डिजिटल उपवास

हामी बुकमा भन्दा फेसबुकमा रमाएका छौं । के हामीले त्यस्तो साथी पाइरहेका छौं, जोसँग सुखदुःख साट्न सकौं ? के कसैले हाम्रो आवाज सुनिरहेको छ ? विज्ञान–प्रविधिले फड्को मारिरहँदा कतै हामी त्यसैको भीडमा हराइरहेका त छैनौं ?

कोही त छ जसलाई म
आफ्नो भन्न सक्छु
हृदयका सबै कुरा
खुलेर भन्न सक्छु
मेरो दुःखमा रोइदिने
मेरो खुसीमा हाँसिदिने
सबैभन्दा माथि छ
मेरो एउटा साथी छ
गायक सुगम पोखरेलको माथिको गीतले भनेझैं मान्छेलाई सुखदुःखमा साथ चाहिन्छ । हामी दुःखमा समानुभूति प्रकट गर्न र खुसीमा उत्सव मनाउन साथी खोज्छौं । चाहन्छौं, हाम्रो आवाज कसैले सुनिदेओस् ! तर, के हामीले त्यस्तो साथी पाइरहेका छौं त, जोसँग सुखदुःख साट्न सकौं ? के कसैले हाम्रो आवाज सुनिरहेको छ ? विज्ञान–प्रविधिले फड्को मारिरहँदा कतै हामी त्यसैको भीडमा हराइरहेका त छैनौं ? मानव जीवनलाई आविष्कारहरूले सहज त बनाएको छ, तर किन मानिसहरू विक्षिप्त छन् ?

डिजिटल उपवास

हिजोका चौपारी, पानीपँधेरो, चियापसल वा ‘कफीहाउस’ मा हुने जमघट अब ‘सामाजिक सञ्जाल’ को भुलभुलैयामा बदलिएको छ । सामाजिक सञ्जाल प्रयोग गर्नैहुन्न भन्ने त होइन, मिडिया साक्षरता भएका मुलुकका जागरुक नागरिकको समूहले सामाजिक सञ्जाललाई पनि सिर्जनात्मक उपयोग गरिरहेकै छ । तर, भनिन्छ नि– ‘अति भयो भने खती हुन्छ’ ! धेरै भयो भने सामाजिक सञ्जाल पनि जन्जाल बन्छ । हामी कुन सामाजिक सञ्जाल चलाउँछौं भन्ने समस्या होइन, समस्या त कति र कसरी चलाउँछौं भन्ने हो । चौपारीमा बसेर चेस वा बाघचाल खेल्नुसट्टा अनलाइनमा कलब्रेक वा लुडोमा रमाइरहेका छौं । बुकमा भन्दा फेसबुकमा रमाएका छौं ।

टर्किस साहित्यकार एलिफ सफाक निबन्धात्मक पुस्तक ‘हाउ टु स्टे सेन इन एन एज अफ डिभिजन’ मा मानिसहरू भीडमा पनि किन एक्लो महसुस गरिरहेका छन् भन्नेबारे चर्चा गर्छिन् । कोरोना कहरले हामी लामो समय कोठाभित्रै थन्कियौं । त्यसै त सामाजिक सञ्जालको बढ्दो प्रयोगले घटिरहेको हाम्रो आमनेसामने संवाद झन् पातलियो । सफाक लन्डनमा राखिएको एउटा बोर्डको प्रसंग सुनाउँछिन् । कोरोना महामारी समाप्त भएपछि मानिसहरू के चाहन्छन् भन्ने प्रश्न सोधिएको थियो । ‘जब यो सबै समाप्त हुन्छ, तपाईं यो दुनियाँलाई पहिलेभन्दा कसरी फरक देख्न चाहनुहुन्छ ?’ बोर्डमा तरहतरहका उत्तर थिए, त्यसमध्ये सफाकको नजर एउटा पृथक् जवाफमा गयो । ‘मेरो चाहना छ कि मेरो आवाज सुनियोस् । जब यो सबै अन्त्य हुनेछ, म यस्तो एक पृथक् दुनियाँमा बस्न चाहन्छु, जहाँ मेरो आवाज सुनिन्छ ।’

