कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कथा

चोर

आमोईको पेटीकोट जीउमा बेरेर नुहाउन ठिक्क परेकी थिएँ म । त्यही मध्याह्नदेखि बस्तीभरि हल्ला चल्यो, ‘सुभद्राको पाउजु संगीताले चोरी ।’
बिना थिङ

संगीता चोर होइन ।
...
चिम्सा आँखा, सिरिक्क परेका आँखीभौंयुक्त एउटा अनुहार ‘पिपुल यु मे नो’ भनेर फेसबुक पेजले देखायो । चौंतीस म्युचुअल फ्रेन्डसहितको अकाउन्ट नेम थियो– संगीता थिङ । मैले त्यो प्रोफाइल क्लिक गरेँ । पारिजातका बिस्कुनबीचमा अंकुसे फुस्किएको चाँदी रङको एकजोडी पाउजुको तस्बिर भएको कभर फोटो देखेँ । त्यो देखेपछि थप उत्सुकता जाग्यो । ‘सी अल फोटोज’ मा क्लिक गरेँ । स्क्रोल गर्दै गएँ । ऊ थिई मेरी बालसखा ‘संगीता’ । मेरो मस्तिष्कमा उत्तानो परेको अरिमुठ्ठेको सयौँ खुट्टाजसरी विगत गुजुङगुजुङ गर्न थाल्यो ।

...

आमोइ फतफताउन थाल्नुभयो ।

‘तेइ संगीतेले चोरी । हिजो दिनभरि त्यो बाहेक घरबाहिरका अरू कोई आ’थेन ।’

म आमोईको पेटीकोट जीउमा बेरेर नुहाउन ठिक्क परेकी थिएँ । घाममा बसेर नुहाउन भनेर मैले अघि नै बाल्टीमा पानी भरेर राखिसकेकी थिएँ ।

त्यही शनिबार मध्याह्नदेखि कमानेभरि हुरी चलेजस्तो हल्ला चल्यो ।

‘सुभद्राको पाउजु संगीताले चोरी रे !’

हल्ला नचालोस् पनि किन ? त्यो पाउजु थियो नै गज्जबको ! कलात्मक बुट्टा कुँदिएको । त्यसैले त्यो हराउँदा आँधीको वेगमा हल्ला चल्यो । त्यस पाउजुमा झुन्डिएका स–साना शीतका थोपाजस्ता देखिने दानाहरू मलाई खुबै मन पर्थे । त्यो लगाएर हिँड्दा त्यसबाट निस्कने झङ्कारले मेरो मन तरङ्गित पार्‍थ्यो । त्यो आवाजले म रोमाञ्चित हुन्थेँ । त्यसको अंकुसे निकै बलियो थियो, सानोतिनो ताकतले फुत्काउनै नसकिने । गुजरातबाट मामा–माइजू पहिलोपटक हाम्रो घरमा आउँदा मलाई उपहारमा दिनुभएको थियो त्यो पाउजु ।

म छक्क परेकी थिएँ, त्यो पाउजु मेरो गोडामा एकदम ठिक्क भएको देखेर ! उहाँहरूले कसरी अडकल लगाउनुभयो मेरो गोलीगाँठानेरको मोटाइ ? म चौध वर्षकी भएँ भनेर मामा–माइजूलाई सायद थाहा थियो । र, मेरो शरीर सप्रेको मुलाजस्तो हलक्क बढेको कसैले उहाँहरूलाई सुनाइदिएको हुनुपर्छ । नत्र कसरी ठिक्क हुन्थ्यो मेरो गोडामा ?

मैले देखेकी थिएँ– स्कुलको साथी कमलाले पैंतालासम्मै खसेको ठूलो पाउजु लगाएर हिँडेको । त्यसैले त्यो कतै खसेर हराएको उसले पत्तै पाइन । सारिकाले भने एकदम कस्सिएको पाउजु लगाएकी थिई । कतिसम्म भने उसको गोडामा पाउजुले डाम नै बनाएको थियो । उसको पाउजु हराएको कहिल्यै सुन्नु परेन । तिनीहरूले आफ्ना गोडा सजाएको देखेर मलाई पनि पाउजु लगाउन रहर लागेको थियो ।

मेरो रहर पूरा हुन धेरै समय लागेन । कसैले ‘तँ आँट म पुर्‍याउँछु’ भने जस्तै हुन गयो । मैले रहर गरेकै वर्ष मामा–माइजूले उपहारमा पाउजु दिनुभयो । त्यो पाउजु मेरा साथीहरूको जस्तो सिलाबरको थिएन । त्यो त शुद्ध चाँदीको थियो । आमोइले हरेक बिहान माझ्ने पूजाको थालीजस्तै टलक्क टल्किएको । आफूले लगाएको त्यो पाउजु साथीहरूलाई देखाउन म निकै उत्सुक थिएँ । त्यसैले स्कुले फ्रकमुनि सुरुवाल लगाउन छोडेँ । सुरुवाल लगाउँदा त्यसको मोताले पाउजु ढाकिदिन्थ्यो ।

‘ओई, हेर त यसको कस्तो दामी पाउजु रै’छ,’ कमलाले कक्षामा हल्ला गरेकी थिई । त्यसपछि कक्षाका सबै केटीहरू मलाई घेर्न आइपुगेका थिए ।

‘ओई, काँबाट ल्या ?’

‘ओई, कल्ले द्या ? कस्ता राम्रा है यसमा झुन्डिएका यी सानासाना डल्लाहरू !’

‘ओई, काँ किन्या ?’

‘कस्तो टिलिलि टल्किएको !’

साथीहरूको ईर्ष्याले म भित्रभित्रै गद्गद् भएकी थिएँ । संगीताले त झन् मेरो गोडानेर झुकेरै पाउजु मुसारेकी थिई ।

त्यही पाउजु हराएको थियो । र, चोरीको आरोप संगीता थिङलाई लागेको थियो ।

...

संगीता मेरी असाध्यै मिल्ने साथी अनि छिमेकी पनि । उसको र मेरो घर टाँसिए जत्तिकै थियो । त्यस्तै सय, डेढ सय पाइला परतिर थियो उसको घर । संगीताको कपाल आमोईले माटाका घैंटामा हप्तादिन खाँदेर राखेको रायोको साग घाममा सुकाउँदा घुम्रिँदै गएजस्ता देखिन्थे । अनि पाखुरा र गोडा पोयो कसेर बाटेको डोरीजस्ता देखिन्थे । उसको छाला खस्रो र हरियो रङको थियो, खाक्सी नलगाएको काठजस्तो । उसका चिम्सा आँखा दिल खोलेर हाँस्दा निदाएका जस्ता देखिन्थे । तिनै आँखामाथि ताछेको सिसाकलमले एकै पटकमा स्वाट्ट कोरेजस्तो देखिने आँखीभौं ! सिरिक्कका । उसको दायाँ कन्चटमा बूढी औंला जत्रो कालो धब्बा पनि थियो । त्योचाहिँ हामीलाई अनौठो लाग्थ्यो ।

