझ रोमाञ्चक हुन सक्नेछ । कम्तीमा एउटा तथ्य भने निश्चित छ । अबको तीन चार महिना क्रिकेट मन पराउनेका लागि ट्वान्टी ट्वान्टी क्रिकेटको रोमाञ्चकताले हद नाघ्नेछ । हाम्रैतिर पनि आईपीएलको रोमाञ्चकले आकाश हुनेछ । त्यसपछि अबको वर्ल्डकपमा नेपाल पनि खेल्दै छ, त्यसैले आईपीएललाई आधार मानेर वर्ल्डकपका गफ बाक्लिनेछन् ।

त्यसैले अलिकति सकारात्मक होऔं । आईपीएलमै सोझै जाने हो भने त्यहाँ पनि केही प्रमुख प्रश्न छन्, जसले यो प्रतियोगिता कसरी अगाडि बढ्नेछ, त्यो भन्नेछ । यो प्रतियोगिताको इतिहासकै सबैभन्दा सफल दुई टिम हुन्, चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स । दुवैले पाँच–पाँच पल्ट आईपीएल जितेको छ । नेतृत्वमा नभए पनि चेन्नईबाट फेरि एकपल्ट महेन्द्रसिंह धोनी खेल्दै छन् । प्रश्न हो, यी धोनीले खेल्नेचाहिँ कहिलेसम्म हो ? कुनै दिन त रोकिनुपर्ला, ४२ वर्षका त भइसके ।

आईपीएलबाट धोनीले अहिले संन्यास लिने हो कि भोलि, कसैले अनुमानसम्म गर्न सकिरहेका छैनन् । पोहोर साल धोनीले एउटा खेलाडीका रूपमा खेल्नै सकेनन् । घुँडाको चोट बोकेरै खेले । इनिङ्सको अन्त्यतिर एउटा दुइटा चौका छक्का प्रहार गर्न आउँथे । तर पनि उनले चेन्नईलाई लिएर नै उपाधि दिलाए । खासमा उनको गुण भन्नु नै कप्तानी हो । कप्तानी गर्दै उनले चेन्नईलाई धेरै गुन लगाइसकेका छन् । धेरै सम्भावना छ, धोनीले खेल्ने यो नै अन्तिम आईपीएल हुनेछ ।

मुम्बई टिममा भने एक खाले भाँडभैलो चलिरहेको छ । धेरैलाई कप्तानका रूपमा हार्द्धिक पान्ड्यालाई जिम्मेवारी दिएकोमा चित्त बुझाइरहेको छैन । पछिल्लो आईपीएलमा उनी गुजरात टाइटन्सका कप्तान थिए । त्यस अगाडि लामै समय मुम्बईबाट खेले । नियमित कप्तानी गरिरहेका रोहित शर्मालाई हटाउन पान्ड्यालाई विवादबीच गुजरातबाट झिकाइएको थियो । शर्मा यतिखेर भारतीय टिमकै कप्तान हुन् । मुम्बईलाई किन उनी भन्दा पान्ड्या प्यारो त ?

यसलाई पनि बुझ्न गाह्रो छ । तर यसमा केही न केही दम हुनुपर्छ । अम्बानी परिवारले यो टिम हाँक्छ । त्यसैले केही सोचेर नै यो निर्णय भएको हुनुपर्छ । फेरि शर्माको नेतृत्वमा मुम्बईले गत सिजन साह्रै अति नै खराब खेलेको थियो । चेन्नई र मुम्बई आईपीएलका सबैभन्दा सफल टिम हुन् भने यो प्रतियोगिताकै सबैभन्दा असफल टिम हो, रोयल च्यालेन्जर्स बेंगलोर । यसपल्टदेखि उसले नयाँ नाम राखेको छ, रोयल च्यालेर्न्स बेंगलुरु ।

छोटकरीमा आरसीबी नै । यो टिमले कहिल्यै आईपीएल जित्न सकेको छैन । उपाधि जित्ला–जित्ला जस्तो भने छाँट प्रत्येक पल्ट देखाउँछ । तर जित्न भने सक्दैन । अन्त्यमा चुक्ने यही टिम हो । त्यसैले यो असफल टिम नै हो । यो टिममा सबैभन्दा ठूला नाम हुन्, तिनै विराट कोहली । भनेपछि कोहलीले आफू जत्तिकै राम्रो खेलाडी भएर पनि आईपीएल जित्न सकेका छैनन् । उनले सुरुदेखि यही टिमका लागि खेले र यसलाई फेरेर अन्यत्रबाट कहिले पनि खेल्दिनँ पनि भनिसकेका छन् ।