वास्तवमा सामाजिक सञ्जालमा विचारभन्दा बढी छटपटी देखिन्छ । सबैका आ–आफ्ना सपना छन् । हतास छन् मानिसहरू, जुन सामाजिक सञ्जालका पोस्टहरूमा पोखिन्छ । सहानुभूति र ढाडस दिने पनि भेटिन्छन् त्यहाँ, मजाक र खिसिट्युरी गर्ने पनि । यसले झन् हामीलाई दलदलमा फसाएको छ । त्यसैले त सफाकको प्रश्न छ, ‘हामी यस्तो युगमा छौं कि, जहाँ हाम्रा पुर्खालाई भन्दा हामीलाई डिजिटल र मिडिया प्लेटफर्मले समान अभिव्यक्तिको अवसर प्रदान गरेको छ भनिन्छ । तर, पनि यति धेरै मान्छेहरू किन एक्लो महसुस गरिरहेका छन् ?’

भन्न त भनिन्छ– प्रविधिले दुनियाँ पहिलेभन्दा नजिकियो । तर, पनि मानिसहरू टाढा भइरहेका छन् । पहिलेभन्दा बढी हामी विभाजित भएका छौं । सामाजिक सञ्जालमा हामी हाम्रा कुरा सुनाइरहेका छौं, तर किन कसैले सुनिरहेको छैन ? केवल व्यवस्था र सत्ता होइन । केवल पैसा र शक्ति होइन, डेटा र ज्ञान पनि मुठीभर व्यक्तिको कब्जामा रहेको सफाकको मत छ । पछिल्लो समय हामीले फरक मत वा विचारलाई सुन्ने प्रयास नै गरेका छैनौं । सामाजिक सञ्जालमा ‘अल्गोरिदम’ ले पस्किने एकाकी विचारले हामीलाई भुत्ते र असहिष्णु बनाएको छ । फरक लिंग, धर्म, जात वा राष्ट्रका मान्छेलाई ख्यालठट्टाको विषय बनाइएको छ । फरक मत र विचारको मन्थनबाटै नयाँ विषय सिकिने हो, तर हामी सामाजिक सञ्जालमा आउने लाइकका लागि जे पनि बोल्न र लेख्न तयार छौं ।

अनुसन्धान भन्छ– किशोर–किशोरीको सामाजिक जीवनमा आणविक बमजस्तै हो– सामाजिक सञ्जाल । यसले मान्छेलाई तनाव थपिदिएको छ । लाइक, कमेन्ट, सेयर र लभ रियाक्टमा घुमिरहेको छ, उसको मस्तिष्क ।

सामाजिक सञ्जालको बढ्दो प्रयोगले विश्वमै मनोरोगीहरूको संख्या पनि बढिरहेको तथ्यांक सार्वजनिक भइरहेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वमा करिब २८ करोड मानिसले मानसिक समस्या झेलिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्ययन अनुसार, नेपालमा नसर्ने रोगहरूमध्ये १८ प्रतिशत हिस्सा मानसिक रोगको छ । कोभिडअघि नै मन्त्रालयको तथ्यांकमा २ लाख ६५ हजार मानिसमा कुनै न कुनै किसिमको मानसिक समस्या भेटिने गरेको थियो । कोभिडका कारण यो संख्या बढे पनि तथ्यांक आइसकेको छैन । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण नेपाल, २०७७ अनुसार, नेपालमा १३ देखि १७ वर्षका ५.२ प्रतिशत किशोर–किशोरीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । विश्वभर लगभग २० प्रतिशत बालबालिका तथा किशोर–किशोरीमा भावनात्मक, व्यावहारिक तथा अन्यखाले मानसिक स्वास्थ्य समस्या भएको अध्ययनहरूले देखाएका छन् ।

अमेरिकी जनरल सर्जन डा. विवेक मूर्तिले हालै जारी गरेको एडभाइजरी अनुसार, अमेरिकामा ८ र १० कक्षामा पढ्ने विद्यार्थीले दैनिक औसत साढे ३ घण्टा सामाजिक सञ्जालमै बिताउँछन् । उनको अनुसन्धानले भन्छ— सामाजिक सञ्जाल प्रयोगकै कारण किशोर–किशोरीमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको छ ।