‘टाटे, भोटिनी,’ कक्षाका केही उरन्ठेउला केटाकेटी संगीतालाई खिसी गर्थे । संगीता रिसले चुर हुन्थी, तर केही भन्न सक्दैनथी । रिस पोख्न नसकेपछि उसका आँखा पिलपिल हुन्थे । ‘संगीतेकी आमाले देउता दर्शन गरेकीले हो कन्चटाँ दाग बसेको,’ कमानेबासी आफ्ना धारिला जिब्राले संगीता र उसकी आमाको कुरा काट्दै भन्थे, ‘संगीताकी आमाले ऊ पेटमा हुँदा चुरियामाई मन्दिरलाई फन्को मारेकी थिई रे ! अटेरी आइमाई । जब्बर पनि । छोरीचैं आमाभन्दा झन् दोब्बर जब्बर छे ।’

जब्बर त वास्तवमा संगीता र उसकी आमा दुवै नै थिए । अरू मान्छेले उचाल्न नसक्ने दाउराका भारी बोक्थे । बिहानभरमा एक गह्रा रातोमाटोको डल्ला फोरिभ्याउँथे । बिहेव्रतबन्धतिर आमा–छोरीले जुठा भाँडा माझिभ्याउँथे । त्यसै गरेर त तिनीहरूको चुल्हो बलेको थियो । संगीताको बाउ भने छाँटको थियो । घरमा उसको दर्शन पाउनु देउतै भेटिएबराबर थियो । त्यसैले पनि होला सात कक्षा पढ्नेबेलादेखि नै संगीता आमासँगै मेलापात हिँड्न थालेकी थिई ।

त्यसरी ऊ मेलापात हिँड्न थालेपछि भने हाम्रो मित्रता पातलिन थालेको थियो । सानोमा त ऊ र म सँगै भाँडाकुँडा खेल्थ्यौं । उठ्ने, बस्ने, सुत्ने सबै सँगसँगै हुन्थ्यो । मलाई घरमा नभेटे उसको घर गए हुन्थ्यो । ऊ घरमा नभेटिँदा उसकी आमा सिधै हाम्रैमा आइपुग्थिन् । हाम्रो मित्रता आमोईलाई भने पटक्कै चित्त बुझ्दैनथ्यो ।

‘त्यो भोटिनीको धेर सङ्गत नगर है सुभद्रे । यल्ले त मैले भनेकी फिटिक्कै टेर्दिन । भान्साँ नहुल भनेर कतिपटक भनिसकेँ,’ पाकेका सिलामका गेडाजस्तै कपाल फुलेकी मेरी आमोइ पिँढीमा बसेर साँझ बत्ती कात्दै फतफताउनुहुन्थ्यो । तर, म आमोईलाई छक्काएर संगीतालाई आफ्नो कोठामै लैजान्थेँ । ऊ स्कुलको भन्दा पनि घरकी साथी बढी थिई । घरबाट खुरुरु कुदेपछि पहिले उसैको आँगन भेटिन्थ्यो । हाम्रो घर मूलसडकमै थियो । हाम्रै आँगन टेकेर संगीताको घर पुगिन्थ्यो । त्यसो त अर्को बाटो भएर जाँदा पनि संगीताको घर पुगिन्थ्यो । त्यो अलिक घुमाउरो र लामो थियो । त्यसैले संगीताको परिवार हाम्रै आँगन भएर हिँड्थे । त्यही आँगनमा आमोईले एक दिन दुइटा खेताला लाएर बार हालिदिनुभयो ।

र, त्यो बार ठडिनुको कारण थियो– चुनाव ।

...

बहुदल आएपछिको पहिलो चुनावको लहर कमानेसम्म पनि आइपुगेको थियो । चुनावले सायद नदेखिने तरबार बोकेर हिँडेको थियो, जसले कमानेका जनतालाई दुई फ्याक पारिदिएको थियो । चुनावको चर्चा चलेसँगै कमानेका मान्छेहरू मान्छेमा मात्र सीमित रहेनन् । ती कांग्रेस र कम्युनिस्ट भएका थिए । दुई वर्षअघि त हो, बहुदलका निम्ति भएको आन्दोलनमा कमानेका वासिन्दा एकजुट भएका । पुलिससँग कमानेका मानिसहरू एक हुल भएर भिडेका थिए । तर, चुनावले तिनीहरूको अनुहार र मनमा पनि कांग्रेस र कम्युनिस्टको रङ पोतिदियो ।

उफ् ! मानिस के भएर कांग्रेस वा कम्युनिस्ट बन्छ ? मलाई थाहा थिएन ।

थाहा त आमोईलाई थियो ।

‘त्यसका सन्तान त एक नम्बरका कम्निस्टे रै’छन्,’ संगीताको बाउ घरमै बस्न थालेको र सहदेवको घरमा दिनहुँजसो हुने सांस्कृतिक रिहर्सलमा मादल बजाउन जाने गरेको आमोईले थाहा पाउनुभएछ । आमोई थिइन्– कट्टर कांग्रेस । चानचुने हो र ! देखिने र सुनिने कांग्रेस । आफू कांग्रेस हुँ भन्ने देखाउन आमोईले बुवालाई टायलको छानोमा चढ्न लाएर धुरीमा चार तारे झन्डा बाँध्न लगाउनुभएको थियो ।

संगीताका बाबु कम्युनिस्ट भएकैले मात्रै आमोईले बार हालेको चाहिँ होइन । बार हाल्नुभन्दा दुई दिनअघि म पिँढीमा बसेर उत्तोलक र घिर्नीको चित्र कोर्दै थिएँ, तर ढङ्ग नपुगेर त्यो बनिरहेका थिएन । मेटुवाले मेट्दै, कोर्दै गरिरहेथेँ । आमोई तुलसीको मठनेर उभिएर सूर्यनारायणलाई अर्घ्य चढाउने तरखरमा हुनुहुन्थ्यो । आमोइ र संगीताको बाउको देखादेख भइहाल्यो । त्यसपछि आमोई आँखा चिम्लेर मन्त्र उच्चारण गर्दै अर्घ्य चढाउन थाल्नुभयो । म घोप्टो परेर चित्र बनाउन थालेँ ।

‘हा...क् । थु...थु... ।’ दुईपटक थु...थु... गरेको सुनियो । आमोइले आँखा खोल्दा र मैले टाउको उचाल्दासम्म संगीताको बाउ आँगन कटेर अलि पर पुगिसकेका थिए ।

‘त्यो भोटेले हाम्लाई थुकेर गयो । त्यो कम्निस्टेले हाम्लाई हेप्या होला । पख्लास्,’ त्यस बिहान आमोईको अनुहारमा नीलोतुथो पोतिएको थियो । पूजाको थाली बटुलेर आमोई फतफताउँदै घरभित्र पस्नुभयो । त्यसको पर्सिपल्ट उहाँले आँगनमा बार हालिदिनुभयो । आँगनमा बार लगाएपछि संगीताको खलकले घुमाउरो बाटो हिँड्नुपर्‍यो ।

