कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एउटा घरको दिनचर्या

सबेरै उठेर एकजोर चुरा र पाउजुको लय हतार–हतार

एउटा घरको दिनचर्या

– पाधेरो पुग्छ

– पूजाकोठा पुग्छ

– भान्साघर पुग्छ

– कोठेबारी पुग्छ

– गाईगोठ पुग्छ

– जुठेल्ना पुग्छ ।


व्यस्तता यति आक्रामक बनिदिन्छ कि,

एउटा हातलाई काम गर्न मेलो पठाउाछ

अर्को हातलाई फूलहरुको स्याहार गर्न बगैंचा पठाउँछ

एउटा खुट्टालाई सरसापट खोज्न गाउँ पठाउँछ

अर्को खुट्टा आफौ बिरामी छ, त्यसलाई

देवारी खोज्न पठाउँछ

एउटा कानलाई बूढो खोकी र दमको गुनासो सुन्न पठाउँछ

अर्को कानलाई चौतारीमा कचहरी सुन्न पठाउँछ


कतै बाख्रा पो झुन्डियो कि !

एउटा आँखालाई टाट्नोमा पठाउँछ

हिजो बाली खायो भन्दै छिमेकी रिसाउँदै थियो

एउटा आँखालाई अर्मल हेर्न पठाउँछ ।


एउटा बाटोलाई कोरीबाटी गरी पाठशाला पठाउँछ

अर्को बाटोलाई टाइसुटमा सजाएर कार्यालय पठाउँछ

फेरि अर्को बाटोलाई सौदाबाजी गर्न बजार पठाउँछ

डोको र नाम्लोलाई फकाइफुल्याई गरी

गैह्री खेत पठाउँछ


पाठशाला पठाएको बाटो

सिसाकलम र अक्षर हराएर फर्किन्छ

कार्यालय पठाएको बाटो लर्बरिँदै लर्बरिँदै साँझमा

उज्यालो हराएर फर्किन्छ

सौदा गर्न बजार पठाएको बाटो

स्वयम् आफैं बेचिएर फर्किन्छ

हरियो गीत खोज्न गैह्रीखेत पठाएको

डोको र नाम्लो

बदमास समयको आँखाहरुले पोलेको

निलडाम लिएर फर्किन्छ ।


कहिले खुट्टा ढोगेर परदेश गएको बाटोले

अभर परेको खबर पठाउँछ

त कहिले आशीर्वादको मुकुट पहिर्‍याएर सहर पठाएको बाटो

सपना हराएर फर्किन्छ ।


तर, उनी कत्ति पनि विचलित बाँच्दिनन्, बरू सट्टामा

– उत्साहको पालाम गाउँछिन्

– सान्त्वनाको कथा हाल्छिन्

– निराशाको चिहानमाथि स्वाभिमानको बुकी फुल्छिन्


सबेरै उठेर एकजोर चुरा र पाउजुको लय

हतार–हतार

घरलाई उज्यालो आभाले पोत्छ

फूललाई मुस्कानले सजाउाछ

बतासमा शीतलता भर्छ

ममता र आशीर्वादको तान फिाजाएर

हरदम जीवनको लय बुनिरहन्छ ।


प्रकाशित : चैत्र १०, २०८० १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?