२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

फेरियो धार

मुम्बईमा शनिबार भएको ६३ औं फिल्मफेयर अवार्डमा ‘परम्परा’ तोड्दै सामाजिक विषयवस्तुमा निर्मित फिल्मले बाजी मारे ।
सुशील पौडेल

काठमाडौँ — विश्व फिल्म बजारमा बलिउडको हस्तक्षेप बर्सेनि जति फैलिँदै गइरहेको छ, त्यति नै आलोचित पनि छ । गीत र फाइटको अस्वस्थकर मसला, चर्को मेलोड्रामा अनि स्टारडमको जगजगीमा फिल्मको कन्टेन्ट र कलात्मक पाटो जहिले छायामा पर्दै आएका छन् ।

फेरियो धार

स्वयं भारतमा बलिउड इतरका फिल्ममेकर केवल बलिउडले भारतीय फिल्मको सही प्रतिनिधित्व गर्न नसक्ने र गर्न नहुने आवाज उठाइरहन्छन् । तर तिनका आवाज बक्सअफिस कलेक्सनका अघि सधैं फिक्का पर्छन् । अलग धारका फिल्मले न पैसा कमाइरहेका छन् न त फिल्म अवार्डमा नै प्रशंसित हुन्छन् ।

यसै साता फिल्मफेयर अवार्डको ६३ औं संस्करण सकिएको छ । तर यसपटक फिल्मफेयर अवार्डले भने बलिउडलाई राम्रैसँग हल्लाइदियो । निजी क्षेत्रबाट सञ्चालन हुँदै आएको उक्त अवार्डमा प्राय: व्यावसायिक सफलता हासिल गरेका फिल्म वा स्टारडम भएका कलाकारको हालीमुहाली रहँदै आएको थियो । तर यसपटक त्यस्तो भएन ।

भारतमा फैलँदो अंग्रेजी शिक्षा प्रणालीको मोह र शिक्षामाथिको चर्को व्यापारलाई कटाक्ष गरिएको फिल्म ‘हिन्दी मिडियम’ फिल्मफेयर अवार्डमा उत्कृष्ट फिल्म दरियो । यसै फिल्मबाट इरफान खान पनि उत्कृष्ट अभिनेता बने । फिल्मफेयरको इतिहास हेर्ने हो भने दिलीपकुमार सर्वाधिक १९ पटक मनोनयनमा परेका छन् भने शाहरूख खानले सर्वाधिक आठपटक अवार्ड जितेका छन् । नेसनल अवार्डबाहेक भारतमा हुने लगभग सबै अवार्डलाई बजारले प्रत्यक्ष प्रभावित गर्दै आएको देखिन्छ । यसले गर्दा पनि त्यस्ता अवार्ड प्राय: खरिदबिक्री हुने आरोप छ ।

फिल्मफेयरले यसपटक पपुलर विधातर्फ नै ‘हिन्दी मिडियम’ मात्रै नभई ‘तुम्हारी सुलु’ बाट विद्या बालनलाई अभिनेत्रीका लागि, पटकथामा ‘मुक्ति भवन’ का लागि शुभाशिष भुटियानीलाई उत्कृष्ट मानियो । यसपटक फिल्मफेयर यतिमै रोकिएन । आश्विनी ऐयर तिवारीले ‘बरेलीकी बर्फी’ बाट निर्देशकमा र ‘अ डेथ इन द गन्ज’ बाट कोंकणा सेन शर्माले नवनिर्देशकमा अवार्ड जितेर महिला दावेदारी पनि देखाए । ट्रफीमा नग्न महिला राखिएकामा केही नारी पक्षधरले फिल्मफेयरको विरोध पनि गर्दै आएका थिए । सन् १९५८ मा त गायिका लता मंगेशकरले ट्रफी नै लिन नमानेपछि आयोजकले रुमालले ट्रफी नै छोपेर दिनुपरेको थियो । यसपटक कम्तीमा महिला फिल्मकर्मीले फिल्मफेयरमा परिवर्तनको महसुस गर्न पाए ।