सामाजिक सञ्जालको अत्यधिक प्रयोग बालबालिका र किशोर–किशोरीमा मात्रै होइन, वयस्क मानिसकै स्वास्थ्य समस्या बनिरहेको छ । मानिसहरूले सामाजिक सञ्जालका प्लेटफर्महरू धेरैभन्दा धेरै प्रयोग गरून् भनेरै ‘पुस नोटिफिकेसन’, ‘अटोप्ले’, ‘असीमित स्क्रोलिङ फिचर’, ‘लाइक’ र ‘अटोट्यागिङ’ जस्ता विशेषता राखिएको डा. मूर्तिको मत छ । अमेरिकामा राष्ट्रिय स्तरमा गरिएको सर्भेमा ११–१५ वर्षका छात्राहरूमध्ये एकतिहाइले आफूहरूलाई सामाजिक सञ्जालको (कु)लत लागेको बताए । अझ ८ र १० कक्षामा पढ्ने विद्यार्थीमध्ये कतिपयले दैनिक औसत ७ घण्टा विभिन्न सामाजिक सञ्जालमा बिताउने गरेको बताए ।

जर्जटाउन विश्वविद्यालयका सहप्राध्यापक क्याल न्युपोर्टले ‘डिजिटल मिनिमलिज्म : चुजिङ अ फोकस्ड लाइभ इन अ नोइजी वर्ल्ड’ पुस्तकमा सामाजिक सञ्जाललाई चलाखीपूर्ण तरिकाले चलाएर यसको सदुपयोग गर्नुपर्छ भन्ने नयाँ दर्शन प्रस्तुत गरेका छन्, जसलाई उनले ‘डिजिटल मिनिमलिज्म’ र उक्त दर्शन पछ्याउनेलाई ‘डिजिटल मिनिमलिस्ट’ नाम दिएका छन् ।

‘मिनिमलिज्म’ को अर्थ हुन्छ– अतिसूक्ष्मवाद । यो थोरैभन्दा थोरै वस्तु वा सामग्रीको उपभोग गरी जीवन जिउने कला हो । डिजिटल मिनिमलिज्म हामीले प्रयोग गर्ने प्रविधिमा लागू हुन्छ । खासमा यो सही वस्तु, प्रविधि वा मान्छेको काँटछाँट हो । जीवनमा नकारात्मक प्रभाव पारिरहेका वस्तु वा प्रविधि हटाउनु नै सूक्ष्मवाद हो ।

सहप्राध्यापक न्युपोर्ट ‘डिजिटल मिनिमलिज्म’ लाई परिभाषित गर्दै भन्छन्, ‘डिजिटल मिनिमलिज्म एउटा दर्शन हो, जसले तपाईंको जीवनमा कुन डिजिटल सञ्चार साधन मूल्यवान् वा उपयोगी छ भनेर प्रश्न गर्न सघाउँछ ।’ न्युपोर्ट नचाहिने डिजिटल हल्लालाई हटाउनुपर्ने तर्क गर्छन् । भन्छन्, ‘नचाहिने डिजिटल हल्ला हटाउनुपर्छ । सामाजिक सञ्जालको व्यवस्थित प्रयोगले तपाईंको जीवनमा महत्त्वपूर्ण सुधार ल्याउनेछ ।’ न्युपोर्ट सामाजिक सञ्जालले कसरी हामीलाई ‘आधुनिक दास’ बनाएर औंलामा नचाइरहेको छ भन्ने उदाहरण प्रस्तुत गर्छन् । उनले विभिन्न सामाजिक सञ्जाल कम्पनीमा काम गरेका व्यक्तिका अन्तर्वार्ता, आलेखलाई सन्दर्भका रूपमा समेत प्रयोग गरेका छन् । आफैंले पनि अनुसन्धान गरेका छन् । फेसबुकको आफैं फोटो ट्याग हुने अल्गोरिदम (कम्प्युटर कोडिङ) देखि नोटिफिकेसनसम्म कसरी सुनियोजित तरिकाले ल्याइएको हो भन्ने प्रसंग उनले पुस्तकमा लेखेका छन् । ट्रिस्टन ह्यारिस, सिन पार्कर, लेह पर्लम्यान र आडम अल्टरजस्ता अनुसन्धाताहरू ‘अम्मली सामाजिक सञ्जाल’ विरुद्ध ‘ह्वीसलब्लोअर’ बनिरहेका छन् । कमभन्दा कम सामाजिक सञ्जाल प्रयोग गरी कसरी व्यावसायिक तथा सामाजिक जीवनलाई अगाडि बढाउन सकिन्छ भन्ने अनुसन्धानमा निरन्तर लागेका छन् उनीहरू ।

अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोलको ‘युथ रिस्क बिहेभियर सर्भे’ ले माध्यमिक तहमा पढ्ने विद्यार्थीमध्ये ४२ प्रतिशत कुनै न कुनै रूपमा दुःखी भएको देखाएको छ । त्योमध्ये पनि २२ प्रतिशतमा आत्महत्याको सोच आएको छ । डा. विवेक मूर्ति पनि दैनिक ३ घण्टाभन्दा बढी सामाजिक सञ्जालमा बस्ने व्यक्ति डिप्रेसनमा जाने दोब्बर सम्भावना हुने अनुसन्धानमा देखिएको बताउँछन् ।

एडिनबर्ग विश्वविद्यालयमा ग्लोबल पब्लिक हेल्थकी प्राध्यापक देवी श्रीधरले यसबारे ‘गार्डियन’ मा ‘बालबालिकाका लागि सामाजिक सञ्जाल धूमपान वा जुवाजस्तै हो । किन प्रयोग गर्न दिने ?’ भनेर लेख लेखेकी छन् । जसरी चुरोट, सुर्ती र रक्सी वा जुवातासमा एउटा नीति बनाइएको छ, सामाजिक सञ्जाल प्रयोगका सन्दर्भमा पनि त्यस्तै नियम बन्नुपर्ने उनको मत छ । बाथ विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको अध्ययनले समेत एक हप्ता सामाजिक सञ्जालमा छुट्टी लिने व्यक्तिहरूको मानसिक स्वास्थ्यमा सुधार आएको देखाएको छ ।

सामाजिक सञ्जालको प्रयोगबारे सरकारले कम्पनीहरूलाई नियमन गर्न एउटा नीति नै बनाउनुपर्ने श्रीधरको मत छ । कम्पनीहरूले पैसा कमाउनका लागि सुरक्षा, स्वास्थ्यमा ध्यान दिएका छैनन् । जति समय हामी स्क्रिनमा बिताउँछौं, त्यति धेरै उनीहरूले पैसा कमाउँछन् । श्रीधरले नै एउटा तथ्यांक उल्लेख गरेकी छन्, ‘स्न्यापच्याटले ९९ प्रतिशत आम्दानी प्रयोगकर्तालाई विज्ञापन देखाएरै उठाउँछ, मेटा (जोसँग फेसबुक, इन्स्टाग्रामको स्वामित्व छ) को हकमा यो ९८ प्रतिशत छ ।’ यसको अर्थ हामीले समय दिएका छौं, उनीहरूले पैसा कमाएका छन् ।

मनोविद् जिन ट्वेन्गेले ‘जेनेरेसन्स’ पुस्तकमा ५ वटा उमेर समूहको मानसिक स्वास्थ्यबारे चर्चा गरेकी छन् । २०१२ देखि सामाजिक सञ्जालमा उछाल आएको हो । सन् २००९ मा किशोर–किशोरीमध्ये आधाले मात्रै दैनिक सामाजिक सञ्जाल प्रयोग गर्थे, जुन २०२२ मा आइपुग्दा ९५ प्रतिशत पुगेको छ (प्यु रिसर्च सेन्टर) ।

