भर्जिन आइस लेक

भीम घिमिरे

काठमाडौँ — गुरूङ संस्कृति, लामबद्ध हिमशृंखला, पुराना कोटहरू, चरा र जंगली जनावर हेर्दै अन्त्यमा होचो ठाउँमा अवस्थित हिमताल कफुचे पुगेर अन्नपूर्ण दोस्रो र लमजुङ हिमालबाट निरन्तर खस्ने हिमपहिरो नजिकै नियाल्न सकिन्छ ।

भर्जिन आइस लेक

पदयात्रामा पुरानै रुट सधैं चाखलाग्दो हुन्न । नयाँ रुटको यात्रा अर्कै किसिमको हुन्छ । नौलो रुट खोज्नेहरूका लागि उपयुक्त गन्तव्यका रूपमा आएको छ, कफुचे । यसलाई भर्जिन आइस लेक नै मानिन्छ ।

पोखराको यात्रामा दमौली छाड्दा मादी नदी पुल धेरैले देखेको हुनुपर्छ । यही नदीको

उद्गम विन्दु नै कफुचे हिमताल हो । नेपालमा हिमतालहरू अधिकांश ४ हजार मिटरको हाराहारीमा छन् । तर, कफुचेमात्रै यस्तो हिमताल हो, जुन समुद्री सतहबाट २,४५० मिटरमै रहेको छ । साहसिक पदयात्रुका लागि उपयुक्त मानिने रुट भए पनि कफुचे होचो ठाउँमा भए पनि निकै कम पर्यटक पुगेका छन् ।


कास्कीको मादी गाउँपालिका १ मा पर्ने यो हिमताल अन्नपूर्ण दोस्रो र लमजुङ हिमालको बीचबाट खस्ने पहिरोमा बनेको हो । हिमालबाट खसिरहने हिउँका ढिक्काहरू तालमा आइपुगेको हेर्दा आउने आनन्द बेग्लै प्रकारको हुन्छ । यहाँ आसपास ४/५ घण्टाको पैदल दूरीसम्म मानव बस्ती छैन ।

कफुचे पुग्ने दुई विकल्प छन् । पहिलो– पोखराबाट ३९ किमि दूरीको सिक्लेससम्म गाडीमा जाने र त्यहाँबाट पैदल हिँड्ने । दोस्रो– पोखराबाटै पैदल निस्कने । दोस्रो मार्ग ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र स्थानीय पर्यटनकर्मीले तय गरेका हुन् । पोखराको दीपबाट सुरु गर्न सकिने ट्ेरकिङ अर्मला, आँटीघर मौजा, थाक, तारा हिल, सिक्लेस हुँदै पुगिन्छ । पहिलो बाटो जाँदा तीन दिनमै यात्रा सम्भव छ । एक साताको समय लिएर यात्रामा निस्कन चाहनेका लागि दोस्रो विकल्प उपयुक्त हुन्छ । पर्यटनकर्मी दोस्रो रुटको प्रवद्र्धन गरिरहेका छन् ।


‘हामीले रुट म्यापिङका लागि काम गरिरहेका छौं,’ टान पोखराका पूर्वसचिव विनय आचार्य भन्छन्, ‘राउन्ड अन्नपूर्णभन्दा कफुचेको यात्राले बेग्लै किसिमको अनुभव गराउँछ ।’ कफुचे पुग्न त्यति सजिलो छैन । सिक्लेसबाट मात्रै छिटो–छिटो हिँड्दा नै करिब आठ घण्टा लाग्छ । पुराना पदयात्रीका लागि परम्परागत रुटहरूमा बढ्दो बस्ती र विस्तारित सडकले असर गरेपछि पर्यटन व्यवसायीहरू नयाँ पदमार्गको खोजीमा लागेका हुन् । त्यसैको प्रतिफल हो कफुचे ।

