कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२
किताब

रमन्ता पत्रकारको भूगोल बुझाइ

फणीन्द्र संगम

पाँचथर सदरमुकाम फिदिमलाई मुकाम बनाएका गिरिराज बाँस्कोटा पत्रकारभन्दा बढी रमन्ता हुन् कि झैं लान्छ । कहिले साधुटार पुगेर सेल्फी हान्छन्, कहिले टहलिनकै लागि तमोर किनार धाउँछन् । राँकेको हुस्सु छिचोल्दै पानीटार झरेका उनी बाइकमै कन्याम पुग्छन् अनि चियाका बुट्यानलाई पृष्ठभूमिमा पारेर फेसबुकमा फोटो पोस्ट गर्छन् ।

रमन्ता पत्रकारको भूगोल बुझाइ

डुलघुममै रमाउने उनलाई पूर्वी पहाडको सेरोफेरोले मात्रै आँत भरिएन सायद र लागे चिवाभञ्याङ–झुलाघाट यात्रामा । यही लामो यात्रासमेत समेटिएको ‘कञ्चनजंघाको काखबाट’ पुस्तकमार्फत उनी अब नियात्राकार बनेका छन् ।

‘पहाडैपहाड पूर्व–पश्चिम’ बाहेक उनका सबैजसो नियात्रा कञ्जनजंघा पेरिफेरीकै हुन् । हतारको यात्रा वा रिपोर्टिङ सिलसिलामा छन् उनका अनुभूति । जसले स्थानीय जनजीवन, संस्कृति, समाज अनि विकासको अवस्था बुझाउँछ । प्रायः गाउँ विकासोन्मुख छन् । आन्तरिक पर्यटनले गति लिएको छ । आफ्नै गाउँमा उपलब्ध पर्यटन प्रोडक्टलार्ई उजागर गर्ने प्रयास भएका छन् । होमस्टे, पदमार्ग, मेला–महोत्सवको लहर छाएको देखिन्छ ।

मध्यपुसको जाडोमा ६ मोटरसाइकलमा ११ जनाको टोलीले पाँचथरको चिवाभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म गरेको यात्रा लोभलाग्दो छ । १ हजार ८७९ किलोमाटिर यात्रामा २६ जिल्ला पार गर्दै २१५ भन्दा बढी बस्ती छिचोल्दाका सांगोपांग दृश्यलाई समेट्ने प्रयास गरेका छन् । लोकमार्गको प्रगति, यसले छोएका गाउँबस्तीको विकास र त्यहाँका बान्सिदाको अपेक्षाले धेरै कुरा बताउँछ ।

ठाउँठाउँमा बनाइएका कंक्रिट स्तम्भको प्रसंग पनि जोडेका छन् । तेह्रथुमको लसुनेमा लसुन, म्याङलुङ बसपार्क नजिकै बिरालो, धनकुटाको सिधुवामा कोभी, हिलेमा तोङ्बा, वसन्तपुरमा गुराँस... । यति मात्रै होइन प्राकृतिक सौन्दर्य बिगार्ने गरी ठाउँका नाम चिनाउन ठड्याइने कंक्रिटका अक्षरमा अब स्थानीय सरकारले रोक लगाउनैपर्छ ।

यात्राका क्रममा उनी कतै गोठस्टेमा बस्न पुगेका छन् त कतै मौलिक स्वाद नपाइने गाउँमा पनि भोक मेटाउन बाध्य छन् । युवाहरू सहर र विदेश हान्निएपछि खेतबारी बाँझिए । विषादीयुक्त लसुनप्याज किन्नुपर्ने बाध्यता गाउँसम्म पुग्यो । यही तीतो यथार्थ उनले अनेक ठाउँमा भोगेका छन् । मध्यपहाडमा मुहान सुक्दै गएपछि पानीको संकट सिर्जना भएको प्रसंग पनि उठाएका छन् । गाउँगाउँमा विकासको होडले वातावरणीय असरको ख्याल नगरी डोजर चलाइहाल्ने प्रवृत्तिले प्राकृतिक स्रोत मृत बनिरहेको यथार्थ छर्लंगै छ । यो यात्रामा उनी कतै बसाइँसराइले खाली भएका बूढा घर देख्छन् भने कतै द्वन्द्वकालमा रित्तिएका बस्तीले फेरि जीवन पाएको भेट्छन् ।

कञ्चनजंघा फेदीको जनजीवनले अर्को संसार देखाउँछ । चौंरी गोठालाको दिनचर्या, त्यसभित्रका कहर, तर अनुहारमा देखिने खुसीले भन्छ– गाउँमा दुःख छ, आनन्द पनि । ओलाङचुङ हुँदै नेपाल–चीन सीमा टिप्तलासम्म पनि लेखक पुगेका छन् । त्यो यात्रामा स्थानीय सरकारको केन्द्रले बढाएको चहलपहल देखिन्छ । विभिन्न ठाउँमा रहेका यहीँका बासिन्दाले रकम संकलन गरेर टिप्तलादेखि ओलाङचुङगोलासम्म आफ्नै पहलमा गरेको सडक निर्माण उदाहरणीय छ । ‘मौमस छ्याङ्गै खुलेको थियो । अग्ला डाँडामा हिउँ देखिन्थ्यो । ओलाङचुङगोला निकै सुन्दर रहेछ । ढुंगा, माटो काठले बनाएका काठकै छाना भएका झुरुप्प घर । घरैपिच्छे झन्डा थिए, धार्मिक आस्थाका । परम्परागत पोसाकमा यहाँका बासिन्दा आवतजावत गरिरहेका देखिन्थे ।’ यस्तो चित्रात्मक वर्णनले त्यहीँ पुगेको आभास हुन्छ ।