पपुलर सेक्सनमा नै परिवर्तनको राम्रो संकेत देखाएको फिल्मफेयरले क्रिटिक्स अवार्डतर्फ फिल्ममा ‘न्युटन’, अभिनेतामा राजकुमार राव (ट्रयाप्ड) र अभिनेत्रीमा जायरा वसिम (सिक्रेट सुपरस्टार) ले जित्नु स्वाभाविक बन्यो ।

‘यो परिवर्तनको समय हो र त्यो परिवर्तन स्वीकार्य भइरहेकामा मलाई खुसी लागेको छ,’ अभिनेता इरफान खानले ट्वीट नै गरे । उनले भनेका छन्, ‘हिन्दी मिडियम’ मनदेखि भनिएको गतिलो विषयवस्तुमा बनाइएको र प्राय: सबैलाई रुचिकर लाग्ने र परिवर्तनका लागि हिम्मत देखाएको फिल्म हो । दर्शकसँगसँगै फिल्मफेयर पनि हाम्रो यात्रामा हिँडेकामा धन्यवाद ।’ यस फिल्मका निर्माताले ‘कन्टेन्टको जित’ भनी खुसी व्यक्त गरेका छन् ।

एकातर्फ, शाहरूख खानजस्ता स्टारका ‘कमर्सियल’ फिल्मले कमाउन नसक्नु, सलमान खानकै ‘ट्युबलाइट’ फ्लप हुनु वा अक्षय कुमार जस्ता औसत मानिएका नायकका ‘ट्वाइलेट’ जस्ता सामाजिक फिल्म हिट हुनुले पनि बक्सअफिसमा कन्टेन्टको जित हुँदै गइरहेको छनक देखिन्छ । असर यतिबेला निजी अवार्डमा समेत फैलिनुलाई फिल्म वृत्तमा सुखद मानिएको छ ।

अहिलेको फिल्मफेयर अवार्डको नतिजालाई कतिपयले सन् १९७९ मा ‘काला पत्थर’ र ‘मिस्टर नट्वरलाल’ का अमिताभ बच्चन वा ‘अमरदीप’ का राजेश खन्ना, ‘सरगम’ का ऋषि कपुरलाई जिल्याउँदै ‘गोलमाल’ का अमोल पालेकरले जितेको फिल्मफेयरसँग दाँजिएको छ भने सन् १९८१ मा ‘चक्र’ बाट स्मिता पाटिलले उत्कृष्ट अभिनेत्रीमा हेमा मालिनी (नसिब), जया बच्चन (सिलसिला), राखी (वसिरा), रेखा (उमराव जान) जस्ता हस्तीलाई उछिनेको घटना स्मरण गरिएको छ ।

त्यसो त अझै पनि राजकुमार राव ‘न्युटन’ बाट उत्कृष्ट अभिनेताको मनोनयनमा नै नपर्नु वा श्वारा भास्कर ‘अनारकली अफ आरा’ बाट अभिनेत्रीमा मनोनयनमा नहुनुलाई ‘मिस्टेक’ पनि नमानिएको हैन । तर कम्तीमा यसपालि फिल्मफेयरले आफूलाई ‘बिकेको’ आरोपबाट मुक्त गर्‍यो । ‘ब्ल्याक’, ‘दिलवाले दुल्हनियाँ ले जाएंगे’ वा ‘देवदास’ जस्ता कमर्सियल फिल्मले सर्वाधिक अवार्ड जितेको रेकर्ड बनाएको फिल्मफेयरमा समेत यसपटक परिवर्तनको संकेत देखिएको छ । जबकि ‘टाइगर जिन्दा है’ जस्ता बक्सअफिस हिट फिल्म मनोनयनदेखि नै फ्लप बन्न पुगे । [email protected]

–एजेन्सीको सहयोगमा


प्रकाशित : माघ १२, २०७४ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?