त्यसैले डर छ, कतै कोहलीको सीबीमा कहिल्यै आईपीएल उपाधि नहुने त होइन ? अब भने भन्न सुरु भएको छ, यसपल्ट कोहलीले आईपीएल जित्ने हो भने जित्यो । नत्र पछि सक्दैन । उनीसामु अन्तिम मौका छ । उनी आफैं पनि ३६ वर्षका भए । पारिवारिक कारणले उनले इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिज पनि खेलेनन् । लामै समय मैदान बाहिर रहेका कोहली आईपीएलमा एकाएक जस्तै देखिँदै छन् । लयमै छन् कि त्यसलाई गुमाइसके ? कोहलीलाई लिएर यो अर्को प्रश्न भयो ।

एउटा अर्को खेलाडीमा पनि सबैको नजर हुनेछ र उनी हुन्, ऋषव पन्त । यी विकेटकिपर ब्याटरले दिल्ली क्यापिटल्सको कप्तानी पनि गर्नेछन् । पन्तले फेरि खेल्न थालेकोमा अचम्मै मान्न सकिन्छ । सन् २०२२ मा उनी भयंकर गाडी दुर्घटनामा परेका थिए । भाग्यमानी थिए, त्यसैले बाँचे । उनको त्यति बेलाको स्थिति हेर्दा उनकै नजिकको अनुमान थियो, अब फेरि उनले क्रिकेट खेल्न सक्ने छैनन् । तर सबैको अनुमान गलत सावित गर्दै उनी मैदानमा फर्केका छन् ।

यसका लागि उनले कति धेरै मिहिनेत गरे, के कस्तो उपचारमा संलग्न भए, यसबारे छुट्टै चर्चा आवश्यक छ । तर जसरी फेरि उनले क्रिकेट खेल्न सुरु गरे, त्यसका लागि उनलाई सलाम एकचोटि त गर्नै पर्छ । उनले अलिकति मात्रै राम्रो गर्नुपर्छ, उनी पनि पर्नेछन्, ट्वान्टी ट्वान्टी वर्ल्डकप खेल्ने भारतीय टिममा । खासमा उनी मात्र होइन्, यो प्रतियोगितामा जो जतिले राम्रो गर्नेछ, उनीहरू नै आ–आफ्नो देशको राष्ट्रिय टिममा पर्ने हुन् ।

यहाँनिर भनिरहनु पर्दैन, विश्व क्रिकेटमा जति राम्रा खेलाडी छन्, तिनीहरूले नै त खेल्ने हो, आईपीएल । यो सबै पृष्ठभूमिबीच आईपीएल र ट्वान्टी ट्वान्टी वर्ल्डकपमाथि एउटा तेस्रो पक्षको प्रभाव कहाँनिर हुनेछ, त्यो पनि हेर्नलायक रहनेछ । र, यो हो, भारतमा हुन लागेको ६ साता लामो आम चुनाव । अप्रिल १९ देखि जुन १ सम्म त्यो चुनाव हुनेछ । सुरक्षाको मुद्दा मूल हुनेछ । क्रिकेट हुँदा पनि अपार सुरक्षा व्यवस्था आवश्यक हुन्छ ।

चुनाव हुँदा यो सम्भव नहुन सक्छ । जे होस्, क्रिकेट र भारतीय राजनीतिको सनसनी समानान्तर अगाडि बढ्नेछन् । दुवैतिर बहस उत्तिकै हुनेछ । यसबीच आईपीएल ठूलो कि वर्ल्डकप भन्ने प्रश्नको उत्तर मान्छेपिच्छे फरक हुन सक्छ । त्यसलाई गौण राखेर यो पनि प्रश्न पनि हुन सक्छ, भारतमा क्रिकेटभन्दा त्यहाँको राजनीति ठूलो कि सानो ? ठूलो त राजनीति नै होला । तर चर्चा बेसी कसको हुनेछ त ? हेर्दै जाऔं, मज्जा लिँदै जाऔं न हामी ।

प्रकाशित : चैत्र १०, २०८० १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?