अघिल्लो साता कफुचे पदमार्गमा पर्ने गाउँ, पानीका स्रोत र भन्ज्याङलगायत समेटेर नक्सा बनाउनका लागि जीपीएससहितको टोली खटिएको थियो । उक्त टोलीले पोखरा फर्किएर नक्सा र ब्रोसर तयार पार्न गृहकार्य गरिरहेको छ । ‘कफुचे ट्रेकिङ रुटका सम्भावना धेरै छन्,’ टान पश्चिमाञ्चल संघका अध्यक्ष दीपकराज अधिकारी भन्छन्, ‘यति सजिलो यात्राबाट अर्को हिमताल देखिने ठाउँ नेपालमा छैनन् ।’ अन्नपूर्ण संरक्षण क्षेत्रको यस रुटमा जंगल बढी पर्छ । पदयात्रीले गुरुङ संस्कृति, लामबद्ध हिमशृंखला, पुराना कोटहरू, चरा र जंगली जनावर हेर्दै अन्त्यमा होचो ठाउँको हिमताल पुगेर अन्नपूर्ण दोस्रो र लमजुङ हिमालबाट निरन्तर खस्ने हिमपहिरो नजिकै नियाल्न सकिन्छ ।


यो वर्ष रजत महोत्सव मनाइरहेको टान पश्चिमाञ्चलका पदाधिकारी र पर्यटनकर्मी अवसर उपयोग गर्दै अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप), मादी गाउँपालिका र पर्यटन बोर्डको सहयोगमा गत साता कफुचे पुगेका थिए । उनीहरू फर्किएपछि अब ट्ेरकिङ गाइडहरूले यो रुटबारे पदयात्रा रुचाउनेलाई बताउन सक्ने भएका छन् । कार्यक्रम संयोजक विश्वराज अधिकारी भन्छन्, ‘क्याम्पिङ र होमस्टेमा आधारित यो ट्ेरकिङ रुटलाई १० दिनमा विस्तार गरेर हुगुबाट कोरी, थुर्जु, दूधपोखरी हुँदै नामुन पासबाट मनाङसम्म निकाल्न सकिन्छ । हामी ती सम्भावना पनि हेरिरहेका छौं ।’

सिक्लेसबाट ६ घण्टामा पुगिने हुगु एउटा टापुजस्तो ठाउँ छ, जसलाई कफु खोला र खोरिया धाराले काटेको छ । दुवै खोलाका पानी दूध बगेजस्तै देखिन्छ । दुई दशकअघि सिक्लेसका बासिन्दाको करिब एक दर्जन गोठ रहेको हुगुमा अहिले मह सिकारी मेजा गुरुङको मात्रै गोठ बाँकी छ । यही गोठमा पदयात्री बास बस्न सक्छन् । हुगुबाट कफुचे दुई घण्टा पैदल दूरीमा पर्छ ।

सिक्लेसका होटल व्यवसायी धन गुरुङका अनुसार दुई वर्षअघि कफुचेमा जापानको तेक्यो हेसे विश्वविद्यालयको स्कुल अफ इन्भाइरोन्मेन्टल इन्फर्मेसनका सहायक प्राध्यापक जिरो कोमोरी पुगेका थिए । पट्याउन मिल्ने हलुका डुंगा लगेका उनले तालमा करिब २ घण्टा बिताएर आकारको हिसाब निकालेका थिए । कोमोरीलाई ताल पु‍र्‍याउने तीन गाउँलेमा धन पनि थिए । कोमोरीले तालको ४० मिटर गहिराइ, ४ सय मिटर लम्बाइ र ३ सय मिटर चौडाइ निकालेको उनले बताए ।

गुरुङ शब्द कफुचेको नेपाली ‘हिउँ भत्केर खस्ने समथर भाग’ हो । ‘ताल पुग्ने सबैले अनौठो मान्छन् । त्यसैले पनि कफुचे ट्रेकिङलाई नयाँ प्याकेज हो,’ धनले भने ।

[email protected]

प्रकाशित : माघ १२, २०७४ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?