प्रिन्सटन विश्वविद्यालयबाट मनोविज्ञानमा विद्यावारिधि गरेका क्रिस सेड सामाजिक सञ्जाल किशोर–किशोरीको सामाजिक जीवनमा ‘आणविक बम’ बनिरहेको बताउँछन् । फेसबुक र ट्वीटरमा समेत काम गरेका सेड एनपीआरसँगको कुराकानीमा भन्छन्, ‘किशोर–किशोरीको सामाजिक जीवनमा आणविक बमजस्तै हो– सामाजिक सञ्जाल । मलाई लाग्दैन पछिल्लो समय किशोरकिशोरीहरू सामाजिक सञ्जालमा जस्तै भौतिक रूपमा समाजसँग घुलमिल भएका छन् ।’

सामाजिक सञ्जालले हामीलाई ख्याति मात्रै दिएको छैन, यसले तनाव पनि थपिदिएको छ । लाइक, कमेन्ट, सेयर र लभ रियाक्टमा हाम्रो दिमाग घुमिरहेको छ । केही कलाकार वा सेलेब्रिटीका हकमा सामाजिक सञ्जाल गलपासोसमेत भएको छ । नभएका लाञ्छना लगाउने र व्यक्तिगत गालीगलौजका कारण सेलेब्रिटीहरूले सामाजिक सञ्जाल चलाउनसमेत छाडेका छन् । सेलेना गोमेज, लिजो, टम हल्यान्डजस्ता कलाकारले केही समय इन्स्टाग्राम र ट्वीटरबाट छुट्टीसमेत लिए । केही त लामो समयदेखि नै सामाजिक सञ्जालबाट बाहिर छन् ।

सूचनाको बाढीमा कुन सही कुन गलत ? मानिसहरू रनभुल्लमा छन् । मानिसहरू आफ्नो अनुकूलको सूचना भाइरल बनाउँछन्, जसले सञ्चार उद्योगलाई समेत चुनौती थपेको छ । ‘स्यापियन्स’ का लेखक, इजरायली इतिहासकार युभल नोह हरारी सित्तैको सूचना एकदमै खतरनाक भएको बताउँछन् । ‘राम्रो सूचना पाउन पैसा तिनुपर्ने’ मत राख्ने उनले ‘गार्डियन’ सँगको एक अन्तर्वार्तामा भनेका छन्, ‘सञ्चार उद्योगका हकमा सित्तैंमा सूचना दिने विषय डरलाग्दो हो । यदि तपाईं सित्तैंमा पर्याप्त सूचना दिनुहुन्छ भने मानिसको ध्यान कसरी तान्नुहुन्छ ? ...हामी उच्च गुणस्तरीय खाना, लुगा र गाडीका लागि पैसा तिर्न तयार छौं भने स्तरीय सूचनाका लागि किन छैनौं ?’

मान्छे खुसी छैनन्, तर पनि सामाजिक सञ्जालमा नक्कली हाँसो हाँसिरहेका छन् । केही दिनअघि चिनियाँ–अमेरिकी गायिका कोको ली मानको आत्महत्यापछि एकपटक पुनः सामाजिक सञ्जालमा डिप्रेसनबारे चर्चा भयो । बढ्दो ‘स्माइलिङ डिप्रेसन’ (भित्रभित्रै दुःखी र चिन्तित, तर समाजका अघि खुसी भएजस्तो देखाउने) बारे पनि विमर्श भइरहेको छ । नाम, दाम र प्रसिद्धिसँगै मानिसमा चिन्ता पनि थपिएको छ । ‘ग्लोबल टाइम्स’ सँगको कुराकानीमा चिनियाँ विज्ञान प्रतिष्ठानका अनुसन्धानकर्ता चाङ कान भन्छन्, ‘सबैले स्माइलिङ डिप्रेसनका बिरामी चिन्न सक्दैनन्, बिरामीका नजिकका मान्छेले भने उसको व्यवहारमा आएको परिवर्तन थाहा पाउन सक्छन् ।’