यसरी संगीताको खलकसँग हाम्रो पारिवारिक दुश्मनी आरम्भ हुन गयो । त्यसको सबैभन्दा ठूलो घाटा भने मैले नै बेहोर्नुपर्‍यो । आमोईले मलाई संगीताको घरमा जान रोक लगाउनुभयो । तर, आमोई नहुँदा, उहाँको आँखा छलेर संगीतालाई म मेरो कोठामा ल्याइरहन्थेँ । आखिर ऊबाहेक घरवरपर मेरो अरू साथी पनि त थिएनन् । मेरो पाउजु हराएको भनिएको दिन भने कसोकसो आमोईले संगीता मसँग घरमा आएको देखिहाल्नुभयो ।

‘शत्रुका छरछरीलाई केलाई घराँ हुल्छेस् ए सुभद्रे ?,’ आमोइको तिखो आवाजले संगीताको अनुहार कटमेरो आँपजस्तै देखियो । ऊ निस्किहाल्न आँटेकी थिई । मैले च्याप्प हात समातेर रोकेँ र भनेँ, ‘आमोई त्यस्तै हो के ! एकैछिन बस् न संगीता । मलाई यत्ति चित्र बनाइदे अनि जा न ।’

पर्सिपल्ट विज्ञानको कक्षामा पानीबाट अक्सिजन र हाइड्रोजन छुट्याउने प्रयोगको चित्र बनाएर लैजानुपर्ने थियो । संगीता आफ्ना आँखीभौंजस्तै सिरिक्क परेको चित्र बनाउन खप्पिस थिई । त्यसैले मैले जबरजस्ती संगीतालाई त्यस दिन स्कुलबाट छुट्टी हुनेबित्तिकै सिधै मेरो घर ल्याएकी थिएँ । त्यसको भोलिपल्टदेखि कमानेमा संगीताको नाम ‘पाउजु चोर’ बन्न पुग्यो । त्यस्तो आरोप लागेको छ महिनाजतिमा संगीताको परिवार घर बेचेर अमलेखगन्जतिर गए ।

‘चोरका सन्तान गएकै जाती भो ।’

‘यो समाजाँ मुख देखाउन नसकेसि थातथलै छाड्नुपर्‍यो,’ गाउँलेका सुइराजस्ता जिब्रा फेरि चल्न थाले ।

खासमा नक्सामा संगीताको घर जाने बाटो नै थिएन । आमोईले हाम्रो आँगनमा बार हालिदिइसकेपछि तिनीहरूले घुमाउरो बाटो प्रयोग त गरे, तर त्यो पनि अरूकै निजी घडेरी थियो । तिनीहरूले घर बनाउँदै गएपछि संगीताको घर जाने बाटो नै छेकियो । पहाडबाट बसाइँ सर्दा पैसा नपुगेकाले संगीताको बाउले बाटो नभएको सस्तो घडेरी लिएका रहेछन् । कम्युनिस्टतिर लाग्नु र हाम्रो आँगनमा थुकेका कारण आमोईले आँगनको बाटो बन्द गरेपछि संगीताका बाले बाध्य भएर त्यो घडेरी बेचेर हिँड्नुपरेको थियो ।

तर, मलाई यी सबै कुरा थाहा थिएन । धेरैपछि बाले भनेपछि थाहा पाएँ, आखिर संगीताको घर हामीले नै किनेका रहेछौं । सानै थिएँ म, यी कुरा थाहा पाउने र बुझ्ने भइसकेकी थिइनँ । मलाई केचाहिँ पक्का थाहा थियो भने, संगीता चोर थिइन । संगीताले मेरो पाउजु चोरेकी बिलकुलै होइन । तर, मैले उसलाई जोगाउनै सकिनँ । संगीता चोर होइन भन्नै सकिनँ । आफ्नो आत्मीय साथीलाई अनाहकमा दुनियाँले चोर बनाउँदा पनि मैले होइन भन्नै सकिनँ । उसलाई साथ दिन सकिनँ, किनकि असली चोर म नै थिएँ ।

...

गुजरातबाट आएका मामा–माइजूले मलाई पाउजु मात्र ल्याइदिनुभएको थिएन, एउटा आदत पनि बसालिदिनुभएको थियो, फिल्म हेर्ने आदत । मामा–माइजूले मलाई फिल्म हेर्न ‘देवी चलचित्र मन्दिर’ लैजानुभएको थियो । त्यसअघि म कहिल्यै फिल्म हेर्न सिनेमाहल गएकी थिइनँ । ‘हलमा गएर फिल्म हेर्नेहरू बिग्रेका हुन्छन्’ कमानेभरि व्याप्त थियो यो मान्यता । हलमा फिल्म हेर्न जाने विषयमा आमोई एकदम कडा हुनुहुन्थ्यो । तर, मामा–माइजूले लैजाने भन्नुभएपछि छेकबार लाउनुभएन । बाल्कोनीमा बसेर कोकको बोतलसँगै चिजबलको स्वाद लिँदै फिल्म हेर्न पाउँदा म दङ्ग परेँ । त्यसदिन हामीले ‘आशिकी’ फिल्म हेरेका थियौं । त्यसका सबै कथा मैले बुझेकी थिइनँ, तर पनि मलाई फिल्म मन पर्‍यो । बिस्तारै मभित्र फिल्म हेर्ने हुटहुटी बढ्दै गयो, त्यसले आदतको रूप लिँदै गयो ।

स्कुलमा अन्तिम बेन्चमा बस्ने कतिपय साथी फिल्मी पत्रिका पढ्ने गर्थे । बिस्तारै मेरो सङ्गत तिनीहरूसँग बढ्दै गयो । तिनीहरूसँगै हाफटाइममा भागेर फिल्म हेर्न जान थालेँ । तर, फिल्म सित्तैंमा हेर्न पाइँदैनथ्यो । बुवाको सिरानीमुनिबाट पैसा झिक्नुको विकल्प थिएन । केही समय सिरानीमुनिबाट पैसा झिकिरहेँ । अलि समयपछि सिरानीमुनि पैसा भेट्टिन छोड्यो । साथीहरूले एक–दुईपटक मेरा लागि फिल्मको टिकट काटिदिए । सधैं त किन टिकट काटिदिन्थे र ! उनीहरूसँग पनि पैसा हुन्थेन । मेरो आदत भने झन् कसिलो हुँदै गएको थियो । त्यसले विकल्प खोजिरह्यो ।

हामीले फिल्महलमा देवदाइलाई भेट्यौं । कालो छालाको डिङ्गो जुत्ता लगाउने देवदाइ फिल्म हल वरिपरि सधैंजसो भेटिन्थे । उनी ब्ल्याकमा टिकट बेच्थे । हामीले उनैसँग उधारोमा टिकट लिन थाल्यौं । उधारो टिकटको पैसा दसैंमा टीका लाएको दक्षिणा जम्मा गरेर तिर्ने सर्त थियो । दुर्भाग्य, त्यो वर्ष हाम्रो खलकमा जुठो पर्‍यो । टीका लाउनै नपाएपछि दक्षिणा पाउनु कसरी !

