कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलिउडका प्रतीक्षित फिल्म

काठमाडौँ — सन् २०१८ मा केही बलिउड फिल्म ‘मस्ट अवेटेड’ बनेर आउने निश्चितप्राय: भइसकेको छ भने केहीले ‘रिलिज डेट’ तोकिसकेका छैनन् । यस्ता छन्, २०१८ मा अत्यधिक प्रतीक्षा गरिएका बलिउडका १० फिल्म :

बलिउडका प्रतीक्षित फिल्म


१. मुक्काबाज

रिलिज हुने : १३ जनवरी

अनुराग कश्यपको सहलेखन तथा निर्देशन रहेको यस फिल्म टोरन्टो फिल्म फेस्टिभलमा विशेष स्क्रिनिङ गरिएको थियो । रिलिजका क्रममा रहेका हिन्दी फिल्ममध्ये आईएमडीबीमा सर्वाधिक रेटिङ पाएको मुक्काबाज वर्षको सुरुमै आउँदै छ । श्रवण नामका कथित तल्लो जातका एक बक्सरलाई लोकल डन भगवान दास मिश्रले आफ्नो अखडामा प्रशिक्षण दिन्छ । त्यही क्रममा श्रवण डनको भतिजीको प्रेममा पर्छ, जुन डनका लागि स्वीकार्य हुँदैन । बक्सिङमा सफलता पाउन श्रवणले डनसँगको प्रतिशोध चाहँदैन । फिल्ममा बक्सरको भूमिकामा विनितकुमार सिंह रहेका छन् भने डन बनेर जिम्मी शेरगिल देखिँदैछन् । जोया हुसैनले जिम्मीको भतिजीको भूमिका निर्वाह गरेकी छन् ।



२. फकिर अफ भेनिस

रिलिज हुने : १० मार्च

आईएमडीबीमा ७.४ रेटिङसहित दोस्रो प्रतीक्षित फिल्ममा परेको आनन्द सुरापुर निर्देशित फकिर अफ भेनिसमा फरहान अख्तर, अन्नु कपुर, कमल सिद्धुलगायतको अभिनय रहेको छ । फकिर जो आफूलाई बालुवामा गाडेर इन्स्टलेसन आर्ट देखाउन सक्छ, उसैको खोजीका लागि एक भारतीय चोरलाई नियुक्त गरिन्छ । मुम्बईको सुकुम्बासी बस्तीमा बस्ने उक्त चोरले युरोपेली आर्टलाई सफलतापूर्वक चोर्छ । तर फिल्म चोरी–चकारीबाहेक अनौठो प्रेमकथामा समेत आधारित छ । सन् २००९ मै अमेरिकामा देखाइसकिएको यस फिल्म नौ वर्षपछि बल्ल आफ्नै देशमा रिलिज हुँदै छ ।


३. इन द स्याडोज

रिलिज हुने : मिति तोकिएको छैन

चासोमा रहेको अर्को हिन्दी फिल्म दिपेश जैन निर्देशित इन द स्याडोज पनि हो । मनोज बाजपेयी, रनवीर सुरे, सहाना गोस्वामी, नीरज कावीलगायतको अभिनय रहेको फिल्म साइकोलोजिकल ड्रामा जानरामा बनाइएको छ । सहरभित्रै आफूलाई बन्दी बनाइरहेको एक युवकको कथामा फिल्म आधारित छ । भौतिक र मानसिक रूपमा एकलकाँटे जीवन बिताइरहेको उक्त युवकले अन्य मान्छेसँगको सम्पर्कका लागि गर्ने संघर्ष र प्रयासलाई फिल्मले बोल्नेछ ।


४. टाइगर्स

रिलिज हुने : मिति तोकिएको छैन

त्यसो त फिल्ममा इमरान हासमी, गीताञ्जली थापा, ड्यानी हस्टनलगायत कलाकार छन्, तर फिल्म टाइगर्स भने यसका निर्देशक ड्यानिस तानोभिचका कारण बढी प्रतीक्षित छ । ड्यानिस तिनै निर्देशक हुन्, जसको फिल्म ‘नो म्यान्स ल्यान्ड’ ले ओस्कारमा विदेशीभाषी फिल्मको अवार्ड जितेको थियो । फिल्म पाकिस्तानको एक औषधि बिक्रेता आयन वरिपरि घुम्छ । दैनिक सयौं निर्दोष बच्चाको मृत्युको कारक मानिएको बेबी फर्मूला प्रोडक्ट आफूले बेच्दै आएको थाहा पाएपछि आयनले त्यसविरुद्ध लड्न हेल्थकेयरसम्बन्धी एक बहुराष्ट्रिय संस्थानमा काम गर्छन् । फिल्म सन् २०१४ मै टोरन्टो फिल्म फेस्टिभलमा प्रिमियर गरिएको थियो ।


५. लायर्स डायस

रिलिज हुने : मिति तोकिएको छैन

नवाजुद्दिन सिद्दिकी अभिनीत यस फिल्मले बेपत्ता भएका पतिको खोजीमा छोरीसहित निस्किएकी एक पत्नीको कष्टकर यात्राको वर्णन गर्नेछ । गीतु मोहनदासको निर्देशन रहेको फिल्ममा गीताञ्जली थापा, मान्या गुप्तालगायतको पनि अभिनय रहेको छ । एडभेन्चर, फ्यामिली ड्रामा लायर्स डायस झन्डै पाँच वर्षअघि बनाइएको हो, जुन फिल्म बल्ल रिलिजको तयारी गरिएको छ ।