बारम्बार सामाजिक सञ्जालमा नोटिफिकेसन र म्यासेज चेक गर्ने बानी पनि डिजिटल कुलत बसेको संकेत हो । ‘यूएसए टुडे’ सँगको कुराकानीमा डा. साहला मोदिर भन्छिन्, ‘प्रत्येक घण्टा नोटिफिकेसन, म्यासेज हेर्नुले तपाईंको पेसा र सामाजिक सम्बन्धलाई नै असर पुर्‍याउँछ । ‘लाइक’ ले त झन् धेरै दुर्व्यसनको सिकार बनाउँछ, लाइक खोज्ने बानीले हाम्रो शरीरमा डोपामाइनको मात्रा घटाउँछ ।’ शरीरमा डोपामाइन र सेरोटोनिनजस्ता रसायनको मात्रामा कमी आएमा मान्छे सामान्यतः सुस्त, नकारात्मक र चिडचिडे भई क्रोधको सिकार हुनपुग्छ ।

प्रयोगकर्ताले फेसबुक, इन्स्टाग्राम र टिकटकमा पैसा नतिरे पनि कम्पनीले अर्बौं डलर कमाइरहेका छन् । उनीहरूले हाम्रो डेटा बेचेर कमाएका पनि होइनन्, हाम्रो विचार, विश्वास र बानीलाई चलाखीपूर्ण तरिकाले बदलेर उनीहरू पैसा कमाइरहेका छन् । सेन्टर फर ह्युमन टेक्नोलोजीका अध्यक्ष तथा सहसंस्थापक ट्रिस्टन ह्यारिस सामाजिक सञ्जाल संयोगवश दुर्व्यसनको स्रोत नबनेको राय राख्छन् । ‘हामी सामाजिक सञ्जाल लगआउट गर्न सक्दैनौं । किनकि हामीलाई यसको लत लागिसकेको छ । कम्पनीले चाहेको पनि ठ्याक्कै यस्तै हो । संयोगवश यो अम्मली बनेको होइन, यो बनाइएको नै यसैका लागि हो ।’ ह्यारिसले केही वर्षअघि ‘सीबीएस न्युज’ को ‘सिक्स्टी मिनेट्स’ मा एन्डरसन कुपरसँग भनेका थिए, ‘तिनीहरू (सामाजिक सञ्जाल कम्पनी) ले मान्छेलाई प्रोग्रामिङ गरिरहेका छन् । प्रविधि तटस्थ हुन्छ भन्ने गरिन्छ, प्रयोग कसरी गर्ने भन्ने हामीमै निर्भर छ भनिन्छ, तर वास्तवमा त्यति मात्र साँचो होइन ।’

कसैले ‘फ्रेन्ड रिक्वेस्ट’ वा ‘लाइक’ पठाएमा नीलो संकेत देखिने गरी डिजाइन बनाइए पनि फेसबुकले अन्ततः रातो रङ (ध्यान तान्ने रङ) छान्यो, जसका कारण क्लिकको मात्रा बढ्यो ।

घरकै विषयमा कुरा गर्नुपरे पनि फेसबुकमा देखेको, इन्स्टामा देखेको भन्नुपर्ने अवस्था छ । कुराकानी हुन छाडेको छ । परिवारकै सदस्यसँग पनि कुराकानी गरिँदैन । केही दिनअघि मेटाले ट्वीटरजस्तै थ्रेड्स लन्च गर्‍यो । केही घन्टामै त्यसमा लाखौं प्रवेश गरे । आखिर किन ? एउटै मान्छे फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटक, थ्रेड्स, स्न्यापच्याट, ह्वाट्सएपमा समय बिताउन भ्याइरहेको छ वा उपस्थिति जनाइरहेको छ ? कुनै एक सञ्जालमा नभए सबैथोक गुमाउँछौं भन्ने हामी सोचिरहेका छौं । तर, हामीले केही गुमाइरहेका छौं भने त्यो हो– कुराकानी, छलफल र विमर्श । ‘भर्चुअल’ संसारमा हामी रमाइरहँदा हाम्रा नजिकका आफन्त, छरछिमेकी र साथीसंगी बिर्सिइरहेका त छैनौं ?