‘हेर सुभद्रा टिकटको पैसा दुई सय चौवालीस रुपैयाँ भएको छ । यो हप्ताभरिमा दिइनस् भने गुण्डा लगाउँछु’, दसैंपछि देवदाइले ताकेता गर्दै भने । उनी उधारो टिकट दिँदा जति नरम देखिन्थे पैसा असुलीमा त्यति नै कठोर देखिए । मैले फिल्म हेर्न जान छोडिदिएँ । बजार भने काम विशेषले गइरहनुपर्‍थ्यो । देवदाइ बजारमै भेटिन थाले । उनीसँग दुई–तीन जना नचिनेका केटा पनि देखिए । मैले घरमा पैसा माग्न सकिनँ । पैसा माग्दा सारा पोल खुल्ने डर थियो । लुकेर, स्कुलबाट भागेर फिल्म हेर्न गएको आफ्नै बदमासीको कुरा ओकल्नुपर्ने थियो । फिल्म हेरेर आमोईको भाषामा ‘बिग्रिएकी’ थाहा पाए मैले कुनै पनि कडा सजाय पाउने निश्चित थियो ।

म विकल्पहीन हुँदै गएँ । देवदाइ भने ताकेता मात्र होइन, तिनै अपरिचित र देख्दै गुण्डाजस्ता केटा लगाएर पैसा उठाउने धम्की दिइरहेका थिए । र, म एक दिन एक्लै बजार गएँ । सिधै सुनारकहाँ पसेँ । तीनसय साठी रुपैयाँमा पाउजु बेचिदिएँ । देवदाइको उधारो चुक्ता गरिदिएँ । पाउजु नभएका रित्ता गोडा ढाक्न म फेरि सुरुवाल लाएर हिँड्न थालेँ, तर त्यसदिन आमोइका तिखा आँखाले मेरा रित्ता गोडा देखिहाले । दिउँसोपख म नुहाउन थालेकी थिएँ । आमोईको कडा आवाज सुनेँ, ‘तेराँ गोडाँ पाउजु खोइ त ?’

अघिपछि त सुरुवालको मोताले छोपिहिँडेकी थिएँ गोलीगाँठा । त्यस दिन भने भुसुक्कै बिर्सेछु । पेटीकोट छातीसम्म सार्दा गोडा देखिएछन् ।

‘हिजोदेखि फेला परेका छैनन् आमोई,’ मैले झूट बोलेँ, ‘‘खोज्याखोज्यै छु, भेटिएन ।’

‘काँ राख्याथिस् त ?’, आमोईले पुलिसले जसरी मलाई केरकार गर्न थाल्नुभयो ।

‘तीँ खोपाँ राख्याथीँ । खोज्या हुँ । फेलै परेन,’ मैले टाउकामा दलेको साबुनको गाँज जीउमा दल्दै फेरि भनेँ ।

‘पक्कै तेई संगीतेले चोरी । मैले कतिपल्ट भनेँ त्यस्ता छोट्टाको सङ्गत नगर भनेर ।’

म मौन भएँ । हल्ला आमोईले गर्नुभयो ।

‘मै हुँ त्यो पाउजु चोर’ भनिदिऊँ नलागेको पनि होइन । तर, सकिनँ । सक्दै सकिनँ । आमोई भने पाउजु चोर्ने संगीताबाहेक अरू देखिरहनुभएको थिएन । त्यतिबेला मलाई खासै अपराधबोध पनि भएन । जतिबेला बोध भयो संगीता मसँग थिइन । त्यस विकृत परिस्थितिका लागि आज मैले संगीतासँग माफी माग्नैपर्छ । मैले संगीताको प्रोफाइलको ‘एड फ्रेन्ड’ मा क्लिक गरेँ ।

प्रकाशित : जेष्ठ ६, २०८० ११:४९
प्रतिक्रिया
पठाउनुहोस्

रजोनिवृत्ति : बिसौनीपछिको यात्रा

महिनावारी सुरु हुँदा परिवार र समाजले सांस्कृतिक उल्लास घोषणा गर्छ, तर रोकँदा महिलाको शरीरमा आउने जैविक परिवर्तनलाई बेवास्ता गर्छ । नेपाली समाजमा विमर्श हुनुपर्छ भन्ने ध्येयले ‘कोसेली’ ले रजोनिवृत्ति–अनुभव भएका ४० महिलासँग सर्भे गरेको छ ।
विद्या राई

युगौंदेखि एक ‘सांस्कृतिक डर’ बनेर हामीसँगै बाँचिरहेको छ– रजोनिवृत्ति । समाजजडित डरहरूकै कारण स्त्री जीवनकालमा भोग्नैपर्ने प्राकृतिक प्रक्रियालाई पनि लुकाउने प्रयास गरिरहन्छिन् । सायद त्यसैले रजोनिवृत्ति इतिहासमै एक अरुचिकर खोज हो । सपनाबाट ब्युँझिएर पसिनामा लतपत भिज्नुजस्तै साधारण कथा पक्कै होइन रजोनिवृत्ति ।

उत्तरआधुनिक भनिने समयमा रजोनिवृत्ति–चक्र वास्तवमा स्त्री–जीवनको एक रोचक अध्ययनको विषय हो र स्त्रीका निम्ति अभिन्न परिर्वतनको छाप । यो त एक अति सामान्य प्राकृतिक प्रक्रिया हो । रजोनिवृत्तिले स्त्री शरीरमा थुप्रै परिर्वतन ल्याउँछ । र, परिवर्तनका यी लक्षण स्त्री अण्डाशयमा इस्ट्रोजन र प्रोजेस्टेरोनको कम उत्पादनको परिणाम हो । नेपाली समाजमा रजोनिवृत्ति–विमर्श हुनुपर्छ भन्ने ध्येयले ‘कोसेली’ ले रजोनिवृत्ति–अनुभव भएका ४० जना महिलासँग सर्भे गरेको छ (२०७९ फागुन २२ देखि २०८० वैशाख २५ सम्म) । त्यही सर्भेबाट आएको तथ्यांकका आधारमा यो आलेख लेखिएको हो ।

...

सामान्यतया उमेरले ४० कटेपछि महिलाको महिनावारी गडबड हुन थाल्छ । उसमा बिनाकारणै उदासी र चिन्ता बढ्छ । निद्रा नपर्ने, चिच्याउन, कराउन, रुन मन लाग्ने, भर्खरै गरेको काम बिर्सिने क्रम सुरु हुन सक्छ । योनिमा सुख्खापन सुरु हुन्छ । अनियमित भइरहेको महिनावारी–चक्र केही वर्षपछि त बन्दै हुन्छ ।

विश्व स्वाथ्य संगठनले सन् २०२२ अक्टोबर १७ मा एक तथ्य सार्वजानिक गर्दै भनेको छ, ‘महिलाको जीवनचक्रको निरन्तरताको एक विन्दु हो– रजोनिवृत्ति । र, प्रजनन उमेरको अन्त्य हो । रजोनिवृत्तिपछि सामान्यतया महिलाहरू गर्भवती हुन सक्दैनन् ।’ धेरैजसो महिला ४५ देखि ५५ को जैविक उमेरमा रजोनिवृत्ति हुन्छन् । डिम्बाशयबाट अण्डा उत्पादन कमी हुन्छ र रक्तसञ्चारमा इस्ट्रोजन हर्मोनको कमीले रजोनिवृत्ति (मेनोपज) हुन्छ ।

