शिखरमा रबाडा

रबाडाको करियरको ग्राफले जुन स्तरमा उचाइ लिइरहेको छ, जुन रोकिने कुनै छाँट देखिन्न ।

काठमाडौँ — सबभन्दा कान्छो उमेरमा आईसीसी वरीयताको शीर्षस्थानमा पुगेका दक्षिण अफ्रिकी बलर कागिसो रबाडाबारे सुबास हुमागाईं लेख्छन् :
दक्षिण अफ्रिका बलर कागिसो राबाडाले चार वर्षअघि यू–१९ विश्वकप क्रिकेटको सेमिफाइनलमा तहल्का मच्चाएका थिए ।

शिखरमा रबाडा

अस्ट्रेलियाका ६ ब्याट्सम्यानलाई पेभेलियन फर्काएपछि उनले विश्व क्रिकेटकै ध्यान तानेका थिए । यू–१९ विश्वकपमा उनको टिम च्याम्पियन नै भयो । सँगै उनको करियरले पनि उडान लियो । उनी आफैंले पनि साचेको नहुन सक्छ कि दक्षिण अफ्रिकाको टेस्ट इतिहासमै सबैभन्दा उत्कृष्ट ‘बलिङ फिगर’ दुई वर्षपछि आफ्नै नाममा हुन्छ भनेर ।

रबाडाको बाल्यकाल सुखसयलमा बितेको थियो । उनको पिताले बाल्यकालमा धेरै दु:ख भोगे र निकै मिहिनेत गरेपछि सन्तानलाई सुखसयलको जीवन दिलाएका थिए । रबाडाका पिता एम्फो नसाका डाक्टर र आमा अधिवक्ता हुन् ।

आफ्नो मिहिनेत र पहिलेको वास्तविकता देखाउन अभिभावकले रबाडालाई बेलाबखत सहरको गरिब बस्तीमा लगेर संघर्ष गर्नुपर्छ भनेर सम्झाउने गर्थे । उनले अभिभावकको सुझावलाई खेलमा लागू गरे । अहिले रबाडाको उन्नति देखेर अभिभावक प्रफुल्ल छन् ।

सन् २०१५ नोभेम्बरमा भारतको चान्डीगढमा पहिलो टेस्ट खेलेका रबाडाले पहिलो विकेटका रूपमा भारतीय कप्तान विराट कोहलीलाई सिकार बनाएका थिए । स्पिनरलाई हसयोग गर्ने भारतीय पिचमा उनी खास जमेनन् । लगत्तै इंग्ल्यान्डविरुद्धको घरेलु सिरिज भने उनको करियरको ‘टर्निङ प्वाइन्ट’ नै बन्यो । सिरिजको तेस्रो टेस्टमा रबाडा एक्लैले १३ विकेट लिए । आदर्श मान्दै आएका पूर्वबलर मखाया एन्टिनी दर्शकदीर्घामा रहेको अवस्थामा उनले एन्टिनीकै कीर्तिमान बराबरी गरेका थिए ।

त्यसबेला दक्षिण अफ्रिकाको कप्तानी गरिरहेका एबी डी भिलियर्सले रबाडाको प्रशंसा गर्दै भनेका थिए, ‘रबाडाले १ सय टेस्ट खेलेको खेलाडीको जस्तो परिपक्वता र भर्खरै डेब्यु गरेका खेलाडीको जस्तो तीव्रता देखाए । हामीले केही अपेक्षा राखेकै बेला उनले टिमलाई चाहेअनुसार नतिजा ल्याइदिए ।’ दक्षिण अफ्रिकी लिजेन्ड सन पोलकले पनि रबाडालाई त्यसबेलै ‘भविष्यका स्टार नभएर अहिलेकै भरपर्दा खेलाडी’ भएको बताएका थिए ।

भिलियर्स र पोलकको विचारलाई सत्य सावित गर्दै रबाडाले २५ टेस्ट खेल्दै १ सय १४ विकेट लिइसकेका छन् । यसक्रममा उनले सातपल्ट इनिङ्समा ५ विकेट तथा ३ पटक १० विकेटको उपलब्धि हात पारेका छन् । त्रिचालीस वान डे इन्टरनेसनलमा ७० विकेट पनि लिइसकेका उनको करिअरको ग्राफले जुन स्तरमा उचाइ लिइरहेको छ, जुन रोकिने कुनै छाँट देखिन्न । उनी टेस्टमा चारपल्ट म्यान अफ द म्याच भइसकेका छन् भने वान डेमा तीनपल्ट ।

२२ वर्षीय रबाडाले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । रबाडा अघिल्लो साता टेस्ट क्रिकेटको नम्बर १ बलर पनि भए, जुन दिन उनी २२ वर्ष २ सय ३१ दिनका थिए । उनी सबभन्दा कान्छो उमेरमा आईसीसी वरीयताको नम्बर १ बलर पनि बने । उनी शीर्षस्थानमा पुग्ने छैटौं दक्षिण अफ्रिकी बलर हुन् । अब उनको करियर कसरी अगाडि बढ्छ ? यसमा दक्षिण अफ्रिकी टिमको बलियोपन पनि जोडिएको छ । किनभने उनी टिमका मुख्य

बलर हुन् ।

दक्षिण अफ्रिकाको तेज बलिङका मुख्य खेलाडी मानिएका डेल स्टेन लगातार चोट र ढल्कँदो उमेरका कारण करियरको अन्त्यतिर आइपुगेका छन् । तर उनी टिममा छँदै रबाडाले नियमित खेलिरहेका थिए । स्टेन बिदाइनजिक पुग्दा रबाडाप्रति अझै जिम्मेवारी बढेको छ । उनलाई आदर्श मान्ने लुंगी एन्गिडीले पनि हाल भइरहेको भारतविरुद्धको टेस्ट सिरिजमार्फत डेब्यु गरेका छन् ।

भारतविरुद्ध पहिलो टेस्टमा पाँच विकेट लिएका रबाडाले आफ्नो राम्रो प्रदर्शनलाई निरन्तरता दिनु मुख्य लक्ष्य रहेको बताएका छन् । दोस्रो खेलमा एन्गिडीसँग मिलेर भारतीय इनिङ ध्वस्त पारेका रबाडाले निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनको लक्ष्य हो, टेस्टमा नम्बर टिम भारतविरुद्ध ह्वाइटवास गर्ने । व्यक्तिगत रूपमा राम्रो प्रदर्शन र टिमको नतिजाले उनको मनोबल पनि उच्च बनाएको छ । टेस्ट क्रिकेटमा २२ वर्षका खेलाडीलाई परपक्व मानिँदैन तर रबाडाको हकमा यस्तो परम्परा लागू हुन्न । उनी प्रतिभावान् खेलाडी हुन्, जसले युवा अवस्थामै परिपक्व खेल देखाइरहेका छन् ।

–एजेन्सीको सहयोगमा

प्रकाशित : माघ १२, २०७४ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?