हामीमध्ये कतिले अहिले म्यागजिन, पत्रपत्रिका र पुस्तकलाई समय दिइरहेका छौं ? सामाजिक सञ्जालमा आइरहेको सूचनाको बाढीमा हराइरहेका त छैनौं ? त्यसैले ब्लगर र विश्लेषक एन्ड्रयु सुलिभानले सन् २०१६ मै ‘न्युयोर्क’ म्यागजिनमा लामो आलेख लेखेका थिए, ‘म मान्छे हुने गर्थें’ शीर्षकमा । उनको लेखको सार थियो, ‘समाचार, गसिप र तस्बिरको अन्तहीन बमबारीले हामीलाई सूचनाको अम्मली बनाइदिएको छ । यसले त मलाई चकनाचुर बनाइदिएको छ, तपाईंलाई पनि बनाउन सक्छ ।’

पुस्तक पढ्ने, लेख्ने, हिँड्ने, साथीसंगी, आफन्तजनसँग भेटघाट गर्ने केही नयाँ कुरा सिक्ने ! मान्छे बन्नु छ भने चाहिएका बेलाबाहेक सामाजिक सञ्जालबाट बाहिर आउनुहोस् । एमआईटी प्राध्यापक सेरी टर्कल ‘रिक्लेमिङ कन्भर्सेसन’ मा भन्छिन्, ‘मुखामुख भएर कुराकानी गर्नु मान्छेको स्वाभाविक बानी हो । म प्रविधिविरोधी होइन, यसलाई स्मार्ट तरिकाले प्रयोग गर्नुपर्छ भन्ने मेरो विचार हो ।’

कोही बिरामी भए सामाजिक सञ्जालमा ‘गेट वेल सुन’ लेख्छौं । कसैको मृत्यु हुँदा ‘आरआईपी’ लेखिदिन्छौं । तर, के हामीले कसैलाई भेटेरै स्वास्थ्यलाभको कामना गरेका छौं वा समानुभूति प्रकट गरेका छौं ? प्रश्न गम्भीर छ ।

वास्तवमा प्रविधिले हामीलाई कतिपय कुरामा सहज बनाइरहँदा हाम्रो सोचाइलाई बन्धक त बनाइरहेको छैन ? प्रविधि र सामाजिक सञ्जालमाथिको निर्भरता बढिरहेको छ, सँगसँगै यसको कसरी सदुपयोग गर्ने र यसबाट कसरी लत हटाउने भन्ने उपाय पनि सुझिइरहेका छन् ।

‘डिजिटल डिटक्स’, ‘डिजिटल फास्टिङ’ ले काम पनि गरिरहेको छ । ‘डिजिटल डिटक्स’ प्रविधिको कुलत हटाउने उपाय हो, जसमा मोबाइलको नोटिफिकेसन बन्द गर्ने, खाने समयमा फोन प्रयोग नगर्ने, परिवारसँग हुँदा, हिँड्दा, सुत्नुअघि मोबाइल नहेर्ने, ओछ्यानबाट टाढा राख्ने, सुत्नुअघि मन लागेका पुस्तक वा केही पढ्नेलगायतका उपाय अपनाइन्छ । त्यस्तै ‘डिजिटल फास्टिङ’ आफूलाई ‘डिजिटल डिभाइस’ बाट ‘अनप्लग’ गर्ने अर्थात् छुटाउने काम नै हो । जसरी मानिसहरू स्वस्थ शरीरका लागि साताको कुनै दिन निराहार वा फलफूल वा हल्का खाना खाएर व्रत बस्छन्, त्यसरी नै पछिल्लो समय मानसिक स्वास्थ्यका लागि ‘डिजिटल फास्टिङ’ अर्थात् प्रविधि उपवासको अवधारणा आएको छ । हप्ताको कुनै दिन वा महिनामा कुनै हप्ता मानिसहरू स्मार्टफोन, ट्याब्लेट, ल्यापट्यापबाट टाढै बसेर प्रविधिसँगको स्वस्थ सम्बन्ध बनाउने प्रयास भइरहेको छ । केही वर्षमै हामी प्रविधिप्रति यति निर्भर भइसक्यौं कि अब यसबाट छुटकारा पाउन विभिन्न उपाय खोज्नुपरेको छ ।