आमा, हजुरआमाका पुस्ताको बुझाइमा ‘महिनावारी सुक्नु’ हो– रजोनिवृत्ति । यसलाई तीन चरणमा हेरिन्छ– हुनुअघिको चरण, भएको चरण र रजोनिवृत्ति भइसकेपछिको चरण । तीनै तहमा व्यक्तिपिच्छे फरक—फरक लक्षण देखा पर्छन् । ‘रजोनिवृत्ति र यसको उमेर’ सम्बन्धी सन् २००२ मा प्रकाशित एक जर्नलमा लेखिएअनुसार, एरिस्टोटलले रजोनिवृत्ति ४० वर्षको उमेरमा सुरु हुन्छ भनेका छन् । एक फ्रान्सेली चिकित्सकले सन् १८२१ मा ‘रजोनिवृत्ति’ शब्द प्रचनलमा ल्याएका थिए । १९ औं शताब्दीको मध्यतिर रजोनिवृत्तिमाथि चिकित्सा रुचि निकै बढ्यो । सन् १९३० तिर मान्छेहरूले भन्नथाले– रजोनिवृत्ति केही खास तत्त्वको कमीले हुने ‘रोग’ हो । त्यसैले चिकित्सा प्रणालीले पनि भन्यो– रोग ठीक पार्न जनावरको अण्डाशय कुटेर निकालिएको रस सेवन गर्नुपर्छ । कतिपय शल्यचिकित्सकले ‘महिलाहरूको अण्डाशय बिग्रेकाले महिनावारी रोकिएको’ विश्वास गरे र महिलाको अण्डाशय नै निकाल्ने विचार पनि राखे ।

सन् १९७० मा हर्मोनसम्बन्धी ज्ञानको विकास भएपछि थाहा भयो– रजोनिवृत्ति कुनै ‘रोग’ होइन, महिलामा हुने ‘इस्ट्रोजन’ हर्मोनको कमीले शरीरमा आउने एक बदलाव हो । रजोनिवृत्ति भएकालाई लक्षणहरूले असाध्यै च्याप्यो भने शरीरमा ‘इस्ट्रोजन’ हर्मोनको थेरापि गरेर त्यो असहजता कम गर्न सकिन्छ । रजोनिवृत्तिको लक्षण विश्वका विभिन्न क्षेत्रमा फरक–फरक हुन्छ । जस्तै : पश्चिमा देशहरूमा ‘हट फ्लस’, जापानमा काँधको दुखाइ र भारतमा कम आँखा देख्नु । हर्मोन–थेरापी दर पश्चिमा देशहरूमा उच्च छ भने भारतजस्ता देशमा कम वा नगण्य नै छ । न्युट्रिसनिस्ट तथा डाइटिसिएन मीरा शाहले भनेकी छन्, ‘महिनावारी गडबड हुन थालेपछि ‘इरिटेटिङ’ हुन थाल्छ । एक वर्षसम्म लगातार महिनावारी भएन भने त्यसलाई रजोनिवृत्ति मान्नुपर्छ । त्यसपछि आफूमा रजोनिवृत्ति सुरु भइरहेको छ भनेर महिला तयार हुनुपर्छ र आवश्यकताअनुसार स्त्री–रोग विशेषज्ञको सल्लाह लिनुपर्छ (२०२३ को जनवरी २२ मा पिरियडका कुरा, पडकास्ट) ।’ विज्ञका सुझाव सबैलाई थाहा नहुन सक्छ वा त्यो सबैले ख्याल नराखेका हुन सक्छन् । त्यसो हुँदा रजोनिवृत्ति–लक्षणले प्रायः महिलामा डर–त्रास र तनाव फैलाइरहेको छ ।

...

महिनावारी सुरु भएपछि हामी आफ्नो ख्याल राख्छौं– प्याड कसरी लगाउने ? त्यो कसरी डिस्पोज गर्ने ? स्वास्थ्य समस्या आए के गर्ने ? तर, रजोनिवृत्तिका सवालमा हामी निकै पछाडि छौं । सकभर एकअर्काबीच छलफल गर्नै चाहँदैनौं । फलतः त्यसका लक्षणको डरले भित्रभित्रै मन खाइरहेको हुन्छ । सामान्यतः महिनावारीले सन्तानोत्पादन गर्न सक्ने अवस्था जनाउँछ, रजोनिवृत्तिले सन्तानोत्पादन गर्न नसक्ने अवस्था । यत्ति तथ्य थाहा नपाएर रजोनिवृत्ति–चरणमा रहेका, भइसकेका महिलाहरू ठूलो मानसिक समस्यामा फसिरहेका छन् ।

नेपालमा रजोनिवृत्तिमाथि खासै अध्ययन भएको छैन । मर्यादित–महिनावारी अभियन्ता राधा पौडेल रजोनिवृत्तिबारे घर, परिवार, समाज र देशमै पर्याप्त छलफल, बहस, सचेतना नहुँदा महिलाले मानसिक, शारीरिक, आर्थिक, सामाजिक सास्ती खेप्नुपरेको बताउँछिन् । ‘महिनावारीमा विभेद भए पनि मान्छेहरू भित्रभित्रै कुरा गर्छन्, किनभने उनको बिहे गर्नुपर्‍यो । बिहे गरेपछि बच्चा पाएन भने छोरीले दुःख पाउँछे, उसको श्रीमान्ले अर्को बिहे गर्छ भनेर कतै न कतै यसको कुरा हुन्छ, तर रजोनिवृत्तिबारे कुरै हुँदैन,’ भन्छिन्, ‘बच्चा पाइसकेपछि त्यो महिलाको जीवन कस्तो चल्दै छ, त्यो कसैले वास्तै गर्दैन । त्यो तहको ‘साइलेन्स’, ‘इग्नोरेन्स’ छ । श्रीमान्–श्रीमतीबीच समझदारीको स्थिति नबन्दा यौनजीवन तथा वैवाहिक जीवन सकिएका थुप्रै उदाहरण मैले भेटेको छु ।’

महिलाले भोग्नुपरेको यो अवस्था उजागर गर्न हामीले अत्यन्तै आवश्यक ठान्यौं । र, यो आलेख तयार पार्ने दौरानमा हामीले गरेको सर्भेमा इलाम, झापा, भोजपुर, खोटाङ, सुनसरी, मोरङ, सर्लाही, सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे, काठमाडौं, ललितपुर, चितवन, दाङ, सुर्खेत, रोल्पा, प्यूठान, कास्की, बझाङ, कैलालीका ४४ देखि ७५ वर्ष उमेरका रजोनिवृत्ति–अनुभव भएका ४० जना महिला थिए । उनीहरू गृहिणी, अवकाशप्राप्त नर्स, उपप्राध्यापक, अर्थशास्त्री, सरकारी–गैरसरकारी क्षेत्रका कर्मचारी, डाक्टर, शिक्षक, पत्रकार थिए । सर्भेमा सहभागीमध्ये केहीको रजोनिवृत्ति–अनुभव यहाँ समेटेका छौं ।

...