इँवा खोलाको तीतेमाछाको कथा भने फरक छ । पञ्चायतकालदेखि नै तीतेमाछा मार्नका लागि ठेक्का लगाउने चलन रहेछ । माछा मासिँदै गरेपछि यो चलन छुट्यो । तर, तीतेमाछाको खोजीमा रातभर खट्नेहरू अझै छँदै छन् । पहाडका पहरा र नागीमा फुल्ने केन्जोको औषधीय गुणबारे पनि उनी चर्चा गर्छन् ।

‘चौंरी डुलाउनेको कथा’ मा लेखकले पाँचथरको फालेलुङस्थित चाररातेको बखान गरेका छन् । चौंरीलाई पर्यटनसँग जोड्न ल्याइएको गोठस्टे अवधारणा प्रभावकारी बन्दै गएको छ । गुराँसको राजधानी टीएमजे (तीनजुरे–मिल्के–जलजले) पुगेका उनले गुराँसका अनेक प्रजातिको विवरण नै राखिदिएका छन् ।

इलामको पानीटार हुँदै श्रीअन्तुको यात्रा वृत्तान्त उनी सुनाउँछन् । पानीटार पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै छ । फिल्म, म्युजिक भिडियो सुटिङको गन्तव्य बनिरहेको पानीटार ससाना थुम्कामा हरियो गलैंचा बिछ्याएझैं देखिन्छ । स्थानीय सरकारले पहिचान गर्ने यस्ता अनेक ठाउँ छन् । सडक, पूर्वाधार, होटल–होमस्टेको अभावले यस्ता कतिपय ठाउँको प्रवर्द्धन हुन सकेको छैन ।

रेडपान्डामा भइरहेका संरक्षण कार्यक्रमले खुबै चर्चा पाउने गर्छ । साथसाथै चोरीसिकारका समाचार आइरहन्छन् । रेडपान्डा पछ्याउँदै फोटो खिच्न गरेको प्रतीक्षामा उनी सफल हुन्छन् । गोरुवाले क्षेत्रमा उनले कैद गरेका रेडपान्डा पुस्तकमा हेर्न पाइन्छ ।

बर्मे गाउँलाई उनले नयाँ गन्तव्यका रूपमा पहिचान गरेका छन् । यहाँका स्थानीयले भोगको दुःख र अपेक्षालाई सुनाइदिएका छन् । पाँचथरको याङ्वरक–२ मा पर्ने यो गाउँमा मकै, आलु फल्छ, तर चामल किन्नुपर्ने बाध्यता छ । उनीहरूको सपना भनेकै सडकबाहेक अरू छैन ।

इलामको माइपोखरी, ताप्लेजुङको पाथीभरा हुँदै खोटाङको हलेसी, दैलेखको पञ्चदेवल, अछामको बैजनाथलगायत धार्मिकस्थलबारे सुनाउँछन् । साधुटारको सांस्कृतिक सम्मिश्रण, फक्ताङलुङ हिमालको सौन्दर्य, यसको धार्मिक महत्त्व र भौगोलिक विष्टिताबारे बयान गर्छन् । पहाडको शिरबाट झर्दै उनी सप्तकोसीको काखमा रहेको तीर्थस्थल बराहक्षेत्रसम्म पनि पुग्छन् । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको तपोभूमि सिलौटी–लब्रेकुटीको भूगोलसँगै समाज सुधारमा उनका कामबारे चर्चा गर्न छुटाउँदैनन् ।

२० नियात्रामा सहरोन्मुख हुँदै गएका गाउँका दृश्य छन् । स्थानीय तहबाट भएका पर्यटन जागरण कुरा छन् । हातमा सीप र पौरख भएका इलमीको कथाले लोभ्याउँछ । यात्राको सरसर्ती टिपोट मात्रै छैन, धार्मिक, सांस्कृतिक, ऐतिहासिक पक्षलाई पनि सकेसम्म जोड्ने प्रयास गरिएको छ । नियात्राको सबल पक्ष यही हो । तथापि लेन्डओभर, थाकथालो, धुलाम्बे, पार्खिबास जस्ता अशुद्धि धेरै भेटिन्छन् । रुकुमको चौरजहारीलाई त उनले चउरजाहारी, चौहरजहारी, चउरजहारी लेखेका छन् । लामो समय खर्चिएर गरेको यात्रालाई पुस्तकाकार दिन जति मिहिनेत लाग्यो, त्यतिको मिहिनेत सम्पादनमा खट्किन्छ ।

प्रकाशित : चैत्र ४, २०७९ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×