सामाजिक सञ्जालले हामीलाई एकअर्कासँग जोड्ने नाममा तोडिरहेको भान हुन्छ । फेसबुकले आफ्नो उद्देश्यमा भनेको छ, ‘हाम्रो उद्देश्य मानिसहरूलाई समुदाय निर्माणका लागि शक्ति दिने हो ताकि विश्व अझ नजिक आओस् ।’ सामान्य रूपमा हेर्दा यो सकारात्मकै लाग्ने सहप्राध्यापक क्याल न्युपोर्टको भनाइ छ, ‘उनीहरूले तपाईंलाई तिनीहरूको इकोसिस्टममा प्रवेश गरेर सेयर र कनेक्ट भइराख्नुस्, अनि राम्रो भइहाल्छ भन्ने सन्देश दिएका छन् ।’ न्युपोर्ट सामाजिक सञ्जाल होस् वा अन्य विद्युतीय प्रविधि, तिनलाई आवश्यकताअनुसार छनोट गरेर मात्र चलाउनुपर्ने सुझाव दिन्छन् । उनले पुस्तकमा कसरी सामाजिक सञ्जाल वा मोबाइलबाट टाढा बस्न सकिन्छ भन्ने विभिन्न उपायसमेत सुझाएका छन् । केही समय सामाजिक सञ्जालबाट छुट्टी लिने, घुम्न जाने, अन्तरक्रियाहरूमा सहभागी हुने, परिवारलाई समय दिनेलगायतका उनका प्रयोगात्मक सुझाव छन् । अमेरिकाको अमिस समुदाय विद्युतीय प्रविधिको अति न्यून प्रयोगबाट कसरी चलिरहेको छ भन्ने उदाहरण पनि उनले प्रस्तुत गरेका छन् । अमिस समुदायकी एक महिला भन्छिन्, ‘स्मार्टफोन नचलाउने निर्णयले मलाई एक प्रकारको स्वायत्तता दिएको छ । मैले मेरो जीवनमा प्रविधिले खेल्ने भूमिकालाई नियन्त्रण गरिरहेको छु ।’

सामाजिक सञ्जालको फाइदै नभएको पनि होइन । टाढाका साथीसंगीसँग कुराकानी गर्न होस् वा व्यावसायिक जीवन नै यसैमा जोडिएका व्यक्तिले त यो चलाउनै पर्‍यो । नत्र बेकामे भएर असीमित स्क्रोलिङ गरिरहनु वा मोबाइलमा घोप्टिरहनु भने अम्मलै हो । त्यसैले सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे तपाईं कोसँग कुरा गर्नुहुन्छ, त्यस्तै उत्तर आउनेछ । पिर्ट्सबर्ग विश्वविद्यालयका ब्रायन प्रिम्याकलगायतले गरेको अनुसन्धानले पनि जति सामाजिक सञ्जालमा भुलियो त्यति नै धेरै एक्लोपन बढ्दै जाने देखाएको छ ।

सामाजिक सञ्जालको अम्मलबाट बाहिर आउन केही घरायसी सीप सिक्न पनि न्युपोर्टको सुझाव छ । मोटरसाइकलको सामान्य मर्मत, सामान्य बुकसेल्फ, फर्निचर मर्मतलगायतका काम सिक्दा उपयोगी मात्र होइन, समयको सदुपयोगसमेत हुन्छ ।

कोही बिरामी भएमा सामाजिक सञ्जालमा ‘गेट वेल सुन’ भन्छौं हामी । कसैले आफन्त गुमाए पनि ‘आरआईपी’ वा ‘हार्दिक समवेदना’ फेसबुकबाटै लेखिदिन्छौं । तर, हामीमध्ये कतिले भेटेरै स्वास्थ्यलाभको कामना गरेका छौं वा समानुभूति प्रकट गरेका छौं ? यो गम्भीर प्रश्न छ ।

फेसबुक, ट्वीटर, टिकटक, स्न्याप्च्याट’ लगायतका एपलाई सामाजिक सञ्जाल बनाउने कि जन्जाल ? त्यो हाम्रै हातमा छ । यसबाट कमाल गर्ने वा अम्मली बन्ने ? त्यो पनि हाम्रै हातमा छ । जसरी सामाजिक सञ्जालको अम्मलमा फस्न समय लागेन, गफगाफको पुरानै शैलीमा फर्किन पनि धेरै समय लाग्दैन ।

प्रकाशित : असार ३०, २०८० ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?