महिनावारी गडबड हुन थालेपछि चाबहिलकी दुर्गा थापालाई लाग्यो– कोरोनाले होला । महामारीको दोस्रो लहरमा उनी संक्रमित भइन् । घरैमा चार दिनसम्म अक्सिजन लिइन् । निको भएपछि महिनावारी गडबड हुन थाल्यो । ‘दैनिक जीवनशैलीमै पोस्ट कोभिडको लक्षण झेलिरहेका थियौं, त्यसैले होला भन्ठानें,’ उनले सुनाइन् । महिनावारी पाँच/छ महिना नियमित हुने, त्यसपछि अनियमित हुने क्रम चलिरह्यो । बिस्तारै अकारण नै उदासी वा चिन्ता, डिप्रेसन, चिडचिडाहपन, रिस उठ्ने, पाठेघर फुल्ने, शरीर सुन्निने, निद्रा नलाग्ने, टाउको दुख्ने, माइग्रेन भएजस्तो हुन थाल्यो । काम गर्ने जोस बोकेर बिहान घरबाट निस्केकी उनी दिउँसोसम्म कमजोर भइसकेकी हुन्थिन् । घर फर्किन श्रीमान् र छोरालाई बोलाउनुपर्थ्यो । स्त्रीरोग विशेषज्ञलाई स्वास्थ्य समस्या सुनाएपछि र पाठेघर जाँच गरेपछि पनि समस्या पत्ता लागेन । तर, उनलाई दुःखले पछ्याउन छाडेन । डेढ वर्ष यत्तिकै बित्यो ।

०७९ साउन/भदौतिर त्यही समस्याले बेस्सरी च्याप्यो । काठमाडौंका कलेजहरूमा पढाउने उनी स्कुटर चलाएर काममा जान नसक्ने भइन् । श्रीमान् र छोराले कार्यालय पुर्‍याउने/घर ल्याउने गरे । २० वर्षे छोरो र ७ वर्षीया छोरीकी आमा दुर्गा पीडाले असह्य भएपछि छोराछोरीलाई अरू बेलाभन्दा बढी नै गाली गर्न थालेकी थिइन् । डेढ वर्षको निरन्तरको ‘सफर’ पछि जँचाउन अस्पताल गइन् । डाक्टरले भने, ‘तपाईंलाई मेनोपज हुन लागेको हो । जेजे भइरहेको छ, मेनोपजको लक्षण हो ।’ डाक्टरले उनलाई यो कुनै जटिल रोग नभई रजोनिवृत्तिको लक्षण भएकाले नआत्तिन सुझाए । डेढ वर्षयता योनिमा सुक्खापन पनि थपिएको थियो । प्रत्येक महिनाको १०/१५ गते सुरु भएर २०/२२ तिर उदासी वा चिन्ता, चिडचिडाहपन, निद्रा नलाग्ने, टाउको दुख्ने, चिच्याउन, कराउन, रुन मन लाग्ने हुन्थ्यो । २५/२६ गतेतिर दुखाइ कम हुन्थ्यो । हप्तैपिच्छे आत्तिएर उनी स्त्रीरोग विशेषज्ञकहाँ पुग्थिन् । ४७ वर्षको उमेरमा गत ०७९ पुसमा उनी अन्तिम पटक महिनावारी भइन् । स्त्रीरोग विशेषज्ञले रजोनिवृत्ति भइसकेकाले खानपान, व्यायाममा जोड दिन भने ।

‘यो हर्मोनल चेन्जेजले हुँदोरहेछ । डाक्टरले पनि यो कुनै रोग होइन, बरु जतिसक्दो टोफु, सोयाबिन खानु, हर्मोन सन्तुलनमा आउँछ भन्नुभयो । नियमित टोफु खाएपछि उदासी–चिन्ता कम हुँदै गएजस्तो भएको छ,’ उनले भनिन्, ‘रजोनिवृत्तिका बेला धेरैलाई डिप्रेसन, नसाको समस्या हुनेरहेछ, भिटामिन सी, डी, क्याल्सियम धेरै चाहिने भनेर डाक्टरले लेखिदिनुभयो । मैले मिलाएर खाएँ, योगा गर्न थालें ।’ पाठेघर र जीउ फुलेको महसुस भइरहे पनि उनमा उदासी वा चिन्ता, चिडचिडाहपन, अनिद्राको समस्यामा क्रमिक सुधार भइरहेको छ । ‘उतिबेलाजस्तो धेरै गाह्रो त होइन, तर बेलाबेला लक्षणले छोपिरहन्छ, अहिलेचाहिँ मानसिक रूपमा बलियो बनाउँदै छु आफूलाई,’ उनले भनिन् । यो रजोनिवृत्तिकै समस्या हो भन्ने थाहा पाएपछि बिसन्चो भएका बेला श्रीमान् र छोराले उनको ख्याल राख्छन् । अचेल दुर्गाको दैनिकी ठीकठाक छ ।

अब चितवनकी विन्दु पौडेल वस्ती (५४) को रजोनिवृत्ति–अनुभव सुनौं । एसएलसीपछि कलेज सुरु गर्दैगर्दा उनको विवाह भयो सोह्रै वर्षमा, नवलपरासीको एक संयुक्त परिवारमा । जेठी बुहारी, उनीमाथि परिवारका सबैले हैकम जमाउँथे । मेलापात, चुलोचौको, बोक्नुपर्ने गह्रौं भारी आदिले उनी थकित त हुन्थिन् नै, हुँदाहुँदा सुत्केरी–बेला पनि आराम पाइनन् । ‘जति धेरै काम गर्‍यो बच्चा पाउन उति सजिलो हुन्छ भन्दै काम गराउँथे, पानी ओसार्न पठाउँथे । कामकै लछारोले पहिलो गर्भ चार महिनामै खेर गयो,’ विन्दुले भनिन्, ‘त्यसपछि एक छोरा, एक छोरी भए । सुत्केरी हुने बेला अस्पताल लैजाऊ भन्दा पनि घरैमा बल गर्न लगाए । बाहिर आउन बच्चाले पो बल गर्नुपर्ने रहेछ, तर आमालाई बल गर्न लगाउँदा त उल्टो भयो । सुत्केरी–बेला परालमा काम्रो ओछ्याएर राखे । परपरै पार्थे ।’ २७ वर्षदेखि चितवनको सप्तगण्डकी बहुमुखी क्याम्पसमा उपप्राध्यापक रहेकी उनले त्यसपछि आफूलाई पाठेघर खस्ने रोग लागेको सुनाइन् । घरायसी बोझ, छोराछोरीको हेरचाह र पढाइको निरन्तरता ! यी सबै जिम्मेवारी र तनावमाझ उनी शिक्षण पेसामा प्रवेश गरेकी थिइन् । जागिरे भएपछि खेतीपाती र चुलोचौकोबाट पन्छिन त पन्छिइन्, तर पाठेघरको समस्याले उनलाई छोडेन ।