६. पद्मावती

रिलिज हुने : ९ फेब्रुअरी

सञ्जयलीला भन्साली निर्देशित पद्मावती सुटिङ अवधिबाटै विवादमा फस्यो । पौराणिक कथामा आधारित रही बनाइएको फिल्मलाई सम्बन्धित समुदायले कथा नै तोडमोड गरेको र पद्मिनी देवीको चरित्रमा दाग लाग्ने तवरले भिलेनसँग रोमान्स गराइएको आरोप लगाउँदै रिलिज रोक्ने गरी दंगा फैलियो । प्रदर्शनका लागि अझै पक्कापक्की गर्न नसके पनि रनवीर सिंह, शाहिद कपुर र दीपिका पादुकोण स्टार रहेको पद्मावती बहुप्रतीक्षित फिल्म हो । आईएमबीडीकै सूचीमा समेत फिल्म छैटौं स्थानमा परेको छ ।


७. प्याडम्यान

रिलिज हुने : २६ जनवरी

पछिल्लोपटक ‘ट्वाइलेट : एक प्रेमकथा’ जस्तो सामाजिक कथावस्तुमा बनेको फिल्म पनि बक्स–अफिसमा राम्रै बिक्यो । त्यसैका हिरो अक्षयकुमार तामिलनाडुका एक अभियन्ताको बायोपिक प्याडम्यान लिएर आउँदैछन् । अरुणाचल मुरुगनन्तम नामका ती अभियन्ता ग्रामीण भेगका महिलालाई प्याड उपलब्ध गराउने गर्थे । उनले नै पहिलोपटक सर्वाधिक सस्तो प्याड बनाउने मेसिनको विकास गरेको बताइन्छ । आर बल्की निर्देशित फिल्ममा अक्षयले उनै अभियन्ताको भूमिका निर्वाह गरेका छन् भने सोनम कपुर, राधिका अप्टे, अमिताभ बच्चन पनि फिल्ममा छन् ।



८. ठग्स अफ हिन्दुस्तान

रिलिज हुने : ७ नोभेम्बर

दीपावलीमा रिलिज हुन लागेको आमिर खान स्टार रहेको ठग्स अफ हिन्दुस्तान फिलिप मिडोज टेलरको उपन्यास ‘कन्फेसन्स अफ अ ठग’ मा आधारित छ । विजयकृष्ण आचार्यको लेखन तथा निर्देशन रहेको फिल्म भारतमा ब्रिटिस साम्राज्य रहँदा केही भारतीय ठगहरूको समूहले दिएको चुनौतीमाथि निर्मित छ । अमिताभ बच्चन, फतिमा साना, कट्रिना कैफ, ज्याकी श्राफलगायत कलाकार पनि फिल्ममा छन् । निर्देशक विजयकृष्णसँगको आमिरको जुगलबन्दी धुम ३ पछि यसमा दोहोरिएको हो ।



९. रेस ३

रिलिज हुने : ४ मे

स्टारकास्टकै कारण रेस ३ आईएमडीबीको रेटिङमा नवौं स्थानमा परेको छ । रेमो डिसुजाको निर्देशन रहने यस फिल्म रेस २ कै सिक्वेल बताइएको छ । रेस ३ मा सलमान खानको इन्ट्रीले पनि यतिबेला दर्शकको चासो बढाएको हो । फिल्ममा सलमानसहित बबी देवल, ज्याक्लिन फर्नान्डेज, अनिल कपुर, सकिब सलिम, डेजी शाह, पूजा हेजलगायत कलाकार रहेका छन् । सलमान खानले टिप्स फिल्मस्सँग मिलेर बनाउन लागेको रेस मे महिनामा रिलिज हुनेछ ।


१०. अरयारी

रिलिज हुने : २६ जनवरी

बेबी, एमएस धोनीजस्ता बक्स अफिसमा जमेका फिल्म निर्देशन गरिसकेका नीरज पाण्डे २०१८ मा आफ्नै लेखन, निर्माण तथा निर्देशनसहित अय्यारी लिएर आउँदैछन् । भारतीय फौजभित्र हुने भ्रष्टाचारलाई आधार बनाइएको फिल्ममा मनोज बाजपेयी कर्णेल अभय सिंहको भूमिकामा छन् भने सिद्धार्थ मल्होत्रा मेजर जय बक्सीको रूपमा देखिनेछन् । नसिरुद्दिन शाह, अनुपम खेर, पूजा चोपडा पनि फिल्ममा अहम् भूमिकामा देखिनेछन् ।

आईएमडीबीमा प्राय: दमदार मानिएका विषयवस्तुमा बनेका फिल्मले बढी रेटिङ पाएको भए पनि सन् २०१८ स्टारडमका कारण पनि केही फिल्म प्रतीक्षित बनेका छन् । राजकुमार हिरानीको निर्देशनमा रणवीर कपुर स्टारर बायोपिक सञ्जु, रीमा काग्ती निर्देशित अक्षय कुमारको गोल्ड, रोहित सेट्टी निर्देशित रनवीर सिंह रहेको सिम्बा, चुक रसेल निर्देशनमा निर्मित विद्युत् जमालको मुख्य अभिनय रहेको जंगली, कंगना रनावत स्टारर मणिकर्णिका : झासिकी रानी, अमिताभ बच्चनको १०२ नटआउट, राजकुमार रावको सिम्ला मिर्ची, शाहरूख खान–कट्रिना कैफलाई लिएर आनन्द एल रायद्वारा निर्देशित फिल्म पनि २०१८ मा नै आउँदैछन् ।

–एजेन्सीहरूबाट

प्रकाशित : पुस १४, २०७४ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?