पाठेघर खसेपछि पिसाबथैली पनि धकेलियो । पिसाब लागेपछि शौचालय गइहाल्नुपर्ने, नत्र चुहिने, हिँड्नै अप्ठेरो हुने, बोल्दा नै खसेजस्तो हुने, पिसाब पोल्ने हुन्थ्यो । एन्टिबायोटिक खाएर सुकाउनुपर्थ्यो । सुरुमा एकपटक खाएको एन्टिबायोटिकले तीन/चार महिना त थेग्थ्यो, तर पछि औषधिले कम काम गर्न थाल्यो । महिनैपिच्छेजसो खाइहाल्नुपर्ने, नत्र दुखाइ बढ्ने । भरतपुरमा गरिएको उपचार चित्त नबुझेर काठमाडौंको अस्पताल आइन् । पाठेघर खसेको समस्याबारे कोही ‘आफैं सुक्छ’, कोही ‘फाल्नुपर्छ’ भन्थे । उनले एन्टिबायोटिक ६ वर्षसम्म खाइन् । औषधिले काम नगर्ने र पिसाब चुहिएर कपडामै फोहोर देखिन थालेपछि अन्ततः पाठेघर फ्याल्ने निर्णयमा पुगिन् । पाठेघर फालेको छैटौं वर्ष लाग्यो । ‘फालेको दुई महिना काँडा झिकेजस्तै भयो । त्यतिन्जेल हर्मोन सन्तुलनको औषधि खाइरहेकी थिएँ,’ उनले भनिन् । धेरै औषधि खाएर साइड इफेक्ट हुने डरले कटौती गरेपछि उनी डिप्रेसनमा गइन् । उनलाई रातभर निद्रा नलाग्ने, सुत्न मन नलाग्ने, शरीर कमजोर हुने, छाला सुक्खा हुने, टाउको दुख्ने, घाँटी दुख्ने, शरीरमा कता–कता के–के नमिलेजस्तो हुन थाल्यो । क्यान्सर भयो कि भन्ने डरले धेरैतिर भौंतारिइन् । काठमाडौं आएर सिटिस्क्यान, एमआरआईलगायत स्वास्थ्य जाँचका प्रक्रिया पूरा गरिन्, तर समस्या पत्ता लागेन । ‘कारण त रजोनिवृत्ति रहेछ । थाहा नपाएर दुःख पाएँ नि,’ उनले भनिन्, ‘क्याम्पसमा गयो एकैछिनमा खलखल पसिना आउने, पंखा लगाउन मन लाग्ने हुन्थ्यो । पानी छम्केर पढाउन जान्थें । तर, एकैछिन पनि बस्न मन लाग्दैनथ्यो, अरूसँग बोल्न पनि मन लाग्दैनथ्यो ।’ तीन वर्षसम्म डिप्रेसनको औषधि खाइन् ।

अहिले सम्झिँदा घरमा एक्लै बस्नुपरेकाले तनाव बढेको अड्कल काट्छिन् । रजोनिवृत्ति रोग होइन भन्नेमा ढुक्क भएपछि उनी घुम्ने, व्यस्त भइरहने, यसबारे युट्युब–पुस्तकतिर खोज्ने–पढ्ने गर्न थालिन् । यसबारे अरूसँग ‘सेयरिङ’ गर्न थालिन् । अरू महिलाले पनि आफ्नैजस्तो समस्या भएर डिप्रेसनको औषधि खाइरहेको भए पनि नसुनाएका मात्रै रहेछन् भन्ने त्यसपछि थाहा पाइन् । आफूले जस्तो अरूले नभोगून् भनेर अचेल उनी क्याम्पस, क्लबहरूमा प्रत्येक वर्ष सचेतना कार्यक्रम गर्छिन् । बिदाको दिन घरमा एक्लै बस्दिनन्, घुम्न जान्छिन् । सधैं बिहान कम्तीमा २० मिनेट हिँड्छिन् । जीवनशैली बिस्तारै सहज हुँदै छ । भन्छिन्, ‘हर्मोनल चेन्जेजको पिक आवर सकिएजस्तो लाग्छ । पहिले उतिखेरै चेन्ज आउँथ्यो, एक वर्षयता एक–डेढ हप्तामा देखिन्छ ।’

...

स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल भन्छन्, ‘समय पुगेपछि महिनावारी बन्द हुने प्राकृतिक प्रक्रिया होस् वा कृत्रिम तरिकाले औषधि दिएर महिनावारी सुकाएको होस् अथवा पाठेघर फालेर महिनावारी बन्द भएको होस्, महिनावारी रोकिएपछिको त्यो अवस्थालाई रजोनिवृत्ति नै भन्छौं ।’ उनका अनुसार, महिलामा हुने ‘इस्ट्रोजन’ हर्मोन सुक्दै जाँदा ‘फोलिक स्टिमुलेटिङ हर्मोन’ बढ्दै जान्छ । त्यसपछि जीउमा चिटचिडाहपन हुने, पसिना आउने, रिस उठ्नेजस्ता लक्षण देखिन थाल्छन् र रजोनिवृत्ति हुन्छ । ‘अब महिनावारी सुक्नेले दुःख दिन सक्छ भनेर पहिल्यै परामर्श गर्‍यौं भने यो समस्याले कम दुःख दिन्छ,’ रिजालले भने, ‘होइन भने उनीहरू बढी पीडा महसुस गर्छन् । रजोनिवृत्तिको समस्या सबैमा आउँदैन । रजोनिवृत्ति हुनेमध्ये १० देखि २० प्रतिशतलाई पीडा हुने सम्भावना हुन्छ ।’

न्युट्रिसनिस्ट तथा डाइटिसिएन मीरा शाह भन्छिन्, ‘रजोनिवृत्ति भनेको अब अर्कै लाइफ स्टाइल सुरु हुँदै छ भन्ने हो । यो प्राकृतिक नियम जसले स्विकार्छ, उसको जीवन सहज बित्छ । जसले स्विकार्दैन, ऊ त्यही भुमरीभित्र घुम्छ । यो बेला तनावचाहिँ एकदमै हुन्छ । छोराछोरीहरू आमा किन कराइन्, झर्किइन् भनिरहन्छन् । श्रीमान् पनि ‘उमेर बढ्दै गएपछि श्रीमती बढी नै किचकिचे भएको’ सोच्छन् । यस्तो बेला श्रीमान्को सहयोग चाहिन्छ । यो लाज मान्ने विषय नै होइन ।’

चोट, मानसिक स्वास्थ्य, महिला हर्मोनबारे अनुसन्धानरत बेलायतकी हेलेन केम्पले आफू ४१ वर्षको छँदा पाठेघर, अण्डाशय, अण्डवाहिनी–नलीको शल्यक्रियापश्चात् रजोनिवृत्तिको अनुभव गरिन् । गैरआख्यान किताब ‘सर्जिकल रजोनिवृत्ति’ मा उनले लेखेकी छन्, ‘मलाई विश्वास छ– शल्यक्रियापछि हुने रजोनिवृत्ति प्राकृतिक रूपमा हुने रजोनिवृत्तिभन्दा पूर्ण रूपमा फरक छ । मेरो आफ्नै अनुभव र देशका विभिन्न ठाउँका महिलासँगको अन्तरक्रियाका कारण म शल्यक्रियापछि हुने रजोनिवृत्तिमा उनीहरू कति पीडित छन् भन्नेबारे राम्रोसँग जान्दछु । उनीहरूको मानसिक स्वास्थ्यमा असर गर्छ, उनीहरूको सम्बन्धमा नकरात्मक प्रभाव पार्छ ।’ तर, डा. रिजाल भन्छन्, ‘यदि पाठेघर राख्दा पछि उनलाई धेरै नराम्रो स्थिति आइपर्छ भने नफालेर हुन्न ।’

बबरमहलकी वैदेही सत्यालको रजोनिवृत्तिको–चरणमा महिनावारी अनियमित भयो । एक वर्षजति अत्यधिक रगत बग्थ्यो । एकै दिन १० पटकसम्म कपडा फेर्नुपर्थ्यो । गर्मी हुने, चिटचिट पसिना आउने हुन्थ्यो । आत्तिएर अस्पताल गइन् । डाक्टरले ‘महिनावारी बन्द हुने चरणमा रहेको हुँदा नआत्तिन’ भने । ‘उमेर पुगेपछि महिनावारी बन्द हुन्छ भनेर आमाहरूले भनेको सुनेकी थिएँ । आमाको ५० वर्षको हुँदा बन्द भएको हो । उहाँ पनि गर्मी हुने, वाकवाक हुने भइरहेको छ भन्नुहुन्थ्यो । मलाई पनि गर्मी भयो, छिनछिनमा गर्मीले औडाहा हुन्थ्यो । बिस्तारै महिनावारी गडबड हुँदै बन्द भयो,’ ४९ वर्षको उमेरमा उनको रजोनिवृत्ति भयो । रजोनिवृत्तिपछि बिर्सिने र बेलाबेला जीउ चिलाउने समस्या भइरहन्छ ।

मनोचिकित्सक ऋषभ कोइरालाकहाँ पुग्ने महिला अधिकांश उदासी वा चिन्ताको समस्या लिएर जान्छन् । ‘४०/४५ वर्ष माथिका धेरै आउनुहुन्छ । हामीसँग आउने आधाभन्दा बढीको लक्षण रजोनिवृत्तिका हुन्छन्, जुन विषयमा उहाँहरू पहिल्यै जानकार हुनुहुन्न,’ उनले भने, ‘यसकारण रजोनिवृत्तिका बेला हुने दुखाइ, असहजता कम गर्न परामर्श एकदमै महत्त्वपूर्ण हुन्छ ।’

रजोनिवृत्ति भएका महिलालाई यौन–इच्छा हराउँदै जान्छ । डा. रिजाल भन्छन्, ‘श्रीमतीमा इस्ट्रेजोन कमी भएर योनि सुक्खा हुन्छ र योनिको छाला च्यातिने, रगत आउने समस्या देखापर्छ । हामीले बेलाबेला ‘टियर’ हरू ‘रिपेरिङ’ गर्नुपरेको छ । यो विषय अक्सर श्रीमान्हरू बुझ्दैनन् ।’

झापाकी निर्मला भट्टराई (६१) को अनुभव छ, ‘महिनावारी बन्द भएपछि चाहना घट्ने मेरो मात्रै होइन । मेरा साथीहरूले पनि यस्तै सुनाउँछन् । तर, यही विषयलाई लिएर श्रीमान्–श्रीमतीबीच तिक्तता हुनुभएन । यो प्राकृतिक प्रक्रिया दुवैले बुझ्नुपर्छ ।’ ५२ वर्ष कटेपछि उनको रजोनिवृत्ति भयो । दमकको भृकुटी माविमा ३६ वर्षदेखि पढाइरहेकी उनलाई रजोनिवृत्तिले कहिल्यै दुःख दिएन । ‘झन्झट लागेन, बरु आनन्द भयो । मेरो पाठेघरमा ट्युमर पलाएर निकालिएको थियो । यही भएर महिनावारीका बेला अलि बढी रगत बग्थ्यो, झिँजो लाग्थ्यो, महिनावारी सुकेपछि झन्झट सकियोजस्तो भयो,’ उनी भन्छिन् । उनलाई बिर्सिने समस्या छ, तर यसलाई उनी उमेर बढ्दै गएपछि स्वतः आउने परिवर्तन मान्छिन् । महिनावारीदेखि रजोनिवृत्तिसम्म महिलालाई मर्यादित व्यवहार आवश्यक हुने अभियन्ता राधा पौडेलको बुझाइ छ । भन्छिन्, ‘यो विषयमा स्कुलमै पढाइनुपर्छ ।’ रजोनिवृत्तिपछि हड्डी मक्किने, भाँच्चिने, ढाड दुख्नेजस्ता रोगको जोखिम बढ्ने हुँदा किशोरावस्थादेखि नै खानेकुरा, आहारविहार र व्यायाममा जोड दिनुपर्ने डा. अरुणा उप्रेतीको सुझाव छ ।

...

रजोनिवृत्ति भएपछि वा हुनुअघि कस्तो महसुस भयो वा भइरहेको छ भन्ने हामीले सोधेको वस्तुगत प्रश्नमा सबैभन्दा बढी १२ जनाले चिडचिडाहपन महसुस गरेको बताए । रजोनिवृत्ति भएपछिको जीवनशैलीबारे सोध्दा सबैभन्दा बढी २८ जनाले सामान्य रहेको बताए । पहिलो पटक महिनावारी हुँदा सबैभन्दा बढी २६ जनाले डर, भय महसुस गरेका थिए । पहिलो पटक महिनावारी भएको बारे २२ जनाले आमालाई सुनाएका थिए भने रजोनिवृत्ति भएको बारे पहिलो पटक सबैभन्दा बढी १३ जनाले श्रीमान्लाई सुनाएको बताए । सर्भेमा सहभागीमध्ये सबैभन्दा बढी ५० देखि ५४ वर्षको उमेर समूहमा १५ र ४५ देखि ४९ वर्षको उमेर समूहमा १३ जनाको रजोनिवृत्ति भएको पायौं (विस्तृतमा हेर्नुहोस्—इन्फोग्राफिक्स) ।

...

रजोनिवृत्तिको बहसमा पछिल्लो समय हर्मोनल थेरापी उपचार पद्धतिबारे पनि छलफल हुन थालेको छ । पुरुषमा पनि रजोनिवृत्ति हुन्छ भन्ने बहस सुरु भएको छ । उप्रेती भन्छिन्, ‘हर्मोनल थेरापी गर्नुपर्छ भन्ने नेपालमा पछिल्लो समय जुन विचार आएको छ, यो डरलाग्दो हो । किनभने रजोनिवृत्ति प्राकृतिक प्रक्रिया हो, रजोनिवृत्तिको विशेष अवस्थामा बाहेक हर्मोन प्रयोग गर्नुपर्दैन ।’

पुरुष–रजोनिवृत्तिबारे भोला रिजाल भन्छन्, ‘उमेर बढ्दै गएपछि पुरुषहरूमा पनि महिलामा रजोनिवृत्ति हुँदाजस्तो चिडचिडाहपन हुन सक्छ, पसिना आउन सक्छ हर्मोनल चेन्जले गर्दा । तर, यसमा मेनोपज शब्दावली प्रयोग गर्न मिल्दैन ।’

रजोनिवृत्ति केवल सामान्य प्राकृतिक प्रक्रिया हो । यो लुकाउनुपर्ने, लजाउनुपर्ने, दुःखी हुनुपर्ने विषय हुँदै होइन । स्वस्थ्य जीवनशैलीले अब जित्नेछ, ‘रजोनिवृत्ति–दुःख’ ।

प्रकाशित : जेष्ठ ६, २०८० १२:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×